Techie IT
२ जेठ २०७८, आईतबार

मौसमका कुरा : विश्व परिवेश र नेपाल


काठमाडौं ।
क) सार : वातावरणीय क्षेत्रमा जनचेतनाको वृद्धि, संस्थागत दरिलो प्रबन्ध, विषादीहरूको सुरक्षित बिसर्जन, राष्ट्रिय महत्वका सम्पदाको संरक्षण, ध्वनि, वायु र जलप्रदूषणमा कमी, सहरी क्षेत्रका नदीहरूको प्रदूषण न्यूनीकरण र वातावरणसम्बन्धी महासन्धिहरूको कार्यान्वयन हुने पूर्ण उपलब्धि हासिल हुनेगरी तय भएका धेरै हाम्रा राम्रा योजनाहरू कार्यान्वयन भइसकेका छन् ।

मेलम्चीको पानी काठमाडौँमा खन्याउँदा पनि विगतको तुलनामा वातावरणीय समस्या भने झन्–झन् जटिल बन्दै गएको र काठमाडौँ उपत्यकामा बढ्दै गएको प्रदूषण, विश्व सम्पदा सूचीमा रहेको वाग्मती नदीमा विगत ३० वर्षयतादेखि नै जलचरहरू नपाइने स्थिति देखापरेको र अन्य सहायक नदीहरू विष्णुमती, टुकुचा, धोबीखोला, मनहरा, बल्खु, नख्खु, गोदावरी, हनुमन्ते, साङ्ला, कोड्कु खोलासमेत प्रदूषणले आक्रान्त बन्दै गरेको परिप्रेक्ष्यमा नेपालको वायु, जमिन, जलवायु परिवर्तन जैविक विविधताको क्षेत्रबारे चर्चा गर्नु यो लेखको उद्देश्य रहेको छ ।

ख ) विश्व मौसम दिवस र नेपाल : मार्च २३ विश्व मौसम दिवस मनाइरहँदा भनौँ चैतका सबैजसो पछिल्ला दिनहरूमा काठमाडौँको खराब मौसमले संसारलाई उछिन्दै एक नम्बरमा, दोस्रो बंगलादेश, तेस्रो भियतनाम र चौथो बन्यो दिल्ली सहर । नेपालमा वायुको गुणस्तर नापिने भनौँ एयर क्वालिटी इन्डेक्स खतराको घण्टी बजाउँदै चार सय ३० नाघेको पाइयो ।

भारतको एक्यूआई एक सय ७४, चीनको एक सय ८८ रहँदा दुई छिमेकी देशका बीच रहेको नेपालको एक्यूआई यति माथि पुगिरहँदा त्रसित हुने अवस्था सिर्जना हुनु स्वाभाविकै हो । एक्यूआई ५० भन्दा माथि रहनुलाई असामान्य भन्नुपर्ने अवस्थामा काठमाडौँ बाहिर सौराहामा दुई सय ८२, सिमरामा तीन सय ४८ रहँदा काठमाडौँ उपत्यकाको भैँसेपाटीमा चार सय दुईभन्दा माथि रहेको सार्वजनिक भयो भने विमानहरू उडान भिजिविलिटीकै कारण कतिपय रद्ध भए, कतिपय हवाइ उडानहरू डाइभर्ट गरी अन्यत्र पठाइयो । चितवन, पोखरा, कन्चनपुर, धनकुटा, दमक, विराटनगर, सबैजसो क्षेत्रको आकांश धमिलो हुँदा शैक्षिक संस्थाहरू बन्द भए भने आँखा पिरो हुने, चिसो बढी हुने, दिउँसै अँध्यारो महसुस भई त्रासदीय वातावरणको अनुभूति भयो ।

मौसम खराब देखिनुमा देशैभरिको डँडेलो र हिउँदमा पानी नपर्नुलाई कारण बनाइयो । वायु प्रदूषणका कारण सूर्यको प्रकाश पृथ्वीमा राम्ररी पर्न सकेन । हुस्सु र तुँवालोले ढाकेजस्तो देखिएको मौसमलाई क्यान्सरजस्तो घातक रोग निम्तिने विज्ञहरूको भनाइ छ । विद्यालयहरू पुनः बन्द गराउने, उद्योगधन्दाहरू पनि बन्द गराउने र सवारीसाधनहरू जोरबिजोरमा चलाउनु पर्नेसमेत विज्ञहरूको तर्क आइरहेको छ ।

