Techie IT
मंगलबार, मंसीर १६,२०७७

धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड


रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड धार्मिक एवं पर्यटकीय केन्द्र हो । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड रामसार सूचीमा समेत पर्दछ । समुद्र मन्थनबाट उत्पन्न कालकुट विषको डाहा शान्त पार्न हिमालय खण्डमा आई महादेवले आफ्नो हातमा भएको त्रिशुलले पहरो खोपी पहरोबाट गंगाजल (त्रिशुलधारा) उत्पन्न भएपछि कुण्डमा सयन गरी चिसो पानीले विषको डाहा शान्त पारेको हुँदा गोसाइँकुण्डमा त्रिशुलधाराको पानी गोसाइँ महादेवलाई सिँचन गर्ने गरेको विभिन्न शिलालेखबाट प्रमाणित हुन्छ ।

यसै क्रममा महादेव भगवानसमेतले यस्तै कार्य गोरखाको दूध पोखरी, नारद पोखरी तथा अन्य स्थानमा समेत गरेको कुरा फेला परेको छ । महादेवले समेत स्नान गरेको यी उल्लिखित गोसाइँकुण्ड, दूध पोखरी, नारद पोखरी तथा अन्य स्थानको पवित्र जलमा हामी सबैलाई स्नानको चाहना हुनु स्वाभाविकै हो । यी धार्मिक, सांस्कृति एवं पर्यटकीय केन्द्रमा विशेष मेला वर्षको दुईचोटी दशहरा र जनैपूर्णिमाको अवसरमा लाग्छ । यो बेलामा अन्य समयभन्दा अधिक भीड हुन्छ । स्मरण रहोस्, अधिक भीडमा कोरोना भाइरसको संक्रमणको उच्च जोखिम हुने कारणले यस वर्षका मेला भने बन्द गरिएको छ ।

लमजुङ र गोरखाको बीचमा बग्ने चेपे नदिको उद्गम स्थान दूधपोखरी र गोरखाको नै दरौदी नदिको उद्गम स्थान नारद पोखरी हो । यस लेखमा विशेषगरी गोसाइँकुण्डको चर्चा गर्ने जमर्को गरिन्छ । त्रिशुली नदिको उद्गम स्थान त्रिशुलधारा गोसाइँकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड, सरास्वतिकुण्ड, आमााकुण्डलगायत एक सय आठ कुण्डहरू, अमरसिंह गुफालगायतका ऐतिहासिक, भौगोलिक, धार्मिक तथा प्राकृतिक महत्वले यस क्षेत्र धनी छ ।

जैविक विविधतताले धनी यस क्षेत्रको वन, वनस्पति, वन्यजन्तु, चराचुरुङ्गी, पुतली, जडीबुटी, गुम्बा, धार्मिक स्थान, तमाङ तथा हेल्मो संस्कृति, भेषभुषा र ज्ञानगुनको कुराहरू जानकारी पाउनसकिने भएकोले साथै यी कुण्डहरूमा स्नान गरी महादेवको दर्शन गर्नाले पितृ मोक्ष हुनुका साथै स्वयम् पनि पवित्र हुने भनाइ छ ।

यी क्षेत्रहरूले राष्ट्रिय संस्कृतिहरूको स्वरूप लिन यहाँको धार्मिक, लोकसंस्कृतिको एकतामा समाहित भएर नेपाली माटोलाई सुगन्ध बोकेर परमपरा बचाएको छ । आफ्नो मैलिकता जातीय पहिचान सिर्जिएका लोक सांस्कृति नाचगानले यस समाजको पृष्ठभूमिमा सिर्जित लोक संस्कृतिको मुख्य थान लिएको पाइन्छ । यसै बहुरीतिरिवाज, चालचलन, रसहनसहन, भेषभुषा, बोलिबचन, साइनो, अभिवादन, धर्मकर्म, लोक परमपरा, कलाकौशल, लोक साहित्य धार्मिक संस्कृति र तिनको दैनिक उपयोग्य सामानको प्रयोगमा माझिएको हिमाली जीवनशैली यहाँको र राष्ट्रकै सम्पत्ति हुन् । यहाँका कुण्डहरू राष्ट्रिय धरोहरको रूपमा छन्, जुन सधैँ जीवन्त रहनेछन् ।

