Techie IT
२ जेठ २०७८, आईतबार

नेपालको युरेनियम आणविक हतियारमा प्रयोग कि मेडिकल साइन्समा ?

उत्खनन गर्न कति सम्भव !


काठमाडौं ।
युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । यो तत्वबारे पहिलोपटक अठारौँ शताब्दीमा जर्मन रसायनविद् मार्टिन हेनरिक क्लप्रोथले पत्ता लगाएका थिए । युरेनियम प्राकृतिक रूपमा कम मात्रामा पाइने खनिज धातु हो । युरेनियम–२३८ प्राकृतिक रूपमा पाइने गरे पनि यू–२३५ धेरै कम मात्रामा पाइन्छ । आणविक भट्टी केन्द्रहरूमा यू–२३८ लाई टुक्र्याएर यू–२३५ बनाउने गरिन्छ । यो आणविक भट्टीमा प्रयोग हुने गरेको छ । २ सय ३८ पारमाणविक भार हुने यो धातुले लगातार ऊर्जावान् विकिरणहरू फ्याँकिरहने भएकाले यसको आयु लामो हुँदैन । विशेषज्ञहरू युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारबारे एकीन गर्न सकिन्छ । युरोपियन न्युक्लियर सोसाइटीको एक अध्ययनअनुसार एक किलो कोइलाबाट आठ किलोवाट र एक किलो तेलबाट करिब १२ किलोवाट ऊर्जा निस्किन्छ । तर, एक किलो युरेनियम–२३५० बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ ।

पृथ्वीमा आजको समय युरेनियमको सबैभन्दा अधिक उपयोग परमाणु ऊर्जाका रुपमा गरिन्छ । तर युरेनियमको प्रयोगले संसारमा धेरै विवाद पनि सिर्जना गरेको छ । किनकि धेरै देशले युरेनियमलाई परमाणुशक्तिको रुपमा प्रयोग गर्छन् । युरेनियमलाई परमाणुबमको निर्माणमा पनि प्रयोग गरिन्छ । विश्वका धेरै देशमा परमाणु बमको निर्माण प्रतिबन्धित छ ।

दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले हानेका दुई शक्तिशाली एटम बमले धेरै नै ठूलो धनजनको क्षति भएको थियो । सन् १९४५ युरेनियम २३५ बाट निर्मित लिटिल ब्वाय र युरेनियम २३८ बाट परिमार्जित गरी बनाइएको फ्याट म्यान नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिएका थिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए । एटम बम ज्यादै ज्वलनशील र विस्फोटक किसिमको विभाजन हुनसक्ने पदार्थ युरेनियम र प्युलोटोनियमबाट बनाइन्छ । एटम बम विस्फोटन हुँदा एकैछिनमा एक्कासि लाखौँ डिग्री सेल्सियस तापक्रम बढ्नपुग्छ । यसमा बमको सबै भाग ग्यासमा बदली चाप वायुमण्डलको भन्दा लाखौँ गुणा बढी हुन्छ र वरपरको हावालाई दबाब दिएर यो तीव्र गतिमा फैलिन थाल्दछ ।

विश्वमा युरोनियम पाइने देशहरुले स्रोत र साधन प्रयोग गरेर खानी उत्खनन गरेर दीर्घकालीन लाभ प्राप्त गरेका छन् । बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फिनल्याण्ड, फ्रान्स, हंगेरी, जापान, दक्षिण कोरिया, स्लोभाकिया, स्लोभेनिया, स्विडेन, स्विट्जरल्याण्ड, भारत, चीन, पाकिस्तान र युक्रेनमा ३०५ वा योभन्दा बढी बिजुली सबै आणविक भट्टीबाट उत्पादन हुन्छ । काजकस्तान, क्यानडा, अष्ट्रेलिया, नामिबिया, रसियालगायतका मुलुकमा युरेनियमको बढी उत्पादन हुन्छ । यो धातुको विश्व बजारमा पनि उच्च माग छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको अनुमानअनुसार संसारको १२ प्रतिशत बिजुली युरेनियम प्रयोग भएको आणविक भट्टीबाट उत्पादन हुन्छ । विश्वको ऊर्जा आवश्यकता सन् २०३० सम्म ६० प्रतिशतले वृद्धि हुनेछ । यो ऊर्जाको माग विकासोन्मुख मुलुकबाट हुनेछ । विश्वको कुल ऊर्जा उत्पादनको १९ प्रतिशत मात्रै जलविद्युत् छ । सानो १ मेगावाटको बिजुली उत्पादन गर्न समेत लगभग १५ करोड रुपैयाँ चाहिन्छ । यसको तुलनामा आणविक ऊर्जा धेरै सस्तो हुन जान्छ । अमेरिकी ऊर्जा मन्त्रालयको आधिकारिक वेबसाइट एनबीएल डट डीओई डट जीओभीका अनुसार १० ग्राम शुद्ध युरेनियम जसलाई युरेनियम (२३५) भनिन्छ, को अन्तर्राष्ट्रिय बजारको वैध मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करिब १८ करोड) रुपैयाँ पर्छ ।

