Techie IT
१९ मंसीर २०७८, आईतबार

सामाजिक परिवेशमा मानसिक बलात्कार


काठमाडौं । सामान्यतया कुनै पनि भाषाभाषी, जाति, वर्ण लिंग, वा समुदाय विशेषको इच्छाविपरीतका कुनै क्रियाकलापहरू चाहे त्यो यौनिक क्षेत्रगत आधार होस् अथवा अन्य कुनै कार्यगत आधारमा नै किन नहोस् सम्बद्ध पक्षको बौद्धिक मानसिकतामा प्रत्यक्ष वा परोक्ष नकारात्मक प्रभाव पु-याउने बदनियताले भरिपूर्ण भएको काम, कारबाही एवं दबाबलाई निश्चित रूपमा मानसिक बलात्कारको परिभाषाभित्र समावेश गर्न सकिने विश्वव्यापी क्षेत्राधिकारको सीमालाई नेपालले पनि आत्मसात् गर्दै व्यवहारतः अगाडि बढाउनु आजको आवश्यकता हो ।

यस प्रकारका पीडाहरूमा सुरुआती अवस्थामा मानवीय सद्भावलाई आधार मान्दै पीडकपक्षले हरेक गतिविधिलाई आफ्नो महत्वपूर्ण जिम्मेवारीमान्दै इमान्दारीपूर्वक पालना गरेको अवस्था पनि हुन सक्दछ । पाशविक यौनिक बलात्कारको घटनाक्रमको विकास दैनिक रूपमा अभिवृद्धि हुँदै गएको वर्तमान अवस्थामा नागरिक समाजले सहजै हेक्का राख्न नसक्ने प्रवृतिका मानसिक बलात्कारको पीडाले आफ्नो क्षेत्राधिकारलाई दिन दुईगुणा रात चौगुणा अभिवृद्धि गर्दै लैजानु सामाजिक चुनौतीको रूपमा नेपाललगायत विश्वभरि नै फैलिँदै गएको पाइन्छ । आधुनिक समाजको कलङ्कको रूपमा रहेको मानसिक बलात्कारको पीडा समाजमा घट्ने अन्य यौनिक बलात्कारको पीडाभन्दा निश्चित रूपमा कुनै पनि हालतमा कम छैन भन्दा फरक नपर्ला ।

मानव समुदायको भावनामा प्रतिकूल असर पार्ने प्रवृत्तिका घटनाक्रमलाई लक्षित गर्दै योजनाबद्ध एवं त्रासदीपूर्ण ढंगले कुनै पनि कार्य गर्नु वा गराउनु खोज्नु निश्चय पनि मानसिक बलात्कारको अनेकन रूपमध्येको एक रूप हो । उपयूक्त ढंगले प्रस्तुत हँुदा समेत आफूअनुकूलको कार्य सहज रूपमा सम्पन्न हुन नसक्ने अवस्था पैदा भएपछि उक्त कार्यले हिंसात्मक रूप धारण गर्ने तथ्यलाई इंकार गर्न मिल्दैन । नेपाली समाजमा आजभोलि अत्यधिक मात्रामा हिंसात्मक क्रियाकलापको वृद्धि हुनुको प्रमुख कारक तत्वविशेषको रूपमा मानसिक बलात्कारको पीडालाई पनि लिन सकिन्छ ।

यस प्रकारको समाज विरोधि कार्यमा आबद्ध रहने पीडित वा पीडक पक्षको कुनै जात, लिंग, वर्ण, धर्म एवं उमेरको निश्चित हदबन्दी रहेको भने पाइएन । तथापि यौनिक बलात्कारको घटना भने अपवादबाहेक अन्य उमेरसमूूहको तुलनामा युवासमुहको बाहुल्यता रहेको पाइयो । तर त्यसो भन्दैमा सम्पूर्ण युवा समुदायको भावनामा चोट पु-याउने लेखको आसय भने पक्कै पनि होइन । यसका अतिरिक्त यौनिक बलात्कारको हकमा मदिराजन्य प्रदार्थ, नीलो चलचित्र एवं पाश्चात्य संकृतिको नक्कल गर्ने क्रममा भित्रिएको नकारात्मक प्रवृतिले निम्ताएको सामाजिक दुर्घटनाको भयाभय रूपमा यसलाई लिन सकिन्छ, भने अर्कोतर्फ मानसिक बलात्कारको हकमा मानव समुदायभित्र रहेको अहमवादको दम्भले निम्त्याएको प्रभावलाई यसको उद्गमस्थल मान्दा त्यति फरक नपर्ला ।

