Techie IT
शनिबार, असोज ३,२०७७

प्राकृतिक प्रकोपले आर्थिक विकासमा न्यूनता


मुलुकको वर्गक्षेत्रफलको आधारमा हाल कायम रहन आएको जनसंख्याको वृद्धिदरलाई भयाभय मान्नुपर्ने हुन्छ । तथापि विश्वको जनसंख्या वृद्धिको अनुपातलाई तुलनात्मक रूपमा अध्ययन गर्दा शून्य दशमलव ३७ प्रतिशत प्रतिशतको नेपालको वार्षिक जनसंख्या वृद्धिलाई त्यति अधिक भने मान्न सकिँदैन । एक्काइसौँ शताब्दीको आधुनिक चिकित्सा विज्ञानको क्षेत्रमा आएको अभूतपूर्व सफलता एवं सकारात्मक परिणामजनक प्रगतिस्वरूप नेपालीहरूको औषत आयुमा वृद्धि भई क्रमशः मृत्युका दरमा कमी आएको तथ्यांकले औँल्याएको छ ।

किनकि बढ्दो जनसंख्याको खाद्य संकट समाधान गर्न सम्बद्ध क्षेत्रको उत्पादनलाई विशेष हेक्का राख्दै कार्य गर्नुपर्ने हुन्छ । जसले यस क्षेत्रमा आत्मनिर्भताको मार्गलाई सार्थक बनाउन सहयोगीको भूमिका निर्वाह गर्नेछ । जुन निश्चितरूपमा भूमिको पर्याप्तता वा अपर्याप्तामा आधारित रहने कुरा हो । तर प्रकृति प्रदत्त भूमि सीमित रहनुको साथै एकल परिवारको अवधारणाको विकासले भू–स्वामित्वको क्षेत्रमा खण्डीकरणको अत्यधिकताले परम्परागत कृषिजन्य कार्य ह्रासउन्मुख गतिमा अगाडि बढेको वर्तमान अवस्था हो । केही दशकअघिसम्म खाद्य उत्पादनको क्षेत्रमा आत्मनिर्भर रहने मुलुक नेपाल हाल प्रमुख खाद्यान्न बाली धानसमेत आयात गर्नुपर्ने लजास्पद वातावरण तयार भएको छ ।

केही हदसम्म कृषिजन्य आधुनिक प्रविधिको विकासले उर्वराशक्तिमा वृद्धि गरी घनात्मक परिणाम हासिल गरे पनि दिनहुँ बढ्दै गएको जनसंख्याको खाद्यचापलाई पूरा गर्ने अवस्था अब भने रहेन । जसले गर्दा खाद्यान्नको क्षेत्रमा समेत आयातजन्य अवस्था प्रारम्भ हुनको साथै चरम भोकमरीको स्थितिले भयाभह रूप धारण गर्न सक्ने देखिन्छ ।

अतः प्रस्तुत समस्या समाधानार्थ कृषिमा यान्त्रिक एवं व्यावसायिक खेतीको उपादयतासहितको कार्ययोजना आजको आवश्यकता हो भन्दा फरक नपर्ला । कृषिको महत्वसहितको व्यावहारिक पक्षलाई व्यवहारमा उतार्ने प्रण हो भने, सकारात्मक नतिजाको अपेक्षा हासिल गर्न कुनै प्रकारको कठिनाइ उत्पन्न हुनेछैन । यद्यपि यो नै समस्या समाधानको अचुक अस्त्र भने पक्कै पनि होइन । सामान्यतया तेस्रो पुस्तासम्ममा आइपुग्दा भूमिको स्वामित्व ग्रहण गर्ने क्षमता लगभग शून्यप्राय अवस्थामा रहन्छ भन्ने भनाइ रहँदै आएको छ । यसै तथ्यलाई मनन गर्दै दीर्घकालीन अवस्थाको स्थायी समाधानको मार्गचित्र पहिचान गर्नु अत्यन्त जरुरी भइसकेको छ ।

अतः बढ्दो जनसंख्या र आर्थिक विकासको अभावमा निम्तिएको बृहत् राष्ट्रियस्तरको समस्या समाधान केवल प्राकृतिक प्रकोपबाट उत्पन्न हुने त्रासोन्मुख वातावरणमा निर्भर रहने कुरा पक्कै पनि होइन, भन्ने तर्क समेत यदाकदा उत्पन्न नभएको पनि होइन । यसै सन्दर्भमा भन्दा नेपाललगायत विश्वमा भएका प्राकृतिक प्रकोप तथा रोगजन्य संक्रमणका पीडाहरू कहीँ यसै तथ्यको परिदृष्य त होइन ? भन्ने यक्ष प्रश्न समेत खडा भएको पाइन्छ । प्राकृतिक प्रकोपका ऐतिहासिक तथ्यलाई केलाएर हेर्दा त्यहाँ भएका मानवीय तथा भौतिक क्षतिलाई कुनै पनि हालतमा कम आँकलन गर्न मिल्दैन ।

