Techie IT
६ असोज २०७८, बुधबार

व्यावहारिक शान्ति शिक्षा : आजको आवश्यकता


काठमाडौं । विकासको स्रोत नै गुणस्तरीय, व्यावहारिक र शान्ति शिक्षा हो । नेपालको शिक्षा आधारभूतदेखि उच्चसम्म आम जनताका लागि शान्तिपूर्ण फलदायक हुनुपर्दछ । शिक्षाले उचित दिशा लिन नसक्नु दुःखको कुरा हो, शिक्षाले उचित दिशा नलिई देशले उचित दिशा लिन सक्दैन ।

विगतदेखि हालसम्मकोे अवधिलाई हेर्दा नेपाल र नेपाली जनताको मूल स्वार्थ इच्छा र शान्तिपूर्ण आवश्यकताभन्दा राजनीतिक परिवेशमै अल्मलिएको देखिन्छ । नेपालको शिक्षा आधारभूतदेखि उच्चसम्म नै देशसुहाउँदो छ नै छ भन्न सकिँदैन । यसको असरले लाखौँ शिक्षित बेरोजगारहरू खाडी मुलुकमा रोजगारको लागि जान बाध्य भएका छन् भने आफ्नो देशमा गाउँघरका कृषियोग्य जमिन सबै बाँझो छन् ।

नेपाल र नेपालीको विकासको लागि आधारभूत शिक्षादेखि उच्च शिक्षा व्यावहारिक, निःस्वार्थ, मित्रतापूर्ण र राष्ट्रिय हितको लागि हुनुपर्दछ । अशान्ति हटाई मित्रतापूर्ण आफ्नो परिवार, समुदाय, समाज, संस्कृति, मानव अधिकार आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । संघर्ष तथा द्वन्द्वले शान्ति कहिल्यै आउँदैन, अतः सदैव बन्धुत्वको भावनाको विकास गरी शान्ति शिक्षाको सञ्चार गर्नु आवश्यक छ । प्रत्येक देशमा सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासको सुनिश्चित गर्ने मार्गमा सबै समुदाय, वर्ग एवं धर्मको संयुक्तरूपले मित्रतापूर्ण, शान्ति संस्कृतिको विकास गर्न नितान्त आवश्यक भएको छ ।

आज सम्पूर्ण विश्व नै विभिन्न बहानामा अशान्तिको छाल मडारिएको सन्दर्भमा सबैमा मित्रतापूर्ण शान्तिमय संस्कृतिको विकास गर्नु नै आजको आवश्यकता हो । शान्तिको प्रवर्द्धक गौतम बुद्ध हुन् । यहाँ संक्षेपमा यसबारे प्रस्तुत गर्न सान्दर्भिक होला ।

बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । यी राजकुमार थिए । अन्त्यन्त मर्यादित र अनुशासित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा विवाह गरेका थिए । सम्पूर्ण जीवन जगत र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा राजदरबारको संपूर्ण सुखसयल छाडेर ज्ञानको खोजीमा निस्के । यसै क्रममा विभिन्न लामो तपस्थामा तल्लीन भए । सिद्धार्थ गौतमलाई सांसारिक विभिन्न घटनाबाट प्रभावित भई मानव जीवनमा आइपर्ने पीडा र दुःख निवारण गर्ने ज्ञानको खोजी गर्नु मुख्य उद्देश्य थियो । सोको लागि वर्षाैँपछिको तपस्याले निकालेको दर्शन र ज्ञानमै बुद्धत्व प्राप्त गरे ।

संसारभरि फैलिएको यस बुद्धत्वको उद्गम बिन्दु नेपाल भएकोले नेपाललाई शान्तिको देश पनि भनिन्छ । बुद्धले ८० वर्षको उमेरमा निर्वाण प्राप्त गरेका थिए । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतित्य (समुत्पाद) हो । आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मालाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुको १० अवतारमध्ये एक अवतार मान्दछन् । गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्धले नेपालमा जन्मेर विभिन्न त्याग तपस्या गरेर सम्पूर्ण जगतलाई भलो हुने काम गरेका थिए । बुद्ध शान्तिको अग्रदूत हुन् ।