गत महिनाको फागुन २८ गते काठमाडौंको बौद्धबाट प्रहरीले झण्डै तीन किलोग्राम शंकास्पद खनिज पदार्थसहित एक महिला र तीन पुरुषलाई पक्राउ गरेपछि युरेनियमको बारेमा नेपालमा धेरैमा जिज्ञासा उत्पन्न भएको छ । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पाइएको छ । बालुवासँग मिश्रित युरेनियमको मात्रा विश्वमा ५० प्रतिशत बढी पाइएको एक अध्ययनमा देखिएको छ । ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । तर नेपालका केही स्थानमा पनि युरेनियम खनिज पाइने तथ्य वैज्ञानिक अध्ययनहरूमा देखाइएको छ ।

नेपालमा पनि युरेनियमको उत्खनन, प्रयोग र बिक्रीसम्बन्धी रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन–२०७७ जारी भइसकेको छ । गत असार ११ मा राष्ट्रपतिबाट ऐन प्रमाणीकरण भएको हो । ऐनको दफा ५५ मा ‘नेपालभित्र फेला परेको रेडियोधर्मी पदार्थ वा सोसँग सम्बन्धित पदार्थउपर नेपाल सरकारको स्वामित्व रहनेछ’ भनिएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार विभागले गरेको प्रारम्भिक अन्वेषणमा मुस्ताङको लोमान्थाङ, मकवानपुरको तीनभँगाले, बैतडी, मनाङ र गोरखा जिल्लाका केही स्थानमा युरेनियम पाइने संकेतहरू देखा परेका छन् । विभागका अनुसार ती ठाउँबारे थप अनुसन्धानका लागि पहल भइरहेको र लोमान्थाङमा सम्भावित खानी भएको क्षेत्रलाई राष्ट्रिय सुरक्षा संवेदनशीलताकै कारण अध्ययनबाट खानी क्षेत्र भएको पुष्टिपछि लोमन्थाङमा १ हजार २ सय ७१ रोपनी क्षेत्रफलको सुरक्षामा सेना तैनाथ छ ।

२०७३ साउन ७ को मन्त्रिपरिषद् बैठकले लोमान्थाङमा सम्भावित युरेनियम खानी सुरक्षार्थ सेना परिचालनको निर्णय गरेको थियो । सन् १९९० तिर मकवानपुरको धियाल–तीनभंगाले क्षेत्रमा पनि युरेनियम सम्भाव्यता अध्ययन गरिएको थियो । तर, यसको संरक्षण र सुरक्षामा सरकारले ध्यान दिएको छैन । युरेनियमलगायत बहुमूल्य खानी क्षेत्र सबैको पहुँचमा समेत नदिने चलन छ । नेपालले युरेनियमको उत्खनन र थप अध्ययनका लागि पहल पनि गरिरहेको छ । नेपाल संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को पनि सदस्य भएकाले यस्ता खानीहरुको उत्खनन गर्न राष्ट्रसंघले तोकेका मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ।

खानी र प्रशोधन केन्द्रहरूबाट आउने विकीरणका कारण स्वास्थ्य र सुरक्षाको ठूलो जोखिमसमेत हुनसक्ने भएकोले यसको सुरक्षाबारे एकदमै ठूलो प्रश्न उठेको छ । त्यसका लागि छुट्टै कानुनसमेत बन्नुपर्ने त हुन्छ नै, सँगै भूगर्भ विभागसँग विस्तृत अन्वेषण र उत्खननका लागि त्यति ठूलो दक्ष जनशक्ति र उपकरण समेत प्राप्त छैन् । त्यसका लागि विभागले आईएईएसँग सहकार्य गर्नुपर्ने हुन्छ । विभागले युरेनियम खानीबारे विस्तृत अध्ययनका लागि खानी तथा खनिज ऐन संशोधन मस्यौदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको बताएको छ ।

