Techie IT
सोमबार, वैशाख ६,२०७८

ऐतिहासिक तथा धार्मिक धरोहर : ज्योतिर्लिङ्गेश्वर महादेव स्थान


काठमाडौं ।
भक्तपुर जिल्लाको उत्तरतर्फ लिच्छवी कालमा नै अस्तित्वमा आइसकेको प्रसिद्ध ऐतिहासिक धरोहर चम्पक नारायण (चाँगुनारायण) मन्दिर अवस्थित छ । यसैको फेदी अर्थात् दक्षिणतिर चाँगुनारायण नगरपालिका–३ (साबिक झौखेल–१) मा ज्योतिर्लिङ्गेश्वर महादेवको मन्दिर अवस्थित छ । गजुर नभएको यो मन्दिर झौखेल, चाँगु र छलिङको निकट सुरम्य स्थानमा अवस्थित छ । यस मन्दिरको पुरानो नाम ‘इखुकुलाङ्गेश्वर’ हो । संस्कृतको ‘इह’ शब्द अपभ्रंश हुनगई इखु शब्द भएको पाइन्छ । यसको खास नाम इ कुल अङ्गेश्वर हो । इह–यो, कुल–कुलको, अङ्गेश्वर–आफ्नो कुलको अंग (ईष्ट देवता) । यसरी इह कुल अङ्गेश्वर शब्द अपभ्रंश भई जनजिब्रोको बोलीमा इखुकुलाङ्गेश्वर हुन पुग्यो । आजसम्म यो भेगका बासिन्दाहरू घरमा धार्मिक कार्य गर्दा संकल्पमा पनि यही इखुकुलाङ्गेश्वरको नाम प्रयोग गर्ने गर्दछन् । केही वर्षअगाडि यहाँका व्यक्तिहरूले यो नामलाई परिवर्तन गरी ज्योतिर्लिङ्गेश्वर नामाकरण गरेको प्रमाण यसै निकट रहेको शवदाह गर्ने पार्टीको बीचमा भएको प्रस्तर अभिलेखबाट बुझिन्छ ।

वर्तमान समयमा ज्योतिर्लिङ्गेश्वर महादेवको नामबाट ख्याति कमाउँदै आएको महादेवको लिङ्गको स्वरूप र यसको बनावटलाई हेर्दा प्राचीन कालको मान्न सकिन्छ । इतिहास, संस्कृति तथा पुरातत्वविद्हरूले यसको निर्माण उत्तर लिच्छवीकालको सातौँ शताब्दीतिर भएको अनुमान गरेका छन् । यसको स्वरूपको अध्ययन गर्दा, प्रस्तर स्वरूप हेर्दा, कुँदिएको शैलीबाट पनि उत्तर लिच्छवीकालकै हुनुपर्छ भन्ने अनुमान छ । बाहिर तथा भित्र गर्भगृहसँगै रहेका केही देव, देवीहरूको मूर्तिको बनावट तथा त्यसको कलापक्षलाई नियाल्दा पनि सातौँ शताब्दीको असपासमै निर्माण भएको भन्न सकिन्छ । हाल यस क्षेत्रभित्र बनेका रामसीता, बगलामुखी, हनुमान, देवीका प्रस्तर मुर्तिबाहेक मन्दिर परिसरभित्र रहेका गणेश, नारायण, देवीका मूर्तिहरू लिच्छवीकालदेखि अन्तिम मल्लकालसम्म बनेका हुन् भनेर सहजै अनुमान गर्न सकिन्छ ।

मन्दिरको निकट उत्तरतर्फ प्रस्तरको तर निख्खार नभएको एक जल शयन अवस्थाको मूर्ति छ । यो भेगमा बसोबास गर्ने कतिपय व्यक्तिहरूले यसलाई जलशयन विष्णु अर्थात् बूढानीलकण्ठ मान्दछन् । मूर्तिमा अङ्कित आयुदहरूको अध्ययन गर्दा यसलाई मध्यकालको निर्माण मान्न सकिन्छ । मूर्तिको आकृति र स्वरूपलाई नियालेर हेर्दा विष्णुको जलाशयन स्वरूप नभई शिवको निलकण्ठस्वरूप भन्न सकिन्छ । समुद्र मथन हुँदा प्रकट भएको कालाग्नि हलाहल विषलाई पिएर आफ्नो गलामा धारण गरी विषको ज्वलनलाई शान्त पार्न शयन गने महादेवको स्वरूपलाई मूर्तिकारले चित्रण गर्न खोजेको तर सजीवता दिन नसकेको अनुमान गर्न सकिन्छ ।

