Techie IT
३० जेठ २०७८, आईतबार

कोरोनाले आर्थिक असमानता झन् बढाउने


विश्वभरि नै पुँजीवादी राजनीतिक तथा आर्थिक व्यवस्थाले साम्राज्य फैलाइरहेको वेला विगत ८/९ महिनादेखि कोरोना साम्राज्यले विश्वलाई तवातवा बनाइरहेको छ । महामारीले मानव स्वास्थ्यलाई मात्र होइन विश्व अर्थतन्त्रलाई समेत डामाडोल बनाएको छ । जसको कारणले आर्थिक असमानताको खाडल झन् डरलाग्दो हुने देखिएको छ ।

यो संकटको समयमा विश्वको ठूलो अनलाइन सपिड प्लेटफर्म अमेजनका संस्थापक जेफ बेजोस महामारीकै बीचमा २ सय अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक बनेका छन् त्यस्तै, अर्को ठूलो चिनियाँ अनलाइन सपिड प्लेटफर्म अलिबाबाले पनि कोरोनाको कहरबीच डलरलग्दो कमाइ गरेको छ । कोभिड १९ को संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताले विश्वभर नै अनलाइन सपिड कल्चर ह्वातै बढेपछि इकमर्स कम्पनीहरूले यसको प्रत्यक्ष लाभ लिइरहेका छन् ।

विश्व अहिले लकडाउनको अवस्थामा छ । विश्वका धेरै देशले यो महामारीबाट बच्न लकडाउनको नीति अख्तियार गरेका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण यतिबेला विश्वका २ सय १० देशमा फैलिएको छ । उद्गमस्थल चीन नियन्त्रण उन्मुख भए पनि ब्राजिल, भारत, रसिया, पेरुलगायतका देशमा भने आगोको मुस्लोझैं झन्झन् दन्किरहेको छ ।

हालसम्म कोरोना भाइरसविरुद्धको औषधि र खोप पत्ता लागेको छैन । बिरामीको शरीरमा रहेको रोगप्रतिरोधात्मक क्षमता नै कोरोना भाइरसबाट पार पाउने एक मात्र उपाय हो । अहिले संसारका वैज्ञानिकहरू कोरोना भाइरसविरुद्धको भ्याक्सिन र औषधिको अनुसन्धानमा जुटेका छन् । धेरै राष्ट्रहरले अर्बाैं रुपैयाँ यसमा खर्च गरिरहेका छन् । अझै थप खर्च गर्ने योजनामा छन् । आशा गरौं कोरोना भाइरसविरुद्धको भ्याक्सिन, औषधि छिटै पत्ता लागोस् र विश्वले चयनको सास फेरोस् ।

बढ्दो कोरोना कहर र आर्थिक असमानताले यो पुँजीवादी राजनीतिक तथा आर्थिक व्यवस्था कतै भत्कने त होइन भनेर विभिन्न विश्लेषण गर्न थालिएको छ । हुन त झण्डै एक वर्ष अघिको अक्सफामको प्रतिवेदनअनुसार विश्वका दुई हजार एक सय ५३ जना अर्बपतिसँग संसारभरिका चार अर्ब ६० करोड मानिससँग भएको सम्पत्तिभन्दा बढी थियो । अक्सफमकै प्रतिवेदनअनुसार विश्वका सात अर्ब जनसंख्याभन्दा दोब्वर सम्पत्ति जम्मा १ प्रतिशत धनाढ्यको कब्जामा थियो ।

तर अब यो कोभिड १९ को असरले अधिकांश मानिस त्यो अघिल्लो वर्षको अक्सफमको प्रतिवेदनलाई समेत उछिन्ने देखिएको छ । अर्थात् धनी झन् धनी र गरिब झन् गरिब वन्ने स्थिति देखाएको छ । धनीहरूले समयको अवसरलाई चिनेर, व्यापार तथा नीति परिवर्तन गरेर झन धेरै कमाइ गरिरहेका छन् । अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका प्रमुख कार्यकारी अधिकृत (सीइओ) बेजोसको नेटवर्थ २ खर्ब डलरभन्दा माथि पुगेको छ ।

