Techie IT
१५ साउन २०७८, शुक्रबार

नेपाल वायुसेवा निगममा वित्तीय संकट र अध्यक्षको राजीनामा


काठमाडौं ।
कोरोनाबाट विश्व अर्थतन्त्र यतिबेला नराम्ररी गुज्रिएको अवस्था छ । मानिसहरू उत्पादन क्षेत्र छोडेर उपचारमा छन् । चाइना अमेरिका युरोपेली मुलुकहरू क्रमशः सामान्य अवस्थामा फर्किन लागेका छन् । भारत र नेपाल अझै संकटमुक्त हुन समय लाग्ने देखिएको छ । विकसित देशले कहिले खोप देला र जनता बचाऊँला भनेर कुरिरहेका छन् । निरीह छन् ती राज्यहरू आफैँ । न पैसा राखेर द्रुत गतिमा खोप ल्याउने हैसियत राख्छन् न विकसित देशसँग राम्रोसँग हातेमालो नै गर्न सक्छन् । आज यो अन्योलताको स्थिति उत्पादन र स्वास्थको हरेक क्षेत्रमा व्यापक छ ।

कोरोनाको यो अत्यधिक अत्याचारसँगै विकास निर्माण यातायात जगतमा दूरगामी असर परिरहेको छ त्यसमा नेपाल वायुसेवा निगम (नेवानि) कसरी चोखो रहन सक्छ र ? नेवानिलार्ई एउटा उडान अनुमति दिँदा निजी उडान हिमालयनले चारवटा अनुमति पाउँछ भने अनि यो देशमा राज्यको सम्पत्तिप्रति सरकार कति अनुदार छ भन्ने कुरा देखाएन र ? इतिहासकै सबैभन्दा अब्बल संस्थाका रूपमा राज्यलाई राजस्व बुझाउने नेवानिलार्ई कसरी ध्वस्त बनाउँदै लगियो र अहिले कोभिडपछि झन् यसको वित्तीय संकट कसरी उचालिएको छ अनुमानभन्दा बाहिर गइसकेको अवस्था छ । खास गरेर लोकतन्त्र गणतन्त्रको स्थापनासँगै यो संस्था राजनीतिक नियुक्तिको भागबण्डामा गैरएयरलायन्सका मानिसहरू संस्थाभित्र पसेर यसको मुटुकलेजो फोक्सोलार्ई नै खाने र ख्वाउने काम भयो जसरी कोरोनाले रोगीको मुटु नै कोपर्छ ।

नेपाल सरकारको पूर्ण स्वामित्व र नियन्त्रणमा भएर पनि यो संस्था जुन–जुन पार्टीको सरकार बन्यो तिनै पार्टीका नजिकका मान्छेलार्ई महाप्रबन्धक बनाउँदै वा अध्यक्ष बनाउँदै भ्रष्टाचार गर्दै नेवानि सिध्याउने खेल निरन्तर भइरह्यो । यति भ्रष्टाचार पञ्चायतकालमा कहिले पनि देखिएन । खास गरेर प्रजातन्त्रलार्ई दुरुपयोग गर्नेहरूले यो संस्थालाई कमाइ खाने खेत बनाए । २०४३ सालमा दुईवटा बोइङ आयो बलिराम सिंहको पालामा । त्यतिबेला भ्रष्टाचारको गन्ध आएन । तर बोइङ किनेको कमिसन यदाकदा बलिराम सिंहको खातामा हरेक वर्ष आइरहन्छ भनेको चाहिँ हामीले सुनिएको हो ।

तत्कालीन नेपाली छापाहरूमा बोइङ खरिदमा भ्रष्टाचार भएको भनेर न्युज पनि आएकै हो तर अहिलेजस्तो सञ्चालक समितिदेखि विभागीय मन्त्री समेत मिलिभगत गरेर भ्रष्टाचार गर्ने घटना विरैलै हुन्थ्यो । नेपाल वायुसेवा निगमको ६३ वर्षको इतिहासमा गणतन्त्र स्थापनापछि सबैभन्दा भ्रष्टाचारका नयाँ–नयाँ इतिहास रचिँदै गए । एउटा अचम्मको कुराचाहिँ के रह्यो भने नेपाल सरकारको स्वामित्वमा रहेका धेरै संस्थानहरू कलकारखानाहरू बन्द बनाइए पनि यो संस्थाचाहिँ धन्न अहिलेसम्म जीवित छ । जीवितचाहिँ यो मानेमा छ कि यसलाई जोगाउन सकियो भने भ्रष्टाचार गरिरहन पाइन्छ भन्ने ।

