Techie IT
३० असोज २०७८, शनिबार

देशको घट्दो शोधनान्तर स्थिति


काठमाडौं । पछिल्लो समय बढ्दो आयात र रेमिट्यान्समा आएको कमीका कारण मुलुकको शोधनान्तर स्थितिमा गिरावट आइरहेको छ । शोधनान्तर स्थिति घट्दै जानु भनेको मुलुकको आम्दानीभन्दा खर्च बढी हुनु हो । मुलुक आयातमूखी अर्थतन्त्रमा निर्भर रहेकोले शोधनान्तर स्थिति जति बढोत्तरी हुँदै गयो त्यति नै देशको अर्थतन्त्र सबल बन्दै जान्छ । आयात बढ्नु, रेमिट्यान्स घट्नु र वैदेशिक अनुदान घट्नुजस्ता कारणले शोधनान्तर स्थिति प्रभावित बन्ने गर्दछ । यिनै सूचकहरूको नकरात्मक घटवढले चालू खाता घाटामा जाने गर्छ । गत वर्षको साउन महिनाको तुलनामा यो वर्ष मुलुकको शोधनान्तर स्थिति ऋणात्मकमा हुन पुगेको छ ।

आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तथ्यांकअनुसार मुलुकबाट बाहिरिने रकम बढेको र भित्रिने रकम घटिरहेको छ । २०७७ साउनमा ५१ अर्ब ४६ करोड बचतमा रहेको सोधनान्तर स्थिति अहिले ३८ अर्ब ७५ करोड रुपैयाँले ऋणात्मक देखिन्छ । यो ऋणात्मक देखिनु आम्दानीको तुलनामा खर्च बढ्नु हो । खर्च बढ्दै जाँदा शोधनान्तर घाटा बृहत् रूपमा बढ्न पुग्छ जसले अर्थतन्त्रमा चुनौती सिर्जना गर्दछ र बैंकहरूमा लगानीयोग्य रकम अभाव भई ब्याजदर महँगो हुने समस्या आउने राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुखले बताइरहेका छन् । साउन महिनामा विदेशी मुद्राको सञ्चिति पनि एकदमै कमजोर देखिएको छ ।

यसै वर्षको पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९ दशमलव ३ महिनाको वस्तु आयात र ८ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ । जेठ महिनासम्म विदेशी मुद्राको सञ्चिति १४ महिनाको वस्तु आयात धान्न सक्ने थियो । गत असार महिनासम्म १३ खर्ब ९९ अर्ब तीन करोड रुपैयाँ रहेकोमा साउनसम्म आइपुग्दा ३ दशमलव २ प्रतिशतले घटेर १३ खर्ब ५३ अर्ब ८२ करोड रुपैयाँ कायम भएको छ । साउन महिनामा कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १२ खर्ब छ अर्ब ५१ करोड रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थामा एक खर्ब ४७ अर्ब ३१ करोड रुपैयाँ छ ।

यति लामो कोरोना महामारीका बेला पनि नघटेको रेमिट्यान्स चालू आर्थिक वर्षको पहिलो महिनामा नै घटेको छ । २०७८ साउनमा जम्मा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो । यो अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा १८ दशमलव १ प्रतिशतले कम हो, जुन गत वर्ष साउनमा यसको वृद्धिदर २३ प्रतिशत थियो । चालू आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई १३ हजार आठ सय पुगेको छ भने वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या साउनमा ११ हजार छ सय २८ पुगेको छ ।

निक्षेप र कर्जाको अवस्था हेर्दा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ दशमलव ६ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा २०७८ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २९ दशमलव ४ प्रतिशतले बढेको छ । २०७८ साउन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६ दशमलव २ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव ८ प्रतिशत कर्जा चालूू सम्पतिको धितोमा प्रवाह भएको देखिन्छ ।

