Techie IT
७ असोज २०७८, बिहीबार

हेपाटाइटिस : लक्षण र बच्ने उपाय


काठमाडौं । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्दछ । अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखा पर्दछ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ । हेपाटाइटिसबाट मर्नेको संख्या एड्सबाट मर्नेको संख्याभन्दा १० गुणा बढी हुन्छ । मानव शरीरमा कलेजो महत्वपूर्ण अंग हो । यो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि हेपाटाइटिसका कारण हुन् ।

मुख्य रूपमा हेपाटाइटिस भाइरस ए, बी, सी, डी र ई पर्दछन् । संसारमा १४ लाख व्यक्तिलाई प्रत्येक वर्ष हेपाटाइटिस ‘ए’ ले आक्रमण गर्दछ भने दुई करोड हेपाटाइटिस ‘बी’को सिकार भएको पाइन्छ । हेपाटाइटिस ‘सी’ ले भने १५ करोडलाई आक्रमण गरिसकेको छ । प्रत्येक वर्ष करिब १० लाखको मृत्यु हेपाटाइटिसबाट भइरहेको छ भने ७८ प्रतिशत कलेजोको क्यान्सरको कारण हेपाटाइटिस ‘बी’ र ‘सी’ देखिएको छ ।

हेपाटाइटिस ‘ए’ र ‘ई’ लक्षणहरू तथा चिह्नहरू : पहिलो अवस्था ९१ देखि २ हप्ता खानामा रुचि घट्दै जानु, वाकवाकी लाग्न थाल्नु, ज्वरो आउनु, दिसा तारन्तार हुनु, पेटको दायाँ कोखा दुख्नु आदि पर्दछन् ।

दोस्रो अवस्था : पहिलो अवस्था देखिएको एक हप्तापछि यो अवस्था देखिएको पाइन्छ । यसका प्रमुख लक्षणमा दिसा तथा पिसाबमा पहेँलोपना, आँखा, नङ, मुख र शरीरमा क्रमशः पहेँलोपना बढ्दै जान्छ । तेस्रो अवस्थाः दोस्रो अवस्थाका लक्षणहरू हराएर जान्छन्, बिरामी कमजोर हुन्छ तर सन्चो महसुस गर्दछ ।

उपचार तथा सजगता : बिरामीले प्रशस्त झोल तथा सफा र ताजा खानेकुरा खानुपर्छ, बिरामीलाई आराम अत्यन्तै आवश्यक हुन्छ, जथाभावी जडीबुटी तथा एलोपेथीका औषधिले ज्यान जानसक्छ किनकि कमजोर कलेजो थप कमजोर भई काम गर्न नसक्ने हुन सक्दछ । तपाईंहरूलाई यो अवगत नै छ कि हामीले प्रयोग गर्ने प्रायः औषधिहरू कलोजोको माध्यमबाट पच्ने हुन्छ ।

व्यक्तिगत शुद्धता र सरसफाइ विशेषगरी खाना खानुअघि र खाना खाएपछि साबुनपानीले राम्ररी हात धुनुपर्दछ । उमालेर र जीवाणुनाशक औषधि प्रयोग गरेर पानी खानुपर्दछ । राम्ररी पकाएको खानेकुरा खानुपर्दछ । बिरामीले प्रयोग गरेका कपडाहरू राम्ररी घाममा सुकाएरमात्र प्रयोग गर्नुपर्दछ । सबैले चर्पीमा दिसापिसाब गर्ने बानी बसाल्ने र बालबच्चाको दिसा पनि चर्पीमा बिसर्जन गर्ने गर्नुपर्दछ । घरवरिपरिको ढल निकासलाई व्यवस्थित पार्दै जानुपर्दछ । बिरामी शिथिल हुँदै गएमा तुरुन्त स्वास्थ्य संस्थामा लानुपर्दछ । गाउँघरमा जन्डिस झार्ने भनेर टाउकोमा काँसको बटुका राखी अण्डा घोलेर मन्त्र पढेजस्तो गर्ने अनि घोलिएको अण्डा देखाएर जन्डिस झ¥यो भन्ने एकदमै गलत हो ।

हेपाटाइटिस ‘बी’ : हेपाटाइटिस ‘बी’ भाइरसले कलेजोमा संक्रमण गर्दछ । संसारभर करिब दुई करोड जनसंख्यालाई यसले आक्रमण गरिसकेको छ भने यसका विभिन्न असरबाट प्रत्येक वर्ष छ लाखले ज्यान गुमाइरहेको विकराल अवस्था छ । एउटा मननयोग्य कुरा के छ भने एचआईभीभन्दा ५० देखि सय गुणा बढी खतरनाक यो भाइरसको संक्रमण सुरक्षित व्यवहार, सचेतना र भ्याक्सीनबाट रोक्न सकिन्छ । संक्रमित व्यक्तिको रगत तथा रगतजन्य पदार्थ ग्रहण गर्दा, असुरक्षित यौन सम्पर्कको माध्यमबाट अंग प्रत्यारोपण गर्दा, आमाबाट बच्चा जन्मदा, लागुऔषधको लागि सुइको असुरक्षित प्रयोग आदिबाट यो सर्दछ ।

