Techie IT
३० असोज २०७८, शनिबार

नेपालमा साइबर अपराध एक जटिल समस्या


काठमाडौं । नेपालमा दिनानुदिन साइबर अपराध बढिरहेको तथ्यांक प्रकाशमा आइरहेको छ । गाउँघरका हरेक प्रहरी चौकीदेखि प्रहरी प्रभाग हुँदै प्रहरी विभागसम्म साइबर अपराधका नयाँ–नयाँ मुद्दाहरू दर्ता भइरहेका छन् । अझै कोभिड सुरुवात भएपछि लकडाउनका कारण बन्द भएका स्कुल कलेजका विद्यार्थीदेखि स्मार्ट मोबाइल फोन चलाउने प्रायः सबै व्यक्तिहरू फुर्सदका कारण यस्ता अपराधी गतिविधिमा जान अन्जानमा लागेको पाइयो । मानिस धेरै फुर्सदमा रहेपछि अनेकौँ कुराहरू सोच्न थाल्छ । त्यस्ता सोचाइका आवेग प्रवेग र चिन्तन असल कुरामा भन्दा पनि खराब कुरामा जाँदा मानिसमा अपराध प्रवृत्ति हाबी हुन जान्छ । डिजिटल युगका नाउँमा आज मानिस हरेक कुरामा आफूलाई अपडेट राख्न चाहन्छ । मोबाइलको एक क्लिकमा आज दुनियाँको सारा कथित गतिविधि देखिन्छ चाहे खराब गतिविधि होस् चाहे असल गतिविधि होस् । मानिस नयाँ प्रयोगका लागि यत्नशील हुन्छ । यो साइबर युग हो भन्छौँ हामी र नयाँ कुरा जान्न उत्सुकता देखाउँछौँ ।

नयाँ कुरा सबै असल हुन्नन् । हरेक कुराको दुईटा पाटा हुन्छन् असल र खराब । सदुपयोग गरे असल कुरा हात पर्छ र दुरूपयोग गरे खराब कुरा हात पर्छ । यो साइबर अपराध इन्टरनेटको दुरूपयोगको कारण हो । इन्टरनेटका माध्यमबाट ठगी धन्दा चलाउनेको सन्जाल नेपालमा व्यापक छ । नेपालीहरू आफू मात्रै नभएर विदेशीका साथ र सहयोगमा यो ठगी धन्दा निर्धक्कसँग चलाइरहेका छन् ।

नेपालमा साइबर सन्जालले खास गरेर युवा समुदायलार्ई बढी व्यस्त बनाइदिएको छ । इन्टरनेटको माध्यमबाट पैसा ठग्ने, बैंकहरू लुट्ने, ठूला–ठूलो औद्योगिक संस्थानहरूका साइटहरू ह्याक गर्ने, फिरौती माग्ने, मानिस अपहरण गर्ने, चेलीबेटी बेचबिखन गर्ने विदेश लान्छु भन्दै अन्जानका मानिसहरूलार्ई फेसबुक ह्वाट्सएप ट्वीटरजस्ता साइडमा साथी बनाएर ठगीको प्रपन्च रच्ने । स्त्रीलाई अनेकौँ सपना र प्रेम देखाएर बिहे गर्छु भन्दै तिनका गोप्य अंग देखाउन लगाउने र पछि तिनै महिलाहरूलार्ई ब्ल्याकमेल गरी पैसा ठग्ने प्रवृत्ति ह्वात्तै बढिरहेको छ ।

जति छिटो हामी डिजिटल युग र दुनियाँतिर अघि बढिरहेका छौँ, साइबर अपराध र अपराधीको संख्या पनि उही दरमा बढिरहेको छ । जुन गतिमा टेक्नोलोजी अगाडि बढेको छ, त्यही गतिमा इन्टरनेटमा मानिसको निर्भरता पनि बढेको छ । एक ठाउँमा बसेर, इन्टरनेटको माध्यमबाट, मानिसको पहुँच संसारको हरेक कुनामा सजिलैसँग पुग्ने भएको छ । आजको समयमा, एक व्यक्तिको बारेमा सोच्न सक्ने सबै कुरा इन्टरनेटको माध्यमबाट पहुँच गर्न सकिन्छ, जस्तै सामाजिक सञ्जाल, अनलाइन किनमेल, डाटा भण्डारण, गेमिङ, अनलाइन अध्ययन, अनलाइन रोजगार, आदि । आजको समयमा इन्टरनेट लगभग हरेक क्षेत्रमा प्रयोग गरिन्छ । साइबर अपराधको अवधारणा पनि इन्टरनेटको विकास र यसको सम्बन्धित लाभबाट विकसित भइरहेको छ । सबैभन्दा बढी युवा युवतीहरू यसको लतबाट र यसको दुस्प्रयोगबाट दिनानुदिन अप्ठ्यारोमा परिरहेको कुरा थाहा हुन आएको छ ।