अमेरिकी व्यावसायिक पत्रिका ब्लुम्वर्गको विलेनियर्स इन्डेक्सले यस्तो देखाएको हो । इन्डेक्सअनुसार बेजोसको सम्पत्ति ५ अर्ब २२ करोड डलरले बढेर २ खर्ब २ अर्ब डलरमाथि पुगेको थियो । पछिल्लो वृद्धिसँगै बेजोसको नेटवर्थ सूचकांकमा समाविष्ट दोस्रो सार्वजनिक धनी व्यक्ति माइक्रोसफ्टका सह संसथापक विलगेट्सभन्दा ७८ अर्ब डलर बढी छ । बेजोसको अधिकांश सम्पत्ति एमाजोनको सेयरमा छ ।

यस वर्षको अहिलेसम्मको अवधिमा एमाजनको सेयर मूल्य ८६ प्रतिशतभन्दा धेरैले बढिसकेको छ । कोरोना भाइरसको नियन्त्रण गर्न धेरै देशले लकडाउन गरे, अझै पनि थुप्रै देशमा लकडाउन जारी छ । यस्तो अवस्थामा मानिसहरू इन्टरनेटमा व्यस्त भए उनीहरूलाई ल्यापटप, कम्युटर, मोबाइल बढी आवश्यकता भयो ।

विद्यालय तथा कलेजको पठनपाठन बन्द भएको अवस्थमा अनलाइन शिक्षा दिनु परेकोले त्यस्ता चिजहरूको माग बढ्यो । अहिले यो समयमा अमेरिकी कम्पनी एप्पल २ ट्रिलियन डलर बजारमूल्य भएको पहिलो सार्वजनिक कम्पनी बन्न सफल भएको छ । गत जुलाइ महिनामा सार्वजनिक भएको कम्पनीको उत्साहवर्धक वित्तीय प्रतिवेदनपछि एप्पलको सेयर मूल्यमा लगातार भइरहेको बढातरीसँगै यसको बजारमूल्यले र २ ट्रिलियन डलरको कोशेढुंगा पार गरेको छ ।

विगतमा आइफोनलगायत ग्याजेतको विक्रीमा बढी निर्भर रहेको एप्पलको आम्दानी ठूलो हिस्सा पछिल्लो समय सफ्टवेयर तथा अन्य सेवामा समेत उल्लेख्य वृद्धि भएसँगै लगानीकर्ताहरूको विश्वासमा वृद्धि भएको बताइएको छ । कोरोना भाइरसकालमा एप्पल कम्पनीमा ठूला लगानी कर्ताहरू समेत भित्रिएका र त्यसको सकारात्मक प्रभाव एप्पलको सेयर मूल्यमा परेको छ । अमेजन, माइक्रोसफ्ट तथा गुगललगायतका प्रतिस्पर्धी कम्पनीहरूको मूल्य ४ ट्रिलियन डलरको सेरोफेरोमा रहेको अवस्थामा एप्पलले आफुलाई दोब्बर मूल्य बनाउन सफल भएको छ ।

योसँगै एप्पल, अमेजन, माइक्रोसफ्ट, गुगल कम्पनीको गरी कुल बजारमूल्य ६ ट्रिलियन डलर पुगेको छ । सन् १९७६ मा स्टिभ जब्सले आफ्नो घरको ग्यारेजमा स्थापना गरेको एप्पल कम्पनीको मूल्य पहिलो पटक सन् २०१८ मा १ ट्रिलियन डलर पुगेको थियो जस अनुसार पछिल्लो दुई वर्षमै एप्पलले आफ्नो मूल्य दोब्वर बढाएको हो । गत जुलाई ३१ गते साउदी अरेबियाको सरकारी तेल कम्पनी अराम्कोलाई पछि पार्दै एप्पल विश्वको मूल्यवान सार्वजनिक कम्पनी बनेको थियो ।

कोरोना भाइरसपछि भूमण्डलीकृत पुँजीवादको सट्टा नयाँ विकल्प खोजी त हुने होइन भनी विभिन्न चर्चाको सुरुवात हुन थालेको छ । मानव सभ्यताको पछिल्लो २ हजार वर्षको इतिहास मात्र हेर्ने हो भने पनि यसले बारम्बार उथलपुथल बेहोरेको छ । पुराना राजनीतिक आर्थिक र सामाजिक मान्यताहरू भत्किने र नयाँ बन्ने क्रमसँगै शक्तिशाली साम्राज्यहरू पतन हुने र नयाँ विश्व शक्तिको उदय हुने चक्र चालू छ । पश्चिमा मुलुकहरूबाट सुरुवात भएको औद्योगिक क्रान्तिपछि तीव्र बनेको परिवर्तनको रफ्तार अझै जारी छ र दोस्रो विश्वयुद्धपछिको ७५ वर्षमा संसारले प्रविधि र भौतिक पक्षमा अभूतपूर्व विकास गरेको छ ।

