Techie IT
१० असार २०७८, बिहीबार

कोरोना फैलिनुमा प्रचण्ड र केपी ओलीको राजनीतिक दुस्मनी जिम्मेवार


काठमाडौं ।
प्रचण्ड र केपी ओलीको राजनीतिक इगो (दुस्मनी) अहिले आएर नेपाली जनतालार्ई सबैभन्दा घातक सिद्ध भएको छ । दुई महिनाअगाडिको त्यो मुर्दा राजनीतिक इगोको कारण लाखौँलाख मान्छेको हुल जम्मा गरेर देशमा कोरोना व्यापक फैलाउने काम भयो । झलनाथ, माकुने केपी र प्रचण्डबीचको राजनीतिक स्वार्थ र दुस्मनीका कारण यो देशमा यतिबेला दुर्भाग्य निम्तिएको हो । कोरोना फैलाउने नेपाली सिद्ध्याउने फोहोरी खेल खेले ती नेताहरूले सत्ताको लोभमा ।

अर्का हिन्दू सम्राट भनेर आफूलाई चिनाउन भारतको हरिद्वार कुम्भ मेलामा गएका पूर्वराजा ज्ञानेन्द्र आफैँ यतिबेला कोरोना संक्रमणमा परेका छन् । त्यस कुम्भ मेलाका सहभागी ८० प्रतिशत सहभागीहरूलाई कोरोना लागेको तथ्यांक बाहिर आएको छ ।

पूर्वराजा ज्ञानेन्द्रमा पनि सत्तालिप्सा ज्यादै चर्को छ । उनी बाहिर देख्दा त मौन बसेजस्तो देखिन्छन् तर भित्र–भित्र उनको राजनीति र सत्ताप्राप्तिको छटपटी थामिनसक्नु छ । अरु सामान्य बोका नेताहरूमा त मन्त्री हुने चाहनाले पार्टी नै परित्याग गर्ने आदत बसेको छ भने ज्ञानेन्द्र त झन् यो देशको पूर्वराजा । उनमा सत्ता लिप्सा हुनुलार्ई सामान्य मान्दा पनि हुन्छ । दुई सय ५० वर्षको विरासद गुमाउनु चानचुने दुर्घटना पनि थिएन र त्यो मर्मघात ज्ञानेन्द्रकै पालामा हुनु गुरु गोरखनाथले भविस्यवाणी गरेजस्तै प्रमाणित भएको छ ।

राजसंस्था बाह्रौ पुस्तामा गएर अन्त्य हुनेछ भनेर गोरखनाथ बाबाले त्यतिबेला नै भविस्यवाणी गरेका थिए रे । अब नेपालमा त्यो राजसंस्था फेरि त्यही इतिहास बोकेर फर्केला भनेर आश गर्नु महाभुल हुनेछ । अहिलेसम्म पनि राप्रपाले त्यो झिनो आशा बोकेर राजनीति गरिरहेको छ त्यो एक दिवासप्ना मात्रै हो । राजा कार्यकारी भएर फेरि सत्तामा आए भने उनमा फेरि सत्ताको माद लाग्नेछ र फेरि ओरालो लाग्नेछ उनको राजनीति छवि बरु यतिकै पूर्वराजा भएर बस्दा बरु उनलाई सम्मान र माया मिलेको छ । अब पनि राजा आऊ र देश बचाऊ भन्नु केटाकेटीहरूलाई होमवर्क छिटो सक्काऊ अनि एकादेशको कथा भन्छु भनेजस्तै हो ।

सत्ताको सिनुवरिपरि घुमिरहने व्यक्ति धर्मात्मा हुनै सक्तैन ती त महापापी हुन् । किनकि सत्तालिप्सा एउटा त्यस्तो महारोग र मनोरोग हो जो हिजो महाभारत युद्धमा घटेको कालो इतिहास त हामीले पढेका छौँ । कोतपर्वदेखि मदन भन्डारी, दास ढुंगाको खेल हुँदै राजदरबार हत्याकाण्डसम्म आइपुग्दा यहाँ रगत र राजनीति एक अर्कासँग जोडिएका छन् ।

राजनीति सबैभन्दा फोहोरी खेल हो भन्दाभन्दै पनि जनतालार्ई फेरि तिनै राजनीतिक पार्टीहरूकोमा शरणार्थी बन्नु बाध्यता छ । एउटा पार्टी नसमाती यहाँ लास उठ्दैन । ‘नो पोलटिक्स’ भन्ने दिन र नेपालमा नेपालीले निर्भय भएर बाँच्ने युग कहिले आउला यसैको प्रतीक्षामा छौँ हामी ।

