Techie IT
१५ साउन २०७८, शुक्रबार

विद्यालय शिक्षा सबलीकरणमा अभिभावकको भूमिका


काठमाडौं ।
विद्यालयको भौतिक, आर्थिक तथा आवश्यक मानवी स्रोतसाधानको व्यवस्थापनका लागि पर्याप्त लगानीको खाँचो पर्दछ । सरकारी अनुदानमा सञ्चालित सामुदायिक विद्यालय सञ्चालन गर्न सरकारले अनुदान प्रदान गरेको हुन्छ । तर त्यस्तो अनुदान विद्यालय सञ्चालनलाई पर्याप्त नभएको गुनासो व्यवस्थापन समितिको पाइन्छ । निजी विद्यालय सञ्चालन त अभिभावकबाट उठाइने विभिन्न शुल्कबाट नै हुन्छ ।

यसरी विद्यालय सञ्चालनका लागि चाहिने स्रोत साधानको तर्जुमाको लागि अभिभावकसँगको सद्भावयुक्त सुसम्बन्धले मात्रै सहज हुनसक्छ । विद्यार्थीको पठनपाठन गुणस्तरीय भएमा मात्र अभिभावकको विश्वास र आस्था विद्यालयप्रति हुनेमा दुई मत हुँदैन । विद्यालय शिक्षाको सबलीकरणका लागि अभिभावकसँगको सद्भाव, सहयोग, सहकार्य, समन्वय, स्वामित्व, समीक्षा र स्वमूल्यांकन अर्थात् सात ‘स’ आधारभूत सर्त हुन् ।

आश्रितलाई पालनपोषण रेखदेख हेरविचार गरी संरक्षण गर्नेलाई सामान्य अर्थमा अभिभावक भनिन्छ । संरक्षकले आश्रितको भरणपोषण शारीरिक मानसिक, सामाजिक लगायत चौतर्फी विकासको लागि उपयुक्त वातावरण बनाउने अभिभारा बहन गर्नुपर्छ । अतः आश्रितको चौतर्फी विकासको लागि आवश्यक साधनस्रोत जुटाउने तिनीहरूको यथोचित सदुपयोग गर्ने कामको स्तरबाट मात्रै सफल अभिभावक मूल्यांकन हुनसक्छ ।

अभिभावक शब्दको व्यापक प्रयोग शिक्षा क्षेत्रमा महत्वका साथ हुने गरेको पाइन्छ । वर्तमान शिक्षा ऐन नियमले विद्यालयको व्यवस्थापकीय पक्षमा सेवाग्राहीको स्वामित्व स्पापना गर्ने हेतु व्यवस्थापन समितिको पदाधिकारी बन्न विद्यार्थीको अभिभावक हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ ।

बालबालिकाको विकास र वृद्धिमा परिपक्ता नआईसक्ने हुनाले उनीहरूको रेखदेख गरी आवश्यकताअनुसार न्यानो माया सद्भाव र सहयोगको खाँचो पर्दछ । अझ शिक्षा आर्जनको लागि त घर परिवारको शैक्षिक वातावरणले अहम भूमिका खेल्दछ । बालबालिकाको विकास वृद्धि तथा रुचिअनुसारको शैक्षिक वातावरण तर्जुमा गर्न आवश्यक सामग्री जुटाउनको लागि एक सचेत अभिभावकको सकारात्मक भूमिकाको नजरअन्दाज गर्न सकिन्न ।

यस तथ्यलाई आत्मसात गरेर शिक्षा ऐनले पनि अभिभावकको अधिकारिक पहुँच विद्यालयसम्म पु-याउने हेतुले विद्यालय व्यवस्थापन समितिको गठनमा अभिभावक हुनुपर्ने अनिवार्यता गरेको हो । तर कतिपय विद्यालयमा काइते तरिकाबाट नक्कली अभिभावक बनेर विद्यालयमा आफ्नो हैकम जमाउने कुत्सित नियत लिएर पनि प्रवेश गर्ने अपसंस्कृति हाबी भएको पाइन्छ । त्यस्ता स्वघोषित नक्कली अभिभावकले विद्यार्थीको हितको भन्दा आफ्नो व्यक्तिगत अभीष्ट पूर्ति गर्न प्राथमिकता दिएको पाइन्छ ।