१० वर्षसम्मको लामो मौसमी अध्ययन, मौसमी परिवर्तनलाई जलवायु परिवर्तन भन्ने गरिन्छ भने छोटो समयको वातावरणीय परिवर्तनलाई भने मौसम परिवर्तन भन्ने गरिन्छ । हरेक वर्षको २३ मार्चलाई विश्व मौसम दिवसको रूपमा लिइन्छ । यस वर्षको नारा भने ‘समुद्र, जलवायु र मौसम’ रह्यो । हरित गृह ग्यासको कटौतीको कारण संसारमा प्रदूषण बढ्दै छ ।

विश्व मौसम संगठनको भनाइमा सन् १८५० देखि सन् १९०० को ५० वर्षको तुलनामा सन् २०२० पछि विश्वमै तातो बढ्न थालेको छ । अतीतको तुलनामा सन् १९२० यता शून्य दशमलव एकदेखि एक दशमलव दुई डिग्री सेल्सियससम्मको तापक्रम वृद्धि भएको अनुमान छ । यसपाली हिउँदमा हामीकहाँ पानी नै परेन । समुद्रको जल वाष्पीकरण भई माथि आकाशमा नउठेसम्म पृथ्वीमा पानी पर्दैन, पानी नपर्दा संसारमै जलवायु परिवर्तनको असर पर्ने हुन्छ । प्रदूषणका कारण ओजोन तहको विनाश भएको छ, हिमालयको हिउँको सतह घटेको छ भने समुद्र सतह बढेको छ ।

सन् १९५० मा संसारको जलवायु र मौसमको यकिन अध्ययन, विश्लेषण गर्न मौसम संगठनको स्थापना भएको र मौसम दिवस मनाउन भने सन् १९६१ मार्च २३ मा सुरु भई सन् १९६६ मा नेपालले संगठनको सदस्यता लिएको हो । संगठनको अवधारणा भने सन् १८७३ मा भियनामा सम्पन्न अन्तर्राष्ट्रिय मौसम संगठनको अवधारणा अन्तर्राष्ट्रियस्तरमै मौसमी तथ्यांक आदानप्रदान गर्ने उद्देश्यले सन् १८७९ मा यसको स्थापना भएको हो । सन् १९५० मा यसलाई संगठनको रूपमा परिणत गरी सन् १९५१ देखि संयुक्त राष्ट्र संघको विशेष निकायको रूपमा रहेको छ । हाल यसमा एक सय ८७ देशहरू सदस्य छन् सन् १९६६ मा नेपालले सदस्यता लिएपछि पहिलेदेखि यहाँ काम गर्दै आएको संस्था जल तथा मौसम विज्ञान विभागको रूपमा स्थापना भएको देखिन्छ ।

यसको सदस्यता लिएसँगै देशमा मौसम मापन केन्द्रहरू स्थापना गरिएका हुन् भने हाल ७० यस्ता मापन केन्द्रहरूबाट प्राकृतिक विपत्तिको संकेत र हवाइ उडानको व्यवस्थिति गर्ने गरिएको हो । तर केन्द्रहरू भने समयमा औजार मर्मत नहुँदा, प्रविधि, दक्ष जनशक्तिको अभावका कारण हाम्रो मौसम भविष्यवाणीमा चुनौतीहरू धेरै छन् । हिजोआज कहिले अनावृष्टि, कहिले अतिवृष्टि, कहिले खण्डवृष्टि भएको देखिन्छ र त बाढी, पहिरो, हावाहुरी, चट्याङ, अधिक वर्षा त कहिले सुख्खा अवस्था देखिएको छ ।

