Techie IT
शनिबार, असोज १०,२०७७

कोरोनामय अर्थतन्त्र र रेमिट्यान्सको टेको


सिंगो विश्व यतिबेला कोरोना महामारीसँग जुधिरहेको छ । यसले मानव स्वास्थ्यमाथि त सोझो हमला गरिरहेकै छ, सँगसँगै लामो समयसम्म चलिरहेको कोरोना कहरले विश्वलाई चौतर्फीरूपमा नकारात्मक प्रभाव पारिरहेको छ । विश्व अर्थतन्त्र समेत यसबाट अछुतो रहनसक्ने अवस्थामा छैन । अन्तर्राष्ट्रिय रूपमा अर्थतन्त्रका अगुवा मुलुकहरू नै महामारीबाट थिलथिलो बनिरहेका छन् ।

नेपाली अर्थतन्त्रमा समेत कोरोना महामारीका बहुआयामिक असरहरू परिरहेका छन् । तथापि, यसकिसिमको चौतर्फी निराशाजनक स्थितिमा नेपाली अर्थतन्त्रको टेकोका रूपमा रहेको रेमिट्यान्स आयको स्थिति भने पूर्वानुमान गरिएभन्दा सन्तोषजनक अवस्थामा रहेको तथ्यांक सार्वजनिक भएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७६/७७ मा नेपालमा ८ खर्ब ७५ अर्ब ३ करोड रेमिट्यान्स भित्रिएको छ । विप्रेषण आप्रवाहअन्तर्गत भित्रिएको यो रकम अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा शून्य दशमलव ५ प्रतिशतले मात्रै कम हो । आर्थिक वर्ष २०७५/७६ नेपालमा ८ अर्ब ७९ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको थियो ।

कोरोना महामारीको पछिल्लो सन्दर्भमा नेपालमा भित्रिएको रेमिट्यान्सको यो हिस्सा आफैमा सन्तोषजनक रहेको छ । यसअघि, विश्व बैंकले प्रवासन र विकाससम्बन्धी संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै महामारीका कारण दक्षिण एसियामा २२ प्रतिशतले र नेपाल भित्रने रेमिट्यान्समा १४ प्रतिशतले गिरावट आउनसक्ने आंकलन गरेको थियो ।

नेपाल राष्ट्र बैंक र अनौपचारिक सरकारी अनुमानमा समेत महामारीका कारण रेमिट्यान्स आयमा ठूलै गिरावट आउनसक्ने आंकलन गरिएको थियो । यसरी हेर्दा, सन् २०१९ को डिसेम्बर अर्थात् गत आर्थिक वर्षको अन्तिम त्रैमासबाट चीनमा देखापरेको कोरोना भाइरस महामारीको प्रभावस्वरूप नेपालमा भित्रने रेमिट्यान्स आयमा तत्कालै गिरावट ल्याउन सुरु हुने पूर्वानुमानलाई नेपाल राष्ट्र बैंकद्वारा केही दिनअघि प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले गलत साबित गरिदिएको छ ।

हुन पनि विश्वव्यापी रूपमा देखिएको महामारीका कारण धेरै रोजगारदाताले रोजगारी कटौती गर्ने, कामदारहरूको तलब, ज्याला घट्नेलगायतका कारण रेमिट्यान्स आयमा ठूलै गिरावट आउने अनुमान गरिएको थियो । चीनबाट कोरोना भाइरसको महामारी सुरु भएको केही समयमा नै विश्व तेल बजारमा ठूलै गिरावट आउनसक्ने र यसबाट नेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्यका रूपमा रहेका खाडी मुलुकहरू आर्थिक मन्दीमा फस्नसक्ने भएकोले नेपालमा रेमिट्यान्स आप्रवाहमा स्वतः कमी आउनसक्ने प्रक्षेपण गरिएका थिए । तथापि, नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले भने रेमिट्यान्स आयमा अनुमान गरिएअनुसारको भारी गिरावट नआएको तथ्यलाई उजागर गर्नुका साथै भविष्यमा समेत अपेक्षित गिरावट हुन नसक्नेतर्फ बलियो संकेत समेत गरेको छ ।

