Techie IT
७ असोज २०७८, बिहीबार

बौद्धिक सम्पत्तिको रक्षा भएमात्र लगानीकर्ताहरुले सुरक्षित महसुस गर्नेछन् : चन्द्र ढकाल


काठमाडौँ । डा. रुद्र शर्मा र सिए युद्ध ओलीद्वारा लिखित पुस्तक ‘बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकास’ बजारमा आएको छ । यसै साता एक कार्यक्रमका बीच सो पुस्तक लोकार्पण गरिएको हो । सो पुस्तकमा नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धि कानुनका बारेमा विभिन्न तथ्यहरु प्रस्तुत गरिएको छ भने सो कानुनलाई समाज र आर्थिक बिकासमा जोडेर विश्लेषण गरिएको छ । पुस्तकका लेखकमध्ये डा. शर्मा संविधानविद्समेत हुन् भने ओली पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।

पुस्तक लोकार्पण समारोहमा विभिन्न अथितिहरुले नेपाली समाजमा सो पुस्तकको महत्वबारे बोलेका थिए । समारोहमा बोल्दै सो पुस्तकका लेखक डा.शर्माले अहिले चौतर्फी बहस, राजनीतिक, सामाजिक, आर्थिकलगायतका पक्षमा बौद्धिक सम्पत्तिको विषय नै भएकाले सो पुस्तक लेखन र लोकार्पण सहि समयमा गरिएको प्रष्ट पारे । उनले सो पुस्तकमा बौद्धिक सम्पत्तिसम्बन्धि कानुनलाई सहज र सरल भाषामा प्रस्तुत गरिएको समेत बताए । पछिल्लो समय चर्चामा रहेको एमसीसीलाई लिएर पनि बौद्धिक सम्पत्तिको बहस छेडिएकाले सो पुस्तकले बौद्धिक सम्पत्तिको विषयलाई बुझ्न सजिलो बनाउने दाबीसमेत गरे ।

सो समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पहिलेदेखि नै नीजी क्षेत्रले बौद्धिक सम्पत्तिको विषय उठाउँदै आएकाले सो पुस्तकले नीजी क्षेत्रले उठाएको विषयलाई थप बल पु-याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । कुनै पनि लगानीकर्ताले लगानी गर्दा बौद्धिक सम्पत्ति कानूनको बारेमा जान्नुपर्ने बताउँदै उनले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा चाहाने र सोका लागि बौद्धिक सम्पत्ति कानुनको महत्व निकै धेरै रहेको समेत बताएका छन् । उनले बौद्धिक सम्पत्तिको रक्षा भएमात्र लगानीकर्ताहरुले आफुलाई लगानीका लागि सुरक्षित महसुस व्यक्त गर्ने बताएका छन् । उनले सो पुस्तकले लगानीकर्ताहरुलाई बौद्धिक सम्पत्तिका बारेमा बुझ्न थप सहयोग पु-याउने समेत बताएका छन् ।

कार्यकममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष कुश कुमार जोशीले सो पुस्तकमा पेटेन्ट, कपिराइट, ट्रेडमार्क, डिजाइन, समाज र आर्थिक विकासको परिवर्तन गर्न सक्नेबारेमा विस्तृत रुपमा आएकाले यो पुस्तक धेरै नै उपयोगी रहेको बताए । बौद्धिक सम्पत्तिको महत्व बुझे यसबाट उचित लाभ लिन सकिने बताउँदै उनले नीजी क्षेत्र बौद्धिक सम्पत्ति कानुन निर्माणमासमेत लाग्नुपर्ने र यसले लगानीकर्ताको लगानीलाई थप सुरक्षित बनाउन मद्धत पु-याउने समेत बताएका छन् ।

त्यस्तै, कार्यक्रममा बोल्दै उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले बौद्धिक सम्पत्ति क्षेत्रमा सो पुस्टक निकै नै उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । पछिल्लो समय बौद्धिक सम्पत्ति चोरीका उजुरीहरु बढीरहेका बेलामा बौद्धिक सम्पत्ति कानुन बुझाउनका लागि सो पुस्तक निकै नै उपयोगी हुने विश्वाससमेत उनले व्यक्त गरेका छन् । बौद्धिक सम्पत्ति कानुनलाई राम्रोसँग केलाइएको सो पुस्तक पुस्तक नेपाली र अंग्रेजी भाषामा रहेकाले सबैले सहज रुपमा बुझ्न सक्ने बताउंदै उनले सो पुस्तक बौद्धिक सम्पत्ति कानुन बुझ्न चाहाने जो कोहिलाई पनि उपयोगी हुने बताएका छन् ।

कार्यकममा बोल्दै न्यायधीश अनिल कुमार सिन्हाले सो पुस्तक अहिलेको बौद्धिक सम्पत्ति क्षेत्रका लागि आवश्यक भएको बताए । अहिले संविधानले बौद्धिक सम्पत्तिलाई सम्पत्तिको रुपमा ग्रहण गरेको स्मरण गर्दै उनले बौद्धिक सम्पत्तिसँग सम्बन्धित कानुन बुझ्न चाहाने जो कोहिलाई यो पुस्तक निकै नै उपयोगी हुने बताएका छन् । कार्यक्रममा बौद्धिक सम्पत्ति संरक्षण समाजका उपाध्यक्ष मधुसुदन पौडेल, उद्योग मन्त्रालयका पूर्व सचिव भरत बहादुर थापा लगायतको पनि उपस्थिति थियो ।

 


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्