गोसाइँकुण्डमा पानीको आयतन १४ लाख ७२ हजार क्युविकमिटर रहेको छ भने भैरव कुण्डमा ४६ लाख ६० हजार क्युविकमिटर पानी रहेको छ । गोसाइँकुण्डबाट प्रतिसेकेण्ड ६० लिटर पानी बग्छ भने प्रतिसेकेण्ड ३५ लिटर पानी त्रिशुल धारा र अन्य स्रोतबाट भित्रिन्छ । भैरवकुण्डबाट प्रतिसेकेण्ड ७५ लिटर पानी तल झर्छ । अपार धार्मिक जलभण्डारको प्रतिबिम्ब हो गोसाइँकुण्ड । किनकि वेदमा पानीको प्रयोग सम्बन्धमा थुप्रै स्थानमा उल्लेख गरिएको छ ।

नेपालमा जम्मा दुई सय २५ अर्ब घनमिटर अर्थात् २२ सय ५० अर्ब लिटर पानीको स्रोत रहेको र केबल उक सय ५० अर्ब लिटर पानी मात्र सामाजिक र आर्थिक क्रियाकलापमा उपयोेग हुन्छ । यी तथ्यले पनि गोसाइँकुण्ड प्राणी÷ वनस्पति सबैको लागि अचुक जलधाराकोे भण्डार हो भन्नुमा कुनै अयुक्ति नहोला ।

गोसाइँकुण्ड क्षेत्रमा एक सयभन्दा बढी प्रजातिको वनस्पति पाइन्छ । विश्व संरक्षण खतराको सूचीमा परेको वनस्पतिहरूमा कुट्की, जटामसी, क्षेतरे, सर्मागुरु, विष, अमुत, धोपजडी, खिलदार, पदमचाल पाइन्छ । भने रैथाने प्रजातिका वनस्पतिहरूमा मेकोनोपासिस धोजी, मेकोनोपासिस टेलारी, हेरा, किल्यम, प्रिमुला, औरेटा, पेडीकोलासिस, सिउडोरेजिलिएना, रोडोडेन्डो, कायनियन पाइन्छ । त्यस्तै प्रमुख जंगली जनावरमा डाँफे, कस्तुरी मृग काँडे भ्याकुर आदि यहाँ पाइन्छ । वास्तविकरूपमा गोसाइँकुण्ड क्षेत्र धार्मिक, संस्कृति, पर्यटकीय, हिमाली क्षेत्रकै उत्तम क्षेत्र हो ।

यो क्षेत्रमा धार्मिक, संस्कृति, पर्यटकीय भ्रमण गर्न अति आवश्यक छ । यहाँ कसरी सरल तरिकाबाट पुग्ने यसबारे यहाँ चर्चा गर्नु सान्र्दभिक ठान्दछु । गोसाइँकुण्डमा पुग्नको लागि रसुवा नुवाकोट र सिन्धुपाल्चोक भएर तीनतिरबाट पुग्न सकिन्छ । काठमाडौंबाट एक सय १७ किमि झण्डै ६ घण्टा बसमा यात्रा गरी धुन्चेमा बास बसेर भोलिपल्ट सजिलै चन्दनबारी पुग्न सकिन्छ । तेस्रो दिन लैरीविनायक र अर्को दिन गोसाइँकुण्ड पुग्न सकिन्छ । अब यहाँ धुन्चे, सिन्धुपाल्चोक र सुन्दरीजलबाट गोसाइँकुण्ड जाने धार्मिक एवं पर्यटक महानुभावलाई ठाउँ दूरी आदिको बारेमा चर्चा गरिन्छ ।

धुन्चेबाट गोसाइँकुण्ड : यस धुन्चेबाट गोसाइँकुण्ड जाँदा धुन्चे–घट्टेखोला १ घण्टा १५ सय ५० मिटर उचाइ घट्टेखोला–देउराली २ घण्टा २६ सय मिटर, देउराली–ढिस्मा १ घण्टा तीन हजार मिटर, ढिस्मा–चन्दनबारी १ घण्टा ३३ सय ५० मिटर, चन्दनबी–चोलाङपाटी १ घण्टा ३० मिनेट ३५ सय ५० मिटर, चोलाङपाटी–लौरीविना १ घण्टा ३० घण्टा ३९ सय मिटर, लौरीविना–बुद्ध मन्दिर १ घण्टा ३० घण्टा ४२ सय मिटर, बुद्ध मन्दिर–गोसाइँकुण्ड १ घण्टा ३० मिनेट ४३ सय ८० मिटर ।

