Techie IT
१८ माघ २०७९, बुधबार

लैङ्गिक समानता : आजको आवश्यकता


काठमाडौं ।
हरेक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय नारी दिवस यस वर्ष पनि यही फागुन २४ गते (मार्च ८) का दिन विभिन्न कार्यक्रमका साथ विश्वभर मनाइयो । नेपालको कुल जनसख्याको आधाभन्दा बढी भाग महिलाहरूले ओगटेका छन् । २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ६६ लाख २० हजार आठ सय नौमध्ये महिलाको जनसंख्या एक करोड ३६ लाख ९३ हजार तीन सय ७८ छ भने पुरुषको जनसंख्या एक करोड २९ लाख २७ हजार चार सय ३१ छ । त्यस्तै विश्वको जनसंख्यामा पनि महिला र पुरुषको जनसंख्या झण्डै आधाआधा जस्तो पाइन्छ । यी तथ्याङ्कले के देखाउँछन् भने आधा भाग ओगट्ने पुरुष मात्रको प्रयास र विकासले कुनै पनि घर समाज र राष्ट्रको पूरा विकास हुन सक्दैन ।

महिला र पुरुष भनेको एउटा रथका दुई पाङ्गा ठीक भएमा मात्र रथ राम्रोसँग गुड्न सक्दछ भनेझैं समाजमा महिला र पुरुष दुवै पक्षले सहभागिता र विकासले मात्र समाजलाई गति दिन सक्दछ । त्यस्तै घर, समाज र राष्ट्रको पूरा विकास हुनका लागि आधा भाग ओगट्ने, समाजमा पछि परेका कमजोर महिलावर्गको पनि सहभागिता र विकास हुनु त्यत्तिकै जरुरी हुन्छ । विकास भनेको मानिसहरूको आर्थिक सम्पन्नता, सामाजिक प्रतिष्ठाको वृद्धि गराउनु वा उनीहरूको जीवनलाई गुणस्तरीय बनाउनु हो । सामाजिक विकासका लागि पुरुषहरूको विकास सँगसँगै महिलाहरूको पनि समान विकास हुनु जरुरी छ ।

विकासको विश्वव्यापी सन्दर्भलाई हेर्दा सन् १९७० को दशकदेखि आर्थिक विकासमा केन्द्रित रहेर गरेको विकासबाट सबै नागरिकले लाभ हासिल गर्नसक्ने धारणाले विकास भएको पाइन्छ । जसको फलस्वरूप आधारभूत आवश्यकता परिपूर्ति गर्ने क्रममा महिलाहरूको पनि विकासमा संलग्नताको आवश्यकता छ । तर त्यस सन्दर्भले महिलाको सहभागिता र सौहार्दता पाउन सकेको छैन । त्यसपछि १९८० को दशकमा महिला र पुरुषबीच विकासका पक्षहरू शिक्षा, स्वास्थ्य र रोजगारी आदिमा रहेको खाडल कम गर्न लैङ्गिक विकासको अवधारणा आयो ।

त्यस्तै १९९० को दशकबाट विकास मानिसमा केन्द्रित हुनुपर्दछ, मानवीय विकास नै महत्वपूर्ण विकास हो, मानिस नै विकासको महत्वपूर्ण साधन हो र लक्ष पनि हो भने धारणाको विकास भएको पाइन्छ । त्यसैले वास्तवमा विकासका लागि संसारकै करिब आधा भाग ओगट्ने महिला र पुरुषबीच शिक्षा, स्वास्थ्य, रोजगारका साथै आर्थिक, राजनीतिक, सामाजिक सबै क्षेत्रमा समानताका लागि लैङ्गिक समानताले सहयोग पु-याउँदछ भन्ने दृष्टिकोण आयो । घरभित्रको सन्दर्भ होस् वा समाज र राष्ट्रको परिवेशमा होस् महिला र पुरुषबीच समानता रहे नरहेको विश्लेषण गर्न लैङ्गिक समानताको यस अवधारणाले मदत पु-याउँदछ भन्ने प्रसङ्गबाट नै क्रमिकरूपमा लैङ्गिक समानताको अवधारणा विकास भएको पाइन्छ ।

प्रकृतिले छोरा र छोरीबीच कुनै पनि भेदभाव राख्दैन । आमाको गर्भमा रहँदा बच्चा वा बच्ची जेभए पनि एउटै प्रक्रिया र वातावरण विकसित भइरहेको हुन्छ । तर जन्मनेबित्तिकै भने छोराछोरीबीचको विभेद सुरु भइहाल्दछ । मानिस आफैँले भने आफ्नो सृष्टिमा फरक देख्दछ र असमान व्यवहार गर्दछ । बच्चा जति–जति बढ्दै जान्छ छोरा र छोरीबीचको असमान व्यवहार पनि क्रमशः बढ्दै जाने गर्दछ । प्रकृतिको सृष्टिमा मानिस मात्र एउटा यस्तो प्राणी हो जसले आफ्नो सृष्टि र आफू–आफूमै विभेद सिर्जना गरी समस्याको खाडल निर्माण गर्दछ ।

