Techie IT
मंगलबार, असोज १३,२०७७

अब गाईजात्रा माहात्म्य प्रारम्भ

गन्नेमान्नेहरूलाई खुला चिठी


पहिले वर्षमा एक दिन मात्र गाईजात्रा हुन्थ्यो, हिजोआज मात्रै होइन धेरै वर्ष भयो वर्षभरि सबैदिन गाईजात्रा हुनेगरेको छ । कोरोनामा गाईजात्रा, बाढी पहिरोमा गाईजात्रा, बैठकहरूमा गाईजात्रा, जनता भोक भोकै परेर आत्महत्या गर्नुपर्ने गाईजात्रा, विदेशीको चलखेलको गाईजात्रा, कुर्सी मोह, सत्ता लिप्सा, स्वादे जिब्रो, पदमा टाँसिस्एरै रहनुपर्ने, लाजघिन रत्ति पनि नहुँदा दुनियाँ छक्क पर्नेगरी राजनीतिक खेल खेलिरहने, सडक सुनसानको गाईजात्रा, सडक दुर्घटनाको गाईजात्रा, ललिता आवासको गाईजात्रा, ओम्नी उपकरण, यति समूहको गाईजात्रा, गोकर्ण रिसोर्टको जात्रा, लकडाउनको गाईजात्रा, विद्यालयहरू र विद्यार्थीहरूप्रतिकोे निर्दयी गाईजात्रा मानौँ एक्च्युएल प्रताप मल्लले चलाएको गाईजात्रा अब बाँकी छैन देशमा कार्यकारी प्रमुख खड्ग भनौं हतियार, बहादुर र उनको समूहले चलाएको गाईजात्रा छ बढी सबैतिर । आजको अंकमा उहाँहरू, गन्नेमान्नेहरूको गाईजात्राप्रति लक्षित गर्दै गाईजात्रे उपहारसहित उहाँहरूलाई नै एउटा खुला चिठी लेख्ने काम भएको छ । कसैको नाम मिल्नगए गाईजात्रे संयोग नै सम्झेर पढिदिनु पर्ला, चिठीको व्यहोरा यस्तो छ ।

हतियारप्रसाद बोलीज्यू, तपाईंको नामै हतियार हो, बोली पनि खड्गैजस्तो छ । त्यही बोलीले पारिबाट फोेन आउन छोड्यो । अमिताभको परिवारलाई सन्देश पठाउन सक्नेले नयाँ नक्साबारे फोन गर्न सक्नुभएन । हतियार उठाउनेसँग दिल्लीमा गएर हात मिलाउनुभयो । पहिले आफैंले खड्ग उठाएको संस्कार भएर होला । झन् साथ लिएर दुई तिहाइको दम्भ पनि लिनुभयो । अहिले आफ्नैले आफ्नै छाया पनि पछ्याइरहेका छन् । काट्ने काममा खप्पिस तपाईंले पूर्वमा गएर जन्मदिन भन्दै देशकै नक्साको केक कटाइदिनुभयो । हतियारभन्दा ठूलो कोरोना आएर तपाईंलाई धेरै सहयोग ग-यो । निहुँ पारी र घिउ पारी गरायो, टेको लाइदियो, पछि बाढी र पहिरोले टेको थपिदियो । चार चारवटा किड्नी लिएर पनि हुँकारमा कस्सिने तपाईंलाई त्रेतायुगको रावणभन्दा फरक परोइन् ।