अबचाहिँ पहिलेको जस्तो अवस्था छैन । स्थिति दिनानुदिन गम्भीर बन्दै गएको छ । अहिले नेपाल वायुसेवा निगमको वित्तीय अवस्था अत्यन्तै नाजुक छ । कोभिडका कारण अन्तर्राष्ट्रिय फ्लाइटहरू एक एक वर्षदेखि बन्द छन् । सबैभन्दा राम्रो आम्दानी हुने हङकङ सेक्टरलाई हेलचेक्र्याइँ गरी बन्द गराइयो । कोरोनाको डुब्लिकेट रिपोर्ट समेत राखेर यात्रु उडाउने काम भयो । यसमा संस्थाको कर्मचारीको समेत मिलिभगत देखिन्छ । त्यस्तै गरेर बेङ्लोर, मुम्बई, बैंककजस्ता लामोदूरीका सेक्टरहरू पनि बन्द छन् ।

जहाज ३२० र ३३० खरिदगर्दाको ऋण फ्लाइट उडान भरेर आम्दानी गर्ने हो तर उडानका लागि सरकारले निजी क्षेत्रको हवाइ सेवालार्ई मदत गर्छ नेवनीलाई भने बन्द गर्न खोज्छ । एउटा ३३० एयरबस जहाज फोर्सल्यान्डका कारण तीन महिना ग्राउन्डेड भयो । तीन महिना भूमिस्थपछि बल्ल मेन्टिनेन्समा गएको छ । यसको उडान आम्दानीको नोक्सानी बारेमा कहालिलाग्दो तथ्यांक कुनै दिन बाहिर आउने नै छ । कर्मचारी निरीह बन्नुको विकल्प छैन । केही सीमित कर्मचारी यनिहाउ पैसा कमाउ धन्दामा लागेका छन् र संस्थालाई उठाउनेभन्दा नि सिध्याउने षड्यन्त्रमा लागेका छन् ।

जहाज उडाएरभन्दा पनि भूमिस्थ सेवा गरेर दैनिक एक करोड दश लाखभन्दा बढी आम्दानी गर्ने संस्थाको यो आम्दानी अहिले आएर १५ प्रतिशतमा झरेको छ । यो अवस्था हुँदाहुँदै पनि तात्कालीक पर्यटन मन्त्री र अध्यक्ष मिलेर निजी एयरलाइन्स हिमालयलार्ई सेल्फ ग्राउन्ड ह्यान्डल गर्न पाउने नियम बनाएपछि अब अन्य एयरलायन्सको भूमिस्थ सेवा पनि हिमालय एयरलायन्सले हत्याउने प्रबल सम्भावना छ ।

Open Photo

सञ्चय कोष र नागरिक लगानी कोषको झन्डै पचास अर्बको ऋण व्ययभार कसरी तिर्ने भन्ने कुराले अहिले नेपाल वायुसेवा निगम वित्तीय संकटमा परेको छ । यो वित्तीय संकट कसरी समाधान गर्ने भन्ने कुरामा तालुकदार मन्त्रालय र मन्त्री चिन्तित देखिँदैनन् । ६ महिनामा मन्त्री फेरिने र एक वर्षमा अध्यक्ष तथा जीएम फेरिने संस्थाले कहिले उन्नति गर्नु र कुन योजनालार्ई स्थायित्व दिनु ? । बरु अहिले फेरि आफ्नालाई महाप्रबन्धक र अध्यक्ष बनाउने होडबाजी चलिरहेको छ । सुशील घिमिरेले अकस्मात राजीनामा दिइसकेका छन् । सुशील घिमिरेलार्ई राजीनामा दिन माथिबाट नै बाध्य पारिएको छ । उनले आफूखुसी राजीनामा दिएका होइनन् । किन र के कारण राजीनामा दिए त्यो स्थानमा अब अर्को राजनीतिक हनुमान नियुक्ति लिएर आएपछि प्रस्ट होला नै ।

अवकाशप्राप्त कर्मचारीले पाउन पर्ने सुविधा पाउन नसकिरहेको अवस्थामा संस्थालाई कसरी आर्थिकरूपमा सबल बनाउने भन्नेतर्फ सोच्नुपर्ने बेला आएको छ । कर्मचारीले एक हुनुपर्नेछ । मन्त्री फेरि पनि फेरिएका छन् । अब १३ सय कर्मचारीले मात्रै नेवानि बचाउन सक्छन् । ग्राउन्डह्यान्डलीङको म्याद पनि सकिन लागेको छ । निजीलाई यही भएको ग्राउन्ड ह्यान्डलीङ पनि दिइयो भने नेवानि सकियो ।

मितव्ययिताका नाउँमा कर्मचारीका सुविधा सबै काट्दै जाने अर्कोतिर माथिल्लो तहमा नयाँ नियुक्ति दिँदै जाने हो भने नेवानिको स्थिति झन् नाजुक होस् भनेर चाहनु हो । एक संस्थामा महाप्रबन्धक र चेयरमेन नियुक्ति गर्दा मात्रै यसको उन्नति हुने थियो भने खै त पर्यटन सचिव भएर त्यति लामो अनुभव बटुलेका अहिलेका अध्यक्षले नेवानिमा ७ महिनामा एउटा मात्रै कुनै उदाहरणीय काम गर्न सकेको र अन्ततः राजीनामा दिनुभएको छ । नेवानिभित्र व्यापक भ्रष्टाचार छ ।

