Techie IT
आईतबार, कात्तिक ९,२०७७

पर्यटकीय तथा ऐतिहासिक धरोहर : अजिरकोट क्षेत्र


डा. माधव अधिकारी
गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा पर्ने अजिरकोट एक पर्यटकीय, ऐतिहासिक एवं धार्मिक तथा सांस्कृतिक धरोहरको रूपमा रहेको छ । गोरखा जिल्लामा प्राचीन ३८ कोटहरू छन्, त्यसमध्ये अजिरकोट एक हो । तल्लो मनास्लु कोट मार्गमा पर्ने अजिरकोट भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपातल, नागेक्षेत्र, माडिक्षेत्र, दुधपोखरी, मनास्लु हिमालको मनोहर दृश्यको अवलोकन गर्न सकिन्छ । कोटमार्गको लिलिककोट, सिरानचोककोट, अजिरकोट, सिम्जुङकोट र अपुनकोट प्रसिद्ध छन् ।

यस क्षेत्र पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । यो मार्गबाट दुधपोखरी र नारदपोखरी तथा मनास्लु हिमशृङ्खला जान सकिन्छ । दुधपोखरी, सिरानडाँडा, दोबाटो, ठूलोखर्क, निम्चेपोखरी, जम्ल्याहा खोला, गल्छी, राम्दीको चौतारा, धुपीखोला, मपुरमाडी, तुइखर्क, बाङ्गे रह, खहरेको उकालो र धर्म गौडा भएर पुग्न सकिन्छ । नारदपोखरी पनि सिरानडाँडाबाट दोबाटो, पौनडाँडा, नाजिखर्क, नागेपोखरी, डिलको ओडार, तपिडाँडा, सिरानखोला, मार्कसेमाडी, पौखोला, चिलिमखरे ओडार, बौलाखोला, चरममाडी हँदै पुग्न सकिन्छ ।

दुधपोखरी र नारदपोखरीमा जनैपूर्णिमा मा धार्मिक मेला लाग्ने गर्दछ । दुधपोखरी र नारदपोखरी माथिसम्म पनि भेडाखर्क देखिन्छ । हिमाली क्षेत्र जडीबुटीको खानी हो । यस क्षेत्रमा सतुवा, वनलसुन, पाँचऔँले, नीरमसी, जटामसी, भुतकेश, यार्सागम्बा, पाखनवेद, रथविरथजस्ता अनगिन्ती जडीबुटी पाइन्छ । वनस्पतिमा गुँरास, चिमल, चाँप, धुपी, भोजपत्र आदि पाइन्छ । फलफूलमा भुँइचुत्रो, भोटेचुत्रो, भक्याम्लो, काफल, मेल, नाल्चे फलफूल पाइन्छ । तरकारीमा निउरो, टुसा, कन्य च्याउ, खोचे, वनलसुन, साग, सिस्नो, खोलसाग, जेठीसाग, ठोट्ने, मुलापात आदि पाइन्छन् । जीवजन्तुमा मृग, कस्तुरी, थार, बाघ, भालु, बाँदर, फ्याउरो, दुम्सी, बनविरालो, मुनाल, डाँफे, कालिज, ल्याचे, बनकुखुरा आदि पाइन्छन् ।

अजिरकोट क्षेत्रमा खनिज, जडीबुटी, पशुपन्छी, वन्यजन्तु, नदीनाला, ताल तथा सिसा, फलाम, स्लेट, ढुंगा खानीजस्ता प्राकृतिक स्रोत साधन छन् भने हर्रो, बर्रो, गुर्जो, लेमन ग्रास, तिते, चिराइतो, मुस्रो, कटुस, हात्ती पाइले, कम्मरी लहरा, कुरिलो, बोजो, अलैंची आदि जडीबुटीहरू पाइन्छ । त्यसैगरी प्रमुख वनस्पतिहरूमा कटुस, उत्तिस, चिलाउने, लाकुरी, लालीगुँरास, वर, पीपल, चाप काफल, अमला, लप्सी, निगालो, बाँस आदि पर्दछन् । ऐँसेलु, चुत्रो, मडिलो, मेल, भक्याउम्लो, दया, कैचल, बोटी, जामुनो, गुयली, तरुल, अंगेरीजस्ता जंगली फलपूmलहरू तथा सुन्तला पाइन्छन् ।

त्यस्तै जंगली जनावरहरूमा स्याल, बाँदर, फ्याउरो, वन बिरालो, खरायो, लोखर्के, लप्सी निलुवा, ओत, न्याउरी मुसा, चितुवा, बाघ, हरिण, मालछाप्रो, दुम्सी, लंगुर बाँदर, ढेडु आदि पर्दछन् । त्यसैगरी जंगली पन्छीहरूमा कालिज, कोइली, पति फिस्टा, आलीचरा, कोटेरा, गौंथली, सुगा, धानचरा, काग गिद्ध, चिल, बाज, कल्चु, हुचिल, भद्राइ, चिबै रेलोउ, कुकु, काफल पाक्यो आदि पर्दछन् । विश्वमै दुर्लभ मानिने काँडे भ्याकुर पनि यहाँ पाइन्छन् । अन्य बालीमा धान, मकै, कोदो, फापर, जौ, उवा, करु, आलु, तोरी, सरसिम, बदाम, भटमास, सिमी आदि पाइन्छ ।