त्यस्तै महान दार्शनिक मार्टिन लुथरका अनुसार ‘शान्ति केवल युद्धबाट आउने होइन, आपसी मेलमिलाप र शान्तिबाट नै आउँछ’ आजको सन्दर्भमा माथि उल्लेखित वाक्यांशहरू धेरै महत्वपूर्ण छन् । विश्वयुद्ध, अन्याय एवं आपसी वैमन्यस्ताको कारण शान्ति भङ्ग भई शान्तिको ज्योति टाढा भएकोले हामी सबै मिली शान्ति संस्कृतिको विकासबाट नै शान्ति ल्याउनु आवश्यक छ ।

शान्ति संस्कृतिको विकासबाट मानव मूल्य मान्यताको विकास सम्भव छ । शान्ति विकासको लागि विद्यालय तहको पाठ्यक्रममा नै शान्ति शिक्षाका राख्नुपर्ने आजको आवश्यकता हो । शिक्षण पद्धतिको माध्यमबाट शिक्षकद्वारा सदैव उच्च नैतिकताका साथ शान्ति शिक्षा व्यापक बनाउन आवश्यक छ । युनेस्कोले मानव मूल्य मान्यता र शान्तिबारे यसरी आफ्नो भाव व्यक्त गरेको छ, ‘उचित आचरण शान्ति प्रेम र अहिंसा सबैमा सार्वभौमिक मूल्य छ शान्तिको लागि’, जुन शान्ति आधारित शिक्षाको कार्यक्रमको निर्माण सबैले गुर्नपर्छ ।

शान्तिको लागि मुख्य तीन प्रकारको आयाममा विशेष ख्याल राख्नुपर्दछ : सार्वभौमिक शान्ति, सामाजिक शान्ति, प्राकृतिक शान्ति । आज हाम्रो देश नेपालमा पनि शान्ति शिक्षासम्बन्धी पाठ्यक्रम राख्ने बहस नचलेको भने होइन, यो बहस बहसमा मात्र सीमित भएको छ । शान्ति शिक्षाको लागि निम्न उद्देश्य राखी विद्यालयका विद्यार्थीहरूलाई शान्तिको मार्ग दिनसक्ने सशक्त पाठ्यक्रम बनाउन आवश्यक छ ।

शान्ति संस्कृति स्थापना गर्न अध्यापक अर्थात् गुरुहरूले पनि सोसम्बन्धी विभिन्न कार्य गर्नुपर्ने समय आएको छ । सोको लागि मेलमिलाप, विविध छलफल एवं कार्यशाला आयोजना गरी विस्तृत पाठ्यक्रम बनाई शान्ति स्थापना गर्न सहयोग गर्ने, व्यावहारिक तरिकाबाट शान्तिसम्बन्धी कार्य एवं प्रशिक्षण दिने, पाठ्यक्रम निर्माण, विशिष्ट स्थानीयसहित विकास मापन गर्ने मानवीकृत मूल्यांकन प्रक्रियाको निर्माण तथा उपयोग गर्नुपर्दछ ।

शान्ति शिक्षा व्यक्तित्व तथा चरित्र निर्माणको लागि पाठ्यक्रम हुन आवश्यक छ । शान्ति स्थापना शिक्षा उत्पादनको लागि जिम्मेवार एवं संवेदनशील नागरिकको भूमिकामा जोड दिनु आवश्यक छ । शान्ति शिक्षाको कार्यक्रमको लागि विभिन्न पाँच स्तरको एकीकृत पाठ्यक्रम शान्ति शिक्षा दिनसक्ने क्षमतावान् शिक्षाको विकास गर्नु आजको आवश्यकता हो ।