तल उल्लेख्य भ्रष्टाचारलार्ई मात्रै कम गर्न सकियो भने नेवानिलाई बचाउन सकिन्छ ।
१. ग्राउन्ड ह्यान्डलीङ इकुपमेन्ट पर्चेज प्रक्रियामा भ्रष्टाचार,
२. टिकट बिक्रीवितरणमा भ्रष्टाचार,
३. क्रुहरूको लागि आवास भ्रष्टाचार,
४. फ्लाइट क्याटरिङको लागि चाहिने वार्षिक सामान टेन्डर प्रक्रियामा हुने भ्रष्टाचार,
५. जहाज मर्मत सम्भारका लागि विदेशस्थित मेन्टेनेन्स कम्पनीहरूसँग मिलेर गरिने व्यापक भ्रष्टाचार,
६. इन्जिनियरिङ एओजी (एयरक्राफ्ट अन ग्राउन्डेड) भ्रष्टाचार,
७. इन्जिनियरिङ मेन्टेनेन्स तथा पार्टस रिपेरिङमा हुने भ्रष्टाचार,
८. खरिद विभागबाट गाडीदेखि सारीसम्ममा हुने भ्रष्टाचार,
९. भवन निर्माण, मर्मत, दैनिकी स्टेशनरी सामान खरिद र पुराना गाडी पुराना सामान अक्सनमा भइरहेका भ्रष्टाचार,
१०. आन्तरिक उडानमा निजी एयरलायन्सँगको घातक साठगाँठ मिलिभगतमा हुने भ्रष्टाचार,
११. ग्राउन्डेड भएका आन्तरिक उडानका जहाज समयमा रिपेरिङ नगरी ग्राउन्डेड गर्दामा समेत भ्रष्टाचार,
१२. डलर सेक्टरमा हुने भ्रष्टाचार,
१३. व्यापारिक क्षेत्र हङकङ, बैंकक, दुवई आदि लोड फ्याक्टरमा हुने भ्रष्टाचार ।
१४. एक्सेस ब्यागेजमा कर्मचारीहरूबाट हुने भ्रष्टाचार,
१५. एयर्पोटस्थित काउन्टरबाट हुने नियमित भ्रष्टाचार,

१६. कोभिडपछि एयरलायन्सले अन्तर्राष्ट्रिय टिकट बिक्रीवितरणमा नेपालस्थित ट्राभल र अन्तर्राष्ट्रिय एजेन्टलार्ई दिएको गैरजिम्मेवार भूमिकामा व्यापक भ्रष्टाचार भइरहेको छ । अझ चार्टर फ्लाइटमा हुने मिलिभगत भ्रष्टाचारको त कुरै नगरौँ कहालीलाग्दो अवस्था छ ।

१७. चाइनाबाट अनुदान र खरिद गरिएको सबै जहाज भूमिस्थ छन् । दैनिक दशौँ लाख रुपैयाँ इन्स्योरेन्समा नेवानिको खर्च भइरहेको छ । यो जहाजको बारेमा मन्त्रालयस्तरबाट फिर्ता गर्ने वा अन्य एयरलायन्सलाई बेच्ने छिटोभन्दा छिटो निर्णय गरेर नेवानिको दिनको दशौँ लाख बचाउने काम गर्नु अत्यन्तै जरुरी देखिन्छ । यो नगर्नु पनि भ्रष्टाचारसरह हो । भूमिस्थ भएका पाइलोटहरूलाई महिनाको पचासौँ लाख तलब दिएर पाल्नु अझै ठूलो भ्रष्टाचार हो । चाइनिज जहाजको बारेमा छिटो निर्णय गर्नु जरुरी छ ।

केही महिनाअगाडि एयरबस ३३० को प्रयोजनका लागि भनेर ग्राउन्ड इक्युपमेन्ट विभागबाट आठवटा डली खरिद भएको थियो । उक्त डली खरिद प्रक्रियामा अन्तर्राष्ट्रिय बजारमूल्यभन्दा तीन करोड बढी मूल्य लागेको भन्ने कुरा सुनिएको छ । ती आठवटा कार्गो र लगेज डलीहरू खरिदका लागि पक्कै पनि अन्तर्राष्ट्रिय कोटेसन आह्वान गरेरै किनिएको होला । तर तीन करोडचाहिँ कसरी भ्रष्टाचार भएको हो त्यसको छानबिन पक्कै होला सम्बन्धित निकायबाट ।

