Techie IT
बुधबार, असोज ७,२०७७

नेपालको सन्दर्भमा विकासमा आधुनिकीकरणको सिद्धान्त र यसको महत्व


विकासका विभिन्न सिद्धान्तहरू वा अवधारणामध्ये आधुनिकीकरणको अवधारणा पनि हो । सन् १९५० को दशकपछि ७० सम्म यो सिद्धान्त चर्चाको शिखरमा रहेको थियो । विशेष गरी द्वितीय विश्वयुद्धमा तहसनहस भएको विश्वको आर्थिक अवस्था सुधार गर्न आर्थिक विकासको सिद्वान्तलाई जोड दिइयो । यस सिद्वान्तले पनि आर्थिक विकासको अवधारणालाई जोड दिन्छ । आधुनिकीकरण सामाजिक–सांस्कृतिक तथा आर्थिक परिवर्तनको एक प्रक्रिया हो, समाज विकासको एक प्रक्रिया हो । यसले समाजलाई एक स्वरूप, संरचना र सम्बन्धबाट अर्को स्वरूप, सम्बन्ध र संरचनामा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्दछ । आधुनिकीकरणको सिद्धान्तले परम्परागत, संक्रमणकालीन र आधुनिक समाजलाई स्पष्ट पार्दछ । यसले विभिन्न क्रियाकलाप सञ्चालन गर्न एजेन्डा एवं मुद्राहरू उपलब्ध गराउँछ । आधुनिकीकरण भनेको परम्पराबाट आधुनिकतातर्फ वा अल्पविकसितबाट विकसित स्वरूप, संरचना, प्रक्रिया, समाज वा राष्ट्रतर्फ परिवर्तन हुने प्रक्रिया नै आधुनिकीकरण हो ।

सामाजिक सांस्कृतिक तथा आर्थिक रूपान्तरणमा आधुनिकीकरणको सिद्वान्तले महत्वपूर्ण भूमिका खेल्दछ । मानसिक प्रवृति र संस्थागत संरचनाले आधुनिकीकरण प्रक्रियाको मुख्य तत्वहरूको निर्माण गर्दछ । वास्तवमा संसार परिवर्तनशील छ । यस संसारका व्यक्ति, समुदाय, समाज, संस्था, मूल्य, मान्यता, आदर्श परिवर्तनशील हुन् । मानिसको प्रवृति, स्वभाव र रुचि र चाहना परिवर्तन भइरहेका हुन् । आज मानिसले दिनप्रति दिन नयाँपनको खोजी गरिरहेको छ । आज एकातिर व्यक्ति, परिवार, समुदाय, संगठन सबै नयाँ आयामको खोजीमा निस्केका हुन् भने अर्कोतिर परिवर्तनको स्वभाविक गति पनि चलिरहेको छ । स्वभाविक एवं योजनाबद्ध परिवर्तनको प्रक्रियाले मानिसहरू परिवर्तनका विभिन्न मोडहरू पार गर्दै अगाडि बढिरहेको हुन् । नयाँ व्यवहार, प्रविधि, सीप, चलन, पद्धति, भूमिका भित्रिदै जाँदा समाज आधुनिकताको मार्गमा लम्किन्छ ।

आधुनिकीकरणको सिद्धान्त देखापर्नुमा विभिन्न पक्षहरूले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । आधुनिकता चाहनु मानवप्राणीको स्वभाविक प्रक्रिया हो । सधैँभरि एउटै परम्परा, चलन, व्यवहार, प्रविधि अवलम्बन गर्न मानिसहरू चाहँदैनन् । मानिसले समयको गतिसँगै हरेक पक्षमा नयाँ र उपयुक्त रूपमा पनि यो सिद्धान्त देखापरेको पाइन्छ । यसै गरी दोस्रो विश्वयुद्धमा तहसनहस भएको विश्व संरचनालाई जोड दिइयो, विश्वका थुप्रै राष्ट्रहरूले औपनिवेशिक दासताबाट स्वतन्त्र बन्ने अवसर पाए ।