संसद्को छाडाबोली रेकर्डबाट हटाउन लगाउनेलाई द्वापर युगका कृष्णको रासलीलासँग जोडिदिएको भन्छन्, पदै धरापमा प¥यो उनको । न अयोध्या नै थाहा नपाउने तपाईंले रामसँग कसरी युद्ध गर्नुभयो होला विश्वासै लागेन । कालापानीलाई कागजमा चरीचुच्चे ‘च’ मात्रै गर्ने कि उताकाले प्रतिकिलो तीनमा चामल दिएका छन्रे यताबाट तीन सयभन्दा कममा त हुन्नहोला अरु सुविधा कति थप्ने होला । सुख्खाटारमा बैठक बोलाउने आफू लापत्ता हुने, आफ्नैलाई त मज्जैसँग झुक्याउन खप्पिस तपाईंले साहुलाई झुक्याउन सफल हुनुभयो । थरीथरीका कार्ड फाली गेमपोलिटिक्समा अब्बल खेलाडी चिसो निवासलाई पनि दुनो सोझ्याउन सफल दक्षिणतिरकाले कसरी हेरेको छ, उताको हात नलिए फेरि खानाबन्दी भइहाल्ला, उत्तरतिरका त आफ्नो गुरु हुन्, तर भूगोल ज्यादै कठीन छ, असंलग्न सिद्धान्तबाट सबैतिर सन्तुलित हुन ध्यान जाओस्, तित्राको मुखै बैरी भन्छन् । आफ्नैले खोइरो उडाइराख्याछन्, आखिर संघीयता भनेकै सम्झौता हो, कुरो बुझिहाल्नुभयो ।

गड ओखरेलज्यू, तपाईंको नामै गड्, नेपाली नाम आवश्यक परेन । पानीट्यांकीमा कुवेर देख्ने, घर–घरमा रक्षा गर्ने, सिमानाको सुरक्षा गर्नै नपर्ने, उत्तरमा हिमालले रक्षा गर्छ, तराईतिर स्तम्भ ढले ढलोस् । सुरक्षा सबैलाई ठेक्कापट्टामा लगाइदिनोस् । कोरोनाले सखाप पार्दा हेरी बस्नोस्, औषधि उपकरणले दशैँ मनाइदेला । आज म-यो भोलि ओखती केको चिन्ता । क्वारेन्टाइनमा धेरै मरेकाले स्वास्थ्यको परामर्श लिनोस् । अब घरघरै क्वारेन्टाइन बनाउनुहोस्, खेलै खत्तम, हिन्दु संस्कारलाई मज्जैसँग पन्छाउन सकिएकाले पहिले कोरा बार्दा २ मिटर परैबाट किरियापुत्रीसँग भेटघाट गरेजस्तो अब घरमा त्यही नियम बसालिदिनुस् । हवाइ भाडामा तेब्बर लिँदा पनि थाहा नपाएजस्तो गरेर राहत भन्दै आहतको ढुकटी भरिदिनुस् । जनता मरे के भो त आखिर आज मरे भोलि दुई दिन भइहाल्छ, अजम्मरी शरीर कसको पो छ र कोरोनाले वर्षैभरि नछोडे सधैँ दशैँ हुनेथियो नि बरु ।

कमलको फूल आहालज्यू, कमलपुष्प साह्रै नरम हुन्छ, हिलोको आहालमै त यो हुर्कन्छ, हिलो अर्थात् जता हे¥यो उतै समस्या छ । फूल नरम पनि हुन्छ । त्यसैले बेला बेला भावुक भई आँसु खसाल्नुहुन्छ, जति पटक बैठक बसेर एक पद छोड्दिनुस्न भन्दा, अहँ एउटा पनि हुँदैन भन्दा पनि चुपचाप सहेरै बस्नुहुन्छ, तपाईंको पीर थाहा छ, काँध मिलाउने घट्टराईले छोडिदिए, एता न उता मूलाबारी भित्ता भएको छ । सत्र हजार भुसुनामा पाँच हजारको जिम्मा लिनुभयो, त्यसपछि पनि त्यति नै मरे होलान्, हिसाब छैन ।

