Techie IT
१५ साउन २०७८, शुक्रबार

लाज गुमेको राजनीति


काठमाडौँ ।
नेपालका वर्तमान कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओली दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको अध्यक्ष हुन् । लगभग दुई तिहाइ बहुमतको नजिक पुगेका प्रधानमन्त्री ओली अहिले एमालेको पनि एउटा गुटको अध्यक्ष मात्र बन्नपुगे । एकल नेपाली कांग्रेसबाहेक संसद्मा रहेका सबै राजनीतिक दलको विश्वासको मत पाएका उनी तीन वर्षमै दुई सय ७१ सदस्यीय प्रतिनिधिसभासँग विश्वासको मत माग्दा ९३ मतमा खुम्चिए । अझ आश्चर्यको कुरा त के भने उनको आफ्नै दलका २८ सांसदले मतदान बहिष्कार गरेर उनलाई यो अवस्थामा पु-याए । राजनीतिमा यति हुँदासम्म ठूलो पतनका बाबजुद उनमा विवेक र आत्मचिन्तनको भाव देखिँदैन । फेरि पनि संख्याको खेलमा रमाउँदै रकमी पारामा फकाउँदै अल्पमतकै भए पनि सरकार चलाउने धित मारेका छैनन् ।

राजनीतिज्ञ देशका लागि छातीमा इमानदारी, काँधमा जिम्मेवारी, विचारमा समझदारी र व्यवहारमा सदाचारीपन अँगालेर अगि बढिरहेका हुन्छन् । सरकारमा आसिन राजनीतिक व्यक्तित्वको शब्द अर्थपूर्ण हुन्छ, शब्दैपिच्छे ज्ञान लुकेको हुन्छ । उनीहरूको व्यवहार र आचरण अवलम्बन गर्ने इच्छा आम नागरिकलाई हुन्छ । अनुशासन, विचार, संस्कार, ज्ञान सिक्ने माध्यम राजनीतिज्ञ पनि हुन् । आज टोलमा फलाना राजनीतिज्ञ आउँदै छन, के भन्छन् सुन्न जानुपर्छ भन्ने चासो आम नागरिकमा हुन्छ । प्रत्येक व्यक्तिले आज फलाना नेताजीले कस्तो वास्तविक कुरा गर्नुभयो, कस्तो विद्वान अब हामीले पनि बुझ्नुपर्छ भन्दै गाउँ टोलमा, चोक चोकमा, पँधेरो, गुठी आदिमा प्रसंशा गर्ने गर्छन् । आज पनि कतिपय राजनीतिज्ञले फलाना राजनेताको माहावाणी भन्दै जस्ताको तस्तै साभार गरिएको पाइन्छ । देशको ठूलो जिम्मेवारी संहाल्न पुगेका राजनेतामा निष्ठा, इमान्दारीता, अनुशासन, बचनबद्धता र विश्वसनीयता हुन्छ भन्ने आमनागरिकको बुझाइ रहेको हुन्छ ।

देशमा लगभग दुई तिहाइको बहुमतको सरकार आयसँगै कोही भोको हुनु पर्दैन, खानका लागि पिरोल्लिनु पर्दैन, दिनमा तीन छाक ड्याम्म खान पाउँछन्, सरकारले घर–घरमा लगेर खाना खुवाउँछ । बेरोजगारी र गरिबीको त कुरै गर्नु पर्दैन, सरकारले बुढाबुढीलाई पाँच हजार भत्ता दिन्छ बुढाबुढी आनन्दले बाँच्छन् । सबै नेपाली सुखी हुन्छन् नेपाल समृद्ध हुन्छ भन्दै सुखी नेपाली समृद्ध नेपालको नारा पस्कियो । सात/आठ प्रतिशतको आर्थिक वृद्धिदरका लागि पसिना चुहाइरहनुपर्लाजस्तो लाग्दैन ।