परम्परागत तहमा रहेका समाज पनि विकासको मार्गमा लम्किन थाले । यसै सन्दर्भमा र स्वभाविक एवं योजनाबद्ध आधुनिकीकरणको सिद्धान्त देखा प-यो । आधुनिकीकरणको सिद्धान्त देखापर्नुमा शीतयुद्धले पनि महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । पहिलो विश्व (अमेरिका र सोअन्तर्गतका पूँजीवादी राष्ट्रहरू एवं संस्थाहरू)का बीचमा तेस्रो विश्व (असंलग्न) राष्ट्रहरूलाई आफ्नो प्रभाव एवं काबुमा राख्न प्रतिस्पर्धा चल्यो ।

आफ्नो स्वार्थ पूरा गर्नका निम्ति यी राष्ट्रहरूले सहयोगका विभिन्न आश्वासन दिए र सहयोग गरे पनि । तेस्रो विश्वलाई आधुनिक बनाउने ध्यानमा पश्चिमी जगतका विचार, दर्शन र प्रविधिको विस्तार गरियो । यसैगरी १९५० को दशकमा जनसंख्या पनि तीव्र गतिमा वृद्धि भयो । जसलाई समाधान गर्न औद्योगिकीकरण, उत्पादन वृद्धिलाई अगाडि बढाउनुपर्ने अवस्था सिर्जना भयो । यसै सन्दर्भमा नयाँ–नयाँ प्रविधिको खोजी गरियो र विश्व जगतमा आधुनिकता देखा प-यो । यसैगरी १९६० को दशकलाई यूएनले विकास दशक घोषणा ग-यो ।

आधुनिकीकरणको सिद्धान्त माथिबाट तल जाने विकासको रणनीतिलाई अवलम्बन गरी विश्वव्यापी विकासको प्रक्रिया हो । यसले सामाजिक आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक, राजनीतिक, व्यावहारिक आदि पक्षको संरचनात्मक परिवर्तनको दिशालाई अवलम्बन गर्दछ । संसारका हरेक पक्षहरू प्राय परिवर्तन एवं विकासमा अन्तरसम्बन्धित श्रेणीहरू पार गर्दै अगाडि बढ्छन् । समाज विकास एवं परिवर्तनको मार्गमा लम्किन्छन् । सबै किसिमका संकुचित धारणा, सम्बन्ध, विचार, दर्शन व्यवहारमा परिवर्तन आई समाज परिवर्तनको नयाँ श्रेणीतर्फ लम्किन्छ । आधुनिक समाजमा उत्पादन एवं जीवन प्रणालीमा नयाँ गति आउँछ ।

आधुनिकीकरणको अवधारणासम्बन्धी स्येलर र रेडफिल्डको दृष्टिकोण निल जे स्मलेजले सामाजिक सम्बन्धको आधुनिकीकरण योजनाबद्ध विकास र आधुनिकीकरणका बीचको सम्बन्धलाई प्रस्ट्याएका छन् । उनका अनुसार समाज परिवर्तनमा आधुनिकीकरणले महत्वपूर्ण भूमिका खेल्दछ । आधुनिकीकरण भनेको समाज रूपान्तरणको प्रक्रिया हो । आर्थिक विकास र आधुनिकीकरणबीचमा घनिष्ठ सम्बन्ध रहेको हुन्छ । आर्थिक पक्षले समाज परिवर्तन र विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । आर्थिक विकास एवं आधुनिकीकरणमा विभिन्न अन्तरसम्बन्धित प्रक्रियाहरू जोडिएका हुन्छन् । ती प्रक्रियाहरू कृषि, औद्योगिक एवं पर्यावरणीय पक्षसँग सम्बन्धित छन् । स्मेलका अनुसार विकासोन्मुख मुलुका वैज्ञानिक ज्ञान एवं प्रविधिको अभाव हुन्छ । यी समाजमा परम्पराको बाहुल्यता बढी हुन्छ । त्यसैले वैज्ञानिक प्रविधि र ज्ञानको अवलम्बन पछि मात्र परम्परागत सरल समाजमा आधुनिकीकरण वा नयाँपन आउँछ ।