नेपालको एक ठूलो जनसंख्या सामाजिक सञ्जाल साइटहरूको उपयोग गर्दछ । नेपालमा सामाजिक सञ्जाल साइटहरूको उपयोगको बारेमा मानिसहरूको बीच जानकारीको कमी छ । यसका साथसाथै, धेरैजसो सामाजिक सञ्जाल साइटहरूका सर्वरहरू विदेशमा छन्, जसको कारण नेपालमा साइबर अपराधीको जरासम्म पुग्न असाध्य झन्झटिलो खर्चिलो र अन्योल छ । यस लेखमा, साइबर अपराध, यसको प्रकार, रोकथाम उपाय र सरकारद्वारा बनाइएको प्रावधानहरूमा छलफल गरिनेछ । यसका साथसाथै साइबर अपराधमा सामाजिक सञ्जाल साइटहरूको भूमिकाको पनि मूल्यांकन गरिनेछ ।

के हो साइबर क्राइम ? इन्टरनेटसँग सम्बन्धित भएर गरिने विभिन्न प्रकारका अपराधी क्रियाकलाप नै साइबर क्राइम हो । यो प्रविधिको दुरूपयोग हो । अपराध भनेको दुस्कर्म हो । कानुनले गर्न हुन्न भनेको काम गर्नु नै अपराध हो । विश्वमा जब कम्प्युटर प्रविधिको विकास भयो त्यसको केही वर्षपछि इन्टरनेटको विकास भयो । इन्टरनेट कम्प्युटरसँग सम्बन्धित छ । साइबर क्राइम नयाँ अपराध हो । समाजमा अपराध त पहिलेदेखि नै थियो तर यो साइबर क्राइमचाहिँ नयाँ स्थापित भएको संगठित अपराध हो । प्रत्येक्ष अपराधीलार्ई भन्दा साइबर अपराधीलार्ई भेट्न् कठिन हुन्छ किनकि त्यस्ता अपराधीहरू विदेश विदेशमा हुन्छन् र त्यतैबाट योजना बनाउँछन् । र यता लक्ष्य बनाउँछन् ।

साइबर अपराधहरू विभिन्न रूपहरूमा गरिन्छन् । केही वर्ष पहिले, इन्टरनेटको माध्यमबाट भएको अपराधको बारेमा जागरूकताको कमी थियो । साइबर अपराधको मामिलामा नेपाल पनि ती देशहरूभन्दा पछाडि छैन, जहाँ साइबर अपराधका घटनाहरूको दर पनि दिन प्रतिदिन बढ्दै गएको छ । साइबर अपराधको मामलामा, एक साइबर अपराधी प्रयोगकर्ताको व्यक्तिगत जानकारी, गोपनीय व्यापार जानकारी, सरकारी जानकारी, अहिले नेपालमा पनि अनलाइन व्यापार प्रशस्त मात्रामा फैलिने क्रममा छ । अनलाइन सामानहरू बेच्दा पनि अपराध प्रवृत्तिको विकास हुन सक्छ जसले गर्दा साइबर अपराध फैलिन सक्ने सम्भावना उत्तिकै बढिरहेको हुन्छ ।

साइबर अपराध, जसलार्ई ‘इलेक्ट्रोनिक अपराध’ पनि भनिन्छ, एक त्यस्तो अपराध हो जसमा कम्प्युटर, नेटवर्क उपकरण वा नेटवर्क, एक वस्तु वा उपकरणको रूपमा, कुनै अपराध गर्नको लागि प्रयोग गरीन्छ । जहाँ यस्ता अपराधहरू उनीहरू (कम्प्युटर, नेटवर्क उपकरण वा नेटवर्क)को माध्यमबाट गर्छन्, उनीहरूलार्ई लक्षित गर्दा, उनीहरूविरुद्ध पनि अपराध गरिन्छ ।