लिच्छवीकाल कलाकौशल तथा अन्य कारणबाट पनि स्वर्णिम युगमा गणना भएको र विश्व सम्पदा क्षेत्रमा सूचिकृत भएको चाँगुनारायण क्षेत्रको सन्निकट क्षेत्र भएकोले पनि त्यसैबेलाका अवशेषहरू यत्रतत्र छरिएका हुन् भन्न हिच्किचाउनु पर्दैन । ज्योतिर्लिङ्गेश्वर महादेव मन्दिर परिसरभित्र रहेका श्रीगणेश, पूर्ण कलश (अन्नपूर्णा) विष्णु तथा अन्य प्रस्तर मूर्तिहरूको आधारमा लिच्छवीकालको सातौँ शताब्दीबाट विकासको क्रम सुरु भई मल्लकालको अन्तिमसम्म यो क्षेत्रको प्रचुर विकास भएको मान्न सकिन्छ ।

शिवपुराण, स्कन्दपुराण, लिङ्गपुराण, हिमवत्खण्ड, नेपाल माहात्म्यहरूको अध्ययन गर्दा विश्वको १२ मात्र शिवलिङ्गलाई ज्योतिर्लिङ्गेश्वर भनेर भनिएको छ । अरु शिवलिङ्गहरू ज्योतिर्लिङ्गमा पर्दैनन् । पशुपतिनाथलाई पनि ज्योतिर्लिङ्गको रूपमा नलिई आत्मलिङ्गको रूपमा मानिन्छ । शिवको मूर्तिहरूको स्थापना गर्दा, निर्माण गर्दा सौम्य मूर्ति, उमामहेश्वर, सामान्य लिङ्ग र मुख लिङ्गको रूपमा स्थापना गन सकिन्छ । खास गरेर शिवको निराकार स्वरूपलाई लिङ्गरूपमा स्थापित गरिन्छ ।

मुखलिङ्गमा शिवको पाँच मुखलाई चित्रण गरिएको अर्थात् कुँदिएको हुन्छ । माथिको शिरोभागलाई इशान, उत्तरलाई वामदेव, पूर्वकोलाई तत्पुरुष, दक्षिणकोलाई अघोर र पश्चिमकोलाई सद्योजात भनिन्छ । यी पाँच मुख भएको शिवको स्वरूपलाई साकार स्वरूप शिव र शिवको परमस्वरूप पनि मान्न सकिन्छ । लिङ्गमा मूर्ति नकुँदिएको शिवस्वरूपलाई सामान्य लिङ्ग भनिन्छ । लिङ्ग पुराणमा वर्णन भएअनुसार भगवान् शिवलाई विश्वानर र सुचिस्मतिको गर्भबाट ‘गृहपति’ नामक पुत्रका रूपमा प्रकट भएको पाइन्छ भने श्रीमद्भागवत् महापुराणमा व्रह्माजीको भु्रमण्डलबाट प्रकट भएको बालक मानी रुद्र नामाकरण गरिएको प्रसङ्ग आउँछ ।

हाम्रा पौराणिक स्रोतहरूअनुसार भगवान् शिवद्वारा द्विजेश्वरावतार, यतिनाथ, हंशावतार, शुकावतार, मारुतीवतार, यक्षावतार, भैरवावतार, दुर्वासावतार र नन्दी अवतारहरू लिएको देखिन्छ । साथै भगवान् शिवको स्वरूपलाई चित्रण गर्दा ताण्डव नृत्यमा मग्न शिवस्वरूप पनि पाइन्छ । यी शिवलाई जटाधारण गरेका, आफ्नो माथमा द्धितीयाको बालचन्द्रम, गङ्गा, सर्प (वासुकी नागको माला) लगाएका बाघको छालाले तल्लो भाग ढाकेका माथिल्लो भागमा हात्तीको छाला ओढेका, निधारमा तेस्रो नेत्र भएका हातमा त्रिशुल तथा डमरु लिएका, रुद्राक्षमालाद्वारा वेष्ठित भएका शिवको रूपमा वर्णन भएको पाइन्छ । ताण्डव स्वरूपको शिवलाई चित्रण गर्दा जटाद्वारा ब्रह्माण्ड, सर्पद्वारा वासना, गङ्गाद्वारा ज्ञान, चन्द्रमाद्वारा ज्योति, तेश्रो आँखाद्वारा अग्नि, मुण्डलामाद्वारा संसारको निस्सारता र अपस्मार पुरुषद्वारा अज्ञानताको प्रतिक हो भन्ने बुझाउँछ ।

