Techie IT
१२ मंसीर २०७८, आईतबार

नेपालको जाति, भाषा र संस्कृति बाहुन, क्षेत्री खस आर्य–१०


गिरी पुरी संन्यासी दशनामी : नेपाली खस आर्यमा संन्यासी वर्ग पनि पर्छन् । जसलाई गिरी, भारती, पुरी आदि थरहरुबाट पनि चिनिन्छ । आद्य गुरु शंकराचार्यद्वारा भारतवर्षमा हिन्दूधर्म र संस्कृतिका चारवटा मठहरु आजभन्दा करिब १२ सय वर्षअघिको समयमा स्थापना गरियो । त्यसपश्चात् मठका साथै विभिन्न अखडाहरु स्थापना गर्दै लगिए । तिनै मठ तथा अखडाहरुका संन्यासीहरुलाई नै गृहस्थाश्रममा आबद्ध भएपश्चात् उनीहरुलाई संन्यासी वर्ग वा जातका रुपमा वर्गीकरण गरी तिनका सन्तान समेत संन्यासी जातिका हुन गए ।

आदिगुरु शंकराचार्यद्वारा ब्रह्मवाद (अद्वैतवाद) दर्शनको प्रादुर्भाव गरी हिन्दू वैदिक आर्यधर्मको रक्षार्थ स्थापित चार प्रकारका मठ तथा संन्यासी अखडाहरु हुन् : १) गोवर्द्धन मठ : भारतको उडिसा राज्यमा अवस्थित जगन्नाथपुरी गोवर्द्धन पीठ स्थापना गरी जगद्गुरु शंकराचार्यद्वारा स्वामी पदम पादचार्य मठाधिश र दुई शिष्यहरु वशिष्ठ वन र शम्भु अरख्यलाई सहयोगी मठाधीश राखिदिए ।
२) शारदा मठ : भारतको गुजरात राज्यको द्वारका धाममा शारदा मठ अवस्थित छ ।
३) ज्योतिर्मठ : उत्तर भारतको उत्तराञ्चल राज्यमा बद्रीनाथ धाममा स्वामी त्रिटकाचार्यलाई मठाधीश नियुक्त गरियो । एवम् प्रकारले मठाधीशका तीन सहयोगीहरु नारायण गिरी, पूर्ण पर्वत र राम सागर भन्ने नियुक्त गरियो ।
४) शृंगभेरी मठ : दक्षिण भारतमा अवस्थित यो मठ कर्णाटक राज्यमा रहेको छ । पहाड र पर्वतहरुले घेरिएको यस मठ प्राकृतिक सौन्दर्यले समेत परिपूर्ण रहेको छ । यस मठमा स्वामी पृथ्वीधराचार्य (सुरेश्वर) लाई नियुक्त गरी मठाधीश बनाइयो । संन्यासी जातिका थरहरुमा गिरी, पुरी, भारती, आश्रम, वन, आख्य, तीर्थ, पर्वत, सागर र सरस्वती गरी दश थरहरु भएकाले दशनामी भनेर समेत भन्ने गरिन्छ ।

नवौँ शताब्दीमा आदि गुरु शंकराचार्यले उत्तराखण्डको यात्रा सुरु गरे । उनको यात्राको मूल उद्देश्य भारतवर्षभरि लगभग समाप्त भइसकेको तथा समापनको क्रममा रहेको बुद्धधर्मलाई विस्थापित गरी पूर्णतया हिन्दू धर्मलाई प्रतिस्थापित गर्नु समेत रहेको थियो । किनभने भारत वर्षका मैदानी क्षेत्रहरु तथा सम्पूर्ण भारत वर्षहरुझैं त्यस भेगमा पनि ठूलो संख्यामा बौद्ध धर्मावलम्बीहरु रहेका थिए । शंकराचार्यको त्यस अभियानमा प्रतापी कत्युरी शासक वा राजाहरुको ठूलो सहयोगले त्यस भेगमा समेत हिन्दू धर्म पुनर्स्थापित भयो । शंकराचार्यको आगमनपश्चात् बौद्धमार्गी पुजारीहरुका सट्टामा बदरीनाथमा दक्षिण भारतका पुजारी भगवान नारायणका निमित्त नियुक्त गरिए भने केदारनाथमा समेत भगवान शंकरका निमित्त दक्षिण भारतका पुजारी सदाका लागि रहन गए ।