राजनीति भनेको समाजसेवा हो भनेर भनिन्छ तर राजनीति सबैभन्दा तुच्छ व्यक्तिको अहंकार हो र कमाइ खाने पेसा हो भन्ने बुझेका छन् नेपाली जनताले । नेपालमा आजसम्म जति पनि सरकार बने ती जनताको सरकार नभएर पार्टीको मात्रै सरकार बने । कहिले मेरो पार्टीको सरकार बन्ला र सुखसुविधा भोग गरुँला भनेर कार्यकर्ता कुरिरहेका हुन्छन् ।

सरकार भनेको आम नागरिकको आशाको विम्ब हो र हुनुपर्ने थियो तर त्यसो हुन सकिरहेको छैन । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उस्तै उद्देश्य बोकेका दुई पार्टी एक त भए तर तिनका स्वार्थ एक हुन सकेन र फेरि झगडा र स्वार्थको घेराउमा प¥यो तिनका निहित उद्देश्य ।

मिलेर प्रधानमन्त्री हुने, मिलेर अध्यक्ष चलाउने, मिलेर पार्टी चलाउने भनेर सम्झौता गरेको हो भने त्यो सम्झौताको भावना र मर्मअनुरूप काम हुनु जरुरी थियो । यहाँ बेइमानी कसले गरेका हुन् ? प्रचण्डले कि केपी ओलीले अझैसम्म बुझ्न सकिएको छैन । यदि त्यस्तै सम्झौता भएको थियो भने सम्झौताको त्यो दस्ताबेज किन प्रचण्डले बाहिर सार्वजनिक गर्न सकेनन् । अहिले प्रचण्ड र केपी ओलीको झगडाले यो दुरावस्था निम्तिएको छ । कार्यपालिका र व्यवस्थापिका मात्रै होइन इतिहासमा नेपालको न्यायपालिका समेत विवादास्पद बन्न पुगेको छ । नेताहरूको निहित स्वार्थ र अहंकारको रक्षा गर्न बाध्य पारिएको छ न्यायलयलाई ।

सत्ता खोस्न खोज्ने प्रचण्ड र सत्तामोहमा लिप्त हुने केपी ओलीको राजनीतिक चरित्रका कारण हो अहिलेको कोरोनाको विध्वंस आगो फैलिनु । त्योभन्दा अगाडि कोरोना नियन्त्रणमा आइसकेको थियो । मानिसहरू सामान्य जीवनमा फर्किसकेका थिए । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनतालार्ई दैनिकी भत्ता उपलब्ध गराएर बसमा चढाएर सबले उर्दी जारे गरे कि सडकमा आउन । कान्तिपुरको खाल्डामा भीड जम्मा गरे । एउटा जिल्लाबाट कम्तीमा ४० बस मान्छे उतारे राज्यको ढुकुटी दोहन गरेर । जनताले तिरेको कर विकास निर्माणमा खर्च गर्नुको अलवा कार्यकर्तालार्ई सत्ता जोगाउन र सत्ता खोस्नमा प्रयोग गरियो ।

दैनिकी भत्ताप्राप्ति र मासुभात खान पाउने लोभमा पूर्व ताप्लेजुङको हाङपाङदेखि पश्चिम महाकाली कन्चनपुरको बेलौरीदेखिका मान्छेहरू ट्रक–ट्रकमा र बस–बसमा ओसार्ने काम भो । कसका पक्षमा कति लाख जनलहर भन्ने इगो प्रचण्ड र केपी दुवै नेतामा देखिएको थियो । आज त्यसैको घातक परिणाम कोभिड आतङ्क नेपालीले भोग्न परिरहेको छ । त्यो विकराल भीडमा कतिले कतिलाई कोरोना सारे त्यसको परिणाम अहिले निस्किसकेको छ । सत्तामा रहेकालाई हटाउने खेल नयाँ होइन अनि सत्ताबाहिर बसेकाले सत्ता प्राप्तिको अनेकौं बाटो अपनाउँछन् ।

सत्ताको खेलमा जनता मर्छन् र मारिन्छन् । मरेकालाई सहिद भन्न लगाउँछन् । त्यसमा पनि राजनीति छ । जनताहरू अनाहकमा प्रयोग हुन्छन् । जनताको लागि भनेर राजनीति गर्छु भन्ने नेताले रातारात करोडौँ कमाउँदा त्यो भोटरको जिन्दगी नालीको नालीमै हुन्छ । भोट दिने खाल्डामै हुन्छ । भोट पाएर चुनाव जित्ने नेता प्रगतिको त्यो शिखरमा हुन्छ जहाँ उसलाई अब अरु सामान्यले भेट्न् पनि सक्तैन ।

त्यसकारण पनि संसदीय व्यावस्था नै ठीक होइन भन्ने शंकाको घेरोमा परेको छ ।
नेपालगञ्जका डाक्टरको चित्कार र रोदन देखिरहेका छन् प्रचण्ड र केपी ओलीले । त्यो हस्पिटलमा दरबन्दीभन्दा धेरै कम कर्मचारीले काम गरिरहेका छन् । देशमा लाखौँ बेरोजगार नर्सहरू छन् । राज्यले तिनलाई रोजगार दिन सकिरहेको छैन ।

उता अस्पतालमा नर्सको अभावमा कोभिडका बिरामी उपचार नपाएर भुतुभुतु मरिरहेका छन् । के यो राज्यको दायित्व होइन र ? देशमा भएका अक्सिजन उत्पादक कम्पनीलाई थिलथिलो हुनेगरी कर लगाउने अनि यतिबेला अक्सिजनको कमी भयो भनेर सरकारले चिच्याउँदै भारतलार्ई गुहार्नु कति नमीठो र कति लज्जास्पद कुरा हो ?

