Techie IT
९ असार २०७८, बुधबार

निजामती सेवा दिवस र यसको सान्दर्भिकता


मुलुकमा प्रत्येक वर्षको भाद्र २२ मा देशभरि विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । मूलतः विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएको अवसरमा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो । यसैअनुसार अहिले मनाउन लागिएको १७औं निजामती सेवा दिवस हो । नेपालमा प्रायः सधैँ कुनै न कुनै दिवस परिरहेकै हुन्छन् । दिवस मनाउनुको अर्थ त्यस विषयमा गौरव गर्नु हो । त्यसबाट ऊर्जा प्राप्त गरी अझ काम गर्ने प्रेरणा लिनु हो । दिवस मनाउनुको अर्थ केवल औपचारिकता मात्र होइन । जनतालाई सेवा दिने कार्यालय नै त्यस दिन बन्द गर्नुको अर्थ अन्य दिन झन् बढी प्रभावकारीरूपमा काम गर्न ऊर्जा बटुल्न हो भन्ने अर्थमा दिवसलाई लिन सक्नुपर्छ । यसो गरेमा मात्रै दिवसप्रति जनताको आस्था, विश्वास र समर्थन प्राप्त भइरहन्छ ।

मुलुक चलाउन कुशल, विवेकशील प्रशासन चाहिन्छ अनि सरकारीरूपमा नियुक्त प्रशासक या भनौँ कर्मचारीले दिने सेवाको आज दिवस हो । विसं २०६१ सालबाट यस दिवसको सुरुवातभएको हो, वास्तवमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । तसर्थ आजको आवश्यकता सक्षम मात्र होइन स्वच्छ प्रशासन पनि भएकाले सरकारले प्रत्येक कर्मचारीले कार्यालयप्रवेश गर्दा म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न भनेर सपथ लिनुपर्ने व्यवस्थासिहत निजामती सेवामा सदाचार स्थापना गर्न चाहेको छ ।

सरकारको यो अभियानमा कर्मचारीले सघाउँदै कार्यालय प्रवेश गर्दा लिएको सपथजस्तै निवास फर्कने क्रममा छातीमाथि हात राखेर मैले भ्रष्टाचार गरिनँ, मैले भ्रष्टाचार हुनदिइन’ भन्न सक्ने हो भने सेवक शब्द मात्र उजिलिने छैन, कर्मचारी संस्थाप्रति सेवाग्राहीको अगाध स्नेह चुलिनेछ । यसको साथसाथै सार्वजनिक प्रशासनको मेरुदण्डका रूपमा रहने निजामती सेवाले अन्य सरकारी सेवालाई समेत मार्गदर्शन र परिचालन गर्ने हुनाले यो सेवा सरकारको प्रमुख प्रशासकीय सेवाका रूपमा रहेको हुन्छ ।

जननिर्वाचित राजनीतिक नेतृत्वले तय गरेको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गरी जनतासमक्ष पु-याउने, सार्वजनिक सेवाप्रवाहको व्यवस्थापन, समन्वय र सहजीकरण गर्ने तथा जनतालाई सरकारको अनुभूति गराउने कार्यमा निजामती सेवाको महत्वपूर्ण भूमिका रहन्छ । स्वतन्त्र संवैधानिक निकायले योग्यता प्रणालीका आधारमा छनोट गरेका कर्मचारी रहने भएकाले निजामती सेवालाई योग्यतामा आधारित क्षमतावानहरूको सेवाका रूपमा लिने गरिन्छ । खासगरी सन् ९० को दशकमा सार्वजनिक प्रशासनको क्षेत्रमा आएको परिवर्तनले निजामती सेवालाई अझ प्रतिस्पर्धी नतिजामुखी, व्यावसायिक र सुशासनमुखी बनाउँदै लगेको छ ।

विड्रो विल्सनबाट सन् १८८७ मा प्रतिपादित पोलिटिक्स एड्मिनिस्ट्रेसन डिकोटोमी (राजनीति र प्रशासनको सीमाविभाजन) सिद्धान्त अहिले पनि सबै लोकतान्त्रिक राष्ट्रको राज्यसञ्चालनको मानकका रूपमा रहेको छ । तर, यसो भन्दैमा जनादेशयुक्त गभर्मेन्ट अफदी डेलाई असहयोग गर्ने संवैधानिकशक्ति र व्यावहारिक छुट निजामती सेवामा रहँदैन ।

मूलतः सन् १९१८ को हाल्दाने प्रतिवेदनले निजामती सेवालाई संवैधानिक व्यक्तित्व प्रदान गर्न नहुने निष्कर्ष निकालेको थियो । यसमा नेपाल, भारतजस्ता कलिला लोकतन्त्र भएका मुलुकले निजामती सेवाको व्यावसायिक वृित्त संरक्षण भने संविधानमार्फत गर्दै आएका छन् र निजामती सेवाले विवेकशील राज्यसंयन्त्रको भूमिका खेल्दै आएको छ । देशको कुरा गर्ने हो भने लामो समयको एकात्मक शासन प्रणालीबाट सङ्घीय शासनप्रणालीमा रूपान्तरित भएको छ । हामी सङ्घीयता कार्यान्वयनको सङ्क्रमणकालमा मुलुक रहेको छ । सङ्घीयता राजनीतिक व्यवस्था भए पनि यसलाई कार्यान्वयन गरी संस्थागत गर्ने कार्यमा निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहन्छ ।