विकासोन्मुख मुलुकको जीवनयापन कृषि पेसाले प्रमुख स्थान लिएको हुन्छ । वैज्ञानिक प्रविधिको अवलम्बनपश्चात् कृषिमा आधुनिकीकरण आई व्यापारीकरणको अवस्था सिर्जना हुन्छ । नगदेबालीहरूमा विशिष्टीकरण हुन्छ । बजारमा गैरकृषि सामग्रीको क्रयविक्रयले स्थान लिँदै जान्छ । परम्परागत सामाजिक मूल्य मान्यता आर्दशमा परिवर्तन आउँछ । सरल समाज जटिलतातर्फ लम्किन्छ । पशु तथा मानिसले पूर्ति गर्ने श्रममा मेसिनीकरण एवं प्रविधिकरण हुन्छ । सामाजिक संघ, संस्था र संरचनामा परिवर्तन आउँछ । ग्रामीण समाज सहरीकरणतर्फ ढल्कन्छ ।

स्मलेसले आधुनिकीकरणको सिद्धान्त विकास विकासका साथै प्राविधिक, आर्थिक, पर्यावरणीय परिवर्तनसँग पनि सम्बन्धित छ । जुन परिवर्तनको प्रक्रियामा सामाजिक सांस्कृतिक संरचना, सम्बन्ध र संगठनहरू पनि समावेश भएका हुन्छन् । सामाजिक संरचना र इकाइमा परिवर्तनका संकेतहरू विस्तारै देखा पर्दछन् । साजनीतिक पार्टी एवं कर्मचारी तन्त्रमा राज्यको उत्तरदायित्व बढ्दै जान्छ । राज्यले परम्परागत शासनको बदलामा प्रतिनिधिमूलक राजनीतिक व्यवस्था अवलम्बन गर्दछ । देशमा निरक्षरता हट्दै गई साक्षरताको बाहुल्यता बढ्दछ । उत्पादनमुखी सीप र साधन तथा प्रविधिको विकास हुन्छ ।

परम्परागत धार्मिक प्रणालीको सट्टा भौतिक एवं गृहस्थी जीवनले स्थान लिन्छ । परम्परागत जातीय एवं नातेदारी व्यस्थामा रहेको बलियो सम्बन्ध कमजोर हुँदै जान्छ । यसरी सामाजिक संरचना, आर्थिक प्रणाली, शिक्षा, बसोवास, सीप, प्रविधि, राजनीति, कर्मचारी तन्त्र, मूल्य मान्यता, कृषि आदिमा आधुनिकता एवं परिवर्तन आउने कुरालाई निल जे स्मलेसले जोड दिएका छन् ।

