Techie IT
६ असोज २०७८, बुधबार

गुणस्तरीय शिक्षा र समाज रूपान्तरण


काठमाडौं । केही दिन पहिले केही अनलाइन सञ्चार माध्यमहरूमा ‘मम्मा म ट्यालेन्ट छैन र ?’ शीर्षकको आर्टिकल छापिएको थियो । साँच्चिकै नै त्यो आर्टिकल पढ्दा, यस वर्ष सेन्ट जेभियर्स स्कुलले नयाँ शैक्षिक सत्रका लागि लिएको भर्ना प्रक्रियाले एक बालकको मानसिकतामा कति चोट पु-याएको रहेछ प्रस्ट भयो । नभन्दै यस वर्ष सेन्ट जेभियर्सले कक्षा एकका लागि लिएको भर्ना प्रक्रिया धेरैले बुझ्न सकेनन् । त्यो नबुझ्नेमा म पनि एक हुँ । यस वर्षको भर्ना प्रक्रिया हेर्दा लाग्यो सयौँ वर्षदेखि क्याथोलिक मिसनले नेपालमा समाज रूपान्तरण गर्न खोजिरहेको छ ।

गुणस्तरीय शिक्षा दिने प्रलोभन देखाएर स्थापना गरिएको स्कुलले शिक्षाका साथसाथै कस्तो र कसरी समाज रूपान्तरण गर्ने काम गर्दो र गराउँदो रहेछ भन्ने कुरा यस पटकको भर्ना प्रक्रियाले सहजै महसुस गराएको छ । जसरी क्याथोलिक क्रिष्टियनका बच्चाबच्चीलाई आरक्षण गरेर कोटा छुट्याइयो । दलित समुदायको बच्चाबच्चीलाई आरक्षण गरेर कोटा छुट्याइयो । स्कुलमा पढिराखेका बच्चाबच्चीका भाइबहिनीका लागि कोटा छुट्याइयो । स्कुलवरिपरि र वडाका बासिन्दाका छोराछोरी, अन्य क्रिष्टियन सञ्चालित शैक्षिक संस्थाहरूका कर्मचारीका छोराछोरी, आल्मोन्याइ गठन गरिएका सन्तानहरूका लागि समेत आरक्षण गरियो । तर, अन्यले भने मेरीटका आधारमा समेत छनोट हुन सकेनन् । कारण थियो, गोलाप्रथा ।

यस वर्ष सेन्ट जेभियर्सले ६० अंक ल्याएका विद्यार्थीहरूलाई गोलाप्रथाबाट छनोट गरेको छ । जाँचको प्रक्रिया पूरा गरिसकेपछि ६० प्रतिशत ल्याउने विद्यार्थीलाई पास गरेर पास हुनेबाट गोलाप्रथा गरी भर्ना गर्ने सिस्टम अपनाइयो । एक त शैक्षिक संस्थाको भर्ना प्रक्रिया गोलाप्रथाबाट गर्नु नै हास्यास्पद कुरा हो । त्यसमाथि गोलाप्रथा पनि निष्पक्ष नहुँदा धेरैले चित्त दुखाएका छन् ।

स्कुलले पहिला आरक्षणमा परेकाको चिट्ठा थुत्यो र चिट्ठा प्राप्त गर्न नसकेकाहरूलाई पुनः साधारणतर्फको चिट्ठामा लगेर मिसाइदिँदा आरक्षणतर्फकाले दोहोरो चान्स पाए भने साधारणतर्फकाले निकै नै कम चान्स पाउन पुगे । आरक्षण गरेर बाँकी रहेका सिटमा ४० प्रतिशत सिट छात्रा तथा ६० प्रतिशत सिट छात्रलाई छुट्याइएको थियो तर, त्यसमा पनि आरक्षणतर्फको चिट्ठामा नपरेकाहरूलाई मिसाइदिँदा खुलातर्फबाट प्रवेश परीक्षा दिनेहरूलाई ठूलो मर्का प-यो ।