सम्भावित मानवीय तथा भौतिक क्षतिलाई बढ्दो जनसंख्या, आर्थिक विकास तथा खाद्यान्न संकटका बीचमा हुने गरेको असन्तुलित व्यवहारलाई समानान्तर गर्नका खातिर उत्पन्न भएको प्राकृतिक वितण्डाको अनेकन रूपमध्येको एक रूप त, होइन भन्ने अड्कलबाजी समेत हुँदै आएको छ ।

यद्यपि नेपाललगायत विश्वमा घट्ने गरेको प्राकृतिक विनाश एवं महामारीको रौदरूपलाई नजिक नियाल्ने हो भने केही हदसम्म मिल्न गएको पाइन्छ । प्रस्तुत तथ्यलाई मनन गर्दै अध्ययन गर्दा यसप्रकारका मानवीय एवं भौतिक क्षतिलाई प्राकृतिक प्रकोपले निम्त्याएको संयोग मात्र मान्ने, अथवा अन्धविश्वाशको भुमरीका कारण उत्पन्न भएको भ्रमको द्विविधायुक्त अवस्था हो भन्ने तथ्यलाई खुट्याउनु पर्ने हुन्छ । भ्रम भनौँ भने नेपालको आर्थिक विकासलगायतका सम्पूर्ण क्रियाकलापलाई प्रत्यक्ष असर पारेको वर्तमान अवस्था हो ।

त्यसो भएको हुदाँ यसप्रकारका प्राकृतिक/संक्रमणजन्य गतिविधिलाई केवल भ्रमको खेती मात्र मान्न सकिने अवस्था अब रहेन । समय–समयमा उत्पन्न हुने दुःखद परिणाम स्वरूप मुलुकको आर्थिक विकासको गतिमा प्रत्यक्ष प्रभाव पर्न गई समस्या सिर्जना हुने गरेको देखिन्छ ।

आर्थिक एवं सामाजिक क्षेत्र लगायतका अनेकन क्षेत्रमा पर्न जाने यसप्रकारका नकारात्मक ऊर्जालाई सन्तुलन गर्न नेपाललगायत सम्पूर्ण दक्षिण एसिया क्षेत्रमा जति मात्रामा आर्थिक विकासको प्रतिफल प्राप्त हुनुपर्ने थियो त्यसमा हामी पूर्णरूपले सक्षम हुन सकेनौँ । परिणातः व्याप्त खाद्यान्न संकट, चरम आर्थिक मन्दी तथा उच्चदरको बेरोजगारीलगायतका तीव्र जनसंख्या वृद्धिको विकराल समस्यालाई नचाहँदानचाहँदै पनि आत्मसात गर्न बाध्य हुनु प-यो ।

जसलाई हाम्रो रहर नभई बाध्यताको प्रतिकात्मक रूप मान्न सकिन्छ । यसका बाबजुद पनि सिर्जित समस्या समाधानका लागि उत्तम विकल्पसहितको कार्ययोजनालाई व्यवहारमा उतार्न सके विषमभन्दा विषम परिस्थितिमा पनि केही राहतको महसुस गर्न सकिने अवस्था प्रारम्भ हुने देखिन्छ । प्रस्तुत जनसंख्या वृद्धिको कारण उत्पन्न खाद्य समस्यालगायतका यस क्षेत्रमा आबद्ध रहन आउने अन्य समस्या समाधानका लागि प्रसिद्ध अर्थशास्त्री थोमस रबर्ट माल्थसको जनसंख्यासम्बन्धी सिद्धान्त वर्तमान परिवेशमा कति सान्दर्भिक रहन्छ, भन्ने तथ्यलाई गहिरिएर हेर्नुपर्ने हुन्छ ।

प्राप्त असमान व्यवहारको उग्रतालाई न्यूनीकरण गर्दै समानता प्राप्तिको लागि बेलाबखत विश्वमा पर्नजाने प्राकृतिक विपत्ति वा संक्रमणजन्य रोगको प्रकोपले उत्पन्न हुने असाधारण परिस्थितिलाई काबुबाहिर जान नदिई नियन्त्रणको प्रयास गर्नेछ । उक्त तथ्यको सकारात्मक नतिजा हासिल गर्न अनेकन उपायलाई अवलम्बन गर्न सुल्झाइएको छ ।

जसअनुसार ढिलो विवाह, ब्रम्ह्चार्यको पालनाका साथै परिवार नियोजनसम्बन्धी अनेकन विधिलाई अपनाउँदा मुलुकको भौगोलिक क्षेत्रफलको अनुपातमा कति जनसंख्या उपयुक्त रहन्छ भन्ने तथ्यलाई आधार मानी व्यक्तिगतरूपमा मानिसहरूले आफ्नो व्यवहार, आचरणलाई समयानुकूल परिवर्तन गर्नुपर्ने हुन्छ । तदुपरान्त खाद्यान्नको वृद्धिले बढ्दो जनसंख्याको खाद्य चापलाई सहजै आपूर्ति गरी समस्या समाधानको मार्गमा राहत व्यवस्थापनको अनुभूति दिलाउनेछ । तथापि माल्थसको जनसख्या सिद्धान्त आजको परिस्थितिमा कतिको उपयोगी रहेको छ भन्ने तथ्यको अध्ययनपश्चात् मात्र निष्कर्ष निकाल्नु समय सान्दर्भिक रहन्छ भन्न सकिने अवस्था प्रारम्भ हुनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्