यस्ता अपराधहरू साइबर क्राइममा पर्छन् । जबरजस्ती करणी, पहिचान चोरी, क्रेडिट कार्ड ठगी, कम्प्युटरबाट व्यक्तिगत डाटा ह्याकि, फिसी, अवैध डाउनलोड, साइबर स्टकिङ, भाइरस फैलाउनेलगायतका गतिविधिहरूको एक विस्तृत शृंखला कभर गर्दछ । यो ध्यान दिन लायक छ कि सफ्टवेयर चोरी पनि साइबर अपराधको एक रूप हो, जसमा यो जरूरी छैन कि साइबर अपराधी अनलाइन पोर्टलमार्फत नै अपराध गर्दछ । इन्टरनेटले गर्दा अहिले आएर व्यक्तिको यौन सुख र बाटोमा समेत परिवर्तन आएको छ । मानिसहरूमा एउटा भ्रम छ कि ती युवायुवतीहरू आफ्ना यौनाङ्ग प्रदर्शन गरेर माया साटासाट जो गर्छन् तर उनीहरू कहिले पनि सुरक्षित छैनन् र कुनै न कुनै दिन उनीहरूको लाज बाहिर आउँछ नै । अहिलेका युवा पुस्ताको अन्तरङ्ग क्रियाकलाप इन्टरनेटमार्फत कतिपय पर्दाफास भइरहेको छ । यो पनि एउटा साइबर अपराध मनोवृत्ति हो ।

साइबर अपराधको वर्गीकरण :साइबर विज्ञहरूका अनुसार अपराधको श्रेणीलार्ई दुई वर्गमा विभाजन गर्न सकिन्छ ।
अपराध जसमा कम्प्युटरहरूमा आक्रमण हुन्छ । यस्ता अपराधका उदाहरणहरू ह्याकी, भाइरस आक्रमण आदि हुन् ।
अपराध जसमा कम्प्युुटर एक हतियार/उपकरणको रूपमा प्रयोग गरिन्छ । यस्ता अपराधहरूमा साइबर आतंकवाद, साइबर कानुन उलंघन, क्रेडिट कार्ड ठगी, पोर्नोग्राफी आदि पर्दछन् ।

साइबर अपराधको श्रेणीहरू : साइबर अपराध ३ वटा प्रमुख वर्गहरूअन्तर्गत पर्न आउँछ जसमा
१. व्यक्तिगत
२. सम्पत्ति
३. सरकारविरुद्धको अपराध

१. व्यक्तिहरूविरुद्ध साइबर अपराध : व्यक्ति र उसको निजी चरित्रसँग सम्बन्धित भएर पनि यो अपराधले सिंगो सामाजिक जनजिन्दगीलाई असर पारिरहेको हुन्छ । समाज व्यक्तिहरूकै संगठन हो । एक व्यक्तिको खराबीले सिंगो समाज अछुतो रहन सक्तैन । नेपालमा साइबर अपराध हेर्ने भोटाहिटीमा एउटा बेग्लै प्रहरी प्रभाग छ त्यस कार्यलमा गएर बुझ्दा नेपालका शिक्षित घरानीया खान्दनका युवायुवतीहरू विदेशीको नक्कली मायाजालमा फसी आफू ठगिएको बारेमा उजुरी दिन दैनिक आइरहेका हुन्छन् । कुरा घटना र व्यवहार निजी भए पनि यसले हाम्रो समाजलार्ई विकृतिको खाल्डामा धकेल्दै लगेको छ । छोराछोरी भएका बाबुआमा समेत विदेशीको नक्कली मायामा फसेको पाइयो । शरिर मात्रै प्रदर्शन गर्दा नपुगेर पैसा समेत तिनका अकाउन्टमा हालिदिएर आफूलाई बर्बाद गरेका छन् नेपालका अर्धज्ञानी स्त्रीहरूले । स्त्रीहरू लोग्ने हुँदाहुँदै पनि फसेका छन् अनि पुरुषहरू श्रीमती हुँदाहुँदै पनि बहकिएका छन् । त्यो इन्टरनेटको हिरो को हो ती महिला बिचरी चिन्दिनन् । हातमा स्मार्ट फोन र अलिकति चलाउन आएपछि अनि फेसबुक र ट्वीटरको एकाउन्ट खोल्नी च्याट गर्ने भएपछि छोराछोरी भएका महिलाहरूले सन्तान छोडेर अर्को श्रीमान् खोजेर भागेका रेकर्ड थुप्रै देख्न पाइन्छ प्रहरी कार्यालयमा । श्रीमती हराएको निवेदन लिएर त्यस्ता श्रीमान् आउँछन् जसका श्रीमती सामाजिक सञ्जालमा अत्यन्तै लिप्त रहन्थिन् । यस्ता अपराधहरू, यद्यपि उनीहरू अनलाइन हुन्छन्, ती वास्तविक मानिसहरूको जीवनलार्ई प्रभावित गर्दछन् । यी अपराधहरूमध्ये केही साइबर उत्पीडन र साइबर पीछा, बाल पोर्नोग्राफीको वितरण, विभिन्न प्रकारको ठगी, क्रेडिट कार्ड ठगी, मानव बेचबिखन, पहिचान चोरी र अनलाइन मानहानि सामिल छन् । साइबर अपराधको यस श्रेणीमा, दुर्भावनापूर्ण वा अवैध जानकारी एक व्यक्ति वा समूहको विरुद्ध अनलाइन लिक गरिन्छ ।

