Techie IT
९ माघ २०७८, आईतबार

स्वास्थ्य सेवामा स्वयंसेविकाको योगदान


काठमाडौं । ‘स्वस्थ जीवनशैली हाम्रो आवश्यकता : संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका’ भन्ने मूल नाराका साथ गत मंसिर १९ गते १८औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो । नेपालको स्वास्थ्य सेवामा महिला स्वास्थ्य स्वयंसेविका परिचालनको इतिहासले साढे तीन दशक पूरा गर्न लागेको भए पनि अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस (डिसेम्बर ५) को अवसर पारेर २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो । यो दिवस महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य सेवा प्रदायक, सेवाका सेवाग्राही र आम सरोकारवालाहरूका लागि आफैंमा महत्व राख्ने दिन हो । नेपालमा मनाइने यो दिवसले नेपाली समाजमा सदियौँदेखि प्रचलनमा रहेको स्वयंसेवी भावनालाई सुदृढ तुल्याउनमा महत्वपूर्ण टेवा पु-याउने गरेको छ । सँगसँगै नेपालजस्तो विकासोन्मुख देशको स्वास्थ्य सेवा प्रवाहका सन्दर्भमा यस क्षेत्रको ‘आँखा र कान’को उपमाले चिनिने महिला स्वास्थ्य स्वयंसेविकाहरूको मनोबल उकास्न समेत यो दिवसको सान्दर्भिकता रहेको छ ।

सरकारले राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमअन्तर्गत स्वास्थ्य स्वयंसेविका परिचालनसम्बन्धी विभिन्न क्रियाकलापहरू नियमितरूपमा सञ्चालन गर्दै आएको छ । नेपालका हरेक गाउँपालिका र नगरपालिकाहरूको वडास्तरसम्म महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति रहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यस्ता स्वयंसेविकाहरूको संख्या ५१ हजार चार सय २३ रहेको छ । आजभन्दा करिब साढे तीन दशकअघि अर्थात् आर्थिक वर्ष २०४४/४५ मा २७ जिल्लाबाट सुरु भई क्रमशः विस्तार हुँदै आर्थिक वर्ष २०५१/५२ मा देशभर विस्तार भएको महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम आफैँमा नेपालको स्वास्थ्य क्षेत्रमा निकै सफल मानिएको कार्यक्रम हो । स्थानीयस्तरमै बसोबास गर्ने साक्षर, विवाहित र स्वयंसेवी भावना भएका महिला छनोट गरी स्वास्थ्य स्वयंसेविकाका रूपमा उनीहरूको क्षमता विकास गरिने भएका कारण पनि दशकौँदेखि यो कार्यक्रम दिगो र भरपर्दो रूपमा सञ्चालन भइरहेको पाइन्छ । समुदायको तल्लो तहसम्म स्वयंसेविकाहरूको यस किसिमको उपस्थिति र जराधार तहसम्म फैलिएको यो सञ्जाल मुलुकको स्वास्थ्य क्षेत्रको निकै ठूलो सामर्थ्य एवं सम्पत्तिका रूपमा रहेको छ ।

कार्यजिम्मेवारीका हिसाबले हेर्ने हो भने महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदाय तहमा रहेर स्वास्थ्य र पोषणबारे जनचेतना अभिवृद्धि, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, बाल एवं शिशु स्वास्थ्य सेवाबारे जनचेतना अभिवृद्धि गर्नेलगायतका कार्यहरू गर्दे आएका छन् । यसैगरी, परिवार नियोजन बारेको चेतना अभिवृद्धि र अस्थायी साधन वितरण, पाँच वर्षमुनिका बालबालिकाको झाडापखाला र श्वासप्रश्वाससम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रमहरूलगायत स्वास्थ्य क्षेत्रका राष्ट्रिय कार्यक्रमहरू सञ्चालनमा सहयोग गर्नेजस्ता जिम्मेवारीहरू बहन गरिरहेका छन् । फलस्वरूप, महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रमले स्वास्थ्यसेवाको पहुँच नपुगेका ग्रामीण भू–भागमा मातृशिशु स्वास्थ्य सुधार, परिवार नियोजन सेवा तथा स्वास्थ्य जनचेतना जागरणको क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको पाइन्छ । पछिल्लो समयमा कोभिड १९ महामारीको सन्दर्भमा समुदायस्तरमा जनचेतना अभिवृद्धिको कार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले पु-याएको योगदान पनि अविस्मरणीय रहेको छ । यो कार्यक्रमको सफलता र स्वयंसेविकाहरूको अतुलनीय योगदानकै कारण नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल भइरहेको देखिन्छ ।