लिङ्गपुराणमा भनिएको छ – तदाप्रभृति लोकेषु लिङ्गार्चा सुप्रतिष्ठिता ।
लिङ्गादेवी महादेवी लिङ्ग साक्षात् महेश्वरः ।। (लिङ्गपुराण पूर्वभाग अ.१९ श्लोक, १५)
अर्थात् सम्पूर्ण जगतलाई आफैँ लय गराएको कारण यसलाई लिङ्ग भनिएको हो । लिङ्ग तल्लोभाग देवीलाई महादेवी पार्वती र साक्षात् लिङ्गलाई महेश्वर (शिव) भनिन्छ । विभिन्न कल्पमा विभिन्न वर्ण र नाम लिइएका शिवलाई श्वेत कल्पमा सद्योजात, स्वेत वर्ण, रक्तकल्पमा वामदेव, रक्त वर्ण, पित कल्पमा तत्पुरुष पितवर्ण, कृष्णकल्पमा अघोर कृष्ण वर्ण, विश्वरूप कल्पमा इसान विश्वरूप वर्णले मानिने भएकोले मुखलिङ्ग यसैगरी शिवलाई स्थान दिएको पाइन्छ ।

चाँगुनारायणमा रहेको ज्योतिर्लिङ्गेश्वर महादेवको लिङ्ग अर्थात् मूर्तिमा शिवको पाँच स्वरूप अङ्कित भएको देखिँदैन । यसले गर्दा यो सामान्य लिङ्गजस्तो देखिन्छ । यसबाट यो मुखलिङ्ग होइन कि भन्न सन्देह गर्न सकिन्छ । हरेक दिनको पूजा, विशेष दिनको पूजा, शिववासरका दिन नित्यपूजा गर्दा तामाबाट बनेको पञ्चशिवको मूर्ति लगाई पूजा गर्न प्राचीनतम परम्परा भएकोले यो शिव प्रतिमा मुखलिङ्ग नै भएको र प्रस्तरको गुण कमसल भएको कारणबाट मेटिएको अनुमान गर्न सकिन्छ ।

उत्तर तथा उत्तरपूर्वबाट बगेर आउने सानासाना तीनवटा खोलाहरूको बीचमा यो मन्दिर अवस्थित छ । यी ससाना खोलाहरूलाई क्रमशः चम्पानदी, सिलानदी र तिलानदी भनिन्छ । यी तीनै नदीको संगम किनारामा दाहसंस्कार गर्ने स्थान, मलामीहरू बग्ने स्थाल र स्नान गर्ने धाराहरू समेत रहेका छन् । यसको दक्षिणतिरको टुप्पोमा भारत छत्तीसगढ निवासी सन्त अड्गडानन्दको आश्रम छ । यो आश्रममा उहाँको चेला तुलसी बाबा बस्ने गर्नुहुन्छ । बाबालाई दर्शन गर्न आउने अनगिन्ती व्यक्तिहरूको परिचय पनि पाएको छ यस क्षेत्रले । यति हुँदाहुँदै पनि बाटोघाटोको कारणबाट उपेक्षित नै छ । यो क्षेत्रको विकास गर्न विसं २०७० फागुनमा श्रीमद्भागवत महापुराण लगाइएको थियो ।

पुराणबाट बचेको करिब ४०–४५ लाख रुपैयाँबाट समितिमार्फत मन्दिरवरपर विभिन्न निर्माण कार्य हँुदै आएको छ । ओझेलमा परेको यो स्थान यज्ञपश्चात् धेरै स्थानमा परिचित भयो । स्थानीय सरकारको आवश्यक सहयोग भएमा ज्योतिर्लिङ्गेश्वर महादेव र आसपासको क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास भई पुर्खाको धरोहर र गरिमा, इतिहास र संस्कृति संरक्षण भई धार्मिक पर्यटनले स्थानीय जनताको जीवनस्तर उठ्न मदत पुग्ने थियो । (लेखक : ऐतिहासविद् एवं सोसम्बन्धी अध्ययन अनुसन्धानमा संलग्न छन् ।) (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्