नेपालस्थित इन्डियन एयरलायन्सले आफ्नै देशमा बनेको टाटा कम्पनीले बनाएको टाटा बस प्रयोग गर्छ आफ्ना यात्रु ओसारपसार गर्नलाई तर हामीलेचाहिँ एउटै बसको पाँच करोडको मूल्य तिरेर ल्याउँछौ । जुन देशमा एउटा सियो बन्दैन त्यही देशको एयरपोर्टमा यात्रु ओसार्न नेपाल वायुसेवा निगमले पाँच करोडको लक्जरियस बस प्रयोग गर्छ । जति महँगोको सामान खरिद ग¥यो त्यति धेरै कमिसन आउने भएकोले यो दुनियाँमा कहाँ महँगो इक्युपमेन्ट छ त्यहीँ पुग्छ नेवानि । नेपाल एयरलायन्सको कमाउ विभाग भनेको ग्राउन्ड इक्युपमेन्ट विभाग नै हो भनेर भन्दा अतिसयोक्ति नहोला ।

सम्बन्धित विभागीय प्रमुख उपप्रमुखदेखि महाप्रबन्धकसम्मको मिलेमतोमा हुन्छ त्यहाँ भ्रष्टाचार । नेपाल एयरलायन्सभित्र हुने कुनै पनि भ्रष्टाचारमा विभागीय प्रमुख उपप्रमुख त्यसै लाइनका अन्य व्यक्तिहरूको संलग्नता हुनेगर्दछ । जर्मनबाट बस खरिद गर्न लागियो भने थुप्रै कर्मचारीहरू लगातार लाइन लागेर भ्रमणमा जाने परम्परा थियो र अहिले कोभिडका कारण यस्ता अनावश्यक भ्रमण रोकिएको छ । चाकरीका भरमा भ्रमणमा जाने परम्पराले एउटा लामो कालखण्ड व्यतित भएको छ नेपाल एयरलायन्सभित्र ।

यसै परम्पराका कारण पनि हो नेपाल एयरलायन्स आज यो दुरावस्थामा पुगेको । इक्युपमेन्ट पर्चेजमा हुने भ्रष्टाचारका बारेमा बाहिर मिडियामा आउँदैनन् किनकि यो बारेमा नेपालका पत्रकारहरू प्रायः अनभिज्ञ छन् । उनीहरू केवल जहाज खरिदमा हुने भ्रष्टाचारका बारेमा मात्रै लेख्छन् । यो विषय थाहा नभएर पनि होला । एक करोडको इक्युपमेन्ट खरिद गर्दा अर्को ५० लाख थप भ्रष्टाचार हुन्छ सबैको मिलिभगतमा ।

कर्मचारीले पनि यस्ता भित्रभित्र भइरहेको भ्रष्टाचारको बारेमा बोल्न सक्तैन किनकि एउटा सामान्य कर्मचारी आफैँ थिचिएको हुन्छ । उसलाई प्रमोसनको लोभ हुन्छ, कहिलेकाहीँ यसो अन्तर्राष्ट्रिय ड्युटीको पनि लोभ हुन्छ । एउटा प्रमोसनले एउटा पोस्टिङले र बेलाबेलामा पाइने अन्तर्राष्ट्रिय भ्रमणले सारा कर्मचारीहरू बाध्यताले चुपचाप बस्न विवश छन् र यो पनि एउटा अर्को कारण हो नेवानिले युगानुकूल आफूलाई परिवर्तन गर्न नसकेको र झन्झन् रुग्ण हुँदै गएको ।

जीएम र चेयरम्यान वर्षेनी फेरिने क्रम रोकिनेवाला छैन, किनभने हाम्रो देशमा सरकार नै स्थायी छैन । सबैलार्ई जसरी नि कमाउनु परेको छ । यो लेखक स्वयम्ले सञ्चालक समिति सदस्य बनेर संस्थको हितमा केही काम गरुँ भन्ने उद्देश्य राख्दा ठूलो रकम बुझाएर मात्रै सञ्चालक समितिको सदस्य बन्न पाइन्छ भन्ने निर्देश आयो । त्यो सपनालार्ई मैले बीचमै छोडेँ । पैसा खुवाएर सञ्चालक समितिको सदस्य बन्नुभन्दा बरु संस्थाबाहिर बसेर नै संस्थाको हित र उन्नतिका लागि लेखेर भए पनि सहयोग पु-याउँछु भन्ने हेतुले लागिपरेको छु । कसैको विरोध होइन । संस्थाको हितका लागि लेख्दा पनि कहिलेकाहीँ धम्की र तर्साउने काम हुन्छ ममाथि र विगतमा पनि भएकै हो तर निरन्तर लेख्न छोडेको छैन र लेखिरहनेछु । जय आकाश भैरव ! जय नेवानि ! (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्