Techie IT
१० कात्तिक २०७८, बुधबार

दशैँमा बढ्दो मुस्ताङी स्याउकोे माग


काठमाडौं । हाम्रो देशको प्रत्येक सालको दशैँ र तिहारका लागि मात्रै एक अर्ब ८० करोड मूल्यबराबरको फलफूल आयात हुनेगरेको अनुमान छ । मूलतः नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार दशैँ तिहारमा मात्रै चीन र भारतबाट दैनिक ९ करोडको फलफूल आयात हुने गर्छ । त्यसरी नै दशैँ तिहारमा फलफूलको खपत तीन गुणाले वृद्धि हुने हुँदा आयात पनि तीन गुणाले वृद्धि हुनेगरेको छ । यसरी अन्य समयमा भने दैनिक तीन करोडमूल्यबराबरको करिब चारदेखि पाँच मेट्रिकटन फलफूल आयात हुन्छ भने दशैँ तिहारमा दैनिक नौ करोड मूल्यबराबरको १३ सय मेट्रिकटन फलफूल आयात हुन्छ । यसर्थ सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट आयात हुन्छ । यसमा कुल फलफूलको खपतमा स्वदेशी उत्पादनले ३० प्रतिशत मात्र धान्ने र बाँकी ७० प्रतिशत फलफूल आयात गर्नुपर्ने अवस्था छ । मुलुक कृषि प्रधान देश भए पनि फलफूलले आत्मनिर्भर हुने स्थिति नभएकोले कारणले गर्दा स्वदेशमा फलफूलको उत्पादन कम भएकै कारण बर्सेनि १० प्रतिशत आयात बढ्ने गरेको छ । अतः नेपाल सरकारले पनि स्वदेशी उत्पादन बढाउन विभिन्न जोन सुपर जोन पकेट क्षेत्र बनाएको छ । जसबाट हालसम्म फलफूलको उत्पादन बढाउन भने सकेको छैन । त्यस कारणले गर्दा फलफूलको आयातमा भने कम गर्न सकेको छैन । फलतः नेपाल सरकारले फलफूल उत्पादन वृद्धि गर्नकै लागि पछिल्लो समय गोर्खा, धरान, भोजपुर, ते-हथुम, बुटबल, गुल्मी पाल्पालगायतका विभिन्न जिल्लाहरूमा स्याउ सुन्तला जोनपकेट क्षेत्र छुट्याएको छ ।

हालसम्म सरकारले अपेक्षा गरेअनुसारको उत्पादन भने हुन सकेको छैन । यसर्थ स्वदेशमा उत्पादन कम भएकै करण फलफूलका लागि मात्रै वर्षमा करिब २० अर्बभन्दा बढी रकम बाहिरी रहेको छ । देशमा आयात हुने मुख्य फलफूलहरूमा केरा, स्याउ, मौसम र सुन्तला मुख्य हुन् । यसमा पनि केरा ३० प्रतिशत केरा स्वदेशी उत्पादन र ७० प्रतिशत भारतबाट आयात हुन्छ । त्यसैगरी, स्याउ स्वदेशी उत्पादन १० प्रतिशत ९० प्रतिशत आयात हुन्छ । यसरी स्वदेशमा नै कुल खपतको १० प्रतिशत नेपालमा उत्पादन हुन्छ भने अरु स्याउ ९० प्रतिशत आयातमा ७० प्रतिशत चीनको र २० प्रतिशत भारतबाट आयात हुनेगरेको सम्बन्धित क्षेत्रको भनाइ रहेको छ । यसैगरी मौसम १५ प्रतिशत स्वदेशी ७० प्रतिशत भारतबाट र १५ प्रतिशत अन्य देशहरूबाट आयात हुनेगरेको छ । त्यसरी नै सुन्तला भने ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत आयात भारतबाट हुने गर्छ ।

मुलुकका १५ भन्दा बढी हिमाली जिल्लाहरूमध्ये फलफूल खेतीको लागि उत्तम मानिने मुस्ताङ जिल्ला पनि एक हो । यस जिल्लामा स्याउ खेतीको व्यावसायिकता भने विसं २०२२ पछि मात्र सुरु भएकोे थियो । उक्त जिल्लामा विसं २०२२ मा तत्कालीन कृषि मन्त्रालयअन्तर्गतको फल उद्यान विभागले भारतीय राजदूतावासको सहयोगमा भारतको कश्मीरबाट स्याउका बिरुवा ल्याएर वितरण गरिएको थियो । जसअनुसार मुस्ताङमा स्याउखेती एक हजार चार सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसरी स्याउ खेती गरिएको मध्ये हाल पाँच सय हेक्टर क्षेत्रफलमा लगाइएको स्याउखेतीले उत्पादन दिन थालिसकेको छ । जबकि विश्वव्यापी जलवायु परिवर्तनलगायतका कारणबाट जिल्लाको तल्लो भेगमा स्याउको उत्पादनमा कमी आउन थालेको जानकारी सम्बन्धित क्षेत्रले दिएको छ ।