२. सम्पत्तिविरुद्ध साइबर अपराध : केही अनलाइन अपराध सम्पत्तिको विरुद्ध हुन्छन् । जस्तै : कम्प्युटर वा सर्भरको माध्यमबाट । यी अपराधहरू ह्याकी, भाइरस प्रसारण, साइबर हमला अनि प्रतिलिपि अधिकार उल्लंघन । कसैले तपाईँलार्ई एउटा वेब लिंक पठाउँछ, जसमा क्लिक गरेपछि एउटा वेब पेज खुल्नेछ जहाँ तपाईँ, तपाईँको बैंक खाता÷गोप्य कागजातसँग सम्बन्धित सबै जानकारीको लागि सोधिन्छ र यो जानकारी कुनै बैंकबाट मागिएको छ भनिन्छ वा सरकारका तर्फबाट मागिएको हो भनिन्छ । तपाईँलार्ई यति करोडको चिठ्ठा प-यो तपाईँको खातामा यति पैसा आउँदै छ भनेर सोधपुछ हुँदै जान्छ अनि तपाईँ आफ्नो तथ्य जानकारी दिँदै जानुहुन्छ, उसबाट प्राप्त हुने ठूुलो धनराशिको लोभमा परेर तपाईँ त्यहाँ सबै जानकारी दिनुहुन्छ र त्यसपछि त्यो जानकारीको उपयोग गरी साइबर अपराधीहरूले तपाईँको सम्पत्तिविरुद्धमा योजना तयार गर्न थाल्छन् । अहिले प्रहरीले कार्यलयहरूमा साइबर अपराधका धेरै घटनाहरू विदेशी केटाको नामधारी गरेर नेपाली केटीहरूलार्ई बिहे गर्छु भनी धन लुटिरहेको अवस्था पनि छ । अस्ट्रेलिया, अमेरिका, क्यानडा, युरोपजस्ता धनी देशको केटा हुँ भन्दै नेपाली केटीहरूलाई फेसबुकमा फ्रेन्ड रिक्योस्ट पठाउँदै तिनीहरूलार्ई प्रेमको नाटक गर्दै च्याटका माध्यमबाट धेरै नेपाली चेलीहरूले आफ्ना गोप्य अंग प्रदर्शनदेखि पैसा समेत त्यस्ता नक्कली नामधारी प्रेमीहरूलाई ख्वाइरहेको अवस्था छ । यस्ता खाले साइबर अपराध/मुद्दा फौजदारी मुद्दा हुने भएकोले सरकारले नै यस्ता खाले मुद्दामाथि सम्बोधन गर्नुपर्ने हुँदा प्रहरीलार्ई नै गाह्रो परिरहेको अवस्था छ ।

३. सरकारविरुद्ध साइबर अपराध : यो सबैभन्दा गम्भीर साइबर अपराध मानिन्छ । सरकारविरूद्ध गरिएका यस्ता अपराधहरूलार्ई साइबर आतङ्कवाद पनि भनिन्छ । सरकारी साइबर अपराधमा सरकारी वेबसाइट वा सैन्य वेबसाइट ह्याकिङ समावेश हुन्छ । यो ध्यान दिनलायक छ कि जब एक साइबर अपराध सरकारको विरुद्धमा प्रतिबद्ध छ, यो त्यस राष्ट्रको सम्प्रभुतामा एक खालको आक्रमण वा युद्धकार्य मानिन्छ । यी अपराधीहरू सामान्यतया आतङ्कवादी वा अन्य दुश्मन देशहरूको सरकारहरू हुन् ।