सन् १९७१ देखि सन् २०१४ को जलवायु प्रवृत्ति विश्लेषण नेपालका अनुसार नेपालमा प्रतिवर्ष शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियस अधिकतम र न्यूनतम शून्य दशमलव शून्य शून्य दुई डिग्री सेल्सियस तापक्रम वृद्धि भएको छ । विगत पाँच वर्षको विश्लेषणमा पनि पानी पर्ने, गर्मी हुने, उतिखेरै चिसो बढ्ने क्रम देखिएको छ । समग्रमा हेर्दा विश्वव्यापी उष्णीकरणको तुलनामा पर्वतीय र हिमालीक्षेत्र भएको नेपाल यसको उच्च जोखिममा छ । पर्वतीय र हिमालीक्षेत्रको तापमानमा वृद्धि भएको देखिन्छ । जलवायुसम्बन्धी पेरिस सम्झौताबमोजिम विश्वव्यापी तापक्रम सन् २०२१ सम्म एक दशमलव पाँच डिग्री सेल्सियसमा कायम गरे पनि नेपालजस्ता पर्वतीय भू–भागमा दुई दशमलव दुई डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान छ ।

ग) के–के भए विगतमा ? प्राकृतिक वातावरणको संरक्षण, पुनः स्थापना र वुद्धिमत्तापूर्ण उपयोगमा जोड दिने, सहरी प्रदूषणलाई रोकथाम गर्ने र ग्रामीण क्षेत्रलाई स्वच्छ, सफा, हराभरा सुन्दर पारी स्वच्छ वातावरणमा मानिसहरूलाई बाँच्न पाउने हकको सुनिश्चितता प्रदान गर्दै वातावरण व्यवस्थापन सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयन गर्ने सरकारी अभियानहरू रहे । छैटौँ पञ्चवर्षीय योजना अवधिदेखि हाम्रो मुलुकले वातावरणप्रति चासो बढी राखेको हो । मुलुकले दर्शाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता, वातावरणसम्बन्धी सन्धि, महासन्धिलाई अनुमोदन गर्दैै दिगो विकासको अवधारणालाई आत्मसात् गर्दै आएको हो ।

वातावरण निर्देशिका २०५३, वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ कार्यान्वयन भएकोे हो । सहस्राब्दी विकास लक्ष्य र नेपालको दिगो विकासको एजेण्डामा वातावरणीय पक्षलाई उच्च प्राथमिकता दिइएको हो । स्थानीयस्तरमा वातावरण सुधार कार्यक्रम, जनचेतना अभिवृद्धिका कार्यक्रम, जिल्ला विकास समितिहरूले योजना तर्जुमा गर्दा वातावरणीय पक्षलाई समावेश गर्ने कार्य, वातावरण शिक्षातर्पm प्राथमिक तहदेखि विश्वविद्यालयस्तरसम्म शिक्षाको पठनपाठन चालू भएर राष्ट्रियस्तरका उच्चस्तरीय जनशक्ति उत्पादनका कार्यसम्म यस क्षेत्रबाट भएका हुन् ।

वतावरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूको कार्यान्वयन गर्ने क्रममा जलवायु परिवर्तनसम्बन्धी महासन्धिअनुरूप राष्ट्रिय सूचनाहरू तय गर्ने, मरुभूमीकरणसम्बन्धी महासन्धि कार्यान्वयन स्थितिको राष्ट्रिय प्रतिवेदन तयार गर्ने कार्यदेखि ओजोनतह संरक्षणसम्बन्धी महासन्धि कार्यान्वयनका सन्दर्भमा ओजोन तहलाई विनाश गर्ने वस्तुहरूको पैठारीमा रोक र यस्ता पदार्थको उपयोग नियन्त्रण नियमावली २०५७ समेत कार्यान्वयन भएको हो । तर सबैजसो काम देखावटी मात्रै भए ।

घ ) कमजोरीहरू र उपसंहार : हाम्रो मुलुकमा भएको जथाभावी वनफँडानी, अव्यवस्थित बसाइसराइ, अवैज्ञानिक एवं परम्परागत पद्धतिमा आधारित कृषि प्रणाली, अव्यवस्थित र अवैज्ञानिक सहरीकरण, सहर केन्द्रित जनघनत्व, बाढी, पहिरो, डढेलो र आगजनीको समस्यादेखि आधुनिक प्रविधिको अभाव, प्रकोपको सम्भावित क्षेत्रको नक्सांकन गर्न नसकिएको, आवासीय उच्च भवनहरू निर्माण गर्दा न्यूनतम आवश्यक मापदण्ड तय हुन नसकेकोजस्ता विकराल समस्याहरूले गर्दा हाम्रो वातावरणीय समस्याले हाम्रै लागि ठूला चुनौतीहरू थपेका छन् ।

