Techie IT
१० असार २०७८, बिहीबार

शैक्षिक सत्र नबनोस् अलपत्र


कोरोना प्रकोपको फैलावटको तीव्रताको प्रवृति हेर्दा यसको अन्त्य हुने समय आँकलन गर्न कठिन छ । यस्तो अन्यौलताम शैक्षिक सत्र अलपत्र हुनबाट कसरी जोगाउने ? कतिन्जेलसम्म विद्यार्थीलाई विद्यालय जानबाट रोक्ने ? सामाजिक, आर्थिक र भौगोलिक विविधतामा हुर्केका विद्यार्थीलाई वैकल्पिक शिक्षण विधिबाट कसरी सहज पठनपाठन गर्न सकिएला ? वैकल्पिक शिक्षण पद्धतिलाई प्रभावकारी बनाउन सरकार, विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थीको के–कस्तो भूमिका हुनु पर्ला ? कस्ता मूल्यांकनका विधिहरू प्रभावकारी हुन सक्लान ?

संघीय सरकारले सञ्चालन गरेका वैकल्पिक शिक्षण कार्यक्रममा स्थानीय सरकारको सक्रियता र स्वामित्व कसरी बढाउन सकिएला ? संविधानअनुसार विद्यालय शिक्षाको समग्र व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिए पनि उदासिनता किन देखिएको छ ? यी र यस्तै जिज्ञाषाको सेरोफेरोमा वैकल्पिक शिक्षणको माध्यमबाट शैक्षिक सत्रलाई अलपत्र हुनबाट जोगाउन सकिन्छ ।

शैक्षिक सत्र सुरु हुने समय झण्डै ५ महिना भेडकिइसकेको छ । शैक्षिक सत्रलाई कसरी नियमितता दिने भनेर सरकार र सरोकार पक्ष तथा शिक्षाविदहरूबीच चर्चा चुलिएको अवस्था छ । कोरोना कहर चाँडै निमिट्यान्न हुने छाँट देखिँदैन् । बालबालिका सदाझैँ विद्यालयमा गएर पढ्ने वातावरण चाँडै नबन्ने निश्चित छ ।

अहिलेको विषम् परिस्थितिमा शैक्षिकसत्र वैशाखबाटै सुरु हुनुपर्छ भन्ने तर्क सान्दर्भिक हुन सक्दैन । विद्यालयतहका विद्यार्थीहरूको पढाइलाई कसरी निरन्तरता दिने चुनौतीको विषय बनेको छ । अहिले विद्यालय खुले पनि अभिभावकले ढुक्क भएर केटाकेटी पढ्न पठाउने छाँट देखिँदैन । कोरोना प्रतिरोधका स्थास्थ्य नियम विद्यालय र विद्यार्थीले पालना गर्ने अवस्था देखिँदैन ।

विश्वका विकसित भनिएका देशहरू अमेरिका, डेनमार्क, कोरिया, जापान, बेलायतलगायतका युरोपेली देशहरूमा आंशिकरूपमा स्कुल खुले पनि नियमितता छैन । त्यहाँ पालना गरिएका स्वास्थ्य नियम तथा सावधानीहरू हाम्रो परिवेशमा कल्पनाभन्दा बाहिरका विषय हुन् । यस अप्ठ्यारो अवस्थामा पढाइको निरन्तरताको वैकल्पिक उपाय अनलाइन र अफलाइन शिक्षण नै हो । विश्वका अन्य देश तथा हाम्रोमा पनि अधिकांश निजी तथा सामुदायक विद्यालयले शिक्षणका विविध विकल्पहरूको अभ्यास सुरु गरेका छन् ।

अहिले सूचना प्रविधिमा आधारित वैकल्पिक शिक्षणलाई प्राथमिकताकासाथ अगाडि अघि बढाउन सबैखाले उपाय र अनुभव अबलम्बन गरिनु पर्दछ । देशको विभिन्न सुगम र दुर्गम भौगोलिक क्षेत्रमा छरिएर रहेका विद्यार्थीलाई समेट्ने गरी अनलाइन शिक्षण कसरी सञ्चालन गर्न सकिएला ? चिन्ता र चिन्तन विषय हो । अनलाइन शिक्षाको लागि आवश्यक उपकरण तथा नेटको सहज पहुँचको सुनिश्चितता कसरी गर्न सकिएला ? राज्य गम्भिर छलफलबाट व्यावहारिक निष्कर्षमा पुग्नु पर्दछ ।

त्यस्तै परम्परागत अध्यापनमा अभ्यस्त अधिकांश शिक्षकहरूबाट अनलाइन शिक्षण सहज होला त ? मौजुदा पाठ्यक्रम र पाठ्यवस्तुहरूलाई अनलाइन सुहाउँदो परिमार्जन नगरिकन शिक्षण सिकाइ उद्देश्यअनुरूप सार्थक होला र ? यी र यस्तै चुनौतीहरूको रौँचिरा विश्लेषणका आधारमा अनलाइन शिक्षाको तर्जुमा गरिनु पर्दछ ।

सूचना प्रविधिको प्रयोग गरेर अनलाइन प्रकृतिका शिक्षणको व्यवस्थापन सहज नभए पनि असम्भव छैन । शिक्षामा अनलाइन कक्षा, ई–लर्निङ, भर्चुअल कक्षा आदिको उच्चतम प्रयोग गरी भविष्यमा डिजिटल नेपालमा रूपान्तरण गर्ने अवसरको रूपाम कोरोना महामारीलाई सदुपयोग गर्नु दूरदर्शिता ठहर्छ ।