रोवर्ट रेडफिल्डले आधुनिकीकरणका सम्बन्धमा आइडियल टेपिकल इन्डेक्स एप्रोचलाई अगाडि सारेका छन् । विकसित अर्थतन्त्रको संरचना, प्रणाली, व्यवहार, दृष्टिकोण, गति अविकसित अर्थतन्त्रको भन्दा फरक हुन्छ । वास्तवमा आधुनिकीकरण सामाजिक परिवर्तन एवं रूपान्तरणको प्रक्रिया हो । हरेक समाज आ–आफ्नै आर्दशमा रहेका हुन्छन् । सहरी समाज र ग्रामीण समाजका आ–आफ्नै अद्वितीय विशेषता हुन्छन् । यी दुईबीचमा फरक विशेषताहरू एवं सूचक हुने हुँदा वा ग्रामीण समाज र सहरी समाज आ–आफ्नै आदर्शमा रहने कुरालाई जोड दिँदै आइडियल टेपिकल इन्डेक्स एप्रोचलाई प्रस्तुत गरेका छन् । परम्परागत लोक समाजमा सरलता सजातीयता, सानो–सानो क्षेत्रमा अलग्गिएका, अशिक्षित, सामूहिक एकता र सद्भावना भएका, अन्धविश्वास र परम्परामा रमाएका नाफाविहीन उपभोग्य कृषि प्रणाली अवलम्बन गर्नेजस्ता गुणहरू हुन्छन् भने आधुनिक वा सहरी समाजमा नाफामुखी बजार अर्थतन्त्र, व्यक्तिवादिता, एकताको अभाव, शिक्षित, जटिल घनाबस्ती, औद्योगीकरण, व्यावसायिकता आदिजस्ता विभिन्न गुणहरू हुन्छन् ।

नेपालमा आधुनिकीकरण प्रक्रिया/प्रभाव २००७ सालको परिवर्तनपछि नेपाल आधुनिकीकरणको प्रक्रियामा समाहित भएको थियो । नेपालमा आधुनिकीकरणले सामाजिक तथा आर्थिक पक्षमा पारेको सकारात्मक प्रभाव÷प्रक्रिया सामान्य चर्चा यसप्रकार छन् ।

शिक्षा क्षेत्र : सुरुमा गुरुकुल शिक्षा, गुम्बामा दिइन्थ्यो, त्यसपछि पाठशाला बन्ने । नेपाली भाषामा पठाइ सुरु भयो । क्याम्पस विद्यालयको स्थापन्न । त्रिविवि, मविविलगायत पाँचवटा विश्वविद्यालयको स्थापना कम्प्युटर इलेक्ट्रोनिक्स, आईटी आदि विषयमा पढाइ हुँदैछ । बोर्डिङ विद्यालय एवं निजी क्याम्पस विस्तार तीव्र गतिमा अघि बढेको छ । शिक्षामा मात्रात्मक र गुणात्मक परिवर्तन भैरहेको छ ।

राजनीति : एकीकरण अभियान, शाहकालीन राजा, राणाकाल, प्रजातन्त्रको उदय, पञ्चायती शासन, प्रजातन्त्रको पुनरोदय, प्रजातन्त्र नेताहरूको कमाइ खाने भाँडो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको प्रभाव, माओवादी जनयुद्धको घोषणा, राजनीतिक अस्थिरता, राजा ज्ञानेन्द्रद्वारा प्रजातन्त्रमाथि प्रहार, सात राजनीतिक दल र माओवादीबीच सम्झौता, जनआन्दोलन भाग –२, अन्तरिम संसद्, अन्तरिम सरकार, संविधानसभाको निर्वाचनका लागि तयारी र राष्ट्र गणतन्त्रतर्फ उन्मुख ।

भूमिसुधार : सुरुमा किपट, विर्ता, रैकर, गुठी जग्गा बढी भए पनि हाल रैकर जग्गा बढी । २०२१ अघि धेरै पटक भूमिसुधार कार्यक्रम, २०२१ मा प्रभावकारी भूमिसुधार कार्यक्रम तर वास्तविक गरिब मारमा । २०५० को दशकमा दुई पटक भूमिसुधार कार्यक्रम ल्याइयो । पछिल्लो भूमिसुधार क्रान्तिकारी भूमिसुधार कार्यक्रमको नामले परिचित । कमैयामुक्त आन्दोलन ।