सिन्धुपाल्चोकबाट : काठमाडौं–मेलम्चीपुल ४ घण्टा बस, मेलम्चीपुल–तारामाराङ १ घण्टा बस, तारामाराङ–कुटुमसाङ ६ घण्टा पैदल, कुटुमसाङ–मागिनगोठ ३ घण्टा पैदल, मागिनगोठ–ठाडेपाटी १ घण्टा पैदल, ठाडेपाटी–ठूलोघोप्टे २ घण्टा पैदल, ठूलोघोप्टे–फेदी २ घण्टा पैदल, फेदी–ऐथाङ २ घण्टा पैदल, ऐथाङ–सूर्यकुण्ड २ घण्टा पैदल, सूर्यकुण्ड–गोसाइँकुण्ड १ घण्टा पैदल ।

सुन्दरीजलबाट : बौद्ध–सुन्दरीजल १ घण्टा बस, सुन्दरीजल–चिसोपानी ३ घण्टा पैदल, चिसोपानी–पाटीभञ्ज्याङ १ घण्टा पैदल, पाटीभञ्ज्याङ–चिपलिङ २ घण्टा पैदल, चिपलिङगुल्फु–भञ्ज्याङ १.३० घण्टा पैदल, गुल्फुभञ्ज्याङ–कुटुमसाङ २ घण्टा पैदल, कुटुमसाङ–मागिनगोठ ३ घण्टा पैदल, मागिनगोठ–ठाडेपाटी १ घण्टा पैदल, ठाडेपाटी–ठूलोघोप्टे २ घण्टा पैदल, ठूलोघोप्टे–फेदी २ घण्टा पैदल, फेदी–ऐथाङ २ घण्टा पैदल, ऐथाङ–सूर्यकुण्ड २ घण्टा पैदल, सुर्यकुण्ड–गोसाइँकुण्ड १ घण्टा पैदल ।

यी माथि उल्लेखित यात्रा दूरी आफ्नो हिँड्ने शारीरिक तन्दुरुस्तअनुसार घटीबढी हुनसक्ने कुरा जानकारी गरिन्छ । गोसाइँकुण्ड उच्च क्षेत्रमा भएकोले लेक लाग्नसक्छ । अतः त्यहाँ जान सावधानि अपनाउनु आवश्यक छ । गोसाइँकुण्ड जादाँ लेक लागेमा जतिसक्दो कम उचाइतर्फ ओर्लनुपर्छ ।

लेक लाग्नुको लक्षणहरूः टाउको दुख्नु, खान मन न लाग्नु, आराम गरेको बेला स्वास फेर्न गाह्रो, वान्ता हुनु, शरीरिर सन्तुलन गर्न गाह्रो, बेहोस हुनु आदि हुन् । अतः यी भएमा निम्नलिखित सावधानीहरू तुरुन्त अपनाउनुपर्नेहुन्छ : बिस्तारै आरामले हिँड्ने, दैनिक ३/४ लिटर पानि पिउने जबरजस्ती माथि नजाने, तल झर्ने, चिसो भएमा न्यानो कपडा लगाउने, खालिपेट नहिँड्ने, धुम्रपान, मद्यपान नगर्ने, सम्भव भए स्वास्थ्यकर्मीसँग समन्वय गर्ने ।

हलुका खाना व्यवस्था, स्लिपिङ व्याग, न्यानो लुगा, पानीको तुम्लेट, छाता, लठ्ठी, आवश्यक औषाधिको व्यवस्था गरेमा यात्रा सफल र सुविधाजनक तथा आनन्दमय हुन्छ । अन्त्यमा गोसाइँकुण्ड क्षेत्रको दृश्यको सौन्दर्य स्वरूपले जो कही पनि मुग्ध हुनु स्वभाविकै हो । राष्ट्रिय संस्कृतिको स्वरूप लोक सांस्कृतिक, धार्मिक एकतामा समाहित भएर गोसाइँकुण्ड क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर साँच्चै नै परम्परा बचाएको पाइन्छ । आफ्नो मौलिक जातीय पहिचानको परिचायको रसस्वादन गर्न तपाईंहामी गोसाइँकुण्ड क्षेत्रको भ्रमण गर्नु आजको आवश्यकता हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्