साथै यो चिट्ठा प्रक्रियाले बालबालिकालाई मिहिनेतमा होइन भाग्यमा विश्वास गर्न सिकाएको छ । किनकि यहाँ शतप्रतिशत अंक ल्याउनेहरू छनोट हुन पाएनन् भने ६० प्रतिशत मात्र ल्याउने अधिकांश छनोट हुनपुगे । यसले बालमनोविज्ञानमा समेत ठूलो चोट पु-याएको छ । हिजो मिहिनेत गरेर पढ्ने विद्यार्थी अब भोलिका दिनमा मिहिनेत गर्न छोड्ने बनाएको छ । जब भाग्य नै छैन त मिहिनेत गरेर के काम भन्ने मानसिकता विकास हुने देखिएको छ ।

परीक्षामा शतप्रतिशत अंक ल्याउने विद्यार्थीलाई ६० प्रतिशतको क्याटागोरीमा राखेर चिट्ठा थुत्दा, उसको वर्ष दिनको मिहिनेत र उसले ल्याएको अंकप्रति अन्याय भएको छ । यसलाई हेर्दा सेन्ट जेभियर्सले अपनाएको ‘लोटरी’ सिस्टमले कसैलाई काखा त कसैलाई पाखा लगाएको महसुस भइरहेको छ । यसरी कुनै विद्यालयले विद्यार्थी छनोट गर्छ भने त्यो कति न्ययोचित हुन्छ ? यसमा सबैले विचार पु-याउनु आवश्यक देखिन्छ ।

वर्षौंदेखि ट्युसन पढेका र लिखित र मौखिक परीक्षामा शतप्रतिशत अंक ल्याएकाहरूलाई पर्नगएको अन्यया स्टेजमा बसेका ‘बुख्याँचाहरू’ले बुझे वा बुझेनन् । भन्न सके वा सकेनन् । यदि सकेनन् भने त्यसको सैद्धान्तिक, व्यावहारिक र प्रायोगिक कुरा बुझ्नेहरू मात्रै स्टेजमा बस्नु उपयुक्त हुन्थ्यो कि ।

सेन्ट जेभियर्सले भर्ना प्रक्रियामा देखाएको प्रवृत्ति एक केवल एकेडेमिक छनोट प्रक्रियामा मात्र सीमित छजस्तो लाग्दैन । उसले कतै समग्र हिन्दु धर्मलाई नै होच्याएको त होइन भन्ने प्रश्न उठेको छ । हरेक मुलुकको आ–आफ्नै संस्कार हुन्छ, सभ्यता र परम्परा हुन्छ । मानव समाजको विकास र धर्मको अध्ययन गर्ने हो भने, हिन्दु धर्ममा जस्तो विविधता अन्य कुनै पनि धर्ममा भेट्टाउन सकिँदैन । न त बुद्ध दर्शन र बुद्ध धर्ममा भेटिन्छ, न क्रिष्टियन धर्मावलम्बिहरूमा, न त मुस्लिम धर्ममा नै जात, संस्कार र परम्परमा यति धेरै विविधता भेटिन्छ । सायदै हिन्दु मात्र यस्तो धर्म हो, जसमा अनेकतामा एकता छ ।

हिन्दु धर्ममा जातजातिको जुन परम्परा छ त्यसलाई कसैले चाहेर पनि बदल्न सक्दैन । हिन्दु धर्ममा, हिन्दु धर्मावालम्बीको जन्म तथा मृत्युको छुट्टै संस्कार छ, परम्परा छ । त्यसलाई कसैले पनि चाहँदैमा बदल्न सक्ँदैन । अर्थात् हिन्दु धर्ममा यस्तो मृत्यु संस्कार छ । त्यो आफैँमा वैज्ञानिक छ । हिन्दुहरूले गर्ने हरेक संस्कारका पछाडि वैज्ञानिक कारणहरू लुकेका छन् । त्यसैले पनि होला यसलाई कसैले चाहँदैमा बदल्न सक्दैनन् । जसले हिन्दु धर्मको वास्तविकता बुझेको छ । मर्म बुझेको छ । यसका पछाडिको वैज्ञानिक आधार बुझेको छ, त्यो आफैँ पनि परिवर्तन हुन चाहँदैन ।

