Techie IT
१० असार २०७८, बिहीबार

वायोग्यास प्रवर्द्धनमा निजी क्षेत्र


काठमाडौं ।
नेपालमा वायोग्यास प्रविधि भित्रिएको छ दशक पूरा भएको छ । सर्वप्रथम सेन्ट जेभियर्स स्कुल गोदावरीका फादर बीआर सुबोलले सन् १९५५ मा स्कुलमा साधारण परिवारलाई काम लाग्ने वायोग्यास प्लान्ट जडान गरेका थिए । तत्कालीन नेपाल सरकारद्वारा सन् १९७७ मा गोबरग्यास तथा कृषियन्त्र विकास कम्पनी प्रालिको स्थापना गरेपछि व्यवस्थितरूपमा यो प्रविधि जनस्तरमा उपयोगमा आउन थालेको थियो । भान्साबाट निस्केको जैविक फोहर, नगरपालिकाबाट निस्केको कुहिने फोहर, जलकुम्भी, बनमाराजस्ता महत्वहीन मानिने झारपातहरू, चर्पीको मल आदिबाट वायोग्यास ऊर्जा उत्पादन गरी अहिले घरायसी उपयोगदेखि व्यावासायिक प्रयोजनमा ल्याउन थालिएको छ ।

संस्थागत वायोग्यास प्लान्टको विकास गर्ने क्रममा देशका विद्यालय कलेज विश्वविद्यालयका होस्टल, सेना प्रहरीका ब्यारेक, होटल, सार्वजनिक शौचालय, गौशाला, गुम्बाजस्ता सामुदायिक संस्थाहरूमा मानिसको मलमूत्र तथा भान्साबाट निस्कने फोहोर र अन्य जैविक वस्तुबाट उत्पादन गर्न वायोग्यास निकाल्न सुरु भइसकेको छ ।

वायोग्यास प्रविधिले दाउराको खपत गरी वातावरण र जनस्वास्थ्यमा सुधार ल्याउनुको साथै आयातित इन्धनको खपतलाई कम गरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु-याएको हुन्छ । वायोग्यासले एकातिर दाउरा मट्टीतेल, एलपी ग्यास इत्यादिको प्रयोगमा कटौती गरी आयातित इन्धनको निर्भरतालाई कम गर्न मदत पु-याएको छ भने अर्कोतिर प्लान्टबाट निस्केको स्लरीलाई खेतबारीमा लगाउँदा कृषि उत्पादनमा वृद्धि हुनुको साथै रासायनिक मलको निर्भरतालाई पनि कम गर्न सहयोग पुगेको छ ।

हालसम्म नेपालमा करीब चार लाख ५० हजारको हाराहारीमा घरेलु वायोग्यास प्लान्टहरू जडान भइसकेका छन् । कार्बन व्यापारबाट राजस्व आम्दानी गर्ने नेपालको पहिलो क्षेत्रको रूपमा स्थापित भएको छ । बीएसपी नेपालमार्फत नेपालमा सीडीएम परियोजनाहरूबाट झण्डै दुई अर्ब रकम नेपाल सरकारलाई प्राप्त भइसकेको छ ।

सहरी क्षेत्रमा निस्कने फोहरको व्यवस्थापन गरी त्यसबाट ग्याससँगै जैविक मल उत्पादन गर्न केही वर्षयता विभिन्न नगरपालिकाहरूले ठूला व्यावसायिक प्लान्टहरू निर्माणमा जोड दिएका छन् । कतिपय निजी कम्पनीहरूले ठूला क्षमताका व्यावसायिक प्लान्टहरू जडान गरी त्यसबाट विद्युत् उत्पादनदेखि सिलिन्डरमा ग्यास भरेर बजारमा बिक्री गर्ने र जैविक मललाई प्याकेजिङ गरेर बिक्री गर्न थालेका छन् । यसरी नेपालमा घरायसी प्रयोजनदेखि व्यावसायिकरूपमा वायोग्यास प्रविधि विस्तार हुँदै गएको छ ।

विभिन्न अध्ययनअनुसार नेपालमा हाल १० लाखको हाराहारीमा घरयासी वायोग्यास निर्माण गर्न सकिने सम्भावना देखिन्छ । दुई दशकभन्दा लामो प्रयासका बाबजुद पनि हालसम्म करिब पाँच लाखको सङ्ख्यामा मात्रै निर्माण भएको छ । नेपालका ७७ वटै जिल्लामध्ये धेरै जिल्लामा यो कार्यक्रमको पहुँच पुगेको छ । हालसम्म यो प्रविधि मध्यमस्तरको आय भएका परिवारले उपयोग गरिरहेका छन् । यसलाई अति गरिब, सीमान्तकृत तथा पछाडि पारिएका समूहमा पु-याउनु पर्ने चुनौती रहेको छ ।