कोभिड महामारीकै बीचमा पनि रेमिट्यान्स आयमा भारी गिरावट आउन नदिनुमा केही बलिया कारणहरू जिम्मेवार रहेका देखिन्छन् । सुरुवाती चरणमा नै चीनलाई कोरोना महामारीले शिथिल बनाउने र यसबाट विश्व तेल बजारमा ठूलो गिरावट आउने अनुमान रहे पनि चीनमा तुलनात्मकरूपमा समयमै महामारी नियन्त्रणमा आएको र यसबाट खाडी देशका अर्थतन्त्रले अपेक्षाकृत ठूलो क्षति बेहोर्नु नपरेको स्थिति रह्यो । यसबाट नेपाली कामदारहरूको प्रमुख गन्तव्य मुलुकहरूका रूपमा रहेका खाडी देशहरूमा कामदार कटौती कम हुनपुगेको देखिन्छ ।

पछिल्लो समयसम्म आईपुग्दा प्रमुख गन्तव्य मुलुकहरूका अर्थतन्त्र पुनः चलायमान हुन थालिसकेका छन् । यसैगरी, रोजगारीका लागि विदेशिएका अधिकांश नेपाली कामदारहरू सुरक्षा गार्ड, सरसफाइ, आपूर्ति, खेतीपातीजस्ता अत्यावश्यक क्षेत्रहरूमा कार्यरत रहेका पाइन्छन् ।

यसबाट हालको महामारीजन्य अवस्थामा पनि यी सेवाहरूको अपरिहार्यता रहने र रोजगारी कटौती भइहाल्ने स्थिति रहन्न । अर्कोतर्फ, हालको असहज अवस्थाका कारण रोजगारी नै गुमाएर घर फर्किएका कामदारहरूले आफूले सञ्चित गरेको सम्पूर्ण रकम स्वदेशमा लिएर फर्किनु, स्वदेशमा रहेका परिवारहरूलाई निरन्तरको लकडाउन र कोरोना कहरले असहजता निम्त्याएका कारण विदेशमा रहेका कामदारहरूले परिवारमा सकेसम्म बढी रकम पठाउनु, हालको विषम परिस्थितिमा हुण्डी, तस्करीजस्ता अबैधानिक माध्यमबाट रेमिट्यान्स आयको कारोबार गर्न असहज भई बैंकिङ माध्यमबाट मात्रै रेमिट्यान्स रकम भित्रिनुजस्ता कारणहरू पनि विप्रेषण आप्रवाहमा कमी आउननदिने कारकहरू हुन् ।

हुनत, यो महामारी कहिलेसम्म, कसरी र कुन स्वरूपमा नियन्त्रणमा आउने हो भन्ने ठोस पुर्वानुमान हालसम्म हुनसकेको छैन । कतिपय अर्थविद्हरूले कोरोना महामारीले हाल पु-याइरहेको मानवीय क्षतिभन्दा भविष्यमा पु-याउनसक्ने आर्थिक क्षति अझ कठोर र भयावह हुनसक्ने आंकलन गरिरहेका छन् । यो स्थितिमा हाल सार्वजनिक भएको गत असार मसान्तसम्मको तथ्यांककै आधारमा त्यसयताका दिनहरूमा समेत रेमिट्यान्स आयमा धेरै गिरावट आउनै नसक्ने निश्कर्षमा पुग्न भने सकिन्न ।

हाल स्वदेशमै भइरहेको निरन्तरको लकडाउन, यात्रामा लागिरहेको प्रतिबन्धलगायतका कारण नयाँ कामदारहरू रोजगारीका लागि तत्कालै विदेशिने अवस्था र परिस्थिति छैन । सिंगै विश्व सँगसँगै पछिल्ला दिनहरूमा देशभित्रै उकालो लागिरहेको कोरोनाको ग्राफका कारण मानिसहरूमा मनोवैज्ञानिक असर समेत परिरहेको छ ।

यसबाट बिगतमा जस्तो रोजगारीका लागि बिदेश ताक्ने प्रवृत्ति निरुत्साहित भई मानिसहरू विदेश जान र बस्न उत्साहित नहुने अवस्था आउनसक्छ । कामदारहरू विदेशिने क्रममा गिरावट आएसँगै रेमिट्यान्स आयमा समेत स्वतः गिरावट हुनपुग्छ । यद्यपि, कोरोना भाइरसविरुद्धका भ्याक्सिनहरूको अनुसन्धानले तीव्रता पाइरहेकोले भ्याक्सिनको चाँडै विकास हुनसकेमा महामारी पनि छिट्टै नियन्त्रणमा आउने सम्भावना बाँकी नै रहनु, श्रम गन्तव्य मुलुकहरू महामारीको कठिन चरण पार गरेर बिस्तारै तङ्ग्रिन थाल्नु एवं आर्थिक गतिविधिहरू बिस्तारै सुरुवात हुनुलगायतका कारणहरूबाट नेपालको रेमिट्यान्स आयको आयतनमा भविष्यमा पनि धेरै प्रभाव पर्न नसक्ने आंकलन भने गर्न सकिन्छ ।