अभिभावकहरूलाई घरमा बालबालिकाको पठनपाठनको कसरी व्यवस्थित गर्न सकिन्छ, विद्यालयको पठनपाठनलाई व्यवस्थित बनाउनको लागि के–कस्तो योगदान पु-याउन सकिन्छ ? वा विद्यालयप्रति अपनत्वको भावना जगाउने खालको कार्यक्रमलाई प्रोत्साहन एवं कार्यान्वयन गर्नु आजको संगठित अभिभावकहरूका प्राथमिकतामा पर्नुपर्दछ न कि स्वघोषित पदीय ढोँगी हैसियत प्रदर्शन गर्न ।

खाँटी अभिभावकहरूको व्यवस्थापन समिति गठन गर्ने नीति बनाई उनीहरूको सञ्जाल गठन गरी विद्यालयको शैक्षिक वातावरण गुणस्तरीय बनाउनु पर्दछ । व्यवस्थापन समितिको आफ्नो तीन वर्षको कार्यकालमा गरिने विकास र वृद्धिका निम्ति रणनीतिक कार्ययोजना भएको घोषणापत्र सार्वजनिक गरी उम्मेदवारी दिई आम अभिभावकबाट अनुमोदित गर्दै पदाधिकारी चयन गर्ने व्यवस्था भएमा निहित स्वार्थका लागि समितिमा प्रवेश गर्ने दुस्प्रयाशलाई केही हदसम्म निरुत्साहित गर्न टेवा पुग्न जान्छ ।

विद्यालय व्यवस्थापन समिति गठनमा देखिएका कतिपय विकृतिले शैक्षिक वातावरण अस्तव्यस्त बनाएको देखिन्छ । एउटा विद्यालयको शिक्षक अर्को विद्यालयको व्यवस्थापन समिति पदाधिकारीमा बसी प्रधानाध्यापक तथा शिक्षकलाई कज्याउने अभीष्ट राख्ने शिक्षकको संख्याको पनि कमी छैन । जसले आफू कार्यरत विद्यालयको दूरदशा स्वयंमले सुधार्न सकेको हुँदैन । त्यस्ताले अर्को विद्यालयको व्यवस्थापनमा के सहयोग गर्लान् । जसलाई आफ्नो भविष्य नजान्ने तर अरुका भविष्यबारे सुझाव अर्ती उपदेश दिने सडकपेटीमा बस्ने ज्योतिषका हैसियतसँग दाँज्दा अन्यथा नहोला । कानुनमा आवश्यक संशोधन गरेर यस्ता विकृतिलाई निरुत्साहित गरिनु पर्दछ ।

व्यवस्थापन समितिमा विद्यार्थीको प्रतिनिधित्व अनिवार्य गराउन सके बढी व्यावहारिक होला कि, किनकि वास्तविक प्रमुख सेवाग्राही भनेका विद्यार्थी हुन् । विद्यार्थी वर्तमानका साझेदार र भविष्यका कर्णधार हुन भन्ने यथार्थतालाई बिर्सिनु हुँदैन । साथै बालबालिका र विद्यार्थीले केही जान्दैनन् थाहा छैन भन्ने परम्परागत रुढीवादी मान्यताबाट मुक्त हुनुपर्दछ । कतिपय अवस्थामा धेरै कुराहरू उनीहरूबाट सिक्न सकिन्छ । विद्यालयमा ‘आउटडेटेड’ बासी शिक्षा दिने परम्परालाई निरुत्साहित गर्दै विद्यार्थीको चाहना र क्षमताअनुसार शिक्षा प्रदान गर्न उनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहित गरिनुपर्दछ । लोकतान्त्रिक संस्कारको अभ्यास र विकास गर्ने थलोको रूपमा विद्यालय सञ्चालन गरिनु पर्दछ ।

शिक्षण संस्था शिक्षाका अन्य निकाय र पदाधिकारीको रोजगारीको स्रोत भनेकै विद्यार्थी हुन । अतः विद्यार्थीको कारणबाट विद्यालय खुल्छन् । शिक्षक र शिक्षा निकायका कर्मचारीले रोजगारी पाउँछन् आयआर्जनको स्रोत हुन्छ र आफ्नो जीविका चलाउने अवसर पाउछन् । अतः यथार्थतामा सम्पूर्ण शिक्षण संस्थामा रोजगारी गर्ने शिक्षाकर्मीको रोजगारदाता विद्यार्थी नै हुन् । यसरी जागिरको सार्वभौमसत्ता विद्यार्थीको संख्यात्मक र गुणात्मक अवस्थामा अडेको हुन्छ भन्दा अन्यथा नहोला तसर्थ शिक्षा क्षेत्रमा कार्यरत पेसाकर्मीहरूको अन्नदाता हाकिम विद्यार्थी हुन् ।

