Techie IT
शनिबार, मंसीर २०,२०७७

समृद्धिको यात्रामा ज्येष्ठ नागरिकको भूमिका


ज्येष्ठ नागरिकहरू देशको समृद्धिको यात्रामा निःशुल्क योगदान गरी मातृभूमिको सेवा गर्न लालयित छन् । मेरो समाज मेरो योगदान जस्ता अभियान सञ्चालन गरी ज्येष्ठ नागरिकलाई सामाजिक रूपान्तरणमा उत्साहप्रद सहभागिता गराउन सरकार र सरोकार पक्षले ध्यान दिनु जरुरी छ । वृद्धवृद्धाले आफ्नो लामो जीवनभरि संगालेका ज्ञान सीप पछिल्लो पुस्ताका लागि अर्ती उपदेश अमूल्य मार्गदर्शनको रूपमा सदुपयोग गरिनु बुद्धिमानी ठहर्छ ।

कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको अनि पितृ देवो भव, मातृ देवो भवजस्ता परम्परागत आदर्श वाक्य आत्मसात गर्दै सदिऔं चलेको हाम्रो संस्कारमा पछिल्लो समयमा विचलन आउन थालेको जगजाहेर नै छ । संयुक्त परिवारबाट एकल परिवारमा बस्ने चलन बढ्दै गएको परिवेशमा आर्थिक, सामाजिक, र मानसिकरूपमा ज्येष्ठ नागरिक रमाउने वातावरणमा ह्रास आउँदै गएको महससुस हुँदै छ । बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथिको भनाइ चरितार्थ हुँदै गएको छ ।

अचेल बाबुभन्दा छोरो जान्ने खुकुरीभन्दा कर्द लाग्ने प्रवृत्ति हाबी हुनु शुभसंकेत होइन । संयुक्त परिवारमा बस्ने परम्परागत चलनमा क्रमश विचलन भई एकल परिवारमा बस्ने बानी बढ्दै छ । वृद्धवृद्धा प्रति सन्ततीको कर्तव्यबोध र जिम्मेवारीको भावना क्रमश उपेक्षित हुँदै गएको छ । जसका कारण पारिवारिक स्नेहबाट अग्रजहरू विमुख हुन पुगेका छन् । दुःख पीडा र हिनताबोधजस्ता निराशाजनक जीवन जीउन विवश हुन पुगेका वृद्धवृद्धाको संख्या बढ्दो क्रममा छ । मनव जीवनचक्रमा एक पटक पुग्नैपर्ने वृद्ध अवस्था हो । माया, ममता र करुणाका खानी ज्येष्ठ नागरिकको चित्त दुखाउनु सन्तती, समाज र सरकारका लागि आत्मघाती कदम हो ।

देश विकासको महायज्ञमा सबै उमेरका जनताको सक्रिय सहभागिता अपरिहार्य रहन्छ । तुलनात्मक रूपमा युवा वर्गको योगदान उल्लेख्य रहने भए पनि ज्येष्ठ नागरिकको भूमिकालाई पनि नजरअन्दाज गरिनु हुन्न । ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा भोगेका असीमित अनुभवहरूको सदुपयोग देश विकासमा लगाउने योजना तथा नीतिहरू राज्यले बनाउन चुक्नु हुन्न । ज्येष्ठ नागरिक राज्यका अमूल्य सम्पत्ति हुन् ।

ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पुँजीका रूपमा विकास गरिनु पर्दछ । विकास निर्माणमा, आइपर्ने जोखिम र अवरोधहरूलाई ज्येष्ठ नागरिकले विगतमा भोगेका र समाधानमा अपनाएका ज्ञान, सीप र दक्षताको प्रयोगबाट सहजरूपमा समाधान खोज्न टेवा पुग्छ । जसबाट समय र लगानीको बचत गर्न सकिन्छ । सरकारी गैरसरकारी क्षेत्रमा बसेर कामगरेका निवृत्त कर्मचारीको विज्ञताको यथाशक्य प्रयोग समृद्ध नेपाल सुखी नेपाली बनाउने लक्ष्य प्राप्तिमा होस्टमा हैंसे हुन सक्छ ।

कतिपय अवस्थामा निवृतहरूको योग्यता, दक्षता र अनुभव हासिल गर्न राज्यको लगानी समेत रहेको हुन्छ । स्वतन्त्ररूपमा समाजमा आफ्नो संस्कार संस्कृति र सीप जगेर्ना गर्दै जीविका चलाइरहेका ज्येष्ठ नागरिकको दक्षताको उपयोग परम्परागत कला संस्कृतिको संरक्षण र पुस्तान्तरणका साथै पर्यटन प्रवर्द्धनमा समेत सदुपयोग गर्न सकिन्छ ।

संयुक्त राष्ट्रसंघले सन् १९९१ मा वृद्धवृद्धाहरूका स्वतन्त्रता, सहभागिता, रेखदेख, आत्मसन्तुष्टि र मर्यादालाई प्राथमिकता दिएर प्रस्ताव नै पास गरेको थियो । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको मौलिक हकको सुनिश्चित गरेको छ । विद्यमान ज्येष्ठ नागरिक ऐनले ७० वर्ष उमेर नपुगेका सामान्य ज्येष्ठ नागरिक र ७० वर्ष उमेर पूरा गरेकालाई वरिष्ठ ज्येष्ठ नागरिकको रूपमा परिभाषित गरेको छ । त्यस्तै असहाय, अशक्त र एकलको आधारमा ज्येष्ठ नागरिकको वर्गिकरण गरिएको छ ।