सामाजिक क्षेत्र : दास, सती, कमाराकमारी प्रथाको अन्त्य, लौङ्गिक भेदभावमा विस्तारै कमी । छोरी सम्पत्ति हुन् भन्ने धारणामा केही परिवर्तन । पतिपरमेश्वराय नमो. नमं भन्ने संस्कारमा केही कमी, श्रीमतीलाई यौनको प्रतिक र पैताला ठान्ने चलन र दृष्टिमा केही कमी, श्रीमान र श्रीमतीको सम्बन्धमा केही खुकुलोपन, छोरीलाई सम्पत्ति । छोरीलाई शिक्षा दिनुपर्ने मान्यता, जातिप्रक्रियामा खुकुलोपन, अन्धविश्वासमा कमी, भाग्यवादमा कम विश्वास, रुढी हट्दै गएको, छोरीलाई सम्पत्ति, धर्म निरपेक्ष राज्यको घोषणा, राज्यको पुनर्संरचना, स्वास्थ्य, खानेपानी, सरसफाइमा पहुँच बढ्दो ।

स्वास्थ्य, यातायातका क्षेत्रमा परिवर्तन, अस्पताल, स्वास्थ्य चौकी, राजमार्ग आदिको निर्माण, विस्तार र गुणस्तरमा जोड ।
सञ्चारमा व्यापक परिवर्तन, रेडियो, एफएम, निजी टेलिभिजन, च्यानल र पत्रिकाहरू निकै विस्तार, मोबाइल ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार : भौतिक पूर्वाधारहरूको स्थापना तथा विस्तार आदि, यसप्रकार सामाजिक, आर्थिक तथा राजनीतिक संरचना, सम्बन्ध, संस्था, दृष्टिकोण, मूल्य, मान्यता चलन, प्रथा, व्यवहार, रीति, नियम, कानुन, व्यवहार आदिमा परिवर्तन आएको छ । अधिकतम परिवर्तनमा मौलिक आफ्नोपनभन्दा बढी नक्कल गरिएको पाइन्छ ।

नेपालम आधुनिकीकरणका सम्बन्धमा हामीबीच थुप्रै भ्रमहरू रहेका छन् । हामीमा आधुनिकीकरण भन्नु नै पश्चिमीकरण हो भन्ने मनोवैज्ञानिक छाप परिसकेको छ । हामीले पश्चिमेलीहरूले जस्तै प्रणाली, मूल्य, मान्यता, जीवन बिताउन पायो वा पश्चिमेलीहरूले जस्तै जीवनयापन गर्न पायौँ भने आधुनिक र विकसित भएको सम्झन्छौं । सेतो छाला भएको अमेरिकी–ब्रिटिस वा फ्रान्सेली वा जुनसुकै पश्चिमी देशको सामान्य मानिसले हाम्रा हिमाली दृश्यहरूमा दूरबीन सोझायौँ भने, हाम्रा गल्लीहरूमा व्यापारिक किनमेल ग-यौँ भने उसलाई हामी विशाल मगजको सम्झन्छौ, सम्मान गर्छौ । तर हाम्रै देशका प्रतिभा र कलाकार वा कुनै पनि योग्य व्यक्ति नेपाल यात्रामा निस्क्यौँ भने, व्यापारिक किनबेचमा हिँड्यो भने उसलाई सम्मान गर्दैनौ ।

वास्तवमा हाम्रो विचार वा दृष्टिमा विकास वा आधुनिकता आउन सकेको छैन । नेपालीहरूमा आर्थिक दमन र परनिर्भरताको मनोवैज्ञानिक छाप परिरहेको छ । सेतो छालाको अनौपचारिक औपनिवेश यो देशमा मडारिरहेको छ । हामी हिमाली दृश्य हेर्ने बेस क्याम्पतिर गयौँ भने हाम्रो पैसा बिक्दैन र हामीले भात खान निकै कठिनाइ पर्दछ तर एउटा पश्चिमेलीले वाकिटकीको माध्यमबाट भात पकाउने अडर दिनासाथ उसको निम्ति सबै तयारी हुन्छ तर नेपालीलाई नेपालीले नेपालमै पत्याउँदैनन् । हामी नेपालीहरू आफ्नो धरोहर बिर्सेर आधुनिक बन्ने लहडमा छौं । शौचालयमा पानी हुँदाहुँदै न्याप्केनले आची पुछ्न थाल्यो भने, घरमा गहुँ, कोदो, मकै, भटमासको खाजा पाक्दा पाक्दै नेपाली खाना पाक्दा पाक्दै पैसा खोजेर भएपनि विदेशी डिसतिर झुम्मिन थाल्यौ भने त्यसको असर भोलि के पर्छ निक्र्यौल गर्न गाह्रो छ ।