नेपालको स्वास्थ्य सेवामा स्वयंसेविकाहरूले पु-याइरहेको योगदानलाई उनीहरूको संलग्नता रहेका कार्यक्रमहरूमा हासिल भएका प्रगति सूचकहरूबाट पनि हेर्ने सकिन्छ । नेपालले सहस्राब्दी विकास लक्ष्यअन्तर्गत बाल मृत्युदर, शिशु मृत्युदर र दादुराविरुद्धको खोप गरी तीनवटै स्वास्थ्य सूचकहरूमा हासिल गरेको उल्लेख्य प्रगतिमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको महत्वपूर्ण योगदान रहेको छ । तथ्यांकमा हेर्ने हो भने सन् १९९० मा शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) एक सय आठ रहेकोमा यो संख्या हाल ३२ मा झरेको छ । यसैगरी सन् १९९० मा नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) एक सय ६२ रहेकोमा हालसम्म आइपुग्दा त्यसमा व्यापक कमी आई २१ मा झरेको छ । पूर्ण खोप प्राप्त गर्ने बालबालिकाहरूको संख्या ९० प्रतिशतभन्दा माथि पुगेको तथ्यांक छ ।

नेपालमा सन् १९९० मा आठ सय ५० रहेको मातृ मृत्युदर हाल दुई सय ३९ हाराहारीमा झरेको छ । सहस्राब्दी विकास लक्ष्यले निर्दिष्ट गरेका स्वास्थ्य सूचकहरूमा नेपालले उल्लेख्य प्रगति गरेको मात्र छैन, मातृ मृत्युदर न्यूनीकरण गर्नमा उल्लेखनीय प्रगति गरेकाले संयुक्त राष्ट्रसंघको महासभाबाट पुरस्कृत समेत भएको थियो । बिफर, हैजाजस्ता रोगहरू देशबाट उन्मुलन प्रायः हुनुमा पनि स्वयंसेविकाहरूको महत्वपूर्ण भूमिका रहेको छ । कुल प्रजननदर घट्नु, परिवार नियोजनका साधनहरूको प्रयोग बढ्नु, तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी हुनेको संख्या बढ्नु र गर्भवतीको समयमा स्वास्थ्यकर्मीको सेवा एवं सल्लाह लिनेको संख्या बढ्नुजस्ता सूचकहरूले समेत नेपालको स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि गरेका छन् । हाल दिगो विकास लक्ष्यहरू हासिल गर्ने सन्दर्भमा समेत महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका निरन्तर खड्किरहेको देखिन्छ । देशको स्वास्थ्य क्षेत्रमा भएको यसकिसिमको ठोस प्रगतिमा नीति निर्माता, चिकित्सक, स्वास्थ्यकर्मी, समुदाय सँगसँगै मुलुकभरका स्वयंसेविकाहरूको व्यक्तिगत एवं सामूहिक पहल र योगदानलाई कम आकलन गर्न मिल्दैन ।

विभिन्न खालका कठिनाइहरूका बाबजुत दशकौँदेखि निरन्तर रूपमा स्वयंसेविकाका रूपमा कार्यरत रहँदा पनि समुदायबाट प्राप्त सम्मान, प्रशंसा, विशिष्ट पहिचान र पारिवारिक सहयोगका कारण ९० प्रतिशतभन्दा बढी स्वयंसेविकाहरू आफ्नो भूमिकाप्रति सन्तुष्ट रहेको स्वास्थ्य सेवा विभागले केही वर्षअघि गरेको एउटा अध्ययनले देखाएको छ ।

अर्कोतर्फ, स्वयंसेविकाहरूलाई लक्षित गरी समय समयमा हुने तालिम, गोष्ठीलगायतका कार्यक्रमहरूले स्वयंसेविकाको व्यक्तिगत विकास मात्र नभई उनीहरूलाई समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नेसमेत बनाएको र महिला सशक्तीकरणका क्षेत्रमा प्रत्यक्ष सहयोग पु-याएको छ । महिला स्वयंसेविका स्थानीय तहका विभिन्न पदहरूमा निर्वाचित हुनुका साथै सहकारी समूह, महिला समूह, कृषि समूह, विद्यालय व्यवस्थापन समितिजस्ता सामाजिक संस्थाहरूमा समेत संलग्न भएको पाइएको छ । स्थानीयस्तरमा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गर्न सहज र प्रभावकारी हुने भएकोले स्वास्थ्य क्षेत्रमा मात्र नभएर वन संरक्षण, प्रौढ शिक्षा, बाल शिक्षा, पूर्वाधार निर्माणका काम, मानव अधिकार, महिला अधिकारजस्ता जनचेतनामूलक कार्यक्रमहरूदेखि लिएर खुला दिशामुक्त क्षेत्रको घोषणामा समेत स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको देखिन्छ ।

