Techie IT
२ जेठ २०७८, आईतबार

नयाँ वर्ष, नयाँ पाइला : चुनौती र अवसर सँगसँगै


काठमाडौं ।
नेपाली समाजमा एउटा भनाइ छ– जबसम्म मान्छेलाई भोक लाग्दैन, तबसम्म उसले खानै खोज्दैन । उसलाई खान खोज्ने बनाउनको लागि अर्थात् भनौँ भोक लाग्ने बनाउन उसले काम गर्नुपर्छ । कुनै पनि रुपमा होस्, शारीरिक श्रम गर्नैपर्छ । कुनै पनि विनाश भनेको विकासको पूर्वसूचक हो । पुनर्निर्माणको पूर्वसूचक हो । जब भत्किँदैन भने त्यो कहिल्यै बन्दैन पनि । नयाँ बन्न पुरानो भत्किनुपर्छ । उठ्नको लागि पनि पहिला लड्नुुपर्छ । विनाश अनि विंंकास, भत्किनु अनि बन्नु, लड्नु अनि उठ्नु, दिन अनि रात सायदै एकै सिक्काको दुई पाटा हुन सक्छन् । यदि नभए पनि अबको समय हामीले यी वाक्यहरुलाई एकै शब्दका दुईवटा पाटाको रुपमा बुझ्न र बुझाउन जरुरी छ । वास्तवमा यी त्यस्ता केही हरफहरु हुन् जसले चरम निराशाका बीच पनि मानिसहरुलाई आशावादी बनाउन सक्छ । सधैँ नराम्रो पनि हुँदैन । नराम्रोपछि राम्रो हुन्छ नै । राम्रोपछि नराम्रो भए पनि पछि राम्रो हुन्छ नै भन्ने सोचको विकास गर्न आम नागरिकलाई उत्प्रेरित गरिरहन्छ ।

हामी नयाँ वर्षको आँगनमा छौँ । यो बेला हामीबीच अथवा भनौँ सिंगो विश्वसमुदायबीच निकै ठूलो चुुनौतीको पहाड छ । त्यो चुनौतीको पहाड भनेको विश्व महामारी कोरोना भाइरस (कोेभिड १९) को संक्रमण नै हो । विगत एक वर्षदेखि सिंगो विश्व समुदाय यो महामारीविरुद्ध लडिरहेको छ । यो समाचार तयार पार्दाको अवस्थासम्म अर्थात् यही चैत २९ गते अपराह्नसम्म विश्वमा १२ करोड ७४ हजार तीन सय ७० जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् ।

कुल संक्रमितहरुमध्ये नौ करोड ६५ लाख ९७ हजार चार सय ७३ जना निको भएका छन् भने २६ लाख ६० हजार एक सय ३१ जनाको कोभिड १९ कै कारण मृत्यु भएको छ । नेपालको हकमा भने दुई लाख ७९ हजार सात सय २५ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् । यसमध्ये दुई लाख ७३ हजार आठ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने तीन हजार ३९ जनाको कोभिड १९ कै कारण मृत्यु भएको छ । तर यो शृंखला अझै जारी छ । संक्रमित हुनु, निको हुने र मृत्यु हुनेको संख्या अझै रोकिएको छैन अर्थात् भनौँ कोभिड १९ को महामारी अझै नियन्त्रणमा आइसकेको छैन । कोभिड १९ को विरुद्धमा दर्जनौं भ्याक्सिनहरु बनेका छन्, लगाउने क्रम पनि बढेकै छ तर महामारी फैलिने क्रम रोकिएको छैन ।

पछिल्लो केही महिना स्थिर देखिएको यो महामारी पुनः फैलिनथालेको छ । यो फैलावटलाई कोभिड १९ को दोस्रो लहर भनेर परिभाषित गरिएको छ । विश्वमा कुनै पनि महामारी लामो र दीर्घकालसम्म हुुँदैन । केही समय आउँछ, जान्छ र हराउन पनि सक्छ । तर यसले आम नागरिकसामु पार्ने असरहरु भने दीर्घकालीन हुन सक्छन् । अहिले सिंगो विश्व अर्थतन्त्र नै महामारीको कारण कमजोर बनेको छ । आर्थिक विकास र समृद्धिमा लगाउनुपर्ने निकै ठूलो धनराशी महामारी नियन्त्रणमा लगाउनुपरेको छ ।