अर्कोतर्फ, हाल देखापरेको कोरोना महामारीलाई राष्ट्रनिर्माणका संवाहक युवाशक्तिलाई स्वदेशमा नै अड्याउनसक्ने एउटा अवसरका रूपमा पनि सदुपयोग गर्न सकिन्छ । कतिपय अर्थशास्त्रीहरूले रेमिट्यान्स आय घट्दा यसका केही सकारात्मक पाटाहरू पनि रहेको विश्लेषण गर्नेगरेका छन् । महामारीलगायतका कारण रोजगारीका लागि युवाहरू विदेशिने क्रम घटेसँगै ती युवाहरू स्वदेशमा अवसर खोज्ने र यसबाट उत्पादनमा सहभागी हुने बाध्यात्मक अवस्था रहनेभएका कारण यो मुलुकी अर्थतन्त्रको हितमा रहेको धारणा अघिसार्ने गरिन्छ ।

स्वदेशको उत्पादकत्व र स्वरोजगारीको वृद्धिसँगै दिगो आर्थिक वृद्धिको मार्गप्रशस्त हुने भएकोले यसले समग्र अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण योगदान पुग्ने यसखालका अर्थशास्त्रीहरूको धारणा छ । वास्तवमै वैदेशिक रोजगारीको दिगो र भरपर्दो विकल्प भनेकै देशभित्र पर्याप्त मात्रामा रोजगारीका अवसरहरू सिर्जना गर्नु हो । मुलुकभित्रको श्रमशक्तिलाई देशभित्रै रोजगार र स्वरोजगार बनाउनसके यसले मुुलुकी विकासको मार्गप्रशस्त त गर्छ नै, सँगसँगै रेमिट्यान्स आयजस्तो परनिर्भर स्रोतबाट मुलुक सञ्चालन गर्नुपर्ने बाध्यताको पनि अन्त्य गर्न सकिन्छ ।

हालको सन्दर्भमा पनि महामारीलाई चाँडै नियन्त्रण गरी सामाजिक आर्थिक रूपान्तरणको एजेण्डालाई तीव्रता दिनसक्ने र राष्ट्रनिर्माणका संवाहक युवाशक्तिलाई स्वदेशमा नै अडिने किसिमले यससम्बद्ध क्रियाकलापहरू सञ्चालन गर्नसके रेमिट्यान्स आय घट्नुकोे धेरै प्रभाव मुलुकमा नपर्नुका साथै महामारीका कारण मुलुकी अर्थतन्त्रमा परिरहेको क्षतिबाट चाँडै तङ्ग्रिन सकिन्छ । रेमिट्यान्स आयजस्तो ‘अर्थतन्त्रको चाँडै मक्किन सक्ने मौसमी टेको’मा मुलुकी अर्थतन्त्र आधारित बन्दै जानुको नकारात्मक प्रभावले अर्थतन्त्रलाई गाँजिरहेको र आयमा कटौती हुँदा चौतर्फी जोखिम निम्तिन सक्ने अवस्था रहिरहेको सन्दर्भमा महामारीलाई एउटा अवसरका रूपमा लिई यसतर्फ बेलैमा सोचिन आवश्यक पनि छ ।

देशको कुल गार्हस्थ्य उत्पादनमा एक चौथाइ हिस्सा ओगटिरहेको र नेपाली अर्थतन्त्रको प्राणवायु एवं टेकोका रूपमा रहेको रेमिट्यान्स आयमा हालको महामारीजन्य अवस्थाले समेत धेरै प्रभाव नपार्नु मुलुकी अर्थतन्त्रा लागि सकारात्मक अवस्था र नेपालीहरूका लागि खुशीको विषय हो । यस्तो अवस्थाले महामारीको मारबाट गुज्रिरहेको नेपाली अर्थतन्त्रमा पर्नजाने क्षतिलाई न्यूनीकरण गर्ने सन्दर्भमा सकारात्मक भविष्यको आशालाग्दो सञ्चार गरिरहेको छ । यो स्थितिमा तत्कालै विकल्प नदेखिएको वैदेशिक रोजगारी र त्यसबाट सिर्जित रेमिट्यान्स आयमा गिरावट आउन नदिने तथा विश्वव्यापी महामारीको मारबाट मुलुकलाई सकेसम्म कम क्षति पु-याउनतर्फ सबै सरोकारवाहरू एकजुट हुनसकेमा भविष्यको बाटो थप सहज बन्नसक्ने देखिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्