यस्तो साइबर अपराध नियन्त्रण गर्नका लागि प्रत्येक देशको सरकारद्वारा कडा साइबर कानुन बनाउनुपर्ने हुन्छ । हाम्रो देश नेपालमा विद्युतीय कारोबार ऐन/कानुन २०६३ बनिसकेको भए पनि यो कानुनबाट साइबर अपराधमा कमी आउन सकेको छैन । र साइबर अपराधीमाथि उचित कानुनी कारबाही गर्न पनि सहज भएको छैन । सरकारविरुद्धमा जति पनि साइबर अपराध हुन्छन् त्यस्ता अपराधमा संलग्न हुने अपराधीहरू राष्ट्रको भौतिक अभौतिक बौद्धिक सम्पत्तिमाथि धावा बोलेर सूचना ह्याक गर्न सक्छन् । ठूला बैंकहरूको सिस्टम ह्याक गरेर पैसा आफ्ना खातामा समेत लैजान सक्छन् ।

सामाजिक सन्जालको भूमिका : सामाजिक सन्जाल सञ्चालनको लत लागेका मान्छेहरूबाट पनि कतिपय गोप्य कुराहरू चुहिरहेको हुन्छ । साइटहरू राम्रोसँग खोल्न नजान्ने साइटको बारेमा त्यति ज्ञान नभएको मानिसहरूले पनि साइटभित्र पसि जथाभावी साइट चलाउन थालेपछि ह्याकरलाई सूचना संकलन गर्न सजिलो भइरहेको हुन्छ । भनिन्छ ट्वीटर फेसबुक भाइबरका सबै डाटाहरू सम्बन्धित कम्पनीको स्टोरमा रुममा गएर जम्मा भइरहेको हुन्छ । ती सूचनाहरू उनीहरूलार्ई आवश्यक परेमा जतिसुकै बेला पनि उपयोग गर्न सक्छन् । अपराधीहरू कानुनभन्दा पनि एक कदम अगाडि हुन्छन् भनिन्छ ।

नेपालमा ठूुलो मात्रामा सामाजिक सञ्जाल साइटहरूको उपयोग गर्ने जनसंख्या साइबर अपराधको खतराहरूको बारेमा अनजान छन् । विभिन्न सामाजिक सन्जाल साइटहरूको सर्वरहरू अन्य देशहरूमा केन्द्रित छन्, यो डर छ कि ती देशहरूका व्यक्तिहरूले हाम्रा व्यक्तिगत जानकारीको दुरूपयोग पो गर्ने हुन् कि भन्ने एक प्रकारको त्रास छँदै छ । मानिसहरू विभिन्न सामाजिक सन्जाल साइटहरूमा आफ्नो व्यक्तिगत जानकारी साझा, जसको कारण ह्याकर सजिलैसँग यी सामाजिक सञ्जाल खाताहरू ह्याक गर्न सक्छन् र त्यसपछि प्राप्त जानकारीको दुरूपयोग गर्न सक्छन् ।

ह्याकरहरूले मानिसहरूलार्ई सामाजिक सञ्जाल साइटहरूमा अनलाइन ठगीको शिकार बनाउँछन् । हामी नेपालीहरू यस्ता सामाजिक सन्जालबाट निस्फिक्री ठगिएको घटना बारबार प्रकाशित भइरहेको छ । वार्षिक रूपमा अर्बौँ डलरको आम्दानी पोर्न साइड सञ्चालक साइबर अपराधीहरूले कमाइरहेका छन् । यो साइबर अपराध हो कि कसैको गोपनीयता भंग गरेमा अपराध गरेसरहको कानुनी दण्ड हुन्छ भनेर । तर पनि पोर्न साइडको सन्जाल यति व्याप्त छ कि हरेक सुपर सेकेन्डमा हजारौँ पोर्न फिल्महरू डाउनलोड भइरहेका हुन्छन् । यस्ता पोर्न साइडहरूमा साइबर अपराधीहरूले नेपाली केटीहरूलार्ई समेत प्रयोग गरेको देखिन्छ । सामाजिक सन्जालको उपयोगीतामा भन्दा पनि दुरूपयोगमा ज्यादा प्रयोग भएपछि हरेक देशको राज्य संयन्त्रको टाउको दुखाइको विषय बनेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्