Techie IT
सोमबार, वैशाख ६,२०७८

ग्रामीण विद्युतीकरणका लागि निजी क्षेत्रको सक्रियता


काठमाडौं ।
नेपाल एक अतिकम विकसित राष्ट्र भए पनि जलस्रोतका लागि यो विश्वमा नै दोस्रो धनी राष्ट्र मानिन्छ । यहाँ सानाठूला गरी करिब छ हजार नदीनाला छन् जसबाट यहाँ प्रत्येक वर्ष सरदर एक सय ७० क्युसेक पानी बग्छ । यहाँको कुल अनुमानित जलशक्ति उत्पादन क्षमता करिब ३२ हजार मेगावाट भए पनि यसको झण्डै ५० प्रतिशत आर्थिकरूपले उत्पादनशील मानिन्छ ।

यति धेरै जलसम्पदा भए पनि यथोचित किसिमबाट परिचालन गर्न नसकिएकोले यहाँका धेरै र खास गरेर ग्रामीण जनता आजसम्म पनि जलविद्युत्को उपयोगबाट वञ्चित छन् । वस्तुतः कुनै पनि जलविद्युत् आयोजना/परियोजना निर्माणपश्चात् विद्युत् मात्र उत्पादन नभई सिँचाइ तथा अन्य विकास कार्यहरू सञ्चालन गर्न ठूलो सघाउ प्राप्त हुन्छ । यसको मुख्य कारण उक्त आयोजना/परियोजनास्थलसम्म पुग्न बनाइने बाटोले वरपरको विकासको ढोका खोल्न मदत गर्छ ।

नेपाल गाउँ नै गाउँले भरिएको देश हुनाले यहाँको चौतर्फी विकासका लागि ग्राम विकास गर्न अति आवश्यक छ । यसका निम्ति यहाँ विद्यमान जनसम्पदाले एक अनुपम भूमिका खेल्न सक्छ, तर पुँजीको कमी, उपयुक्त प्राविधिकहरूको कमी र यातायातका कठिनाइ आदिले गर्दा यहाँ भएका जलभण्डारको समयोचित परिचालन गर्न सकिएको छैन ।

वस्तुतः यहाँको जलविद्युत् विकासका लागि विगतमा सरकारले निकै प्रयास गरेको थियो । परन्तु यसका निम्ति प्रचुर लगानी आवश्यक भएकाले जलविद्युत्को विकासमा आशातीत उपलब्धि हासिल गर्न सकिएन । फलतः यहाँका अधिकांश ग्रामवासी आजसम्म पनि अँध्यारोमा बस्न बाध्य छन् । यति मात्र होइन, ग्रामीण क्षेत्रमा उद्योगहरू स्थापना गर्न पनि निकै नै कठिनाइ भएको छ ।

ऊर्जा प्रत्येक व्यक्तिलाई हरेक दिन केही न केही मात्रामा चाहिन्छ । यहाँका ग्रामीण क्षेत्रको ऊर्जाको अधिकतम माग दाउराबाट परिपूर्ति हुनाले एकातिर बाढी, पहिरो र भू–क्षयजस्ता पाकृतिक प्रकोपहरू प्रत्येक वर्ष तीव्ररूपले बढिरहेका छन् भने अर्कातिर व्यवस्थापन पक्ष कठिन मात्र नभई चुनौतीपूर्ण पनि भइरहेको छ । बढ्दो ऊर्जाको माग परिपूर्ति गर्न नवीकरणीय ऊर्जाले उल्लेखनीय भूमिका खेल्छ । नवीकरणीय ऊर्जा भन्नाले एक पटक प्रयोग गरेपछि नाश नभई नवीकरणीय हुने भन्ने बुझिन्छ । जलविद्युत् पनि एकप्रकारको नवीकरणीय ऊर्जा हो, किनभने नदीनालाहरू निरन्तररूपले प्रयोग गर्न सकिन्छ ।

नेपालको गाउँघरमा प्रचुर मात्रामा नदी–तालहरू छन्, जसको यथोचित ढङ्गले परिचालन गर्न सकिएको छैन । तर यहाँको जलविद्युत्को अपार सम्भावना भएकाले त्यसको अधिकतम प्रयोगका निमित्त सरकार तथा सम्बन्धित संघसंस्थाहरू विशेषरूपले कटिबद्ध हुनुपर्ने देखिन्छ । केही दशकअघि देखि यहाँको ग्रामीण क्षेत्रमा हुँदै आएको वन विनाश कम गर्न एवं वातावरणमा सुधार ल्याउने एक प्रमुख विकल्पका रूपमा ग्रामीण विद्युतीकरण प्रविधिलाई लिन सकिन्छ । यो प्रविधि तराईका ग्रामीण क्षेत्रमा लागू गर्न सहज भए पनि पहाडमा पनि उपयुक्त देखिन्छ ।