यसैगरी स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको कमजोर पहुँच रहेको विकट हिमाली र पहाडी जिल्लाहरूमा सर्वसाधारणले स्वयंसेविकाबाट अन्य क्षेत्रमा भन्दा बढी स्वास्थ्य सेवा लिनेगरेको समेत देखाएको छ । हुन पनि, दूरदराजका आम नागरिकहरूले आफ्नै गाउँघरमा देख्ने, भेट्ने र अनुभूत गर्ने स्वास्थ्य सेवाका जानकारका रूपमा महिला स्वास्थ्य स्वयंसेविकाहरू स्थापित भएका छन् । यो स्थितिमा मुलुकको स्वास्थ्य सेवालाई विस्तार गरी आम नागरिकहरूको पहुँचयोग्य तुल्याउनमा स्वयंसेविकाहरूले खेलेको भूमिका स्मरणयोग्य रहेको छ ।

स्वयंसेविकाहरूले पु-याइरहेको सेवाको कदर गर्दै सरकारले स्वयंसेविकाहरूलाई वार्षिकरूपमा पोसाक खर्च, यातायात खर्च र समय समयमा हुने तालिम कार्यक्रम एवं अन्य राष्ट्रिय कार्यक्रमहरूमा भत्ताको सुविधा उपलब्ध गराउँदै आएको छ । स्वयंसेविकाहरूको सामूहिक हित र आर्थिक उन्नतिका लागि स्थानीयस्तरमा स्वयंसेविका कोष स्थापना गर्ने तथा विभिन्न किसिमका आयमूलक कामहरूमा सहभागिताका लागि प्रोत्साहन गर्ने कार्यसमेत सरकारी तवरबाटै भइरहेको देखिन्छ । सरकारका अलावा गैरसरकारी र सामुदायिक क्षेत्रबाट समेत महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको कदर गर्दै विभिन्न अवसरमा स्वयंसेविकाहरूलाई सम्मान गर्ने, पुरस्कृत गर्ने, पोसाक वितरण गर्नेजस्ता प्रोत्साहनमूलक कार्यहरू हुनेगरेका छन् । सरकारले उपलब्ध गराउँदै आएको यसकिसिमका सुविधाहरूमा समय समयमा बढोत्तरी हुँदै आइरहेको पनि छ । वर्षेभरि परिचालन गरिने स्वयंसेवकहरूलाई कम्तीमा एक सय दिनको पारिश्रमिक उपलब्ध गराइनुपर्ने स्वयंसेवक परिचालनसम्बन्धी अन्तर्राष्ट्रिय मान्यता रहेको भए पनि नेपालका स्वास्थ्य स्वयंसेविकाका हकमा यो मान्यता अवलम्बन गरिएको छैन । यद्यपि, स्वयंसेवाको वास्तविक मर्म र यसबापतको सुविधाको मागबीचमा ठूलै खाडल रहेको देखिए पनि स्वयंसेविकाहरूको योगदानको समयोचित कदर गरिन भने आवश्यक देखिन्छ ।

नेपालको स्वास्थ्य क्षेत्रमा र खासगरी ग्रामीण क्षेत्रको स्वास्थ्य सेवाको प्रवर्द्धनमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले पु¥याइरहेको अतुलनीय योगदान आफैँमा प्रशंसनीय रहेको छ । वर्तमानमा बदलिँदो परिस्थिति, महामारीको प्रकोप र रोगहरूको परिवर्तित ढाँचासँगै महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका पुनर्परिभाषित गरिनुपर्ने देखिएको छ । जनसंख्याको बढ्दो अनुपात र भौगोलिक अवस्थितिका आधारमा उनीहरूले गर्ने काममा विविधता ल्याउन राज्यले आवश्यक पहल समेत गर्नुपर्ने देखिन्छ । अर्कोतर्फ, बदलिएको शासकीय ढाँचा र संघात्मक शासन व्यवस्थाको कार्यान्वयनसँगै स्वयंसेविका परिचालनका सन्दर्भमा खासगरी स्थानीय तहको अग्रणी भूमिका पनि अपेक्षित रहन्छ । समयअनुसार आएका परिवर्तन र आवश्यकतालाई सम्बोधन गर्दै यस किसिमका कार्यक्रमलाई प्रभावकारिताका साथ निरन्तरता दिन र स्वयंसेवाको भावनालाई उँचो तुल्याउन सक्नुमा नै हालै मनाइएको दिवसको सार्थकता रहने र संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका अझ अभिवृद्धि हुने अपेक्षा गर्न सकिन्छ । (आर्थिक दैैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्