मान्छेलाई भुसुनाको आहाल बनाउने, परिवारको ठूलो मोह, खाष्ट्रप्रतिको धोको, हतियार मोह, हतियारबाट सत्ता पल्टाई बिनाचुनाव आफ्नाको लर्को लिएर संसद्भवन प्रवेश, चुनाव भन्दै छोरीलाई चितवन, बुहारीलाई नखानेपानी मेलम्चीको रिहर्सल गर्दा पाइप फुटेर एक इन्जिनियरको वलिदान, श्रीमतीलाई विदेश सयर, भेनेजुयलामा बोल्न हतारिँदा अमेरिकाको बक्री आँखा, मागेर पद पाउने भावुकता, पञ्चतन्त्रको एउटा उक्ति हल्लन्छन्, झुण्डिएका छन् खस्लान् भन्ने ठूलो भर १५ वर्षपछि लागेँ हेर प्यारी निरन्तर । रुखमा टाँस्सिन जाँदा घरको न घाटको होइएला भन्ने डर, पहिले सोच्नुभएन । आखिर सँगैको यात्री आरामबाबुको कथा त्यस्तै छ । पार्टी अफिसमा बैठक नबस्ने, सत्रौँ पटकसम्म खड्ग माने हतियारले लोप्पा ख्वाएर पछार्दा पनि अझै लाज सरम कत्ति नहुने ।

घरी बीआरआईतिर ठीक्क पार्ने, घरी एमसीसीतिर, ताक परे तिवारी नत्र गोतामे, लडाकुको खर्चको कुरा उठ्ला भनेर परालको लठ्ठी हुँदै यता र उता भइरहेछ । खड्गमाने हतियार दल फुटाऊ अध्यादेश ल्याएर अरुलाई साथ लिई आफैंलाई धकेल्लान् भन्ने त्रासै त्रासको घेरो राजनीतिमा अड्किएका महमहिम । सुख्खाटार जाँदै बैठक भन्दै फर्कँदै, दुई हेडसरहरू मिलेर चिसो निवास जाने, अरु ताली बजाउने सरहरूले भनेकोमा कुम हल्लाउने, दल नफुटाऊ भन्दै बाहिर प्रदर्शन पनि गर्ने कस्तो अचम्मको गाईजात्रा हो यो खामरेडहरूको ।

खुवराज कतिवडाज्यू, ढुकुटी तपाईंकै हो, मोज गर्नूस्, प्रशासनको उपल्लो पोष्ट भ्याउनुभयो, कागजमा खप्पिस योजनाहरू बनाउने संस्थाको उपल्लो पद पनि भ्याइहाल्नुभयो । नोट छाप्ने कुवेरको ढुकुटी प्रमुख पनि भइहाल्नुभयो । आफ्ना मान्छे झन् झापाकै पर्दा क्या हाइसन्चो, निर्वाचनमा जानै नपर्ने सात्ताको प्रवक्ता समेत भइहाल्नुभयो, पुर्पुरो धेरै नै बलियो रहेछ । गहनतत्रन्त्रमा चुनाव नभए पनि रजाइँ गर्न पाइँदो रहेछ, पुर्खामा राजनीतिक रगत भएजस्तो त लाग्दैन । चुनावबिना नै यस्तो रजाइँ हुँदा लोकतन्त्र, संघीयतालाई उपहास पनि नहुँदोरैछ, तपाईंले वितरण गरेको ढुकुटीमा देशमा कहिल्यै नभएको बेरुजुको चाङ हुँदोरहेछ इतिहासकै सर्वश्रेष्ठ । तपाईंको कुवेर ढुकुटीले चौरासी लाखको चर्पी, एक करोडको कार्पेट, महंगा गाडी, हेलिकोप्टर, जिमखाना, मुस्लिम आयोगयोमा तीन करोड ६० लाखको ६ वटा गाडी, थारु आयोगयोमा ३८ लाखको १ गाडी, मधेसी आयोगयोमा एक करोड २४ लाखको ४ वटा गाडी, समावेशी आयोगयोमा तीन करोड एक लाखको ६ वटा गाडी, महिला आयोगयोमा दुई करोड ८६ लाखको ६ वटा गाडी, दलित आयोगयोमा २ करोड ६३ लाखमा ६ वटा गाडी, जनजाति आयोगयोमा तीन करोेड ३२ लाखको ७ वटा गाडी, मानौँ सबै पद पूर्ति नभए पनि महंगा गाडीका माला र छुट्ट्याएको अधिकांश रकम यिनै गाडी र विभिन्न भत्तामा सकिएछन्, हामीलाई भन्दा बढी तपाईंलाइ नै थाहा होला ।