काठमाडौँको धुँवा, धूलो, ट्राफिक जाम, ढल निकासको समस्या, पिउने पानीको अभाव र उपत्यकालाई सरस बनाउने प्रमुख नदीहरूको विकराल अवस्था हेर्दा जो कोहीलाई पीडा र छट्पटाहट हुनु स्वाभाविक हो । विकीरणयुक्त धुँवा फैलाउने काठमाडौँका इँट्टाभट्टाहरू हाल कम भए पनि ढुंगाखानी एवं क्रसर उद्योगबाट पर्ने वातावरणीय समस्या यथावत छन् । रात, दिन टिपर गुड्ने क्रसर उद्योगमा हुने धुलो र अन्य यातायातको चापले जीवन सञ्चालन कष्टकर बनेको छ । भयावह रोगको निम्ता हुँदै छ ।

लेलेस्थित नख्खु खोलाका क्रसरहरू, चापागाउँस्थित ढुंगाखानीहरू, टिकाभैरवको बाटो भई गुड्ने ठूला ट्रकहरू, धार्के, धुनिबेसी, मेलम्ची, दोलालघाटबाट काठमाडौँ आउने मालबाहक टिपर, गाडीहरूले जोकोही पनि पीडित देखिन्छन् । तीन दशक अघिदेखि देखिएको अव्यवस्थित ढुंगाखानी र विगत एक दशकदेखि बढी प्रदूषित बनेको क्रसर उद्योगहरूका कारण गाउँ, सहर, बस्ती, बाटो सबैकोे जनजीवन कष्टकर भएको छ ।

क्रसरको धुलोले खोलाको पानी प्रदूषित भएका छेउ, किनाराका बस्तीहरू बढी मारमा परेका छन् । ढुंगाखानीको कारण पानीको मुहान सुकेको छ, वनक्षेत्र अतिक्रमणमा परेको र धुँवा धुलोका कारण दम र छातीको रोग बढ्दै गएको छ । क्रसर उद्योगकै कारण ती क्षेत्रको खेतीवाली, तरकारीमा प्रत्यक्ष असर परेको छ । छम्पी, वुङमती, टिकाभैरवको नल्लु खोलासम्मको प्रदूषण र अरनिको राजमार्ग हुँदै सूर्यविनायकसम्मको बाटो नवनिर्माण, कोटेश्वरदेखि कलंकी चक्रपथ निर्माणमा सरसामग्री ढुवानी हुँदा लामो समयसम्मको देनिक जीवन डरलाग्दो अवस्थामा थियो । अहिले बालाजु, चाबहिल चक्रपथको निर्माण क्रममा रुख कटानी, सडक मर्मत कार्यमा फेरि हुने प्रदूषण उस्तै हुन्छ ।

काठमाडौँ उपत्यका वरिपरिका गाउँमा पानीको मुहान सुकेको छ, जसले ग्रामीणभेगी जनताको जीवनसमेत पीडाग्रस्त छ, सहरमा भूमिगत पानीको मुहान सुकेको छ, पानीसहितको सहरी जीवन र मेलम्चीको दिगोपनाबारे सोच्नुपर्ने भएको छ  । सहरी क्षेत्रमा अधिक रूपमा सञ्चालन भैरहेका पुराना थोत्रा गाडीहरू र तिनले फाल्ने विषाक्त धुँवाका कारण जीवन थप कष्टकर बनेकै छ ।

वातावरणसम्बन्धी स्वीकृत मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनहरू केवल पुस्तकालय अध्ययनका विषय मात्र बन्न जानाले पनि जीव र जन्तुदेखि मानिससम्मको बाँच्न पाउने हक सुनिश्चित भएको पाईदैन । अन्तर्राष्ट्रिय सन्धिसम्झौताप्रति मुलुकको प्रतिबद्धता वृद्धि हुँदैआएको सुनौलोे अवसर हामीले गुमाएनौं भने भविष्यमा अझै आशावादी हुने स्थान छ । यसका लागि सरकारी निकाय नै जागरुक हुनुपर्छ, सम्बद्ध सबैले साथ दिनुपर्छ । डढेलो नियन्त्रणमा भने प्रहरी, सेनाको उदासीनता हुनु भएन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्