सरकारले आन्तरिक उद्योगलार्ई कहिले पनि प्राथमिकता पारेन । जहिले पनि सत्ता टिकाउने निहुँमा इन्डियाको गुलामी गरिरह्यो सरकारले र मुलुकभित्रको उद्योगलार्ई सौतेनी व्यवहार गरिरह्यो । नेपालको राजनीतिले व्युरोक्राट्स समेत प्रभावित बनिरह्यो ।

शरीर नेपाल भए पनि प्राणचाहिँ भारती भएपछि त्यस्ता मानिसहरूले फेरि किन राष्ट्रवादको नारा लगाउनु ? राष्ट्र भनेको भूगोल मात्रै होइन । भूगोलभित्रका जनता हुन् र जनताको सपना पूरा गर्ने एक मात्रै जिम्मेवारी चुनावबाट चुनिएर गएका जनप्रतिनिधि हुन् भन्ने कुरा सबैलार्ई चेत छ र पनि नेपाली जनता यतिखेर विवशताको आँसु पिउन बाध्य छन् । बाह्रबुँदे सम्झौता दिल्लीमा भारतीय सरकारको निर्देशनमा भएको थियो भने नेपालको शान्ति प्रक्रियाको जस भारतले लिन खोज्यो र संविधान निर्माण प्रक्रियामा समेत भारतीय हस्तक्षेपलार्ई नेपालका राजनीतिक पार्टीले सह्यो भने नेपालका कुन राजनीतिक पार्टीमा राष्ट्रवादी भावना छ त ?

हिजो आफ्नो सत्ता टिकाउन र सत्ता खोस्न पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनतालार्ई काठमाडौंमा उतार्ने प्रचण्ड र केपी ओली सरकारले जनतालार्ई तीन दिनभित्र उपत्यका छोड्नु भनेर उर्दी लगाउँदा कमसेकम बसको व्यावस्थापनसम्म गरिदिएका भए जनताले कति आशीर्वाद दिन्थे होलान् ? आफूलाई चाहिँदा लिन जाने, मासुभात पनि खुवाउने अनि आफूलाई नचाहिँदाचाहिँ तीन दिनभित्र उपत्यका छोडेर जा भन्नु र यातायातको पनि व्यवस्थापन नगर्नु कति उचित थियो ?

कोभिडको यो दुःखद घडी निम्त्याउन सहयोग पु¥याउने नेपालका सबै राजनीतिक पार्टीहरूलाई मुर्दावाद भन्दा कुनै फरक नपर्ला । जनताको आँसु पुछ्नु त परैको कुरा आपत्कालीन अवस्थामा जनसेवामा लाग्नुको अलवा दुलोभित्र छिर्ने माधव कुमारदेखि प्रचण्ड पथका कार्यकर्ता अनि केपीबाको अभिवावकत्वलाई जनताले आगामी चुनावमा यस्को हिसाबकिताब त पक्कै लिनेछन् ।

केपी बा आफ्नो सत्ता जसरी पनि लम्ब्याउने योजनामा रत्तिएका छन् अनि आफ्नै पार्टीका प्रमुख नेताहरू आफ्नै पार्टीको प्रतिपक्षी बनिरहेको उनलाई हेक्का समेत नहुनु पनि यो एकप्रकारको राजनीतिक तमासा पनि हो । सत्तामोहमा अन्धो हुनु स्वाभाविक भए पनि हदभन्दा माथि गएर जनता चिढाउने काम गर्नुचैँ अराजक नै हो ।

भनिन्छ प्रेम र युद्धमा सबै कुरा जायज भनेर तर अहिले राजनीतिमा चैं सबै कुरा जाहेज हुन्छ भन्ने कुरा नेपाली राजनीतिले हामीलार्ई सिकाइरहेको छ । प्रचण्डको प्रचण्ड ताप आफ्नै कारण सेलाउँदै गएको छ र केपी ओली राजनीतिमा ज्याद्रो छन् । उनी अरुलाई मिचेर आफ्नै ढिपीमा राज्यसत्तामा हालीमुहाली गर्न चाहन्छन् । यी दुवैको राजनीतिक दुस्मनीले यतिबेला नेपाली जनताले भोग्न परेको यो महामारीको तितो सत्य जनताको आँखाबाट अश्रु धारा भएर बगिरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्