स्वास्थ्य र जनचेतनामा सकारात्मक परिवर्तनका कारण नेपालीको सरदर बाँच्ने आयुदर वृद्धि हुँदै गएको छ । अहिले नेपालीको सरदर बाँच्ने आयुदर ६८ वर्ष पुगेको छ । जसको फलस्वरूप ६० वर्षे ज्येष्ठ नागरिकको संख्या बढ्नु स्वाभाविकै हो । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या वृद्धिदर २ दशमलव १ प्रतिशत थियो भने ज्येष्ठ नागरिकको जनसंख्या वृद्धिदर ३.४ प्रतिशत रहेको देखिन्छ ।

नेपालको जनसंख्याको ८.१३ प्रतिशत ज्येष्ठ नागरिक छन् । यसमा पनि पुरुषको भन्दा महिलाको संख्या उच्च रहेको छ । विगत पछिल्ला पाँच जनगणनाको विश्लेषण गर्दा ज्येष्ठ नागरिकको संख्या बढ्ने निश्चित नै छ । ज्येष्ठ नागरिकको संख्यात्मक वृद्धिअनुसार उनिहरूको गाँस, वास र कपासको उचित प्रबन्ध गर्ने दायित्व सन्तति र सरकारको हो ।

साधरणतया वृद्ध अवस्थामा देखिएका र भोगिएका समस्याहरूमा खान पान र औषधि उपचारको उपयुक्त व्यवस्था, बसोबासको उचित प्रबन्ध, मर्यादा, आत्मसन्तुष्टि, मनोरञ्जनात्मक वातावरणको सहजता, सिर्जनात्मक अनुभवको उपयोग, आर्थिक तथा सामाजिक सुरक्षाको सुनिश्चितता, आरोग्य वा वृद्ध आश्रमको उचित व्यवस्थापन आदीमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

ज्येष्ठ नागरिकको दिनचर्यालाई सक्रिय, स्वस्थ र आत्मनिर्भर बनाउन उनिहरूको शारीरिक र मानसिक तन्द्रुस्तीअनुकूल बालबच्चा हेर्ने, खाना बनाउने, कृषिकर्ममा लगाउने, व्यापार व्यवसायमा सक्रिय बनाउन सकिन्छ । त्यस्तै विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका चिकित्सक, व्यवस्थापक, प्राविधिकलगायतका विज्ञहरूको अनुभवलाई सामाज सेवा र देश निर्माणमा सदुपयोग गर्न सकिन्छ ।

ज्येष्ठ नागरिकको हितमा नेपालमा विविध नीति तथा रणनीति अवलम्बन गरिएका छन् । चालू पन्ध्रौँ योजनाले ज्येष्ठ नागरिकहरूको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाई उनीहरको ज्ञान, सीप–सीप र अनुभवलाई राष्ट्रले समृद्धिको लागि उपयोग गर्ने लक्ष्य लिएको छ । आव २०७७–७८ को बजेटमार्फत ज्येष्ठ नागरिकको उल्लिखित अनुभवलाई स्थानीय सरकारसँगको सहकार्यमा ज्ञानकेन्द्र, ध्यानकेन्द्र र आरामकेन्द्र स्थापना गर्दै पुस्तान्तरण गर्दै जाने अवधारणा ल्याएको छ । त्यस्तै अल्जाइमरलगायत उमेरगत रोगहरूको निःशुल्क उपचार तथा असहाय ज्येष्ठ नागरिकका लागि समरक्षणको व्यवस्था समेत गर्ने उल्लेख छ ।

ज्येष्ठ नागरिकको लागि मासिक ३ हजार भत्ता, निःशुल्क स्वास्थ्य बीमा, यातायात तथा औषधोपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचय पत्र, सेवाप्रवाहमा विशेष प्राथमिकता दिइने नीति लिइएको पाइन्छ । सरकार र सरोकार संघसंस्थाको पहलमा ज्येष्ठ नागरिक कोष स्थापना भए पनि प्रभावकारिता ल्याउन थप पहल गर्नुपर्ने खाँचो खट्किएको छ ।

ज्येष्ठ नागरिक ऐन, तथा नियमहरूमा भएका कल्याणकारी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच सहकार्य र जिम्मेवारीबोध हुनु पर्दछ । दिवा सेवा तथा दिवा मिलन केन्द्र, असक्त स्याहार केन्द्रलगायतका सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन र सहकार्यमा सरकारी र गैरसरकारी संघसंस्थाका सदभाव, सहयोग, सहकार्य र समन्वयमा मात्र ज्येष्ठ नागरिकका लागि गरिएको कल्याणकारी कामले सार्थकता पाउन सक्छन् । वर्तमानमा कोरोना उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकको उपचार र संरक्षणमा सबैको उत्तिकै चिन्ता र चासो हुनुपर्दछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्