साढे आठ प्रतिशतको आर्थिक वृद्धिको बहाना गर्दै झण्डै शून्यतिर झार्न सफल, २ पटक बजेट संशोधन गर्दा पनि विकास बजेटलाई चिल्लो पार्न सक्ने खुुबी भएका, सधैँभन्दा असारे विकास अझ तीव्र पार्नसक्ने, अघि बाहुनले खाए, नाक चुच्चेले खाए भन्थे, तपाईं दलित, थारु केही नभए पनि सबैको समावेसी हुन सफल, रकम बाँडेर सबलाई खुसी पार्न खप्पिस, कोरोनाको त्रासले थलिएको बेलामा पनि सांसद कोषलाई काट्न सक्नुभएन, देश ऋणै ऋणमा डुबेको छ, जन्मदै ४० हजारको ऋण बोक्नुप-या छ, ‘अर्थ न बर्थ गोविन्द गाई टाउकोे दुख्या औषधि नाइटालाई’ जस्तो भएको छ जनतालाई । कृषकले मल पाएनन् अनुदानमा कति सिध्यानुभयो, किसानका दूध, तरकारी पोखिए, विदेशी औषधि र चामल, तरकारी कति आए तपाईंको भन्सार कार्यालयलाई थाहा होला, रगत बेचेर आएको रेमिटान्स सकिन लागेको छ, थाहै होला, राहतमा कुहिएको चामल त्यो पनि सबैले पाएनन् । अर्थ व्यवस्थालाई रसातल पु-याउने, बन्दाबन्दीमा सबै ठप्प पार्र्ने, बाहिर इन्धनको मूल्य घट्दा यहाँ मनपरि बढाउने, निमुखा जनताको करमा मस्ती मार्न सिकाउने धन्न तपाईंको देशभन्दा दलभक्ति ।

आराम मेघज्यू, मेघ माने बादल नहुँदा हिउँददेखि नै वर्षा धेरै भयो, हावाहुरी त कति हो कति, वर्षामा त जताततै बादलै बादल । चैतेदशैँअघिदेखि नै सुरु भएको असार लागेदेखि त महादशैँ भइगयो । आसचपुमा बेरुजु नआउने । दिगो विकासको लक्ष्य जेसुकै होस्, जिविस र स्थानीय तहलाई डोजर चलाउन दिनूस्, विपत्ति आयो त के भयो, बस्ती उजाड भयो त के भयो, आफ्नालाई हुकुमबासी भनेर घर बनाइदिने जग्गा बाँडिदिने काममा मनग्ये सहयोग गर्नूस् । प्हिले १७ हजार मर्दा सत्ता पल्टिएर अठ्ठा जोकर भएको अहिले कोरोनाको त्रासले १७ सय बढी, आर्थिकमन्दी र मनोवैज्ञानिक त्रासले त्यसको दोब्बर मरेर के हुन्छ । विदेशीले सहयोग गरिहाल्लान् जनयुद्ध ताकाको जस्तो होहल्ला त कहाँ हुन्छ त, वन विनाश, प्रकृति दोहन, भूकम्पले १० वर्षसम्म भिरालो माटो हल्लाइरहने हुँदा बाढी, पहिरो त गइरहन्छ, हेलिकोप्टर लिएर सेल्फी खिच्न त पाइएकै छ त किन धेरै चासो लिनु प-यो, मर्ने चोला हो मरेर, पुरिएर, बगाएर, भत्किएर के भो त, तपाईं गृहमैत्री भैहाल्नुभा छ, समाजको संरचना ध्वस्त भए होस्, घर, परिवार, टोल, छिमेकमा पानी बाराबार हुने अबस्था भए होस्, लकडाउनमा भाटे कारबाही, २ जना संक्रमित हुँदा सासै फेर्न नदिने गरी कडाइ गर्न आदेश, टोल टोलमा बाँसका भाटा राखेर परमाणुभन्दा सानो आकारको कोरोना भाइरस रोक्ने अवैज्ञानिक जनमानसको मनोविज्ञान बुझेर सम्पूर्ण घर, परिवार, बजार, कार्यालय, बैंक भनौँ भए जतिकालाई बन्द गराएर कोठाभित्र सुताई दिसापिसाब समेत राम्ररी गर्न नदिएकोमा तपाईंलाई बधाई छ । सधैँ यस्तै गर्नोस् अर्थतन्त्रलाई रसातलमा पु-याई सबै मानव एकैचोटी यमलोक जान्छन्, विपक्षी, विरोधी कोही हुन्नन्, एक्लै लामो लामो शासन गर्न पाइन्छ, मान्छे नभए पनि भूमिमै मात्रै भए पनि आखिर मालिक भनेको मालिकै हो नि, सुख्खाटारको बल ९ वटै ग्रह बलिया भएका बेला आकाशको बादल हल्लिने कुरै भएन , ढुक्क हुनोस् ।