‘त्यो कानुन बनेर आएपछि मात्रै विभाग अघि बढ्नसक्छ । विभागसँग विस्तृत अन्वेषण र उत्खननका लागि त्यति ठूलो दक्ष जनशक्ति र उपकरण नभएकाले त्यसका लागि पनि आईएईएसँग सहकार्य गरिरहेको विभागले बताएको छ । नेपालको विकास नहुनुमा दूरदर्शी सोचको कमीले पनि हो । विगतमा मानिसले चन्द्रमामा पुगेको कल्पना नगरेको भए सायद मानिस चन्द्रमामा पुग्ने पनि थिएनन् होला । पानी पानी मात्र होइन अब खानीमा पनि लगानी गर्नुपर्छ ।

उत्खननका लागि राज्य सम्बन्धित निकायले चासो दिएर प्राथमिकताका साथ प्रक्रिया पूरा गरेर गहिरो अध्ययन गर्नसके जलस्रोत मात्र होइन खनिज स्रोतको अधिक दोहनका लागि सार्वजनिक निजी साझेदारीमा खानी उत्खनन गर्नुपर्छ । आफ्नै देशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योग नै देशको दिगो विकासका लागि आवश्यक हुन्छ । महँगो धातु युरेनियम निर्यात गर्न सके अर्थतन्त्रमा ठूलो फड्को मार्न सकिन्छ ।

आणविक अस्त्र र ऊर्जाका लागि प्रयोग गरिने भएकाले युरेनियमलाई रणनीतिक खनिज मानिन्छ । त्यसैले सरकारको नीति पनि त्यसैअनुरूप आउन आवश्यक रहेको छ । तर युरेनियम बेचेर नेपाल धनी बन्न सम्भावना चर्चा गरिएजस्तो सहज नभएको विज्ञहरू बताउँछन् । तर असम्भव भन्नेचाहिँ छैन । यदि युरेनियमको उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारमा बेच्न सकियो भने नेपालीहरूको प्रतिव्यक्ति आय धेरैभन्दा धेरै हुनसक्ने विज्ञहरू बताउँछन् । युरेनियम प्रशोधन गरेर बेच्ने हो भने त्यसका लागि धेरै ठूला पूर्वाधार लगानी, प्रविधि र दक्ष जनशक्तिको आवश्यकता पर्छ । एक माइक्रोग्राम भनेको एक ग्रामको १० लाखौँ भाग हो ।

विज्ञहरूका अनुसार रेडियो विकिरण उत्सर्जन गर्ने पदार्थलाई विशेष सुरक्षाविना मानिसहरूको नजिकै राख्नुहुँदैन । कच्चा पदार्थबाट धेरै जोखिम नभए पनि त्यसबाट अल्फा कण र गामा विकिरण निस्किरहेका हुन्छन्, त्यसको नजिकै धेरै बेरसम्म बसिरह्यो भने असर गर्नसक्छ, त्यसैले पनि यसलाई सुरक्षित रूपमा राख्नपर्छ ।’ रेडियोधर्मी पदार्थको प्रत्यक्ष सम्पर्कमा काम गर्नेहरूलाई विशेष सुरक्षासहितका उपकरणहरू आवश्यक हुनुपर्छ ।

‘सुरक्षित रूपमा राख्न नसके यसबाट पैदा हुने विकिरणले सम्पर्कमा आउने मानिसलाई असर गर्न सक्छ’, यो एउटा धातु हो । रसायनशास्त्रीहरूले यसलाई ‘हेभी मेटल’को वर्गमा राखेका छन् । यो १ हजार १ सय ३२ सेल्सियस तापक्रम पुगेपछि मात्र पग्लिन्छ । यो धातुबाट विकिरण उत्पन्न हुने भएकाले ऊर्जा उत्पादन गर्न तथा आणविक अस्त्र बनाउन प्रयोग हुने गरेको छ । चिकित्साक्षेत्रमा पनि यो प्रयोग हुन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्