महामारी नियन्त्रणको लागि गरिएको बन्दाबन्दीकै कारण सिंगो विश्वले खर्बौँ डलर बराबरको आर्थिक क्षति व्यहोरेको छ, वास्तविक लेखाजोखा, हिसाबकिताब आजसम्म पनि हुनसकेको छैन । तर सबै महामारीले विनाश मात्र नगर्न पनि सक्छ । कोभिड १९ को महामारीले विश्वसमुदायलाई धेरै कुरा सिकाएको छ– आत्मनिर्भरता, सरसफाइ, सामाजिक दूरी, आफ्नो स्वास्थ्यमा सचेतता, बढ्दो जलवायु प्रदूषण नियन्त्रण । यीलगायतका धेरै कुराहरु यो महामारीबाट विश्व समुदायले सिकेको छ ।

जापान आजको समयमा धेरै सफा हुनुमा, त्यहाँका नागरिकहरु सफा हुनुमामा त्यो कुुनै समय फैलिएको प्लेगको निकै ठूलो भूमिका रहेको थियो । त्यसपछि मात्र मानिसहरु आफ्नो स्वास्थ्यप्रति, सरसफाइप्रति सचेत भएका थिए । यो महामारीले पनि यस्ता धेरै कुरा सिकाएको छ । वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्नेदेखि नियमितरुपमा साबुनपानीले हात धुने, पौष्टिक खानेकुरा खाने, मादक पदार्थ सेवन नगर्नेजस्ता धेरै कुराहरु सिकाएको छ । यो महामारीले सिकाएको अर्को महत्वपूर्ण कुरा भनेको आत्मनिर्भर अर्थतन्त्रको विकास पनि हो । जुन कुरा आजको विश्वमा असम्भव नै छ, तर गर्न खोजेको खण्डमा सबै कुरामा नभई हामी धेरै कुरामा आन्तनिर्भर हुनसक्छौँ । बढ्दो व्यापारघाटालाई केही हदसम्म भए पनि नियन्त्रणमा राख्न सक्छौँ । यसको लागि हामीले स्वदेशी, श्रम, सीप र रोजगारीलाई प्रोत्साहन हुने गरी आफ्नो आनीबानी र आचरण सुधार गर्नुपर्छ ।

अहिले एउटै वस्तु तथा सेवाको प्रयोगमा पनि धेरै विकल्पहरु रहेका छन् । ती विकल्पमा आफ्नै स्रोत, साधन र सीपको प्रयोग भएको वस्तु तथा सेवालाई स्वीकार्नसकेको खण्डमा मुलुकको अर्थतन्त्र पनि केही कुरामा आत्मनिर्भर हुनसक्छ । केही वस्तु तथा सेवामा मुलुक आत्मनिर्भर हुनु भनेको मुलुकको बढ्दो वैदेशिक व्यापारघाटामा केही प्रतिशतले भने पनि कमी आउनु हो । हाम्रोजस्तो पूर्णरुपमा परनिर्भर र रेमिट्यान्सको भरमा चलेको मुलुकमा थोरै मात्रामा वैदेशिक व्यापारघाटामा कमी आउनु पनि निकै महत्वपूर्ण हुन सक्छन् ।

नेपालले प्रत्येक वर्ष मुलुकको बजेटबराबरकै वैदेशिक व्यापारघाटा व्यहोर्ने गरेको छ । गत आर्थिक वर्षमा मुलुकको कुुल व्यापारघाटा १० खर्ब ९९ अर्ब नौ करोड रुपैयाँ रहेको थियो । उक्त आवमा नेपालले ९७ अर्ब ७१ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात गर्दा ११ खर्ब ९६ अर्ब ८० करोड रुपैयाँबराबरको सामान आयात गरेको थियो ।

चालू आर्थिक वर्षको पछिल्लो महिनाहरुमा पनि मुलुकको व्यापारघाटा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालले ७६ अर्ब १९ करोड रुपैयाँबराबरको वैदेशिक व्यापारघाटा व्यहोरेको छ । सो अवधिमा ८५ अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुुँदा नौ अर्ब ६२ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । सोही आधारमा पनि उक्त अवधिमा नेपालको व्यापारघाटा एक खर्बनजिक पुगेको थियो । चालू आवको दोस्रो महिनामा भने व्यापारघाटा बढेर एक खर्ब ५८ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