पुँजीवादलाई धुलो चटाउने दिन आए । कांग्रेस भन्ने पार्टी नै रहँदैन शेरबहादुर देउवा अन्तिम प्रधानमन्त्री हुन् । धेरै त नभनौँ अब ५० वर्षसम्म कम्युनिस्टको एकल सरकार, तपाईंहरूले भन्दै बानेश्वरबाट जनतालाई हपारेका थिए प्रधानमन्त्री ओलीले । आम नेपाली नागरिकमा अब केही भइहाल्छ कि भन्ने आशाका किरण पलाएका थिए । प्रधानमन्त्रीको सुरुवातीमै भारतले लगाएको नाकाबन्दीविरुद्ध खुलेर लागेकाले जनविश्वास जिते यही जनविश्वासको काँधमा चढेर आफूखुशी काम गर्दा आज उनले यति ठूलो विश्वसनी र पदीय क्षति बेहोर्नु प-यो । पुनः पदलिप्साकै लागि उनले नागरिकता विधेयक ल्याई आफ्नो पदको संरक्षण गर्न खोजिरहेका छन् ।

सरकार प्रमुख बनेसँगै यातयात क्षेत्रको कार्टेलिङ हटाउने निर्णय गरी फिर्ता लिनुप-यो, आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी विमान खरिदकाण्डको ठूलो भ्रष्टाचारलाई बेवास्ता गरेको ।

विद्युत् प्राधिकरणको महशुल काण्ड, विश्वविद्यालयमा अक्षमलाई नम्बर थपेर सक्षम बनाउने काण्ड, एनसेल कर छुट काण्ड, आफ्नै महासचिवले बालुवाटारको सरकारी जग्गा लिएका र जनविरोधपछि फिर्ता गर्न लगाई संरक्षण गरी हाल अर्थमन्त्री बनाइएका, नक्कली भ्याट बिलकाण्ड, टेलिकम काण्ड, सेक्युरिटी प्रेस खरिदकाण्डका नाइके सञ्चार मन्त्री गोकुल बास्कोटाको ७० करोडको कमिसन डिलिङ काण्डबाट मन्त्रीलाई विनाकारबाही उन्मुक्ति दिएको, कोभिड–१९ को औषधि र वस्तु खरिदकाण्डमा मुछिएकालाई बचाएको, निर्मला हत्याकाण्डको मुद्दालाई विलय गराएको, आफ्नो भूमिमा भारतले वर्षौँदेखि बाटो बनाइरहेको थाहा नपाएको, थाहा पाएर नक्सा जारी गरिहेरेको, सिमाना छुट्याएर बाँसका घोचासम्म गाड्न नसकेको, ३३ किलो सुनकाण्डले नेपाल प्रहरी प्रशासनलाई कमजोर बनाएको, संसद् अपहरण गर्ने हर्कत गरी नेपाल प्रहरीको अस्मिता लुट्नुका साथै जनप्रतिनिधिको दुरूपयोग गरी जनप्रतिनिधि चुन्ने नागरिकको इज्जतमा आँच पु-याएको, महामारीले आक्रान्त पारिरहेको समयमा अध्यादेश ल्याई निरङ्कुशता लाद्न खोजेको, मिडियालाई आफूअनुकूल बनाउने प्रयास गरेको, अख्तियारको घुस काण्डलाई छुट दिएको, गुण्डा र दोषीहरूलाई जनप्रतिनिधि बनाएको, भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग विसं २०७७ साल कात्तिक ५ गते बुधबार राति आफ्नै निवासमा भेटी लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको चुच्चे नक्सा गायब, पुस ५ गते राष्ट्रलाई निकास दिएको भन्दै गणतन्त्रलाई चुनौती दिएको, भ्रष्टाचारमा स–साना राष्ट्रसेवक कर्मचारीलाई मात्र समाउने गरेको ।

विपक्षी पार्टीको सर्वसम्मतीमा नेपाल सरकारका विभिन्न संघसंस्थामा गर्नु पर्ने नियुक्तिमा स्वच्छ छविको व्यक्तिलाई गर्नुपर्ने तर नियमविपरीत आफ्ना आसेपासेलाई नियुक्ति गरियो । कोरोनाको दोस्रो लहरसँगै भ्याक्सिन खरिदमा कमिसनको चलखेलमा चुपचाप लागि समर्थन गरे । दिन प्रतिदिनको कोरोना त्रासले आज मानव स्वास्थ्य गम्भीर संकटमा छ । व्यक्ति, संस्था, निकायहरूको व्यवस्थापकीय कौशलताले मात्र यस्तो विषम परिवेशबाट निकास दिन सक्दैन ।