जोगिएस घट्टराईज्यू, मुहार मात्रै राम्रो, हिन्दुधर्मीको पशुपति साउने सोमबार पनि बन्द, जनैपूर्णिमा, गोसाइँकुण्ड बन्द, क्या हाइसन्चो, माडेमुडे पनि नआउने, हतियारको आवेगले दक्षिणतिरको सम्बन्ध बिग्रेकोबेला उनीहरूसँग भेट्न पनि परेन । लकडाउनमा चर्चहरूले अघाउन्जेल राहत बाँडेकै छन् । हम्रो धर्म, संस्कृति त रसातलै पुग्ने भयो । पर्यटनमा आउनासाथ कोरोनाले हलुवामा बालुवा बनाइदियो । साउन १५ देखि पर्यटन त खुल्नेरे के कसो होला, ट्वान्टी–ट्वान्टी त गइहाल्यो, वाइडबडीमा रबीन्द्रलाई माउले चल्ला छोपेझैं ह्वाइट गराए जस्तै गराउन सिकिराख्नु पर्ला, नयाँ पुस्ताको हुनुहुन्छ, काम गर्न धरै बाँकी छ अत्तरे बास्ना धेरै नछर्नु होला, योगीको काम जोगिने हो, जोगिने प्रयास गर्नूस्, गुट अर्कै रे धराप पर्ने डर छ भन्या सुनिएको छ, के भनु र खोइ ।

सेयरको बहादरज्यू, संवैधानिक ढंगमा सेयर, एक्लै बोलीतिर भेटघाट, दल फुटाउ अभियानमा भित्री सहयोग, छत्तीसे र चौहत्तरेको पुरानो अनुभव, पहिले पहिले पनि देब्रेतिरको सहयोगमा सेयर हालिरहेको, प्रतिपक्षी भएर चुँ नबोल्ने, पहिलेको ओकल्नुपर्ला भन्ने डर, उताबाट कुटेजस्तो यताबाट रोएजस्तो, एक एक जोडे दुई आखिर कुरो उही, छयालीस पछि मिलीभगत्, आलोपालो, उडुस ढाढिएपछि निदाउँछ रे, अरु त कति कति, उता सासज्यूको राजदूत पद पनि नजाओस् है । गगन माने अकाशले अलि अलि संसद्मा गड्याङगुडुङ गरिदिइहाल्छन्, उनले पनि ससुराको बिँडो जोगाउनै प¥यो, नयाँ पुस्ता केही गर्लान् भनेको एण्डको भत्ता खान्छन् भन्ने कुरा पनि सुनिन्छ, सुन्नेलाई त सुनको माला भइजाला ।

