Techie IT
९ असार २०७८, बुधबार

कोरोना महामारीमा दन्त्य चिकित्सा


काठमाडौं ।
नेपाललगायत विश्वका प्रायः सबैजसो मुलुक कोरोना भाइरसको संक्रमणबाट नराम्ररी प्रभावित भएका छन् । एक वर्षअघि चीनबाट सुरु भएको यो संक्रमणको अहिले दोस्रो लहर धेरै देशमा फैलिएको छ । नयाँ–नयाँ भेरियन्ट आउनसक्ने विशेषज्ञहरूको भनाइले विश्व समुदायलाई झन् चिन्तित तुल्याएको छ । जेष्ठ नागरिक, युवा वर्गमा बढी देखिएको कोरोनाले अब बालबालिकालाई समेत सङ्क्रमित बनाउन सक्ने बताइएको छ । यस्तो अवस्थामा कसरी सुरक्षित रहने भन्ने प्रश्न उब्जिएको छ । बिरामीको उपचारमा संलग्न चिकित्सकहरू आफैँ संक्रमित हुँदा रोगलाई नियन्त्रण गर्न झन् समस्या हुने गर्दछ । त्यसैले बिरामी र चिकित्सक दुवैले सावधानीपूर्वक रोगको उपचारमा ध्यान दिनु जरुरी हुन्छ ।

कोरोनाको संक्रमण भएका व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा निस्कने ससाना थुकका कणहरूबाट अरु व्यक्तिमा सजिलै सर्नसक्ने हुँदा अन्य चिकित्साभन्दा पनि दन्त चिकित्सामा अझ बढी चुनौती थपिएको छ । अस्पताल वा क्लिनिकहरूमा बिरामीको आगमनदेखि नै प्रत्यक्ष रूपमा बिरामीको श्वासप्रश्वाससँग घुलमिल हुनुपर्ने दन्त चिकित्सा यो समयमा जोखिमको अग्रपंक्तिमा रहेको छ । कोरोना भाइरस संक्रमित व्यक्तिको थुक र -यालबाट छिटै सर्ने हुँदा दाँत तथा मुखको उपचार गर्ने क्रममा चिकित्सक एवं स्वास्थ्यकर्मीहरूले विशेष सर्तकता अपनाउनु पर्छ ।

दाँतमा रहेको सामान्य किसिमको फोहोर सफा गर्नदेखि जटिल किसिमका दन्त उपचार गर्ने क्रममा पानी र हावाका माध्यमबाट सञ्चालित उपकरण प्रयोग गरिन्छ । सो समयमा निस्कने पानीका कणहरू मुखमा रहेका थोक, रगतसँग मिसिएर उपचार कक्षको वातावरणमा सजिल फैलिने गर्दछ । यदि उपचाररत बिरामी कोरोना भाइरसबाट संक्रमित रहेको छ भने भाइरस भएको मसिना थुक्का कणहरू सोही उपचार कक्षको हावामा धेरै समयसम्म रहन्छ र उपचारमा खटिएका चिकित्सक साथै सहयोगीको शरीरमा सजिल प्रवेश गर्न सक्दछ । यति मात्र नभएर उपचारका लागि आउने अरु बिरामीहरूमा पनि सो हावाबाट यो भाइरस सजिलै सर्नसक्ने हुँदा विशेष स्वास्थ्य सावधानी अपनाउनु पर्ने हुन्छ ।

दन्त चिकित्सामा बिरामीले जस्तै चिकित्सकले पनि उत्तिकै सावधानी अपनाउनु पर्छ । उपचारमा खटिएका चिकित्सक र सहयोगीले पीपीई, फेससिल्डलगायतका व्यक्तिगत सुरक्षात्मक उपकरण लगाइरहनु पर्दछ । अति आवश्यकबाहेकका सबै दन्त उपचारहरू अहिलेको अवस्थामा स्थगित गरेर पछि अवस्था सामान्य भएको बेला गराउँदा हुन्छ । उपचार गर्नैपर्ने अवस्थामा बिरामीको तापक्रम नापेर मात्र उपचार कक्षभित्र प्रवेश गराउने, कुनै पनि उपचार गर्नअघि मुख कुल्ला गर्ने औषधि (माउथवास) प्रयोग गर्नेजस्ता सामान्य कुराहरूमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

यस्तो अवस्थामा एकै दिन धेरै जना बिरामीको उपचार पनि गर्नु राम्रो होइन । एउटा बिरामीको उपचार गरेको आधा घण्टापछि मात्र अर्को बिरामीको उपचार गरेको अवस्थामा संक्रमण फैलिने भय कम हुन्छ । त्यस्तै उपचार कक्षको हावामा रहेको बिरामीका थुकका कणहरू हटाउनको लागि उच्च क्षमताको सक्शनको प्रयोग गर्न सकिन्छ । हावा आवतजावत हुनेगरी झ्याल ढोका खोलेर राख्ने, एक जना बिरामीको उपचार गरिसकेपछि कोठा राम्रोसँग सेनिटाइज गर्नेलगायतका नेपाल डेन्टल एसोसिएसनले जारी गरेको मापदण्डहरू पालना गर्नुपर्छ ।