वायोग्यासका क्षेत्रमा नेपालले हासिल गरेको सफलताका कारण एसियाली तथा अफ्रिकी देशहरूले समेत अनुशरण गरिरहेका छन् । नेपालबाट सिकेर वायोग्यासको प्रवर्द्धन सुरु गरेका अन्य देशले ठूला क्षमताका वायोग्यास प्लान्ट निर्माण गरी विद्युत् उत्पादन, सिलिन्डरमा ग्यास भर्ने कार्य गरिसकेका छन् ।

वायोग्यासमा निजी–सार्वजनिक साझोदारीको अवधारणालाई अन्य देशहरूले पनि अनुशरण गर्न थालेका छन् । वायोग्यासमा नेपालले यस किसिमको उदाहरणीय सफलता पाउनुमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदानको व्यवस्था गर्नु, बीएसपी नेपालले गुणस्तर, अनुगमन र मूल्यांकनलाई प्रभावकारी तुल्याउनु र निजी क्षेत्रका कम्पनीहरूले जनताका घरदैलोमा पुगेर प्लान्टको महत्व दर्शाउँदै स्तरीय प्लान्ट निर्माण गरेबाट सम्भव भएको हो ।

नेपालमा वायोग्यास प्रविधिको विकास र विस्तारका लागि दातृ निकाय, नेपाल सरकारको जत्तिकै निजी क्षेत्रको योगदान पनि उत्तिकै रहेको छ । नेपालमा वायोग्यासको विकास तथा विस्तारमा निजी क्षेत्रको अहम् भूमिका रहेको सर्वविदितै छ । प्रविधिलाई जनस्तरसम्म पु-याउन निजी क्षेत्रको साथ र सहयोगविना सकिँंदैन ।

न्यून आय भएका साना उद्यमीहरूबाट गरिएको कठोर परिश्रम, कामप्रतिको निरन्तर लगाव, अग्रीम लगानी र जिम्मेवारिता, जवाफदेहिताका कारण नै हालसम्म करिब चार लाख ५० हजारको हाराहारीमा घरेलु वायोग्यास प्लाण्टहरू जडान भैसकेका छन् । देशका कुनाकाप्चामा पुगी घर–घरमा वायोग्यास प्लान्ट निर्माण गर्ने निजी कम्पनीहरूकै पहलका कारण निर्माण भएका प्लान्टमध्ये ९० प्रतिशत सञ्चालनमा रहेका छन् ।

प्रजातन्त्रको स्थापनापश्चात् पाँच/सातवटा कम्पनीको उदय भएको र तत्पश्चात् २०५१ सालमा नेपाल वायोग्यास प्रवर्द्धन समूहको नामले जन्मिएको यो संस्था समायानुकूल आफूलाई परिवर्तन गर्दै आफ्नो क्षमतालाई अझ बढाउँदै उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई विशेष महत्व दिएको छ । हाल वायोग्यास प्रवर्द्धनमा आज पनि एक सयभन्दा बढी वायोग्यास कम्पनीहरू क्रियाशील रहेका छन् भने र वायोग्यास जडानमा प्रयोग गरिने सामग्री उत्पादन गर्ने १७ वटा वर्कशपले वायोग्यास क्षेत्रलाई आफ्नो एक मात्र सेवामूलक व्यवसाय बनाएका छन् । निजी क्षेत्रका यी कम्पनी र वर्कशपहरूले नै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा वायोग्यासको क्षेत्रमा परिचित गराउन अहम् भूमिका खेलेका छन् ।

वायोग्यास प्रविधिको उपयोगले वन विनाश रोकथाम हुने, भू–क्षयको रोकथाम हुने, लेदो मलको सही व्यवस्थापन र उपयोग गरी कृषि उब्जनी वृद्धि गर्न सकिने, गृहिणी महिलाको स्वास्थ्यमा सुधार हुने तथा वातावरण संरक्षणमा समेत टेवा पुग्ने हुँदा ऊर्जा क्षेत्रको विकासमा व्यवसायी तथा उद्यमीहरूले रचनात्मक योगदान पु-याएका छन् ।

यस प्रविधिलाई बहुआयामिक पक्षबाट कार्यक्रमहरू सञ्चालन गरी यसको विकास, विस्तार र प्रवद्र्धनमा उनीहरूले पु-याएको योगदान बिर्सन हुँदैन । ग्रामीण क्षेत्रका जनतालाई प्रविधिको बारेमा अवगत गराउनेदेखि अनुदानबाट नपुग रकमको व्यवस्थापन गरी जडान गर्ने अवस्थासम्म पु-याउनु सजिलो छैन । यस क्षेत्रमा संलग्न कम्पनीहरूले सुरुमा आफैँले ऋणको जोहो गरी अग्रीम लगानी गरेर उपभोक्ताका घरघरमा गई प्लान्ट जडान गर्दै आएका छन् ।