एवम् परान्त धेरै पछिका समयमा नेपालको पशुपतिनाथमा समेत दक्षिण भारतीय मूल पुजारी अद्यापि रहन गएको देख्न सकिन्छ भने भारतमा झैं नेपालमा समेत चार मठको स्थापना गराई तीमध्येको एक मठ भक्तपुर दुवाकोटमा अवस्थित केदारनाथको शिर भनिएको वा मानिएको डोलेश्वरनाथको मन्दिरमा मठ स्थापित गरी दक्षिण भारतीयमूलका जगम थरका मुख्य पुजारी वा मठाधीश नियुक्त गरियो । कालान्तरमा ती जंगम थरका सन्तति फैलिँदै गएर बिहेबारीको समस्याका कारण क्षेत्रीय जातिसँग बिहेबारी चलाउँदै क्षेत्रीय बन्नपुगे । दशनामी वा संन्यासी जाति भने भारतका ४ मठका साधु जोगी, मठाधीशका गृहास्थाश्रममा प्रवेश गरिसकेपश्चात्का सन्ततिहरु हुन्, जो अधिकांश केदारनाथ र बदरीनाथ मठका साधुहरुका सन्ततिहरु अन्य खस बाहुन क्षेत्रीहरुझैं पूर्व लाग्दै आएर नेपालभरि छरिन पुगेका छन् । तीमध्ये अधिकांशका थर गिरी हुने गर्छ भने अन्य ९ थरहरु पनि सुन्नमा आउँछ ।

भारतमा संन्यासी वा मठाधीशका सन्ततिजातिलाई ब्राह्मणसरह सम्मान दिइन्छ भने नेपालमा उपाध्याय ब्राह्मणहरुलगायत अन्य ब्राह्मणहरुले बाहुनभन्दा तल मान्ने गर्छन् । धेरै संन्यासी मठहरु स्थापित गर्दै लगिएपश्चात् मठ स्थापित गर्ने क्रममा नेपालमा पशुपतिनाथमा शंकराचार्य मठ, चितवनमा गलेश्वर आश्रम, थापाथली त्रिपुरेश्वरमा संन्यासी मठ र सुदूरपश्चिम नेपालमा हलेसी महादेव मठको स्थापना गरियो । यिनै मठका संन्यासीहरुले गृहस्थाश्रममा प्रवेश गरी घरजम गरेकाहरुका सन्तानले दशथरी थर लेख्ने गरेकाले दशनामी भनेर कहलिएका हुन् ।

नेपालमा संन्यासी जातिको जनसंख्या एक लाख ९९ हजार एक सय २७ रहेको छ । जुन नेपालको कुल जनसंख्याको ०.८ प्रतिशत हुन्छ । यी संन्यासीले अन्य जातकी स्त्रीसँग विवाह गर्नुपरेमा कान फुकेर मन्त्रद्वारा दीक्षित भएपश्चात् मात्र विवाह गरिन्छ र सो स्त्री पनि संन्यासी जातकी बन्न पुग्छिन् ।

संन्यासीहरुका मठलाई पीठ समेत भन्ने गरिन्छ भने मुख्य व्यक्तिलाई पीठाधीश वा आचार्य समेत भन्ने गरिन्छ । शैवधर्म परम्परा मान्ने दशनामीहरु जनैधारण गर्ने गर्छन् भने जनैधारण गर्दा रुद्राक्षसहितको धारण गर्ने गर्छन् । यसैगरी विवाह हुँदा थर, गोत्र, तीर्थ वा आश्रम, वन वा आरव्य के हो भनी समेत मिलान गरी उपगोत्र समेत विचार गरी मात्र बिहेबारी चलाउन मिल्ने भनी घोषित गरिन्छ ।

दशनामी संन्यासी जातिभित्र पनि ११ पन्थी र १२ पन्थी रहने गरेका छन् । नेपालका खस आर्य समुदायका भए पनि बाहुन र क्षेत्रीहरुमा गणना नगरिने खस आर्य संन्यासी भनेर यी वर्ग छुट्टै जातीय पहिचान बोकेका छन् । यी जातिभित्रका केही चर्चित नामहरुमा पूर्व प्र.म. डा. तुल्सी गिरी, प्रदिप गिरी, रुद्र प्र. गिरी आदि रहेका छन् ।

नयाँ मुलुकी ऐन लागू नहुन्जेलसम्म दशनामी संन्यासीहरुको सामाजिक मर्यादाक्रम उपाध्याय, कुमाई, राजपुत क्षेत्री, जैसीलगायत अन्य तगाधारी जातिपछि मात्र आउने गथ्र्यो । तर वैवाहिक सम्बन्ध भने उच्च क्षेत्री अर्थात् ठकुरी, हमाल, कुँवर, खत्रीबाहेकका वा तीभन्दा तलका तागाधारी वा जनैधारी खस आर्य क्षेत्रीहरुसँग पनि हुने गर्थ्यो ।