कोरोना भाइरस यो प्राकृतिक हो या मानव सिर्जित भाइरस हो यससम्बन्धी पनि बहस भइरहेको छ । कतिपयले यसलाई मानव सिर्जितको रूपमा व्याख्या गरेका छन् । जैविक र रासायनिक हतियार वैज्ञानिक इग्नोर निकुलिनले कोरोना भाइरस अमेरिकाले उत्पादन गरेको जैविक हतियार भएको बताएका छन् ।

संयुक्त राष्ट्र संघका जैविक तथा रासायनिक हतियारका सल्लाहकार इंग्नोर निकुलिनले अमेरिकाले जैविक हतियारको रूपमा कोरोना भाइरस उत्पादन गरेको बताउँदै त्यसको अरु रूपान्तरित संस्करण पनि तयार पारेको दाबी गरेका छन् । निकुलिन राष्ट्रसंघका भूतपूर्व महासचिव कोफी अन्ननका जैविक तथा रासायनिक हतियारका सल्लाहकार हुन् । उनी रुसका वैज्ञानिक हुन् ।

कोरोना भाइसर अमेरिकामा उत्पादन गरेर चीनमा छोडिदिएको निकुलिनले बताए । चीनमा कोरोना देखा पर्नासाथ अमेरिकाले गणितीयरूपमा फरवरी महिनासम्म २ लाख मानिस संक्रमित हुने र १ लाख मर्ने भविष्यवाणी गर्नु, भाइरसले फरक–फरक खालको स्वभाव देखाउनु, कतै रुघाखोकी लाग्नु र कतै कुनै लक्षण नदेखिएर यसले मानिस मर्नु, एक पटक निको भइसकेका व्यक्तिहरूमा यो पुनः संक्रमित हुनुजस्ता कुराहरूले यो भाइरस प्राकृतिक नभएको पुष्टि उनको दाबी छ ।

विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण आगामी वर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ । कोरोनाभाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले वृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको यूएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले महिलाहरूको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ । सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाहरूको गरिबी वृद्धिदर २ दशमलव ७ प्रतिशतसम्म हुने अनुमानहरू गरिएको छ ।

राष्ट्रसंघीय निकायहरूले कोरोनाभाइरसले उत्पन्न गरेको महामारीबाट नौ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरेका छन् । तीमध्ये महिलाको संख्या चार करोड ७० लाख हुने अनुमान गरिएको हो । सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरूले सन् २०३० सम्ममा मात्रै कारोना भाइरसको संक्रमण सुरु हुनुभन्दा अगाडिको अवस्थामा पुग्न सकिने विश्लेषण गरेका छन्

अन्त्यमा कोरोना भाइरसले विश्व पुँजीवादको आडम्बरलाई तोडेको छ । अमेरिका र युरोपका धेरै देशहरू संसारका पुँजीवाद समृद्धका केन्द्र मानिन्छन् तर तिनै देशहरू आज कोरोना भाइरसको महामारीबाट पराजित छन् । त्यहाँ नागरिकहरूले उपचार पाउन नसकेर मृत्युले छट्पटाएका हृदयविदायक घटनाहरू दिनप्रतिदिन बढ्दो छ । औषधिको अभाव छ । अस्पतालहरू अपर्याप्त छन् ।

करोडौँको रोजगारीमाथि संकट आएको छ । नागरिकहरू बेरोजगार छन् । हरेक राज्यको ऋण बढ्दो छ । देशको दिन प्रतिदिन अर्थव्यवस्थ संकट ग्रस्त छ । तर ठूला–ठूला कर्पोरेट हाउसहरू, धनाढ्य व्यक्तिहरू दिन दोगुना रात चौगुना झन्झन् धनी भएका छन् । तर सापेक्षित रूपले कमजोर देखिएपनि अर्थ राजनीतिक दृष्टिले फरक रहेका समाजवादी देशहरू र लोक कल्याणकारी राज्यमा कोरोनाको प्रभाव कम देखिएको छ । तसर्थ पुँजीवादी अर्थराजनीतिक भएका देशहरूले समाजवादी राज्य व्यवस्थाको विकल्प गर्न ढिला गर्न हुँदैन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्