सरकारले हाम्रोजस्तो देश र यसको परिवेशलाई सुहाउने नवीकरणीय दिगो ऊर्जा स्रोतको रूपमा वायोग्यास प्रविधिलाई न्यून आय भएका नागरिकसम्म पु-याउन अनुदान र लघुकर्जाको सुविधा उपलब्ध गराएको छ । सरकारको यो नीतिलाई सहयोग प्रदान गर्न निजी क्षेत्रले पनि गुणस्तिरीय वायोग्यास प्लान्ट निर्माण गर्न कटिबद्ध भई लागेका छन् । आफ्ना मातहतका सदस्य कम्पनीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नु, सदस्य कम्पनीहरूकोे संरक्षण तथा क्षमता अभिवृद्धि गर्नु, वायोग्यास प्रविधिको प्रवर्द्धनमार्फत सदस्य कम्पनीहरूका लागि माग सङ्कलन गर्नु तथा सदस्यहरूका सवालहरूलाई सम्बन्धित निकायमा बहस, पैरवी तथा वकालत गर्नु र वायोग्यास प्रविधिको प्रचार, प्रसार र प्रवर्द्धन गर्न यस क्षेत्रमा संलग्न संघ संस्थाहरूसँग समन्वय वृद्धि गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्यका साथ वायोग्यास कम्पनीहरूको छाता संगठन र मुनाफारहित गैरसरकारी संस्थाको रूपमा क्रियाशील नेपाल वायोग्यास प्रवर्द्धन संघको भूमिका अहम् रहेको छ ।

यसरी ग्रामीण क्षेत्रका प्रत्येक घरमा वायोग्यास प्रविधि विस्तार गरेर मात्रै जनताको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । वायोग्यासको विस्तारले गर्दा केही वर्षयता नेपालको वनजङ्गलको क्षेत्रफल विस्तार भएको छ, बत्ती बाल्न र खाना पकाउन प्रयोग हुँदै आएको मट्टीतेलको खपतमा ह्रास आएको छ, वातावरण संरक्षणमा योगदान पुगेको छ । खासगरी महिलाको स्वास्थ्यस्तरमा सुधारसँगै जीवनयापनमा उल्लेख परिवर्तन आउन सकेको छ । त्यति मात्र होइन, हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याई कार्बन व्यापार गरी राजस्व आम्दानीमा पनि वृद्धि ल्याउन सहयोग पुगेको छ ।

सुखी र समृद्ध नेपाल बनाउने सरकारको नारालाई पूरा गर्न सन् २०२२ सम्म सबै घरमा आधुनिक ऊर्जाको पहुँच र पाँच वर्षभित्र आयातित रासायनिक मललाई विस्थापित गर्न ठूला व्यावसायिक वायोग्यास प्लान्टलाई विस्तार गर्दै जानुपर्ने आवश्यकता रहेको छ । यस्ता प्लान्टबाट ग्यास, विद्युत्, मल, उत्पादन गर्न सकिनुका साथै फोहरमैलाको व्यवस्थापन गर्न सकिन्छ । सरकार, दातृ निकाय र निजी क्षेत्रको सामूहिक प्रयासमा ग्रामीण क्षेत्रका हरेक घरधुरीदेखि सहरी क्षेत्रमा ठूला वायोग्यास प्लान्ट जडान भएमा विद्युत्, ग्यास र जैविक मल उत्पादन गर्न सकिन्छ र यसबाट देशको वार्षिक १० अर्बभन्दा बढीको व्यापार घाटा कम गर्न मदत पुग्नेछ ।

सरकारले ऊर्जामा आत्मनिर्भर हुने र स्वच्छ ऊर्जाको प्रवर्द्धनबाट जनताको जीवनस्तरमा सुधार ल्याउन आगामी नीति कार्यक्रम तथा बजेटमा वायोग्यासको पहुँच पुग्न नसकेका वर्ग, समुदायलाई लक्षित गरी कार्यक्रम र योजना तर्जुमा गर्नु पर्दछ । केही वर्षयता सरकारको ध्यान ठूलो व्यावसायिक प्लान्टतर्फ बढी धयान जाँदा घरायसी वायोग्यास प्लान्ट जडानले गति लिन सकेको छैन । यसले गर्दा हजारौँको संख्यामा रोजगारी दिने कम्पनीहरू धराशायी बन्न पुगेका छन् । सहरी क्षेत्रमा व्यापारिक प्रयोजनले निर्माण गरिने ठूला क्षमताका प्लान्टसँगै ग्रामीण क्षेत्रका जनतालाई लक्षित गरी साना तथा मध्यमखालका प्लान्टका लागि अनुदान, लघुकर्जाको सुविधाको साथै पशुपालनतर्फ आकर्षित गर्नेबगरी बजेटको व्यवस्था भएमा जनमुखी सरकारको अनुभूति गर्न सकिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्