विगतमा यहाँका केही ग्रामीण क्षेत्रहरूमा स्थानीय व्यक्तिहरूको सक्रियताबाट निर्मित केही लघु जलविद्युत् परियोजनाहरू हालसम्म पनि सञ्चालनमा छन् । यसका निमित्त उनीहरूले घरघरै गई चन्दा उठाई लागत खर्च जम्मा गर्नुका साथै आवश्यक श्रमदान समेत गरेका थिए । उनीहरूको सक्रियतामा सो परियोजनाका लागि बाह्य संघसंस्थाहरूको सहयोग, सरकारबाट प्राप्त अनुदान र कृषि विकास बैंकबाट आर्थिक सहयोग प्राप्त भएको थियो ।

सन् १९८० को दशकको सुरुतिर नेपाल विद्युत् प्राधिकरणको साना जलविद्युत् विभागबाट एक सय किलोवाटसम्मको माइक्रो तथा एक हजार किलोवाटसम्मको मिनी हाइड्रो जलविद्युत् परियोजनाहरू स्थापना गरिएका थिए । यिनीहरूबाट राज्यका केही जिल्ला सदरमुकाम तथा आसपासका बजार क्षेत्रहरूमा थोरबहुत सुविधा पुगेको थियो । पछि कृषि विकास बैंकले साना तथा गाउँस्तरीय जलविद्युत् संयन्त्र स्थापना गर्न लाग्ने सम्पूर्ण खर्चको ५० प्रतिशत र अनुदानका रूपमा उपलब्ध गराउने कार्यक्रम सञ्चालन ग-यो । किन्तु यो अनुदान कार्यक्रमले निरन्तरता प्राप्त गर्न सकेन ।

नेपालको ग्रामीण विद्युतीकरणका लागि खास गरेर नेपाल विद्युत् प्राधिकरण विशेषरूपले संलग्न छ । हुन त दातृराष्ट्र तथा संस्थाहरूले पनि ग्रामीण विद्युतीकरणका लागि सहयोग नजुटाएका होइनन् । परन्तु जलविद्युत् परियोजनाहरूले मूलतः यहाँका तराई तथा भित्री मधेसका केही क्षेत्रका मानिसहरू मात्र लाभान्वित भएका छन् । यसको मुख्य कारणमा भौगोलिक विकटता, प्राविधिक तथा आर्थिक कमीलाई मान्न सकिन्छ ।

वर्तमान समयमा यहाँ नेपाल विद्यत् प्राधिकरण तथा निजीरूपले बनाएका संयन्त्रहरू बढी मात्रामा सञ्चालनमा छन्, तर केवल स्थानीय जनताको सक्रियतामा झलमल पारिएका गाउँलेहरूले निःसन्देह पनि स्थानीय जनशक्तिको सही परिचालन गर्नसके विद्युतीकरणमा प्रगति गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । राज्यका अन्य गाउँलेहरूले यस्ता अनुकरणीय काम गर्नसके ग्रामीण विद्युतीकरणले फड्को मार्नेछ । विगतका अनुभवबाट के प्रमाणित हुन्छ भने नेपाल विद्युत् प्राधिकरणले अनिश्चित तथा विशेष कार्यक्रममा केन्द्रित भई लघु तथा साना जलविद्युत् परियोजनाहरूमाथि आफ्ना नियन्त्रण परित्याग गर्नुपर्छ र सो कार्य उपभोक्ताहरूद्वारा गराउनुपर्छ ।

विचारयोग्य कुरा के छ भने जलविद्युत् ग्रामीण जनताको जीवनस्तर उकास्न निकै उपयोगी हुनेछ, तर यसको उत्पादनमा केन्द्रीय नियन्त्रण गर्नाले स्थानीय जनताको आवश्यकताअनुरूपको आयोजना तथा परियोजनाहरू स्थापना गर्न सकिँदैन । विगतको अनुभवबाट के प्रतीत हुन्छ भने नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालनमा ल्याइएका विद्युत् आयोजना तथा परियोजनाहरू ज्यादै खर्चिला छन् । यसको प्रभाव उपभोक्ताहरूमा पर्नजान्छ । त्यसैले आगामी दिनमा खर्च कम गर्न सम्बन्धित व्यक्तिको ध्यानाकृष्ट हुनु नितान्त आवश्यक छ ।

अधिकांश गाउँ भएको नेपालको सर्वाङ्गीण विकास ग्राम विकासविना सम्भव देखिँदैन । ग्रामीण विद्युतीकरणले यहाँको ग्राम विकासमा ठूलो सघाउ पुग्न सक्छ । अतः यहाँको ग्रामीण विद्युतीकरण प्रक्रियालाई तीव्र गति दिन बहुपक्षीय, अन्तर्राष्ट्रिय संघसस्था तथा मित्रराष्ट्रहरूले केही लघु तथा साना जलविद्युत् परियोजनाहरू स्थापनाका लागि आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्दै आएका छन् । परन्तु आजसम्म पनि अधिकांश ग्रामवासीले बिजुलीको सुविधा पाउन सकिरहेका छैनन् । त्यसैले यहाँको ग्रामीण विद्युतीकरणको प्रयास सफल पार्न निजी क्षेत्रको सक्रिय सफलताको आवश्यकता छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्