Techie IT
३१ असोज २०७८, आईतबार

आसन्न चाडपर्व र नोटको सुरक्षा सवाल


काठमाडौं । नेपालको राष्ट्रिय पर्वका रूपमा रहेका दशैँ, तिहार नजिकिएका छन् । नेपालीजनलाई हरेक वर्ष मनाइने दशैँ, तिहारको अत्यधिक महत्व त रहन्छ नै सँगसँगै यस्ता चाडपर्वमा नयाँ नोटको पनि उत्तिकै महत्व रहने गर्दछ । विगत वर्षहरूमा जस्तै यसवर्ष पनि नेपाल राष्ट्र बैंकले सूचना प्रकाशन गरी मिति असोज ४ गतेदेखि नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ । दशैँ, तिहारजस्ता चाडबाडको समयमा आम नागरिकलाई नयाँ नोटको उग्र मोह रहने भए पनि नोटको सुरक्षाको सवालमा गरिने हेलचेक्र्याइँले भने यस्ता ठूला चाडहरू नयाँ नोट असुरक्षित बन्ने जोखिमयुक्त पर्वका रूपमा स्थापित हुनथालेका छन् ।

दशैँमा टिका, जमरा र आर्शीवादसँगै आफन्तजनलाई दक्षिणाका रूपमा उपलब्ध भएसम्म नयाँ नोट दिने रहरले सबैलाई गाँजेको हुन्छ । तिहारको सन्दर्भमा समेत यही क्रम दोहोरिने गर्दछ । यही कारण, बैंकहरूमा लामो लाइन लागेर कष्टपूर्वक नै भए पनि नयाँ नोट प्राप्त गर्ने प्रयत्नमा आम नागरिकहरू जुटिरहेका हुन्छन् । नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैँ तिहारमा अर्बौँ रुपैयाँबराबरका नयाँ नोटहरू बजारमा पठाउने गरेको छ ।

यसवर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरूका तोकिएका शाखा कार्यालयहरूमार्फत नयाँ नोट सटहीको प्रबन्ध मिलाएको छ । यसका साथै, नेपाल राष्ट्र बैंकले सूचना जारी गरी नोट सटही गर्न जाँदा नेपाल सरकार तथा स्थानीय प्रशासनले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड तथा सामाजिक दूरीको पूर्ण पालना गर्नसमेत सर्वसाधारणलाई सचेत गराएको छ । यसबाट केही समय लाइन बसेरै भए पनि दशैँका लागि अधिकांश नागरिकहरूले नयाँ नोट प्राप्त गर्नसक्ने अवस्था सिर्जना भएको छ । तर, यसरी प्राप्त गरिएको नयाँ नोटको प्रयोगमा गरिने हेलचेक्र्याइँ र असावधानीले राष्ट्रिय खर्चमा अनावश्यक वृद्धि भई अर्थतन्त्रमा नकारात्मक प्रभाव समेत परिरहेको अवस्था विद्यमान छ ।

नयाँ नोटको उत्पादनका लागि वर्षेनी राज्यको धेरै खर्च भइरहेको हुन्छ । १ र २ रुपैयाँ दरका नोटको उत्पादन लागत उक्त नोटको ‘फेस भ्यालु’ले नधान्ने भएकोले नेपाल राष्ट्र बैंकले केही वर्षअघिदेखि नै छपाइ गर्न समेत छोडिसकेको छ । नेपाली नोटहरूको छपाइ समेत विदेशमा हुने गर्दछ । नेपाल राष्ट्र बैंकले नोट छपाइ तथा सिक्का टकमरी निर्देशिका २०६५ बमोजिम नोटको छपाइका लागि बोलपत्र आह्वान गरी विदेशी कम्पनीलाई छपाइको जिम्मेवारी दिने गरेको छ । छपाइका लागि प्रक्रिया सुरु गरेर नोट छपाइ भई नेपाल राष्ट्र बैंकसम्म आइपुग्न करिब एक वर्ष लाग्ने र छपाइ खर्चका अतिरिक्त विदेशबाट ढुवानीको महँगो लागत समेत व्योहोर्नुपर्ने भएकोले पनि नेपाली नोटको सन्दर्भमा यिनीहरूको उत्पादन लागत निकै बढी छ ।

प्रत्येक नोटको छपाइमा कम्तीमा ५ रुपैयाँदेखि १७ रुपैयाँसम्म खर्च हुने यसक्षेत्रका जानकारहरूले बताउनेगरेका छन् । नोट झुत्रो र फोहर बन्नु भनेकै मुलुकले व्योेहोरिरहेको यो लागतबराबरको रकम सोझै नोक्सानीमा पर्नु हो । एकातिर यो अवस्था छ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार कागजी नोटको आयु चार वर्ष हुनेगरेकोमा नेपाली नोटको सरदर आयु भने १ वर्ष मात्रै रहेको तथ्यांक छ । यसरी महँगो रूपमा उत्पादन भएका नोटको पर्याप्त सुरक्षा नभएकै कारण आयु छोटिन गई देशको अर्थतन्त्रलाई ठूलो घाटा पुगिरहेको छ ।