यसै क्रममा जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण तल्लो मुस्ताङका कोवाङ, लेते, ठिनीलगायतका स्थानमा स्याउ खेती विस्तारै कम हुँदै उपल्लो भेगतर्फ बढ्दै गएको पाइन्छ । यसरी मुस्ताङका घरबजोङ, लोमन्थाङ, ल्हो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र र थासाङ गरी पाँच गाउँपालिका छन् । यसरी कृषिको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मुस्ताङमा छ हजार पाँच सय मेट्रिकटन स्याउ उत्पादन भएको थियो । यसको साथै स्याउ खेती प्रबर्द्धनका लागि कृषि क्षेत्रको दीर्घकालीन योजना २० वर्षे तथा दशैँ योजनाले पनि उच्च पहाडी भेगमा स्याउ खेतीलाई उच्च मूल्य बालीको रूपमा पहिचान गरी प्राथमिकतामा राखेको थियो । यसको व्यावसायिक खेतीले कारणले गर्दा साना खाले किसानहरूको हैसलामा वृद्धि भई आर्थिक रोजगारीको गतिविधिमा थप वृद्धि हुन जाने देखिन्छ । जसले गर्दा राष्ट्रकै गरिबी न्यूनीकरणमा पिसिएका साना खाले किसानको आयस्तरमा वृद्धि भई आर्थिक लाभ प्राप्त हुने नीतिगत रूपमा सरकारले महसुस गरेको बुझिन्छ । यहाँका किसानहरूले बजार अभावको कारणले गर्दा स्याउ सस्तोमा बेचेका थिए । यस्तो किसिमको बजार भाउले किसानको लगानी तथा मिहिनेतमा उचित मूल्य पाउन नसकेको गुनासो बारम्बार आउने गर्छ । हाल जे–जति स्याउ उत्पादन भएको बजारमा आउँछ त्यो केवल मुस्ताङको सदरमुकाम सम्म जोडिएका गाविसहरूबाट मात्र आउँछ ।

समग्रमा भन्नुपर्दा चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायतका जिल्लाहरूमा एउटा चलन पनि छ कोसेलीमा मुस्ताङको स्याउ भन्ने रहेको छ । यसरी दशैँको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्ने गरेको छ । यहाँका कृषकहरूलाई दशैँ तथा तिहारको छेको पारेर मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा देखिन थालेको हो ।

यस क्षेत्रमा उत्पादित रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा बिक्री अत्यधिक बढेको छ । यसर्थ दशैँ तथा तिहारमा मुस्ताङको स्याउको माग अत्यधिक हुनेगरेको छ । यतिखेर व्यवसायीहरूलाई अहिले मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याइ छ । यसको मूल्य भने बगैँचामा संकलन गरेर बजारमा पठाउँदा मुस्ताङमै स्याउको मूल्य प्रतिकिलो ८० देखि एक सय २५ सम्म पर्छ । यसलाई अन्य सहरहरूमा लगेर बेच्दा व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो दुई सयदेखि दुई सय ५० सम्ममा बिक्री गर्छन् । यसरी किसानहरूले वर्षभरि खान स्याउको चाना बनाएर सुकाउने चलन पनि छ ।

यसको साथसाथै मुस्ताङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एप्पल जोन कार्यक्रम सञ्चालनमा छ । यसको साथै दशैँ तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ । यसरी फलफूलमा चीनबाट आयातीत स्याउले मात्र कारोबार भइरहेको काठमाडौँ उपत्यकामा मुस्ताङका स्याउ भित्रिन थालेका छन् । हाम्रो देशको विभिन्न हिमाली क्षेत्रहरूजस्तै मनाङ, मुस्ताङ, जुम्ला, सोलुखुम्बु आदि क्षेत्रमा प्रशस्त रूपमा स्याउको उत्पादन हुनेगरेको छ । ती उत्पादन क्षेत्रलाई विशेष रूपमा सम्बन्धित क्षेत्रले बेलैमा निगरानी राखेर देशका विभिन्न क्षेत्रमा आपूर्ति गर्न सकेको खण्डमा भारत, चीनलगायत तेस्रो मुलुकबाट आयातित स्याउको आपूर्ति स्वदेशबाट नै परिपूर्ति हुने कुरा सम्बन्धित विज्ञहरूको भनाइ रहेको पाइन्छ । जसले गर्दा हाम्रा देशका महान पर्वहरूमा विदेशी स्याउलाई पैसा तिरेर ठूलो धनराशी विदेश पलायन जोगाउन सकिने कुरामा सम्बन्धित सरकारी निकायमा रहेको पशुपन्छी तथा कृषि विकास मन्त्रालयलगायत सम्बन्धित क्षेत्रले यसको लागि बेलैमा पहल गर्न सकेको खण्डमा स्वदेशी स्याउको बजारले जिम्मा लिन सकेको खण्डमा रोजगारी बढ्नको साथसाथै प्रतिव्यक्ति आम्दानीमा समेत वृद्धि गर्न सकिन्छ ।

अतः देशको स्याउ बजारको मागलाई हेरी पुनः स्याउ ल्याउने उनीहरूको भनाइ रहेको छ । उदाहरणको लागि मुस्ताङको हाल २५ करोडभन्दा बढीको स्याउ विभिन्न जिल्लाको सहरी क्षेत्रमा बिक्री भइरहेको छ । यसरी खेर गएको स्याउ विभिन्न हिमाली क्षेत्रमा उत्पादन हुने स्याउलाई काठमाडौँलगायत देशका विभिन्न सहरी क्षेत्रमा ल्याउन सके स्वदेशी स्याउको बजार विस्तार हुने कुरामा कसैको दुईमत नहोला । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्