अजिरकोट क्षेत्रको मार्गबाट हरियाली, माडी, पोखरी, खर्कका भेडीगोठ र हिमाली दृष्यको सौन्दर्यले जो–कोही पनि मुग्ध हुनु स्वभाविक नै हो । अजिरकोटबाट मनासलु, हिमालचुली, बौद्धनाथ, मनासलु उत्तर, रउला हिमाल, श्रृंगी हिमाल आदि साथै नागवेली आकारमा चेपे र दरौंदी खोला तथा हरियो वनको मनमोहक दृश्य देख्न सकिन्छ । राष्ट्रिय संस्कृतिको स्वरूप लिन यहाँको लोकसांस्कृतिक एकतामा समाहित भएर अजिरकोट क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर परम्परा बचाएको पाइन्छ र आफ्नै मौलिक जातीय पहिचानमा मौलाएको पाइन्छ ।

हिमाली भेगको जातीय पहिचानमा सिर्जिएका गुरुङ समाजका घाँटु, सोरठी, मारुनी, स्यार्गा, छ्याँडु, ठाडो–भाका, तामाङ समाजमा प्रचलित सेलो, टुङ्ना, ब्रामहण–क्षेत्री समाजमा चर्चित बालन, भजन–चुड्का, तीज, माहल आदि प्रचलित दोहोरी, झ्याउरे, सरस्वती नाच, पञ्चैबाजा नाच र प्रायः सबै जातजातिमा प्रसिद्ध देउसीभैलो आदि प्रसिद्ध नाचगानले यस समाजको पृष्ठभूमिमा सिर्जित लोक संस्कृतिले मुख्य स्थान लिएको पाइन्छ । यस्तै बहुरीतिरिवाज, चालचलन, रहनसहन, भेषभूषा, बोलीवचन, साहिनो अभिवादन, धर्मकर्म, लोकपरम्परा, कलाकौशल, लोकसाहित्य र तिनको दैनिक उपभोग्य सामानको प्रयोगमा माझिएको ग्रामीण जीवनशैली यहाँका जनताको आफ्नै निजी सम्पत्ति हुन् ।

अजिरकोट छेउछाउका कालिका मन्दिर (अजिरकोट), भच्चेककी देवी (भच्चेक), झ्याल्लाका भुमे, अलका–विन्ध्यवासिनी (धादिङगरा), बौद्धगुम्बा (बुद्धसिङ), रामपाध्याय स्थानी (डिहीटार), पयुँबोटे देवी (लप्सीबोट), शिवालय मन्दिर (देउराली–बुद्धसिङ–टार), शिवालय मन्दिर (काफलडाँडा), शिवालय मन्दिर (ठासस्वाँरा–काफलडाँडा), खरिवोट, अपुन, भिरकुना, घ्याचोक, धनसिरा, मुच्चोक, माल्ले, झ्याँवा, सिमजुङ्ग, खरिवोटमा अवस्थित विभिन्न देवी देवताका भुमे स्थान, मन्दिर आदि अनगिन्ती धरोहरका रूपमा छन् ।

विश्वमा सूचना र सञ्चारको जगतमा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ ।

विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ ।

विश्वको बद्लिदो आर्थिक परिवेशलाई आत्मसाथ गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ ।

यसै परिवेशमा विश्वमा माहामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।

समृद्ध गाउँको रोखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोशाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूमिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

यस क्षेत्रमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिवाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रष्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।

भगवान गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको रूपमा मात्र विश्वमा परिचित नभई पर्यटन, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रको रूपमा समेत चिनिन्छ । आर्य तथा मंगोल संस्कृतिको संगमस्थल रहेको क्षेत्र हिन्दू तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्राम स्थलको रूपमा रहेको छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौँदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मिहिनेती समुुदायको साझा फूलबारी हो ।

यस क्षेत्र प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भएपनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमिले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ ।

ऐतिहासिक एवं पर्यटकीयस्थल हुँदा छुट्टै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण अजिरकोट क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ ।

ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवंं वातावरणको संरक्षण र सम्वद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो ।

यस क्षेत्रको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन ।

यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू गाउँपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था अझै कमी छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, अजिरकोट क्षेत्रको लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तर गाउँपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । अजिरकोट गाउँपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ ।

पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी श्रृजना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस अजिरकोट गाउँपालिका क्षेत्र भित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ ।

पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकोले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुने छ । यस क्षेत्रबाट हिमाली दृष्यको सौन्दर्यपान गर्दै पर्यटकीय विकासका लागि विभिन्न प्रकारको कार्यक्रमहरू गर्न सके अर्थतन्त्रमा दरिलो टेवा पुग्ने थियो । अन्त्यमाः कोभिड–१९ को माहामारीमा सामाजिक दूरी कायम गरौं, मास्क लगाऔँ, आत्माबल दरिलो बनाई कोभिड–१९ लाई परास्त गरी पर्यटन विकासको नयाँ चरणमा जाऔँ ।  (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्