निर्यात न्यून र आयात तीव्र हुँदै जाँदा व्यापारघाटा बढ्दै गएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार साउनमा नेपालको व्यापारघाटा एक खर्ब २९ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी १८ अर्ब ८६ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नौ अर्ब २६ करोड रुपैयाँबराबरको यस्तो आयात भएको थियो । निर्यातमा सामान्य सुधार भए पनि त्यसले समग्र व्यापारमा भने उलेख्य असर पार्नसक्ने देखिँदैन । साउन महिनामा निर्यात एक सय १५ दशमलव ९ प्रतिशतले बढेर २० अर्ब ७६ करोड रुपैयाँको पुगेको छ । नेपालबाट भारतमा हुने निर्यात एक सय ६७ प्रतिशतले र चीनमा ४७ दशमलव ८ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

साउनमा कुल वस्तु आयात ७५ दशमलव ७ प्रतिशतले वृद्धि भई एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९ दशमलव ६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८ दशमलव ७ प्रतिशत, ८७ दशमलव ६ प्रतिशत र एक सय २० दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा समग्र मुद्रास्फीति बढोत्तरी हुँदै गएको छ । साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ३५ प्रतिशत रहेको जुन अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत रहेको थियो । तर यसमा पनि केही खाद्यान्नको मूल्यवृद्धि उच्च देखिन्छ ।

पछिल्ला दिनहरूमा कोरोनाको प्रभावमा कमी आएसँगै आर्थिक क्रियाकलापमा शिथिलता थपिँदै गएको छ । देशभित्र हुने आर्थिक क्रियाकलाप उत्पादनमूलकभन्दा पनि उत्पादनहीन व्यक्तिगत प्रतिफल दिने क्षेत्रमा मात्र प्रवाह भएको पाइन्छ । घरजग्गा र सेयर बजारले कोरोना पेन्डामिकमा पनि बजार तताइरहे । सीमित व्यक्तिले मात्र यसबाट प्रतिफल प्राप्त गरे भने अधिकांश मानिसको रोजगारी समेत गुमेर बिहानबेलुकाको छाक टार्न समेत धौधौ परिरह्यो । रेमिट्यान्स घट्नु, वस्तु तथा सेवा आयातमा तीव्रता आउनु र अनुदानमा कटौती हुँदै जानुले देशलाई ऋणभार थप्दै लगेको छ । यसले सरकार ऋण लिन बाध्य बन्नुपरेको पनि हो ।

अहिलेसम्म नेपालीको प्रतिव्यक्ति ऋण ५६ हजार आठ सय ४२ रुपैयाँ पुगेको छ । देशमा व्यापक भ्रष्टचार, राजनीतिक अस्थिरताको कारण देशले पाउने अनुदान समेत दाता राष्ट्रहरूले दिन चाहेनन् । देशमा हुने अधिकांश उपभोगका वस्तुहरू आयात नगर्नुको विकल्प पनि छैन । मुलुकले वर्षदिन निर्यात गरेको वस्तु तथा सेवाबाट प्राप्त आय एक वर्षका लागि देशमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थ पनि खरिद गर्न नपुग्ने अवस्था छ ।

बढिरहेको व्याापार घाटा, प्रतिकूल भुक्तान सन्तुलन, न्यून उत्पादन र अनुदानमा हुने कटौतीले मुलुकको आर्थिक क्षेत्रलाई कमजोर बनाइरहेको छ । वर्षैपिच्छे लगभग ४० प्रतिशतको हाराहारीमा घाटा बजेट अवलम्बन गरिन्छ । त्यसमा पनि पुँजीगत बजेट खर्च हुन नसकेर फ्रिज हुनु हाँस्यास्पद अवस्था हो यसले हामीलाई गिज्याइरहेछ ।

राजनीतिक दलहरू सरकार बनाउने र ढाल्ने खेलमा मात्र सीमित रहनु, देश र जनताको जिम्मेवारीको बोध नहुनु, व्यक्तिगत सम्पति जोड्नमा राजनीति दलका सदस्यहरू प्रतिस्पर्धा गरिरहनु कमजोर अर्थतन्त्रको परिचायक हो । आम नागरिक प्राकृतिक विपत्तिले पिस्सिरहेको समय जिम्मेवार पदमा हुनेहरूले व्यक्तिगत फाइदका लागि अवसरको रूपमा लिनु राम्रो होइन । अबका दिनमा लडिरहेको अर्थतन्त्रलाई उठाउन आम नागरिको भूमिका जरुरी छ भने सरकारको स्पष्ट नीति र यसको कार्यन्वयन आवश्यक छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्