मौलिक हकको रूपमा स्वीकारेको स्वास्थ्य सेवा आज जर्जर बन्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयले सुरुमै जिम्मेवारीबाट हात झिकिदिँदा सर्वसाधारणमा मनोवैज्ञानिक त्रास थपेको छ । अक्सिजन, भेन्टिलेटर, शय्यालगायतको कमी छ, आम नागरिक स्वयंले सावधानी अपनाउनुपर्छ भनिदिँदा नागरिकले अभिभावक नपाएको महसुस गर्दै छन् । कोरोना संक्रमणको संख्या तीव्र ढंगले बढिरहनु, बन्दाबन्दीले मानिस घरभित्रै बन्दी बन्नु, यातायातका साधन नहुनु, महँगीले बजार पनि अस्तव्यस्त हुनुले आम मानिसमा चिन्ता थपिँदै गइरहेको छ ।

कोरोना संक्रमण दोस्रो लहर सुरु हुनुअगाडिसम्म अब कोरोना छैन भन्दै स्वयं प्रधानमन्त्री नै फलाक्दै हिँडे । राजनीतिक अभीष्ट पूरा गर्न गाउँबाट बसहरू रिजर्भ गर्दै बजार र सडकमा उतारियो जुलुस, भाषण, भीडको कुनै ख्याल गरिएन । सरकार सत्ताको अंक गणितमा मात्र व्यस्त भयो । राष्ट्रपति सबै नेपालीको साझा संस्था हो । कोरोना नियन्त्रणका कार्य योजना र खाका नै बाहिर आउन सकेनन् । अग्रपंक्तिमा काम गर्नेहरूको मनोबल उच्च राख्ने प्रयत्न गरिएन । यस कठिन परिवेशमा सबै अंगहरूलाई परिचालन नै गर्न सकिएन हानाथाप मात्र भयो कसलाई गिराउने, कसलाई चढाउने, कुन प्रदेशमा अंक गणितले काम ग-यो वा गरेन, यसैमा नेतृत्वको दिनचर्या बितिरहेछ । लकडाउन भएर गाडी बन्द हुँदा पनि तेलको भाउ बढिरह्यो ।

देशमा कम्युनिस्ट शासन छ, समाजवादको नारा छ तर आम नागरिक भोक, रोगले पीडित हुँदा लाज लाग्नुपर्ने हो । तर लाज भन्ने शब्द राजनीतिमा देखिएन सरकार आफ्नो पद टिकाउनमा मात्र लाग्यो । निष्ठा, विधि, पद्धति, कानुन सबै पैतालामुनि राख्दै सत्ता अगाडि बढ्यो । बोलीमा विश्वास, नीतिगत कुरा भएन उखाने तुक्के तालमा हाँसीमज्जा मात्र भयो । आफ्नो स्वार्थका लागि कानुन, न्यायलाई हातमा लिएर आफूअनुकूल चलाइयो । राजनीतिक दल लाज पचाएर समर्थन र विमर्थनमा लागे बरा सोझासादा नागरिक आफैँ मुख लुकाएर हिँड्न बाध्य भए ।

राजनीतिक नेता बन्नभन्दा पनि राजनीतिक संस्कारको विकास गर्न कठिन हुन्छ । राजनीतिलाई सैद्धान्तिक निष्ठाले अनुशासित बनाउँछ जुन नागरिकप्रति जवाफदेही हुन्छ । जनता रोगले मरिरहँदा पशुपतिमा झल्लरी लगाई, धरहरा ठड्याई शिलालेखमा नाम चढाउन लालायित हुने राजनीतिज्ञ जनताले खोजेका होइनन् । जनतालाई शान्ति र सुव्यवस्था चाहिएको हो आपत्विपत्मा सरकारको साथ चाहिएको हो । अब सरकार अंक गणितबाट बाहिर आउनुपर्छ, कम्तीमा आम नागरिकलाई स्वास्थ्य सुरक्षाको प्रयाभूति दिनुपर्छ । शक्ति र अधिकारको प्रयोग राष्ट्रिय हितमा समर्पण गर्नुपर्छ । आफ्नो शक्ति र अधिकारको प्रयोग राष्ट्र र नागरिकको हितमा लगाएर आजको महामारीबाट नागरिकको जीवन रक्षा गर्नुपर्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्