रामदेव उत्तमज्यू, ढुक्क हुनूस्, विधान संशोधन हुन्छ, चुनाव हारेर केही हुन्न, हेर्नोस् त, खुवराजज्यूलाई केको चुनाव गर्नुप¥यो र ? तपाईंको भाग्यमा उपप्रमुख मात्र होइन, प्रमुखकै लक्षण छ । आरिपोर्टबाट तपाईं ग्रहमैत्री हुँदा पहेँलो कुवेरको लाप्सा कति हो कति, पर्वाहै भएन, अलिक पछिसम्म ग्रहमैत्री के नहोलान्, संशोधन गरेर भए पनि माथिल्लो त्यो उपल्लो त जसरी पनि दाउ लाउनै पर्छ, आखिर तपाईं एउटा बाँकी त हो अरु सबैजसो पुरानाले त्यो पोष्ट भ्याइसकेका छन् क्या ।

महाकुमार मुलुकज्यू , परराष्ट्र मामिला सबै तपाईंकै त हो, उत्तरतिरकाले कस्तो चिठी पठाए, त्यतातिरकी महमहिमले सुख्खाटारमा कति पटक भेटिन्, कहिल्यै गर्मी नहुने निवासमा कति पटक गइन्, उताको बडेमानको फोन कति पटक आयो, एक पटक त आधा घण्टा बढी टेलिफोन वार्ता भएको हामी जस्ता भारेभुरेले पनि थाहा पाएका हौँ, आफ्नो पनि सुलसुले हुँदैहोला, दक्षिणतिको त तपाईंलाई त्यति चासोे छैन होला, तर झापाबाट भित्रिँदै सिलगुढी, दिल्ली जाँदै बेस्सरी प्रयास गरेर अहिलेकालाई च्याप्प च्यापेर ल्याएको तपाईंले नै हो, हतियार प्रसादले नै हो, टेन प्लस् टू मा गिर्जाउसँग तपाईंको मनग्गे भेट भएकै हो । काज किरियामा नबसी, कपाल नखौरी दाम राख्न पनि पुगेकै हो, पछि पो त हयातमा २ थोपा होलिवाइन्मा परेर सबैले तपाईंको कुरो बुझेका हुन् ।

संस्कार हिन्दु भएर के गर्नु नि खुवास नाम हामकै चालबाजीमा परेर हिन्दुहरूको गला रेट्ने काम त भएकै हो नि होइन र ?, त्यत्रा खुबी भएकालाई अहिले सुख्खाटारको बैठक बोलाउँदै ललिता आबासतिर पठाउलान् भन्ने डरले बिनानिष्कर्ष बैठक सकाउँदै, चाउरी परेको अनुहार लाउँदै, अरुको पछिपछि धाउँदै गर्नु प-याछ, सिनयरिटीको कदर भएन, पार्टी क्याडरको मतलव भएन, हाल्ने ले सौता हाल्दा तपाईं चुपचाप बसिदिनुभयो गर्ने के त अब, सधैँ दिन एक नासको नहुने, तैपनि ट्राई गर्नूस्, खाष्ट्रपतिको अफर आशा गर्ने झलमलनाथझैं तपाईंलाई अफर आइहाले नाइँ नभन्नु ल ?