आधुनिकीकरण र विकासका सम्बन्धमा हामी साँच्चिकै बुद्धुु भएका छौँ । हामी प्रजातन्त्र प्राप्त गर्न हजारौँ नेपालीहरूलाई ज्यानको आहुति दिन लगाउँछौँ तर हाम्रो प्रजातन्त्रको भावना र प्रक्रिया एक व्यक्तिमा सीमित हुन्छ र विदेशी स्ट्रागरद्वारा सञ्चालित हुन्छ भने हाम्रो प्रजातान्त्रिक राजनीतिक आधुनिकता फगत क्यारम्बोर्डको गोटीभन्दा अझ गिर्दो अवस्था रहन्छ । देशको आर्थिक विकास गर्न उदारीकरण र निजीकरणको आधुनिक आर्थिक सिद्धान्त अवलम्बन गर्दछौँ तर कमजोर, मानौँ सत्तरी वर्ष पुगेको, जीवनको उत्तरार्धमा कृषि परेको, लौरोको सहायतामा अडिएको बुढो मानिसजस्तै हाम्रो अर्थतन्त्रलाई म्याराथुनमा भाग लिने मानिसजस्तो पश्चिमी अर्थतन्त्रसँग प्रतिस्पर्धामा लैजाँदा देश कुन हालतमा जान्छ भन्ने कुरा आँक्न निकै कठिनाइ पर्दछ । प्रस्ट कुरा के भने हामी आधुनिक बनौँ, पश्चिमी संस्कृति पनि अवलम्बन गरौँ त हाम्रो धरोहर नबिर्सौँ ।

हाम्रो आधुनिकता बढी नक्कल र देखासिकी छ अर्थात् पल्लारे ठूलो घोडा चढ्यो भने वल्लारे कान्छो धुरी चढेको कथाजस्तै छ । हाम्रो आधुनिकता पल्लाधरकी सुब्बेनी साहेबले श्रीमानले भन्सारमा भ्रष्टाचार गरी कमाएको अकुत गहना लगाएर गाउँमा शान दिँदै हिँड्दा, पार्टीमा आडम्बर देखाउँदा तल्लाघरकी मास्टर्नीले उसको सेखी झार्न प्रावि तहमा पढाउने आफ्नो श्रीमान्लाई धम्काएजस्तै छ ।

हाम्रो रोदीको साटो क्याफेमा डिस्कोमा ब्रेक डान्सका साथ पप, -याप शैलीका गीतहरू घन्किँदै छन्, हामी हाम्रो उत्पत्ति बिर्सन चाहन्छौँ तर पश्चिमीहरू संसारका फरक–फरक उत्पत्ति भएका मानिसलाई बसोबास मिलाउँदै छन् । हामीलाई हाम्रो सम्बन्ध, हाम्रो पारिवारिक भावना मन पर्न छाडेको तर पश्चिमी जगत्मा तीव्र सम्बन्ध विच्छेद र पारिवारिक असम्बन्धको परिणामले समाजमा कति भयावह रूप लिएको छ भन्ने कुरा थाहा छैन ।