विद्यार्थीलाई खुसी पार्नसकेमा मात्र रोजगार सुरक्षित हुने अन्तिम सत्य हो । उनीहरूको चौतर्फी विकासलाई सर्वोपरी मानेर शैक्षिक गतिविधि सञ्चालन गरिनुपर्दछ । विद्यार्थीहरूको कारणबाट आय आर्जन गरी आफ्नो र परिवारको भरणपोषण शिक्षाकर्मीको लागि आधार स्तम्भ भएकोले वास्तविक अभिभावक विद्यार्थी हुन् । अझ निजी संस्थागत विद्यालयमा त सम्पूर्ण खर्च विद्यार्थीको स्रोतबाट सञ्चालन हुन्छन् । जसले गर्दा उनिहरूलाई प्रतिस्पर्धी बनाएको पनि छ ।

बालबालिकाले विभिन्न माध्यमबाट स्वभावैले शिक्षण संस्थाबाहिर पनि धेरै कुरा सिक्न र जान्न सक्छन् । यी वास्तविक अभिभावक विद्यार्थीको अनुभवलाई शैक्षणिक गतिविधि सञ्चालनमा सहभागि बनाउनमा प्रोत्साहित गर्न कञ्जुस्याइँ गरिनुहुन्न । अन्यथा जसको बिहे उसलाई देख्न नदे भन्ने युक्ति चरित्रार्थ नहोला भन्न सकिन्न । विद्यार्थीको कारणबाट शिक्षाका निकाय संघसंस्थाको स्थापना र रोजगार सिर्जना हुनेहुँदा समग्र शिक्षा क्षेत्रका पदाधिकारीहरूको वास्तविक अभिभावक विद्यार्थी भएकोले शैक्षिक नीति निर्माण योजना कार्यक्रम इमानदारीपूर्वक विद्यार्थीलाई केन्द्रबिन्दुमा राखेर बनाउनुपर्छ भन्दा दुईमत नहोला ।

विद्यालयको वातावरण चित्ताकर्षक रमणीय, बनाउन सके विद्यार्थी विद्यालयबाट भागेर घर जानुको साटो घरबाट भागेर विद्यालय आउन सक्छन् । विद्यार्थीहरू व्यवस्थापन समितिमा पनि अभिभावक हुन किनकि उनकै कारणवाट पदाधिकारी हुनपाएको यथार्थतालाई बिर्सन हुँदैन । बालबालिका स्वभावैले चञ्चले र खेल्न रुचाउछन् त्यसकारण विद्यालयमा कक्षाकोठा भन्दा । सुरक्षित खेल्ने चौरले महत्व राख्दछ ।

हाम्रो देश गरिब नभएर व्यवस्थापकीय पक्ष कमजोर हो भन्नेझैँ विद्यालय व्यवस्थापन समितिले आफ्नो जीम्मेवारी इमानदारीपूर्वक योजनाबद्ध रूपमा सम्पन्न गरिनुपर्दछ । अन्ततः शिक्षा क्षेत्रमा कार्यरत सम्पूर्ण शिक्षा कर्मीहरूको पेसागत पदीय हैसियतको सार्वभौमिकता विद्यार्थीको संख्यात्मक र गुणात्मक वास्तविक्तामा अडेको हुन्छ । त्यसकारण वास्तविक अभिभावक विद्यार्थी नै हुन् भन्दा अन्यथा नहोला । सचेत अभिवाक, अनुशासित विद्यार्थी, व्यावहारिक पाठ्यक्रम, दूरदर्शी प्रधानाध्यापक, लगनशील शिक्षक, कुशल व्यवस्थापन समिति, जागरुक समुदाय र भविष्यदर्शी एवं कार्यान्वयनयोग्य शिक्षा नीतिमा मात्र गुणस्तरीय शिक्षाको सुनिश्चितता हुनेतर्फ सबैको हेक्का रहनु बुद्धिमानी ठहर्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्