सो अवधिमा एक खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँबराबरको सामान आयात हुुँदा २० अर्ब ४४ करोड रुपैयाँबराबरको सामान निर्यात भएको थियो । चालू आवको तेस्रो महिनामा पनि व्यापारघाटा बढेर दुई खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा मुलुकले दुई खर्ब ९२ अर्ब २७ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात गर्दा ३१ अर्ब पाँच करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो । चालू आवको चार महिना भने मुलुकको कुल व्यापारघाटा तीन खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ पुगेको थियो । उक्त अवधिमा नेपालले चार खर्ब दुई अर्ब ४९ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात गर्दा ४० अर्ब २० करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो ।

चालू आवको पाँच महिनामा भने नेपालले चार खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँबराबरको व्यापारघाटा व्यहोरेको छ । उक्त अवधिमा पाँच खर्ब २५ अर्ब ५० करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात हुुँदा ५० अर्ब छ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । चालू आवको छ महिनामा पनि नेपालले छ खर्ब ४५ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

यस अवधिमा छ खर्ब ६१ अर्ब २५ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात हुुँदा ६० अर्ब ८० करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । चालू आवको पछिल्लो सात महिनाको अवधिमा भने नेपालले सात खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । यस अवधिमा मुलुकले आठ खर्ब तीन अर्ब ६४ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा आयात गर्दा ६९ अर्ब ९२ करोड रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो ।

यसैगरी चालु आर्थिक बर्षको आठ महिनामा नौ खर्ब ४३ अर्ब ९९ करोड रुपैयाँँको सामान आयात हुुंदा ८० अर्ब ७८ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको थियो । सोही आधारमा यस अवधिमा पनि मुलुकले आठ खर्ब ६३ अर्ब २१ करोड रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । चालू आव सकिन अझै चार महिना बाँकी छ । यो अवस्थामा चालू आवमा पनि मुलुकको कुल वैदेशिक व्यापार घाटा बढेर झण्डै १२ खर्ब रुपैयाँको हाराहारीमा पुग्नसक्छ । यदि व्यापारघाटाको ग्राफ सोही अंकसम्म पुग्न नदिने हो भने यो महामारीमा हामीले गर्नपर्ने अभ्यास भनेको आत्मनिर्भरताको अभ्यास हो ।

जुन कुरामा हामी आत्मनिर्भर हुनसक्छौँ, त्यस्तो वस्तु तथा सेवाको उत्पादन हामीले आफ्नै देशमा गर्नुुपर्छ । अहिलेको अवस्थामा कोभिड १९ कै महामारीका कारण ठूलो जनसंख्या स्वदेशमा आएको छ । त्यो जनसंख्यालाई मुलुकको आर्थिक विकास र समृद्धिमा लगाउन पनि हामीले आफ्नै देशमा रोजगारी सिर्जना गर्नुुपर्छ । आजको अवस्थामा त्यो रोजगारी सिर्जना हुने भनेको नै कृषि, पर्यटन र पूर्वाधारबाट नै हो । हामीले त्यस्ता क्षेत्रमा आफ्नै श्रम, सीप र क्षमता उपयोग गर्नसकेको खण्डमा परनिर्भरतातर्फ उन्मुुख हुँदै गएको हाम्रो अर्थतन्त्र केही हदसम्म भए पनि आत्मनिर्भरतातर्फ धकेलिन सक्छ । धेरै युवाहरु आफ्नै देशमा स्वरोजगार हुनसक्छन् ।

बढ्दो व्यापारघाटामा केही हदसम्म कमी आउनसक्छ । यो संकट र महामारीले मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रको विकास र विस्तारतर्फ धकेल्न सक्छ अर्थात् भनौँ हामीलाई पनि आत्मनिर्भरतातर्फ धकेलिने भोक लाग्नसक्छ । आफ्नै देशमा श्रम, सीप र रोजगारी सिर्जना गर्ने भोक लाग्नसक्छ । आफ्नै देशमा केही गर्न भोक लाग्नसक्छ । मुलुकलाई आर्थिक विकास र समृद्धिमा लैजाने भोक लाग्नसक्छ, त्यसको सुरुवात यो नयाँँ वर्षबाट सुरु होस् ! (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्