कागजी नोट झुत्रिने, च्यातिने, फोहर बन्ने र आयु छोटिने अवस्था निम्तिनुमा नोटको प्रयोगसम्बन्धी हाम्रो गलत अभ्यास एवं प्रचलन कारकका रूपमा रहेको छ । दशैँ, तिहारअघि सलक्क र सफा रूपमा नागरिकहरूको घर घरमा भित्रिएका नयाँ नोटहरू दशैँको टिका प्रारम्भ भएसँगै रंगीचंगी एवं राताम्मे रूप लिएर बजारमा देखापर्ने क्रम वर्षेनी चल्नेगरेको देखिन्छ । दशैँतिहारजस्ता चाडबाडमा नोटलाई सम्पति मानेर रंग, अबिर आदिले पूजा गर्ने, नोटमा पानी पर्नबाट नजोगाउने, टिकाटालो गर्दा पनि नोटलाई रंगीन अक्षता, अबिर, केशरी आदिले विरूप बनाएर लेनदेन गर्ने आम प्रचलन रहेको छ । दशैँको समयमा नोटमा जमरा र फूलटिका राखेर दक्षिणा दिने प्रचलनले पनि नोटलाई असुरक्षित बनाइरहेकोे छ ।

यस्ता चाडपर्व र अन्य धार्मिक, सामाजिक कार्यहरूमा नयाँ नोट नै चाहिने परम्परागत मानसिकतालाई त्याग्न नसक्दा पनि नोटको असुरक्षा बढिरहेको छ । यसका अतिरिक्त अन्य समयमा पनि बैंक नोटको सम्मान र इज्जत गर्नमा हामी चुकिरहेका हुन्छौँ । नोटलाई अनावश्यक रूपमा घरमा थन्काएर राख्ने विशेषगरी समाजका ज्येष्ठ नागरिकहरूको चलन नै छ । यसबाट नोटमा ढुसी पर्ने, पुरानो देखिने, कुहिने र झुत्रिने समस्या रहेको छ । यसैगरी, सानातिनादेखि ठूल्ठूला मन्दिरहरूमा कागजी नोट चढाइने प्रचलन पनि नोटको सुरक्षामा चुनौतीकै रूपमा रहेको छ ।

यति मात्र हैन, नोटलाई कसरी बोक्ने र लेनदेन गर्ने भन्ने कुरामा पनि उचित ध्यान पुग्नसकेको छैन । राष्ट्रिय नोटप्रतिको हाम्रो मानसिकता यतिसम्म गिरेको छ कि देशभित्रै पनि डलरलगायतका अन्य विदेशी नोटहरूलाई बडो जतनसाथ राख्ने र लेनदेन गर्ने गरिन्छ भने नेपाली नोटलाई बेपर्वाह तरिकाले कच्याककुचुक पारेर हातमा बोक्ने, खल्ती वा ब्यागमा कोच्ने, थैलीमा खाँद्ने, धेरै तह बनाएर फोल्ड गर्ने, नोटमा केरमेट गर्ने समेत गरिन्छ । विशेषगरी अन्य सामानहरूको सुरक्षामा अत्यन्त हेरचाह गर्ने महिलाहरूले नोटको हेरचाहमा भने धेरै हेलचेक्रयाइँ गरिरहेको दृश्य धेरै देख्न पाइन्छ । नोटलाई शरीरका गोप्य अंगमा खाँधेर राख्ने, पर्समै राख्दा पनि धेरै फोल्ड गरेर कोचेर राख्ने र कच्याककुचुक बनाएर हातमा बोक्ने काम बढी मात्रामा महिलाहरूले गरिरहेको दृश्य हाम्रा लागि सामान्य बन्ने गर्दछ ।

अर्कोतर्फ, खासगरी स्कुुल कलेजमा अध्ययन गरिरहेका अहिलेका युवापुस्ताहरूमा समेत नोटलाई कच्याककुचुक बनाएर खल्तीमा या ब्यागको साईडमा कोच्ने लहर चलेको देखिन्छ । युवायुवतीहरूले प्रेमिल सायरी कोर्नेदेखि दुर्व्यसनीहरूले अखाद्य वस्तुहरू प्याक गर्नेसम्मको काममा नोटको दुरूपयोग भइरहेको छ । बहुसंख्यक नागरिकहरूले चल्तीमा ल्याउनेगरेका कागजी नोटहरूकोे प्रयोगमा देखापरेका यसखालका गलत अभ्यासहरूका कारण मुलुकी अर्थतन्त्रमा नै प्रभावित बनिरहेको छ ।