अनलाइन सिकाइ सञ्चालनका लागि आधारभूत सर्तहरू कम्प्युटर, मोबाइल तथा इन्टरनेटको उपलब्धता र स्तर कस्तो छ ? आम विद्यार्थीमा सहज पहुँच छ कि छैन ? अनलाइन प्रविधिलाई आत्मसात गर्ने दक्ष जनशक्ति पर्याप्त छ वा छैन ? वस्तुपरक लेखाजोखा गर्न अल्छी गरिनु हुन्न । नेपाल दूरसञ्चारले भर्खरै प्रकाशित गरेको तथ्यांकअनुसार कुल जनसंख्यामध्ये ७१ दशमलव ७६ मा इन्टरनेट पहुँच छ ।

जसमध्ये तारसहितको सेवा १६ दशमलव ११ ताररहित मोबाइल आदिमा ५४ दशमलव ९० प्रतिशतको पहुँच देखिन्छ । पहुँच भएका घरमध्ये व्यक्तिगत सुविधा भएका ८ प्रतिशत मात्रै छ । त्यसमा पनि सहरमा १२ प्रतिशत र पहाडमा २ प्रतिशत मात्रै छ । युनिसेफको पछिल्लो अध्ययनअनुसार कम्प्युटर र इन्टरनेट सुविधा भएका विद्यार्थी संख्या ८ प्रतिशत, ३७ प्रतिशत बालबालिकाको घरमा टेलिभिजन, ८० प्रतिशतको घरमा मोबाइल फोन र ३० प्रतिशतको घरमा रेडियो रहेको देखिन्छ ।

दुर्गम तथा सहरी क्षेत्रमा सूचना प्रबिधिका सुविधाहरूको विविधता भएकाले अनलाइन कक्षाको योजना पनि सोहीअनुसार गरिनु पर्दछ । साथै दक्ष र जाँगरिलो तथा जवाफदेही शिक्षकको अभावमा अनलाइन शिक्षा कागजी घोडा मात्रै नबन्ला भन्न सकिन्न ।

पठनपाठनलाई निरन्तरता दिन चुनौती भएको छ । अनलाइनमा आधारित शिक्षणबाट ग्रामिण भेग र विपन्न वर्गका बालबालिकालाई समेट्न सम्भव छैन । विभिन्न सुविधामा रहेका विद्यार्थीहरूको पढाइलाई निरन्तरता दिन विविध कार्यक्रमहरू अपनाउन सकिन्छ । कोही रेडियोमा, कोही पुस्तक र सहयोगी छापाम, कोही अनलाइन र भर्चुअल, कोही घर टोलमा झूण्ड बनाएर तथा थोरै विद्यार्थी भएका विद्यालयहरूमा आलोपालो उपस्थित भएर पठनपाठनलाई नियमितता दिन सकिन्छ । आधारभूत तहका विद्यार्थीको लागि उमेरगत शारीरिक, मानसिक विकास तथा चञ्चले स्वभावका कारण अनलाइन शिक्षा खासै प्रभावकारी हुन सक्दैन ।

त्यसकारण अहिले कतिपय सामुदायिक विद्यालयले टोल शिक्षण विधि अपनाएका छन् । पायक पर्ने घर वा चौतारीमा भए पनि बालबालिकालाई जम्मा गरेर गृहकार्य दिने, जिज्ञासा, र समस्या समाधानगर्ने, सानो तिनो प्रोजेक्ट वर्क दिने, अघिल्लो भेटमा दिएको गृहकार्य जाँच्ने, पृष्ठपोषण दिने, सिकाइलाई दैनिक दिनचर्यासंँग जोड्ने आदी क्रियाकलाप र अभ्यास टोल शिक्षणमा गरिन्छ । यस पद्धतिअनुसार शिक्षकले समयतालिका बनाएर टोल टोलमा गएर आवश्यकताअनुसार विद्यार्थी र अभिभावकसँग प्रत्यक्ष छलफल र अन्तरक्रियात्मक शिक्षण गर्दछन् ।

पाठ्यक्रममा भएका विषयवस्तुलाई गहन विश्लेषण गरी आफैँले अध्ययन गर्ने, शिक्षकसँग सिक्ने तथा महत्वको आधारमा ३० प्रतिशतसम्म कटौती गरेर लागू गर्ने । शैक्षिक सामग्रीहरूको निर्माणको पहल पाठ्यक्रम विकास केन्द्र र स्थानीयस्तरमा शिक्षकहरूको परिचालन गरेर बनाउदा प्रभावकारी हुन्छ । विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकन परम्परागत तीन घन्टे पेपरपेन्सील परीक्षाको सट्टा खोज र अनुसन्धानमा आधारित गृहकार्यहरूबाट मौलिकता जाँच्ने नीति उपयोगी हुन्छ ।

वैकल्पिक शिक्षणको प्रभावकारिता शिक्षकको सक्रियता, इच्छाशक्ति र जवाफदेहितामा मात्र सुनिश्चित हुनसक्छ । विद्यालय तहका अभिभावकलाई स्थानीयस्तरमा विद्यालयगतरूपमा वैकल्पिक शिक्षणको महत्व, अभिभावकले निर्वाह गर्नुपर्ने भूमिका बारेमा प्रशिक्षित गर्नुपर्ने हुन्छ । विद्यालय तथा शिक्षकको निरन्तर र सहज सम्पर्कले मात्रै अनलाइन र अफलाइन शिक्षण विधिहरू सार्थक हुन्छ भन्नेतर्फ हेक्का राख्न बिर्सनु हुन्न । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्