प्रस्तुत भयाभय तथ्यलाई ह्दयंगम गर्दै मानव सम्प्रदायले चनाखो रहनु नै यस प्रकारको समस्याबाट मुक्ति पाउनु हो । नेपाललगायत सम्पूर्ण विश्वभरि नै सामान्य अर्थमा बलात्कार भन्ने शब्द नारी वा पुरुषवर्गको अस्मितामाथि भएकोे खेलडबालको रूपमा बुझ्ने गरेको पाइन्छ । यी घटनाक्रमको विकासपश्चात् विभिन्न प्रकारको अदालती वा प्रशासकीय कार्यको सिलसिलामा प्राप्त हुने मानसिक हैरानी, कुण्ठा, एवं सम्भावित धम्कीपूर्ण व्यवहारले दिने पीडा वास्तविक रूपमा मानसिक बलात्कार नै हुन् भनेर ठोकुवा गर्न सकिन्छ ।

समाजमा हुने बलात्कारको सन्दर्भमा सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने निश्चय पनि घोषित वा अघोषित रूपमा कुनै न कुनै प्रकारको बलात्कारको प्रभावमा मानव समुदायले दैनिक रूपमा समस्या झेल्दै आएका हुन्छन् । पीडादायी अवस्थामा रहने यस व्यवहारलाई धेरै सो अवस्थामा गौण रूपमा लिइने हुँदा सामान्यतया समस्या नदेखिएको मात्र हो । जब समस्याले उग्रता हासिल गर्छ तत्पश्चात समाजमा प्रस्फुटन हुने यसका व्यवहार हुन् ।

सामाजिक परिवेशमा आबद्ध रहेको मानव समुदायलाई कुनै पनि बहानामा पीडकले आफूअनुकूलको प्रयोग गर्ने क्रममा शारीरिक वा मानसिक दुवै प्रकारको दबाब प्रयोग गर्ने प्रवृत्तिको विकास गर्छन् भने सही अर्थमा यसलाई नै मानसिक बलात्कारको भयाभय रूप मान्न सकिनेछ । यस प्रकारको समाजविरोधी कार्यलाई गहन रूपमा अध्ययन गरी कानुनको परिधिभित्र ल्याउनु आजको आवश्यकता हो । अन्यथा समाजमा विभिन्न प्रकारको आपराधिक क्रियाकलापको जन्म भई सामाजिक पृष्ठभूमिमा नकारात्मक प्रभाव पर्न जाने सम्भावना रहन्छ ।

यस प्रकारका घटनाक्रमहरू कुनै स्थान विषेश, स्कुल, कलेज, अस्पताल वा कार्यालयलगायतका कुनै पनि क्षेत्रमा घट्न सक्ने भएको हुँदा समस्या समाधानमा व्यवधान खडा हुनु सामान्य प्रक्रिया हुन् । वास्तवमा भन्ने हो भने मानसिक रूपबाट प्रडातित गराउदै नकारात्मक घटनाक्रमको विकासक्रमलाई तीव्रता प्रदान गर्दै पीडकले पीडित समूहबाट भरपुर लाभ लिन सक्ने भएकोले विशेष सर्तकता अपनाउनु जरुरी देखिन्छ ।

प्रस्तुत भयाभय अवस्था पश्चात समाजमा मानसिक बलात्कारको द्वन्द्व आरम्भ हुनेछ । उक्त द्वन्द्वात्मक परिवेशलाई यदि समय सीमाभित्रमा नै नियन्त्रणमा लिन सकिएन भने तत्पश्चात् हिंसात्मक परिस्थितिको जन्म भई जघन्य अपराध हुनसक्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । किनकि स्वभावतः मानव जातिले हिंसाको चाहना राख्दैन, तथापि समय वा परिस्थितिले मानव समुदायलाई जघन्य अपराध गर्न उत्पेरित गराउने तथ्यहरूले प्रमाणित गर्दै आएको छ ।