यो निम्नानुसारको हुनसक्छ : शान्ति शिक्षाको सिद्धान्तबारे उचित पाठ्यक्रम बनाउनुपर्ने, सबै सैद्धान्तिक पाठ्यक्रम एवं शिक्षण पद्धतिको सम्बन्धित पाठ्यक्रममा नै शान्ति शिक्षाको बारे एकीकृत तरिकाबाट ज्ञान दिने, शान्ति शिक्षा अध्यापन अभ्यास तथा अन्य विद्यालय अनुभव आदानप्रदानमा ध्यान दिने, सांस्कृति साहित्यिक तथा अन्य पाठ्य सहभागी कार्यक्रमको सहयोगको माध्यममा मेलमिलापपूर्ण शान्ति शिक्षाको विशिष्ट गतिविधि आयोजना गर्ने, शिक्षक, शिक्षण संस्था तथा सबै समुदायमा शान्ति शिक्षाको सन्देश प्रसारित गर्नुपर्दछ ।

मेलमिलापपूर्ण शान्ति शिक्षाको माध्यमबाट व्यावहारिक शिक्षाको लागि सरकार, शिक्षाविद्, शिक्षक, विद्यार्थी, अभिभावक, राजनीतिक पार्टी आदि लाग्नुपर्ने देखिन्छ । निजी विद्यालयहरूमा तिर्नुपर्ने शुल्कले आम अभिभावकहरू आर्थिक मारको चक्रव्यूहमा परे पनि सो विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्छ पनि लालाहित छन् भने सरकारी विद्यालयमा विद्यार्थीको उपस्थिति कम छ ।

सरकारको अरबौँ बजेट लगानी भएको छ । यो विषय ज्यादै मर्माहत छ, देश कोरोना महामारीले आक्रान्तमा परी पलपलमा मृत्य भइरहेको छ भने राजनीतिक दल कुर्सीको खेलमा लागिरहेका छन् । अतः स्वच्छ प्रतिस्पर्धाबाट शिक्षाजस्तो गरिमामयको उचित व्यवस्थापन गरी आवश्यकताअनुसार व्यावहारिक तथ गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने समय हो ।

देश राजनीति वितण्डाबाट आज नयाँ अवस्थामा छ । यस अवस्थामा देश भएको बखत साधारण जनताहरू शिक्षाविद्, विद्यार्थी, शिक्षक, गैरसरकारी संस्था, सरकार, सबै राजनितिक पार्टी सबैले देशलाई मेलमिलापपूर्ण सकारात्मक सहयोग गर्नुपर्दछ । व्यावहारिक शान्ति शिक्षाको पूर्ण विकासको लागि शान्तिमय मित्रताको आवश्यकता हुन्छ । यसको लागि कृष्ण र सुधामाको जस्तै मित्रतको आवश्यकता पर्दछ ।

यसबारे स्वरसम्राट नारायण गोपालको ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, एउटा साथीकोसाथले कति फरक पर्दछ जिन्दगीमा’, त्यस्तै मदर टेरेसाको शब्दमा ‘आफ्ना मित्रलाई सिद्ध हुने भनेर आशा नराख बरु आफ्ना मित्रका कमी कमजोरीलाई हटाएर असल मित्र बन’, जेष्ठ नागरिक, तरुना, बच्चा सबै उमेर समूहसँग मित्रता हुनसक्छ । मित्रता उमेर र वर्गभन्दा धेरै माथि छ । मित्रता भनेको हृदयको ऐना हो यो सधैंको स्वच्छ र खुला हुनुपर्दछ ।

नेपालको वितृष्णको राजनीतिक गतिविधि पनि यी माथिको कुरालाई ख्याल नराख्दा भएको हो । आशा छ, अहिले गठन भएको सरकारले माथिको कुरालाई ख्याल गरी कार्य गरेमा सफल हुनेछ । निष्कर्षमा हाम्रो शिक्षा क्षेत्रको मूल समस्यालाई हेर्ने हो भने क्षेत्र र परिधिबारे स्पष्ट नहुनु, अन्तर्राष्ट्रिय परिभाषामा उच्च शिक्षा कक्षा बाह्रपछिको शिक्षालाई जनाउँछ ।