यसै भूमिकालाई निजामती क्षेत्रबाट तटस्थ, पारदर्शी र वस्तुनिष्ठ भई विकास निर्माणमा टेवा दिन जरुरी छ । यसका साथै हरेक क्षेत्रमा निजामती प्रशासनले अग्रणी भूमिका निर्वाह गर्दै सुशासनयुक्त कार्य अगाडि बढाउन जरुरी छ । सङ्घीयता कार्यान्वयनको एउटा महत्वपूर्ण पक्ष भनेको सार्वजनिक प्रशासनको पुनर्संरचना पनि हो । यसको साथसाथै बढ्दो गरिबी, घट्दो गुणस्तरीय शिक्षा, चरम बेरोजगारीका कारण राज्यप्रतिको खस्किँदो बफादारिता र विदेश पलायनको स्थितिले राज्य झन् कमजोर बन्नपुग्यो ।

अब विगतलाई स्मरण गर्दै वर्तमानको आवश्यकतालाई बोध गरी सुखद भविष्यको निर्माणका निम्ति संवैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाक्षा पूरा गर्ने प्रतिबद्धतासहितको संवैधानिक सङ्कल्पलाई साकार पार्नुपर्छ । सोहीअनुरूप राजनीतिक सुदृढीकरण, प्रशासनिक सक्षमता र इमानदारी, सुशासनमैत्री कार्यशैलीजस्ता कार्यद्वारा समुन्नत राष्ट्रनिर्माणमा जुटी नागरिकका हकअधिकार उपयोग गर्नसक्ने सामथ्र्यको विकास आवश्यक छ ।

समग्रमा भन्नुपर्दा मुलुकको सक्षम निजामती प्रशासनलाई विकास गरी कुशल समृद्धि र सुशासनको तय गर्न लागिपर्ने स्थानीय तह, प्रदेश र संघमा गरी करिब ९३ हजार निजामती कर्मचारीहरू कार्यरत छन् । यस सेवामा पुरुष कर्मचारीहरूको मात्र बाहुल्यता रहेको विगतका तथ्यांकहरूले देखाउँदै आए पनि हाल आएर महिलाका लागि छुट्टै समावेशी कोटा छुट्ट्याएपछि नेपालको निजामती सेवामा महिला आकर्षण दिनप्रतिदिन बढ्दै छ । संख्यात्मकरूपमा नेपालको निजामती सेवामा महिलाको उपस्थिति करिब २३ प्रतिशत मात्रै भए पनि पछिल्लो समयमा सेवा प्रवेश क्रम भने तीव्र गतिमा बढेको पाइन्छ ।

देशको सार्वजनिक प्रशासनको मेरुदण्डका रूपमा रहने निजामती सेवाले अन्य सरकारी सेवालाई समेत मार्गदर्शन र परिचालन गर्ने हुनाले यो सेवा सरकारको प्रमुख प्रशासकीय सेवाका रूपमा रहेको हुन्छ । जननिर्वाचित राजनीतिक नेतृत्वले तय गरेको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गरी जनतासमक्ष पु-याउने, सार्वजनिक सेवाप्रवाहको व्यवस्थापन, समन्वय र सहजीकरण गर्ने तथा जनतालाई सरकारको अनुभूति गराउने कार्यमा निजामती सेवाको महत्वपूर्ण भूमिका रहन्छ । स्वतन्त्र संवैधानिक निकायले योग्यता प्रणालीका आधारमा छनोट गरेका कर्मचारी रहने भएकाले निजामती सेवालाई योग्यतामा आधारित क्षमतावान्हरूको सेवाका रूपमा लिने गरिन्छ ।

यस निजामती सेवालाई जनतामुखी सार्वजनिक प्रशासनको क्षेत्रमा विकास गरी अझ् बढीभन्दा बढी प्रतिस्पर्धी नतिजामुखी, व्यावसायिक र सुशासनमुखी बनाउँदै लानुपर्ने समय आएको छ । नेपाल सरकारले पनि राष्ट्रसेवकलाई अहिले सक्षम, प्रविधिमैत्री, अनुशासित, कर्तव्यनिष्ठ, जनताप्रति जवाफदेही बनाउने हो । कर्मचारीले यो परिवर्तन स्वीकार गर्नुपर्छ । स्वीकार गर्नुहुन्न, खराब बानी लागेको छ भने, बानी सुधार्न सकिँदैन भने बिदा हुनु प-यो, अरू के विकल्प छ ? सुझाउनु प-यो । जुनसुकै नामले सम्बोधन गरिए पनि कर्मचारी संस्था मुलुकको स्थायी सरकार भएकाले नेपालको सन्दर्भमा सरकारको दक्षता प्रदर्शन गर्ने प्रमुख सहायक निजामती सेवा हो ।

विक्रम सम्वत् २०१३ सालेदेखि निजामती सेवा ऐनमार्फत संगठित गरिएको भए पनि निजामती र जंगी सेवा नेपालका पुराना संस्था हुन् जसमार्फत सरकारले जनता र राष्ट्रका लागि सेवा तथा सुरक्षा प्रदान गर्दै आएको छ । निजामती सेवामा आबद्ध कर्मचारीले विभिन्न राजनीतिक उतारचढावमा पनि आफ्नो कर्तव्य निर्वाह गर्दै आएका छन् । सिद्धान्ततः व्यक्तिगत सुखसुविधा त्यागेर देशको सेवामा कटिबद्ध रहनुपर्ने हुनाले निजामती कर्मचारीलाई गरिमामयी राष्ट्रसेवक शब्दले सम्बोधन गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्