अहिलेको विषम अवस्थामा दाँतको उपचार गर्नु निकै जोखिम हुन्छ भन्ने सोचेर समस्या दबाएर राख्नु भने हुँदैन । यो महामारीको समयमा पहिलेको भन्दा कम दन्त चिकित्सालय सञ्चालनमा आएका छन् । तर अहिले पनि आकस्मिक उपचार भने भइरहेको छ । त्यसैले आफ्ना समस्या जटिल हो या होइन भन्ने पहिला नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग परामर्श लिनुपर्दछ र उनीहरूका सल्लाहबमोजिम उपचार गर्नुपर्दछ ।

सामान्य ढङ्गबाट घरमै उपचार हुन नसक्ने अवस्थामा अस्पताल वा क्लिनिकमा उपचार गर्न जानुपर्ने भएमा सकेसम्म बिरामी मात्र जानु उपयुक्त हुन्छ । यस्तो बेलामा अनावश्यक भीडभाड गर्नुहुँदैन । उपचार गर्नुअगाडि ज्वरो वा कोरोना भाइरसको अन्य मिल्लोजुल्दो लक्षण देखिएको छ भने त्यसबारेमा बिरामीले चिकित्सकलाई पहिले नै जानकारी गराउनु पर्दछ । दाँत र मुखसम्बन्धी समस्याका लागि आफूखुसी औषधि सेवन भने गर्नुहुँदैन । अहिले दन्त चिकित्सकसँग फोन अथवा अनलाइनमार्फत परामर्श लिन सकिन्छ ।

अहिलेको विषम अवस्थामा दाँत तथा मुखका बिरामीको सुविधालाई ध्यानमा राखी डेन्टल कम्युनिटी फर ह्युमनिटीले ‘हेलो डेन्टिस्ट’ नाम अनलाइन निःशुल्क परामर्श सेवा सञ्चालनमा ल्याएको छ । यसैगरी नेपाल डेन्टल एसोसिएसनले पनि टोल फ्रि नम्बरबाट निःशुल्क परामर्श दिन सुरु गरेको छ । यसमार्फत देशका जुनसुकै ठाउँबाट चौबीसै घण्टा बिरामीले आवश्यक परामर्श पाउन सक्नेछन् ।

अहिलेको यो बन्दाबन्दीका अवस्थामा घरमै बसिरहँदा दाँतको हेरचाहमा कमी आएको पाइन्छ । यसको कारणले गर्दा दाँत फोहोर हुने, गिजा सुन्निने र दाँतमा कीरा लागि प्वाल पर्ने सम्भावना बढी भएका छ । त्यसैले नियमितरूपमा दिनमा दुई पटक दाँत माझ्ने र डेन्टल फ्लसको प्रयोग गरी दाँतको बीचमा रहेको फोहरहरू निकाल्नुपर्छ । साथै, भाइरस पुष्टि भइसकेका वा लक्षण देखिएका व्यक्तिहरू पीसीआर परीक्षण गरी आइसोलेसनमा बस्नुपर्दछ र संक्रमणमुक्त नभएसम्म बाहिर हिँडडुल गरी अरुको सम्पर्कमा आउनु हुँदैन ।

आइसोलेसनमा बसेका बिरामीहरूले पनि अन्य समयमा जस्तै विशेष सतर्कता अपनाउनुपर्छ । यतिबेला परिवारका अन्य सदस्यले प्रयोग गरेको मन्जन नभई आफ्नो लागि छुट्टै प्रयोग गर्नपर्छ । दिनमा दुई पटक बिहान बेलुका राम्रोसँग ब्रस गर्नुपर्छ । ब्रसमा रहेको पछाडिपट्टीको भागले जिब्रोको पनि राम्रोसँग सफा गर्दा जिब्रोमा रहेका फोहर बाहिर निस्कन्छ । नुनपानीले मुख र घाँटीसम्म पुग्ने गरी कुल्ला गरेमा मुख र घाँटीमा आउने समस्या कम गर्दछ ।

संक्रमण मुक्त भइसकेपछि आफूले प्रयोग गरेको ब्रस फोहरमा फाल्ने र नयाँ ब्रस प्रयोग गर्नुपर्छ । ब्याट्रीबाट चल्ने ब्रस छ भने राम्रोसँग सफा गरी माथिको भाग मात्र परिवर्तन गरे पुग्दछ । संक्रमणको समयमा ब्रसमा रहेका कीटाणुहरू रहिरहन सक्ने भएकाले पुरानो ब्रसको प्रयोग गर्नु हुँदैन । जिब्रो सफा गर्ने उपकरण प्रयोग गर्नुहुन्छ भने त्यो पनि परिवर्तन गरी नयाँ प्रयोग गर्नुपर्छ । मुखभित्र नयाँ किसिमका घाउ अथवा कुनै असजिलो वा दुखाइ भएको छ भने दन्त चिकित्सकको परामर्श लिन ढिला गर्नु हुँदैन । (लेखक दन्त चिकित्सक हुनुहुन्छ) (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्