सत्ताधारी राजनीतिक दलको निहित स्वार्थको कारण सरकारको विभिन्न शैक्षिक योजनाले पनि शिक्षाको लागि स्पष्ट मार्गचित्रण गर्न नसक्नु, नीतिनिर्माणको राष्ट्रप्रतिको ठूलो तिरस्कार नै हो । जसको परिणाम स्वरूप नेपालमा शिक्षा अन्यौल अवस्था, शिक्षक, विद्यार्थी, अभिभावकबीच समन्वय नभई विद्यमान समस्याहरू देखापरेको, शिक्षा क्षेत्र राजनीतीकरण, शैक्षिक संस्थालाई सम्बन्धन दिने नीति स्पष्ट र पारदर्शी नभएको, शैक्षिक तथा भौतिक पूर्वाधारको कमी, यसको परिणाम स्वरूप अन्तर्राष्ट्रिय जगतमा नै हाम्रो शैक्षिक उपाधिको विश्वसनीयतामा नै प्रश्नचिह्न उठ्ने गरेको, उचित शैक्षिक पाठ्यक्रम लामो समयदेखि समयअनुसार देशको आवश्यकताअनुसार परिवर्तन नभएको, पाठ्यभार, पाठ्यअवधि, गुणस्तरीय मापदण्डको अभाव, विदेशी विश्वविद्यालयहरूसँगको सम्बन्धनमा सञ्चालित शैक्षिक नियन्त्रण र समन्वयको अभाव, निजीस्तरबाट खोलिएका शैक्षिक संस्थामा बढ्दो व्यापारीकरण भई शिक्षक, अभिभावक, विद्यार्थीलाई थप आन्दोलित बनाएको, उचित कार्यनीतिको अभाव, अक्षम प्रशासन, नातावाद, राजनीतीकरण आदिबाट नेपालको शिक्षा खासै व्यावहारिक भएको छ भन्न सकिँदैन । त्यसमा पनि कोभिड माहामारीले झन् अस्तव्यस्त पारेको छ ।

सो समस्या हल गर्न शिक्षा क्षेत्रमा आधारभूत शिक्षा र प्राविधिक वा व्यावसायिक शिक्षाबीच सरकारले स्पष्ट नीति ल्याउनुपर्ने, आधारभूत शिक्षा सबै नागरिकलाई प्रदान गर्नुपर्ने, गुणस्तरीय मूल्यांकन, समय सुहाउँदो पाठ्यक्रमको विकास हुनुपर्ने, शिक्षा क्षेत्रमा व्यापारीकरण रोकी, शिक्षक, विद्यार्थी र अभिभावकको मैत्रीपूर्ण वातावरण सिर्जना गर्नुपर्ने, सक्षम व्यवस्थापन, नातावाद, राजनीतिक प्रदूषण, भ्रष्टाचारीलाई प्रश्रय नदिने जनसहभागितामा जोड, व्यावहारिक शिक्षा, दीर्घकालीन शैक्षिक योजना, पूर्वाधारको विकास, आवश्यक उपकरण प्रयोग, वास्तविक देशअनुसारको शिक्षा, हाम्रो मान्छे होइन, गुणस्तरीय मान्छेलाई पदमा राख्ने आदि कार्य गरेमा हाम्रो शिक्षा गुणस्तर र व्यावहारिक, नेपाल र नेपालीको हितमा भई शान्ति संस्कृतिको विकास हुनेथियो । तब मात्र हरेक वर्ष मनाइने बुद्ध जयन्ती तथा जुलाइ ३० मा मनाइने अन्तर्राष्ट्रिय मित्रता दिवसले समेत सार्थकता पाउनेछ । (डा.अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि) (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्