हाम्रो शिक्षा प्रणाली बेरोजगारहरू उत्पादन गर्ने संयन्त्र बनेको छ । बिरालोलाई बिरालो भने हामी आफूलाई गरिब सम्झन्छाँ,ै निम्न सम्झन्छौँ, आमालाई आमा र बाबुलाई बाबु भन्दा पाखे र अशिक्षित सम्झिन्छौँ तर बिरालोलाई क्याट, बाबुलाई ड्याड र आमालाई मम्मी भन्दा साक्षर भएको सम्झिने हाम्रो मानसिकता साँच्चिकै आधुनिक बनेको हो त ? गुडवाइ सर, गुडमर्निङ मिस भन्न सिकाउने हाम्रा शिक्षिण संस्थाहरूले प्रणाम् आमा र प्रणाम् बाबा, तारेमाम शुभप्रभात भन्न किन सिकाउँदैनन् ? मानौ भगवती माध्यामिक विद्यालय (जहाँ अंगे्रजी अंग्रेजीमै पढाइन्छ) भन्दा आकर्षण नहुने हाम्रा अभिभावकहरू डाइना वा हेराल्ड वा हली ल्यान्ड वा स्टार वा प्लाओस् इन्टरनेशल बोर्डिङ स्कुल (जहाँ अंग्रेजी सामान्य पढाइ हुन्छ) भन्दा आकर्षण हुनु आधुनिकताको मानसिकता हो कि पराधिनताको मानसिकता हो जुन कुरा तपाईंजस्ता स्नातकोत्तर तहमा ग्रामीण विकास विषय पढ्ने विद्वानहरूले गम्भीररूपमा मूल्यांकन गर्नुपर्ने बेला आएको छ ।

आखिरी राष्ट्रलाई पश्चिमेलीहरूको सिको वा नक्कल गर्ने मात्र गरेर टेन्डरमा हाल्ने कि स्वयं नेपाली भूमिमा नयाँपन कायम गरी परनिर्भरता र नव औपनिवेशिक दाशताबाट मुक्ति दिने हो ? भौगोलिक सीमा नेपालको हुँदैमा राष्ट्र हुन सक्दैन जहाँ राष्ट्रियता नै हुँदैन ? राष्ट्रमा बसेर राष्ट्रियताको वकालत गर्न नसक्ने कायर विद्वानहरूलाई आधुनिक भन्नेकी गवाँर भन्ने ? निरन्तरता आधुनिकता पटक्कै होइन ? हाम्रा बुबाहरूलाई त्यही अंग्रेजी पढाउनु हो, त्यही नेपाली पढाउथे, त्यही ग्रमीण विकास पढाउथे, त्यही समाज शाास्त्र पढाउथे भने अब हामीले बुबाहरूले जे पढाए त्यही पढाउन सक्ने भयौँ ? भन्ने अवधारणा कदापि पनि आधुनिकता हुन सक्दैन ।

कम्प्युटरलाई कम्प्युटर भनी उच्चारण गर्दा वा अंग्रेजी भाषामा कम्प्युटर चलाउँदा आधुनिकता ठहर्दैन बरु कम्प्युटरलाई सुसांख्य र नेपालीमा कम्प्युटर चलाउँदा आधुनिकता भएको अहसुस गर्नु उचित हो । पानी नभएका घरमा कम्बड ट्वाइलेट बनाएर आधुनिक भएको महसुस गर्ने घरवालाभन्दा खाडलमा व्यवस्थित रूपले शौचालय गर्नेहरू आधुनिक होइनन् र ? कानमा रिङ झुडाउनु घाँटी फलामे सिक्री बान्ने, कपाल पाल्ने, नयाँ पाइन्टलाई च्यातेर लगाउनेभन्दा कपाल काटेको, सफा दौरा सुरुवाल लगाउने शुद्ध मातृ भाषा वा नेपाली भाषा वा नेपाली भाषा बोल्ने नेपाली आधुनिक होइन र ? समाजमा सहभावना, छिमेकीपन, समन्वय नराख्ने डिग्रीधारी महिला–पुरुषभन्दा सबैको भलो र सेवा गर्न चाहने ग्रामीण दम्पत्ती वा साक्षर मात्र आधुनिक नठहर्ला र ?  (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्