जातीय आधारमा समाजको बनोट हुनु नै हिन्दु धर्मको विशेषता हो । वेदवेदान्तका आधारमा चलेको हिन्दु संस्कार र धर्मले एक–अर्कालाई सम्मान गर्न सिकाएको छ । होला कुनै संस्कारहरू समय बदलिँदै जाँदा समयसापेक्ष नभएका होलान् । तर, सबै जातलाई समान व्यवहार गर्नुपर्छ भनेर हाम्रो धर्मले नै हामीलाई सिकाएको छ ।

हामी फरक–फरक जात भए पनि सबै बराबर हौँ, कुनै जातलाई ठूलो वा सानो मान्नु हुँदैन, सबै एक हौँ । सबैको शरीरमा एउटै रगत बग्छ । तर, समाजले दिशागत हिसाबले वर्गीकरण गरेको हिन्दु धर्मको संस्कार र परम्परालाई मनन गर्नुपर्छ । त्यसलाई छिछि र थुथु गर्नु, घृणा गर्नु कसैले पनि हुँदैन । हिन्दु धर्मको असाध्यै राम्रो पक्ष पनि यही नै हो ।

हाम्रोजस्तो देशमा धर्म नै पर्यटनको माध्यम बनेको छ । यसैबाट आर्थिक उन्नति हाँसिल समेत गर्न सकिन्छ । यहाँ धेरैजसो पर्यटकहरू भित्रिने भनेको नै हिन्दुइजमलाई नियाल्न हो । हिन्दु संस्कार, चाडपर्व, स्वभाव, होस् वा थारुवान, मिथिला, किराँत, नेवार, ब्राह्मण, क्षेत्रीलगायतका जातिको छुट्टाछुट्टै संस्कार होस्, यो निकै बृहत् छ । यसको अध्यायन र अनुभव अति उपयुक्त र आवश्यक पनि छ । यो हिन्दु समाजको सबैभन्दा महत्वपूर्ण पक्ष पनि हो । यसलाई कसैले पनि रूपान्तरण नगर्दा हुन्छ जस्तो लाग्छ ।

यसरी शैक्षिक संस्था चलाउने तथा आरक्षण गर्नेहरूले, ग्रामीण भेगमा गएर शिक्षाको अवसर पाउन नसक्ने समुदायको बच्चा टपक्क टिपेर ल्याएर शिक्षा दिने हिम्मत गर्छ भने म त्यसलाई सलाम गर्छु । तर, वर्षदिनदेखि ट्युसन पढाउने क्षमता भएका सक्षम लाहुरेहरूका सन्तान, जसले सबै सुखसुविधाको उपभोग गरिराखेका छन् । उनीहरूलाई आरक्षण दिँदा अचम्म लागेर आउँछ ।

सेन्ट जेभिसर्य स्कुल एउटा शैक्षिक संस्था हो । यसलाई युरोपियन, अमेरिकन फादरहरूले जुन शैलीमा चलाएका थिए त्यो प्रशंसनीय छ । तर, हाल त्यसमा संलग्न फादरहरू स्कुलको प्रारम्भिक इतिहासबाट विमुख हुँदै नयाँ–नयाँ तौरतरीका अपनाउने र तिनलाई लागू गर्ने अभियान चलाइरहेका छन् । अहिलेको विद्यार्थी छनोट प्रक्रिया पनि वहाँहरूकै अभिप्राय हुनसक्छ ।