संन्यासी जातिमध्ये सरस्वती, भारती र पुरीले आफ्नो सम्बन्ध शंकराचार्यद्वारा स्थापित शृंगेश्वरी मठसँग रहेको बताउने गर्छन् भने वन र आरव्यको सम्बन्ध उडिसाको जगन्नाथपुरीसँग रहेको भन्ने गर्छन् । यस्तै तीर्थ र आश्रमको सम्बन्ध भारत गुजरात राज्यस्थित मठ शारदा मठसँग रहेको छ भने गिरी, पर्वत र सागर लेख्ने गरेका संन्यासीहरुको सम्बन्ध हिमाली, पर्वती क्षेत्रमा रहेको ‘जोशिमठ’ अर्थात ज्योतिर्मठसँग रहेको छ ।

हिन्दूधर्मको स्थापित मठहरुका संन्यासी वर्गसँग आफ्नो पुर्ख्योेली अस्तित्व जोडेर हेर्ने गरेकाले गर्दा संन्यासीहरु आफ्ना पूर्वजहरुले झैँ मृत्युपश्चात् शवलाई नजलाई समाधिस्थ गराउने गर्छन् । जल समाधि वा थल समाधि गराउँदा शवलाई नसुताई बसाएर नुनले पुर्ने गर्छन् र अन्य हिन्दूजातिले झैं १३ दिनसम्म किरिया बार्ने गर्छन् । कसै–कसैले १० दिनमा समेत फुकाउने गरी रोट काट्ने गर्ने भनी रोट काट्ने गर्छन् । रोट काट्नु भन्नाले एउटा बाक्लो सुख्खा रोटी समाधिमा चढाएर त्यो रोटी काटेर सबै इष्टमित्र बन्धुलगायत किरिया बसेका दाजुभाइबीच बाँडेर खाने गरिन्छ । हिजोआजका संन्यासी जातिले धेरै ठाउँमा समाधिको साटोमा अन्य हिन्दूहरुले झैं शवलाई जलाएर समेत काजकिरिया गर्छन् ।

पहिलाका समयहरुमा दशनामी संन्यासीहरुका दशनामीहरुदेखि बाहेकका क्षेत्री, ठकुरी आदिसँग पनि विवाह हुने गर्थ्यो भने कुनै ब्राह्मण वा क्षेत्रीय व्यक्तिले आफ्नो हाडनाताभित्रको व्यक्तिसँग सम्भोग वा करणी गरे अथवा पशुसँग यौनसम्बन्ध राखी पशु करणी गरेमा त्यस्ता व्यक्तिलाई नशनामी घोषित गरी ती नशनामी घोषित व्यक्तिको विवाह दशनामीसँग गर्न मिल्थ्यो । विवाहअघि धर्म संस्कार परिवर्तन गराई संस्कार सिकाई मन्त्र फुकेर दीक्षित गराइसकेपश्चात् मात्र ती पनि संन्यासीमा गनिने गर्थे ।

यसैगरी संन्यासीहरुझैं नेपालका जंगम संन्यासीहरुको इतिहास भने अलिक भिन्दै छ । जंगम संन्यासीका पूर्वज कुनै बखत दक्षिण भारतबाट आएका वा मल्ल तथा अन्य राजाहरुबाट ल्याइएका मठाधीश संन्यासीहरु रहेका थिए । प्रसिद्ध लेखक तथा अभियन्ता भरत जंगमका पितापुर्खा भक्तपुरको न्यातपोल दरबारस्थित प्रसिद्ध ऐतिहासिक जङ्गममठका मठाधीश थिए भने अन्य प्रसिद्ध मठहरुमा पनि दक्षिण भारतीयमूलका जङ्गम थरका मठाधीश रहेका थिए । ती मुख्यतया कुनै बखत दक्षिण भारतबाट नेपाल आएका शैव धर्म मानने विरशैव ब्राह्मणका सन्ततिलाई शिवलिंग पूजा गर्ने हुनाले लिंगायत सम्प्रदाय भनेर समेत भनिने गरिन्छ । विरशैव वा लिंगायत सम्प्रदायको स्थापना इस्वी सम्वत् वा ईशाको बाह्रौँ शताब्दीको सुरुवातताका भएको हो । सन् ११५६ देखि ११६७ सम्म राज्य गरेका कलचुरी वंशका शासक विजय कलचुर्यका विद्वान मन्त्री वासव नामका ब्राह्मणद्वारा यसको स्थापना गरिएको हो ।

विरशैवहरु वेदलाई मात्र धर्मको प्रमाण मान्दैनन् साथै पहिलेका समयमा चल्ने गरेको बाल विवाहका कट्टर विरोधी थिए भने पुनर्जन्मलाई विश्वास गर्दैनन् र साथै विधवा विवाहको भने समर्थन गर्ने गर्छन् । नेपालमा थोरै संख्यामा रहेका जंगम संन्यासीहरुको विवाहमा समस्या भएकाले र केहीले क्षेत्रीसँग बिहेबारी चलाए भने दशनामी संन्यासीसँग बिहेबारी चलाएर दशनामी समाजभित्रै जंगम पनि समाविष्ट हुन चाहन्छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्