गरौँ राजमणि ओखरेलज्यू, शिक्षा क्षेत्र तपाईंकै हो पहिलेदेखि नै, अब पनि राज गरिराख्नूस्, परीक्षै नभई तपाईंका पालामा एसईई मात्रै होइन सबैजसो विद्यार्थी पास हुनेभए । खुवराजको बजेट भाषणमा भनेजस्तै निजी विद्यालयलाई संस्थागत विद्यालय सुधार्ने जिम्मा दिनूस् । निजीकरणको अभियानमा थप सहयोग गर्नूस् । निजीकरण गरेर संस्थानहरूलाई पाताल पु-याएझैं विद्यालय र विद्यार्थीको भविष्यलाई अन्योल पारिदिनूस् । शिक्षालाई व्यपारीकै हातमा पठाउनूस्, भदौ एक तिरको स्कुलको भर्ना अभियानलाई फोनैबाट भए पनि पहिलेदेखिकै पैसा असुल्न लाए भइहाल्छ, नथाहा पाएझैं गरिदिनूस्, किनकि अन लाइन पहिले पनि नाममात्रको थियो अहिले पनि ८ गते श्रावणदेखि अनलाइन भनिएकै छ, निजी विद्यालयले पैसा कुम्ल्याएको हेरी बस्नूस् । पढे पनि काम दिनसक्ने होइन, विदेशतिर पनि खासै अफर होलाजस्तो छैन, पढेर को ठूलो भएको छ र, पढाइतिरभन्दा अरुतिरै विद्यार्थीलाई लाग्न सहयोग गरे बरु राम्रै होला । अनशन केसीले अनसन बस्न छोडिहाले, नपढाएर पनि पचास थरिको बिलले अभिभावकको ढाड सेकिएर के भयो त । निजी मेडिकल कलेज, महाविद्यालयका त कुरा गरि साध्यै छैन नि ।

पर उज्यालो छ्वालीज्यू, परराष्ट्र सम्बन्ध गहुँको छ्वालीजस्तै हलुका भएको छ । नामै पर भएकाले वरराष्ट्रको चिन्ता नगर्दा हुन्छ । दीपको अर्थ बत्ती वा उज्यालो हुन्छ । वर उज्याले हुनु पर्दैन, बत्तीमुनि अँध्यारो त भइहाल्छ । एमसीसीले वर उज्यालोभन्दा पारि उज्यालो गर्नुपर्छ । महाकाली, टनकपुर सन्धिले यस्तै भएको हो । कुटनीतिक नोटको दोहोरी चलाए हुन्छ । नाता सम्बन्ध उत्तरतिर ढल्कु, उतैको, तातोपानी र रसुवा नाकाले भात भान्सा भ्याइहाल्छ, अरुलाई के नै गर्नुपर्छ र, व्यापार दक्षिणतिर कति छ तथ्थांक राख्ने काम राष्ट्र बैंक र भन्सारको हो, तपाईंलाई के फरक प-यो र ।

उत्तरतिरकी महमहिमले घर–घरमा गएर कस–कसलाई भेटिन्, प्रोटोकलको के कुरा गर्ने, चिसो निवास, सुख्खाटार सबैतिर धाएकी हुन्, अनि घन्टासम्म टेलिफोन वार्ता गराएर पो कुरा सामसुम भएको त । दक्षिणतिर त यसै पनि आफ्नै । सात सालदेखि सम्झौता उतैबाट, टेन प्लस टु पनि उतै हो गरेको । तँ रोएजस्तो गर, म कुटेजस्तो गर्छु, असंलग्न नीतिको कुरा हामीलाई थाहा नभएको हो र सिकाइरहनु पर्ने ? पानी परेपछि छाता त ओढ्नुप¥यो नि, खसखस गरेर हुन्छ त । आखिर एमसीसी हुन्छ भनेकै छ क्यारे ।

छद्मा कुमारी पर्खालज्यू, सिमानामा पर्खाल, तारबार लाउने काम मेरो होइन, कालापानीमा खाना पठाउने काम पनि मेरोे कहाँ हो त । नक्सा छाप्नुप-यो भन्ने कुरा आयो, छापिदिएँ त के भयो, बाँकी काम अहिले नै हुन्छ त । सुकुम्वासीहरूलाई यसो भुँडी सुधार गरौँला भनेको के–के समस्या आइलाग्छ । चरीचुच्चे ‘च’, दोपटाली ‘छ’ भनेर विद्यार्थीले कखरा, नक्सा सिलेबसमा पढ्छन्, अनि ठूला भएपछि उनीहरूले ल्याइहाल्छन् नि, कुमारी भने पनि म त बुढो पनि भइसकेँ । संचारमा यत्रो हल्ला भएकै छ, अर्को चुनावमा मसला पनि चाहिन्छ, हतार नगरुँ भो अहिले ।