दशैँतिहारलगायतका चाडबाड एवं अन्य समयमा समेत नोटहरूलाई सुरक्षित तवरले राख्ने र लेनदेन गर्नेतर्फ गम्भीर बन्नैपर्छ । चाडबाडका अवसरमा गरिने टिकाटालोको क्रममा नोटलाई खामभित्र वा कागजमा प्याक गरेर दक्षिणा दिने प्रचलनले नोटको सुरक्षामा बल पु-याउने गर्दछ । यसो गर्न नसकिएमा पनि नोटलाई नभिजाउने, टिका, जमरा आदिलाई नोटमाथि नराख्ने र सकेसम्म जतनसाथ दक्षिणा लेनदेन गर्ने हो भने धेरै हदसम्म दशैँतिहारकै समयमा पनि नोटलाई सुरक्षित तुल्याउन सकिन्छ । यसबाहेक अन्य समयमा पनि नोटलाई कच्याककुचुक बनाएर बोक्ने, पर्समा कोच्ने, शरीरका अंगहरूमा खाँध्ने, केरमेट गर्नेजस्ता हाम्रा बानीमा सुधार ल्याउन आवश्यक छ ।

बैंक तथा वित्तीय संस्थाहरूले नगद नोटको कारोबारमा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको सफा नोट नीतिको अक्षरशः पालना गर्नेतर्फ अग्रसरता देखाउनै पर्छ । नोटलाई चलनचल्तीमा पठाउनयोग्य र अयोग्य भनी वर्गीकरण गर्न र योग्य नोटहरूमा सेतो रंगको स्लिप एवं अयोग्यमा रातो रंगको स्लिप प्रयोग गर्न राष्ट्र बैंकले निर्देशित गरेको निकै वर्ष बितिसकेको छ । रातो स्लिपयुक्त पुराना र झुत्रा नोटहरूलाई चलनचल्तीमा लान नसकिने व्यहोरा उल्लेख गरी राष्ट्र बैंकमा दाखिला गर्न, सम्भव भएसम्म नोटमा स्टिचको प्रयोग नगरी रबर ब्यान्ड वा प्लास्टिकको ब्यान्ड प्रयोग गर्न र ज्यादै आवश्यक भए एउटा सम्म स्टिच प्रयोग गर्न केन्द्रीय बैंकले सुझाएको छ ।

कागजी नोटको प्रचलन विश्वव्यापी रूपमा नै रहेको र यसले आम मानिसहरूको दैनिकीलाई सहज बनाउनुका साथै वर्तमानसम्म आइपुग्दा नोटविनाको दैनिकीको कल्पना नै गर्न नसकिने अवस्थाको सृजना भइसकेको छ । पछिल्लो समयमा खासगरी सहरी क्षेत्रहरूमा कागजी बैंक नोटहरूसरह विनिमय गर्न सकिनेगरी विभिन्न किसिमका कार्डहरू, मोबाइल बैंकिङलगायतको सेवा पनि बढ्दो क्रममा रहेको पाइन्छ । यद्यपि हाम्रो सन्दर्भमा भने मूलतः कागजी नोटकै दबदबा रहेको छ ।

भनिन्छ, मुलुकमा चल्तीमा रहेको नोटको अवस्था हेरेर त्यस देशको सामाजिक विकासको अवस्था आकलन समेत गर्न सकिन्छ । कुनै पनि देशको नोट मुलुकको इज्जत र प्रतिष्ठासँग जोडिएको राष्ट्रिय परिचायक समेत हो । तर, हामी नेपालीहरू यो मामिलामा अत्यन्त असामाजिक भइरहेका र राष्ट्रिय इज्जतमाथि नै खेलबाड गरिरहेका छौँ । यसखालको स्थितिलाई अन्त्य गर्दै कागजी नोटको समुचित उपयोगतर्फ सबैको ध्यान पुग्न जरुरी छ ।

राष्ट्रिय सम्पति भएकोले नोटको सुरक्षा गर्नु यसको कारोबारमा संलग्न हरेक व्यक्ति, संस्थालगायत सबैको दायित्व हो । यसका साथै, नोटको सुरक्षाका विषयमा आम नागरिकहरूसम्म पुग्नेगरी व्यापकरूपमा चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न पनि उत्तिकै आवश्यक छ । अहिलेको समयमा बैंक नोटहरूसरह विनिमय गर्न सकिनेगरी प्रचलनमा ल्याइएका विभिन्न किसिमका कार्डहरू एवं डिजिटल मुद्राहरूको प्रयोग र पहुँचलाई पनि वृद्धि गरिनुका साथै नेपाल राष्ट्र बैंकले अघि सारेकोसफा नोट नीतिको प्रभावकारी कार्यान्वयन गरिन आवश्यक छ । आम नागरिकहरूको सचेतता र नोटको कारोवारमा संलग्न संस्थाहरूको प्रतिबद्धता जुट्नसकेमा कागजी नोटको सुरक्षामा बढोत्तरी भई अर्थतन्त्रमा परिरहेको मार कम हुने र देशको प्रतिष्ठासमेत उँचो रहने अपेक्षा गर्न सकिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्