अतः मानव समुदायलाई मानसिक बलात्कारको घेराबाट पृथक राख्ने हो भने पीडक व्यक्ति वा समूहबाट हुने पीडाजन्य कार्यलाई तुरुन्त अन्त्य गर्ने प्रयासहरू जारी राख्नुपर्ने हुन्छ । अन्यथा प्रतिशोधको ज्वालामा अनैतिक कार्य हुदै हिंसात्मक व्यवहारले प्रतिहिम्साको जन्म गराउनेछ । जसका कारण नागरिक समाजमा आपराधिक तत्वको बोलवाला अत्यधिक मात्रामा बढ्न जाने सम्भावना रहन्छ ।

यसका बाबजुद पनि नागरिक समाजले नचाहदा–नचाहदै आपराधिक क्रियाकलापको घेराबन्दीमा पर्नसक्ने सम्भावनालाई अन्यथा लिन मिल्दैन । तसर्थ सरोकारवाला पक्षको ध्यान समयमा नै पुग्न सकेको खण्डमा निश्चय पनि यसप्रकारका समाजविरोधी तत्वको चलखेलमा कमी आई आदर्श नेपाली समाजको परिकल्पना गर्न सहज हुनेछ । यस प्रकारका सकारात्मक कार्यको विकासले एकातिर मानसिक पीडालाई न्यूनीकरण गर्न मदत पु-याउँछ भने अर्कोतर्फ अपराध नियन्त्रणमा सहयोगीको भूमिका निर्वाह गर्न सहायक सिद्ध भई आउनेछ भन्न सकिन्छ ।

सामान्य अवस्थाको मानसिक वलात्कारको तुलनामा नारी अस्मितामाथि गरिएको प्रहार निकै भयावह हुने हुँदा उक्त मानसिक बलात्कारको पीडा पक्कै पनि शब्दमा वर्णन गर्न कठिन हुने देखिन्छ ।

समाजमा घटने वा घटेका जुनसुकै तवरको अपराधलाई दबाउन शक्तिको प्रयोग गर्ने प्रवृत्तिले अन्तत मानसिक पीडा बढ्ने निश्चित छ । किनकि अपराध भइसकेपछि सम्भावित दण्ड जरिवानाबाट बच्न आफूअनुकूलको शक्तिको प्रयोग गर्नुलाई अन्यथा लिन मिल्दैन । मानसिक बलात्कारको हकमा सम्बद्ध पीडित पक्षलाई समाजमा प्रतिस्थापन गराउन जति सजिलो छ । त्यसको तुलनामा यौनिक बलात्कारका घटनाका पीडित पक्षलाई समाजमा प्रतिस्थापन गराउनु निक्कै नै चुनौतीपूर्ण एवं जोखिमले भरिपूर्ण कार्य समेत हो ।

किनकि मानसिक एवं यौनिक बलात्कारको घटनालाई समाजमा प्रतिस्थापन गर्ने सन्दर्भमा विषेशगरी सम्बद्ध पीडित पक्षको पारिवारिक पृष्ठभूमि नै मूलत बाधक तत्वको रूपमा देखा पर्ने गरेको छ । तसर्थ प्रस्तुत समाजविरोधी कार्यलाई सहज रूपमा अवतरण गर्नको लागि सरोकारवाला पक्षले विशेष सावधानी अपनाई कार्य गर्नुपर्ने हुन्छ । यदि सफल एवं सहज रूपमा प्रतिस्थापन गराउन सम्भव नभएको खण्डमा जुनसुकै तवरले भएको बलात्कृत समूहले आत्महत्याजस्तो मानवताविरोधी गतीविधिलाई अवलम्बन गर्नसक्ने सम्भावित खतरालाई पक्कै पनि नजरअन्दाज गर्न मिल्दैन ।

विश्व परिवेशलगायत नेपालमा समेत प्रतिवर्ष आत्महत्याको दर अभिवृद्धि हुनुको प्रमुख कारक तत्वहरूमध्ये केही हदसम्म बलात्कारको चपेटामा परेको पीडितहरूको समूहलाई सफल रूपमा समाजमा व्यवस्थापन गर्न गराउन नसकेको परिणतीलाई लिन सकिन्छ । समाजमा कायम रहेको यस प्रकारको विकृतिजन्य अवस्थालाई अत्य गर्नु आजको सामूहिक चुनौतीे समेत हो भन्दा फरक नपर्ला । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्