अहिले सेन्ट जेभियर्सले जसरी आरक्षण ग-यो त्यो सुहाउँदो विषय होइन । यसमा राज्य, सरकार र सरोकारवाला सम्बन्धित निकायले हेर्नु, औँल्यउनु र सुपरभिजन गर्नु जरुरी छ । यसरी शैक्षिक संस्थाबाट भर्ना लिँदा र भर्नाका लागि छनोट गर्दा अपनाइने विधि राज्यले दिनुपर्छ । पाठ्यक्रम राज्यले दिन्छ । भर्ना छनोट प्रक्रियाको विधि राज्यले दिन्छ । राज्यले लागू गरेको नियमलाई मानेर र पालना गरेर स्कुल सञ्चालन गर्नुपर्छ । स्कुलभित्र हुने गतिविधिजस्तै शिक्षाको माध्यम स्कुलको आफ्नो कुरा हो तर, स्कुलले समग्रमा राज्यले अपनाउने नीतिको पालना गर्नुपर्छ । र म के भन्छु भने कुनै पनि मुलुकको विकास, शिक्षाको व्यापारीकरणबाट हुँदैन । शिक्षाको व्यापारीकरण गर्ने मुलुक विकसित भएका पनि छैनन् र हुने पनि छैनन् । रुस, चिन, अमेरीका बेलायतजस्ता देशलाई हेर्ने हो भने कसैले पनि शिक्षाको व्यापार गरेनन् ।

जुन मुलुकमा राज्यले निःशुल्क शिक्षा दिन्छ, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्छ भने त्यस्ता देश विकसित भएका छन् । तर, शिक्षाको व्यापारीकरण गर्ने देशमा मानिसले राम्रो शिक्षा नै दिन सक्दैनन् । त्यसकै लागि भ्रष्टचार हुन्छ, लुट चल्छ त्यसैले शिक्षाको व्यापारीकरण हुनु हुँदैन । शिक्षाको व्यापारीकरणबाट मुलुक कहिल्यै माथि लाग्दैन र सम्भव पनि छैन । सामान्य मध्यम वर्गीय तथा नेपाल सरकारका अफिसरहरू के अहिलेको शिक्षाको व्यापारीकरणमा आफ्ना बालबच्चा पढाउन सक्छन् त ? यदि छन् भने गैरकानुनी आर्जनबाट गर्छन् हैन भने ३० हजारको तलबले निजी स्कुलमा बालबच्चा पढाउन सम्भव छैन ।

शैक्षिक व्यापारीकरणमा छुट दिने हो भने गैरकानुनी आर्जन गर भन्नुप¥यो हैन भने राज्यले शैक्षिक व्यापारीकरणको एउटा मापदण्ड बनाउनुपर्छ । मुलुकमा भ्रष्टचार किन बढ्यो ? त्यसको जड खोज्दै जाने हो भने शिक्षा र स्वास्थ्यमा भएको चरम व्यापारीकरण पनि बलियो आधार हो । त्यसैले सरकारले शिक्षा र स्वास्थ्यमा अधिकतम कति शुल्क लिन पाउने हो त्यसको मापदण्ड तय गर्नुपर्छ । होइन भने मुलुकमा भ्रष्टाचार मौलाउने, समाज वर्गीकरणतर्फ जाने, भेदभाव तथा ठूलालाई चैन र सानालाई मैनको अवस्था सिर्जना हुने निश्चित नै छ । त्यसैले सेन्ट जेभियर्स स्कुलले जुन भर्ना छनोट प्रक्रिया अपनायो । त्यो जायज मान्न सकिँदैन । भर्ना प्रक्रिया योग्यताका आधारमा हुनुपर्छ । सबैलाई बराबर मौका दिनुपर्छ । कसैलाई दुई पटक मौका दिने त कसैलाई मौका नै नदिने प्रवृत्तिको अन्य गरिनुपर्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्