आदिकविज्यू, आदिकविले पनि हाँस्य व्यंग्य गरेकै हुन् । भानुभक्तको जन्मदिवस असार २९ मै हो, त्यही दिन बोल्दा अयोध्या विवादमा प-यो । यो रामायणको युग पनि होइन । ए, आदिको कुरा यहाँ गरिएको होइन, फूलको कुरा ग-या, फूलले त सबैलाई फूलिस बनाउन के बेर लाग्छ र ? स्वास्थ्यमा सल्लाहकार नियुक्ति गरेकै दिनदेखि औषधि उपकरण किन्ने कामतिर लागेछन् म के गरुँ । सचिवदेखि डीजीसम्म फेरेकै हो, डेढ वर्षमा छ जना सचिव बदलेकै हो, ५ महिनासम्म अरु सबैको काम ठप्प पारेर स्वास्थ्यको मात्र कुराकानी गर्न आम सञ्चारलाई काम दिएकै हो, सम्पूर्ण अर्थजगत ठप्प पारेर सञ्चारमा खालि स्वास्थ्यका बारे मात्र कुरा गराइएकै हो । अघिपछि आफ्नो मन्त्रालय नौ आउँदैनथ्यो, अलि अलि यहीबेला हाइलाइट गरौँ भनेको आफ्नै मन्त्रालयका विरुद्ध सर्वोच्च, अख्तियार सबैतिर मुद्दा परेको छ ।

सुरक्षामा काम गर्नेलाई ठेक्कापट्टामा लगाउन्जेल पनि सहेकै हो, कोरोनाको हिसाब देऊ भन्दा थाहा नपाएजस्तो गरेकै हो, सब क्वारेन्टाइनलाई मृत्युकेन्द्र बनाउँदा मान्छेले केही भनेनन् त म के गरुँ, अहिले पनि घर–घरमा क्वारेन्टाइन बनाएर किरियापुत्रीको व्यवहार गर्नू, आफ्नै कोठामा बस्दा पनि २ मिटर टाढाबाट कुरा गर्नू, मास्क लाउनु, पानी नभए पनि हात मुसारिरहनु, नक्कली नै भए पनि स्यानी नभए ठूलीटाइजर प्रयोग गर्नू भनेर त्यत्रो निर्देशिका बनाएर पठाउँदा पनि नहुने, सुको नहुनेसँग पनि त कोरोना टेष्ट गर निजीमै गएर पनि पैसाको भारी बिसाऊ, खर्च मनग्गे गर, आखिर मरेपछि के लानु छ र भनेकै हो । जिउ भए त घिउ पिए, ऋणै गरेर भए पनि स्वास्थ्यजस्तो कुरामा व्यापार गर्न किन नहुने ?, आखिर अरु व्यापार बन्द छ, स्वास्थ्यमा भए पनि व्यापार गर्नु त प-यो नि । इनफ इज इनफको नाममा मन्त्रालयमा धर्ना दिन आउने, मेरै मन्त्रालयका विरुद्ध अदालत, अख्तियार र जतासुकै जाने, खालि मैमाथि खनिने, पब्लिक अडिट चाहियो भन्ने म कसरी यी सबै समस्याको हल गरौँ त, छक्क पर्नुछ, वा कोरोनाले म-या जम्मा ४५ बाढी पहिरोको चाहिँ एक सय ४५ को कुरै नआउने ? इति गाईजात्रा माहात्म्य दुई हजार सतहत्तर सम्पूर्णम् अशुभम् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्