लक्षण तथा चिह्नहरू : प्रायः व्यक्तिमा पहिलो चरणमा कुनै लक्षण तथा चिह्नहरू देखिँदैन । कसैकसैले जन्डिस, वाकवाकी लाग्ने, खाना मन नलाग्ने, पेट दुख्ने, उल्टी गर्ने आदि लक्षणहरू देखाउँछ तर केही व्यक्तिमा भने दीर्घ रूपमा कलेजोको संक्रमण भई कलेजोको सिरोसिस तथा क्यान्सर हुन्छ । मुख्यतः ९० प्रतिशत दीर्घ संक्रमणचाहिँ नवजात शिशुमा देखिएको छ । हेपाटाइटिस बीबाट संक्रमित ९० प्रतिशत स्वस्थ्य जवान व्यक्ति छ महिनामा आफैँ निको हुन्छ ।

उपचार : हेपाटाइटिस बीको उपचार यही हो भनेर भन्न नसकिए पनि पौष्टिक खानपान, झोलिलो खानेकुरा र स्वस्थ्यकर आनीबानी अपनाउनुपर्दछ । हेपाटाइटिस बीबाट संक्रमित दीर्घरोगीहरूलाई इन्टरफेरोन, एन्टीभाइरल औषधिहरू प्रयोग गरिन्छ । अल्पविकसित देशहरूमा यो रोग पत्ता लाग्दा कलेजोको क्यान्सर भइसकेको पाइन्छ, जसले गर्दा रोग पहिचान गरेको केही महिनामै बिरामीको मृत्यु हुनेगर्दछ । विकसित देशहरूमा अप्रेशन तथा केमोथेरापीबाट केही वर्ष बढी बाँच्न सक्ने उपचारहरू गरिन्छ । कहिलेकाहीँ कलेजो प्रत्यारोपणबाट नयाँ जीवन प्राप्त गर्न पनि सकिन्छ ।

सजगतास : हेपाटाइटिस बीको भ्याक्सिन प्रयोग गर्नु उपयुक्त हुन्छ । हिजोआज नेपाल सरकारले आफ्नो खोप कार्यक्रममै यो भ्याक्सिन समावेश गरेको छ । सन् १९८२ देखि १ करोडभन्दा बढी हेपाटाइटिस बी भ्याक्सिन प्रयोग भइसकेको पाइन्छ ।

हेपाटाइटिस ‘सी’ : झन्डै–झन्डै हेपाटाइटिस ‘बी’को जस्तै अवस्था देखाउँदछ । यो संक्रमण सामान्यभन्दा अत्यन्तै खतरनाक हुन्छ । करिब एक करोड मानिस हेपाटाइटिस सीको सिकार भइसकेका छन् भने तीन लाख ५० हजार प्रत्येक वर्ष मर्ने गर्दछन् । यसको रोकथामको लागि अहिले कुनै भ्याक्सिन प्रयोग नभए पनि यसको उपचार सम्भव छ । रगत तथा रगतजन्य पदार्थको प्रयोग, अंग प्रत्यारोपण र सुइमार्फत लागूऔषध प्रयोगबाट तथा जन्मिको क्रममा आमाबाट बच्चामा यो भाइरस सर्न सक्दछ । यो खाना तथा पानीबाट सर्दैन ।

लक्षण तथा चिह्नहरू : शरीरमा विषाणु प्रवेश गरेको करिब २ हप्तादेखि ६ महिनामा लक्षणहरू देखिन्छन् । करिब ८० प्रतिशतमा भने लक्षणहरू नै देखिँदैनन् । जस्तोः ज्वरो आउनु, थकान महसुस हुनु, खान मन नलाग्नु, वाकवाक लाग्नु, उल्टी हुनु, पेट दुख्नु, गाढा रंगको पिसाब हुनु, खैरो रंगको दिसा हुनु, जोर्नी दुख्नु र जन्डिस देखिनु आदि पर्दछन् ।

उपचार तथा सजकता : सबै हेपाटाइटिस सीको उपचार नचाहिन पनि सक्दछ । इन्टरफेरोन र रिवाभिरिन नामक एन्टीभाइरल औषधिको प्रयोग गरिन्छ । नयाँ औषधि टेलाप्रिभिर र बोसीप्रभिर आदि प्रयोग हुन थालेका छन् तर सबैको उपचार सम्भव नहुन सक्दछ किनकि यी औषधिहरू सहजै र सहजै प्राप्त गर्न कठिन हुन्छ भने कतिपय अवस्थामा बिरामीमा प्रयोग गर्न सकिन्न । यसको आफ्नो भ्याक्सिन नभएकोले सचेतना अपनाउनुपर्दछ ।

आवश्यकताविना र असुरक्षित रूपमा सुइ प्रयोग गर्नु हुँदैन । हेपाटाइटिस सीजन्य फोहोरमैलाको उचित व्यवस्थापन गर्नुपर्दछ । लागुऔषध प्रयोग त्याग्नुपर्दछ । असुरक्षित यौन सम्पर्क राख्नु हुँदैन । असुरक्षित रगत तथा रगतजन्य पदार्थहरूको प्रयोग गर्नु हुँदैन । ट्याटु खोप्ने, एक्युपन्चर, नाक–कान छेड्नेमा विशेष ध्यान पु-याउनु पर्दछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्