समाजले स्थापित गरेको महिला र पुरुषको कतिपय भूमिकालाई आजको आधुनिक र बदलिँदो विश्व परिवेशमा उचित र शोभनीय मान्न सकिँदैन । कैयौँ समाजमा यस्ता लिङ्ग विभेद र महिला–पुरुषबीचको असमान व्यवहार पाइन्छन्, जसले सामाजिक विकासको गतिमा अवरोध पैदा गरिरहेका हुन्छन् । यस्ता अवरोधहरू हटाई समाजका बदलिँदो लोकतान्त्रिक परिवेशमा प्रत्येक समाजले आफूलाई परिवर्तित र गतिशील बनाउँदै लैजानु पर्दछ । समुन्नत, प्रगतिशील समाज निर्माणका निमित्त महिला र पुरुषको भूमिकालाई समयसुहाउँदो परिवर्तन गर्न आवश्यक हुन्छ । यसै सन्दर्भमा समाजमा स्थापित परम्परागत लिङ्ग विभेद र असमान व्यवहारमा समयानुकूल सुधार गरी महिला र पुरुषबीच समान सहभागिता र अवसर स्थापित गर्नु नै लैङ्गिक समानता हो ।

कुनै पनि परिवारका उन्नतिका लागि नारी र पुरुषको समान सहभागिता आवश्यक छ । वास्तवमा नारी र पुरुष दुवै समान छन् । देशको सर्वाङ्गीण विकासका लागि महिला र पुरुषको समान भूमिका हुन्छ । वेद, उपनिषद र पुराणहरूमा पनि नारी महिमाको वर्णन गरिएको छ । लिङ्गको आधारमा पुरुष र महिला छुट्टिन्छ । यो अपरिवर्तनीय छ । कामको आधारमा पुरुष र महिलाबीचको भेदभाव समाजले गरेको हुन्छ । यसलाई परिवर्तन गर्न सकिन्छ । मानिस स्वयंले बनाएको भेदभावलाई हटाउन आवश्यक छ । लैङ्गिक समानताका लागि शिक्षा, चेतना, राजनीतिक क्षेत्रमा महिला संलग्नता, सम्पत्ति, आयमूलक रोजगार आवश्यक पक्षहरू हुन् ।

लैङ्गिक समानताका लागि स्त्री र पुरुषको समान भूमिका हुन्छ । धर्म, संस्कृति र जात जातिअनुसार लोग्ने र स्वास्नीको भूमिका फरक हुने गर्छ । हिन्दू धर्मले महिलालाई अर्धाङ्गिनीका रूपमा लिएको छ । जर्मनहरू पत्नी विनाको मानिस टाउको विनाको शरीर सम्झने गर्छन् । तर पनि महिला र पुरुषबीचको खाडल घरबाट नै छुट्याइएको हुन्छ । छोरीलाई पैतृक सम्पत्तिबाट वञ्चित गर्नु, पत्नीलाई सेविकाका रूपमा लिनु र निर्णय गर्ने अधिकारबाट वञ्चित गर्नुजस्ता सामाजिक मूल्य र मान्यता नै महिलाहरूलाई पुरुषले गर्ने भेदभावका आधार हुन् । यस्ता भेदभावपूर्ण कार्य पुरुषद्वारा निर्माण गरिएका संस्कारहरू हुन् । यसलाई अन्त्य गर्नु आवश्यक छ । पुरुष र महिला दुवैले घरबाट नै बराबर भूमिका निर्माण गर्नु पर्छ ।

लैङ्गिक समानताका लागि पुरुषले निम्न लिखित भूमिका निर्वाह गर्नु पर्छः
छोरा र छोरीलाई समान व्यवहार गर्ने परम्परा घरबाट नै सुरु गर्ने, छोरालाई बोर्डिङ स्कुल र छोरीलाई साधारण स्कुलमा भर्ना गर्नेजस्ता भेदभाव नगर्ने, महिला हिंसा र चेलीबेटी बेचबिखनजस्ता विकृति रोक्न प्रयास गर्ने, प्रजनन स्वास्थ्य र परिवार योजनासम्बन्धी तालिममा दुवै सहभागी हुने, निर्णय प्रक्रियामा महिलालाई पनि सरिक गराउने, पुरुषले पनि घरको काममा सहयोग गरी समाजमा उदाहरणीय व्यक्ति बनेर देखाउने, छोरीलाई पनि आमा बाबुको मृत्यु भएमा दागबत्ती दिने काजक्रिया गर्ने कार्य गर्न प्रोत्साहित गर्ने ।

महिलालाई शिक्षामा समान अवसर प्रदान गर्नु, अश्लील पत्रपत्रिका र विज्ञापनमा महिलालाई प्रयोग गर्ने परम्परा हटाउनु, महिलालाई निर्णय गर्नसक्ने संस्कारको विकास गर्नु, आयमूलक सीप सिकाउने व्यवस्था गर्नु, हरेक राजनीतिक, सामाजिक र धार्मिक कार्यक्रममा महिलाहरूको सक्रिय सहभागिता हुनु, महिला र पुरुषबीचको सामाजिक भेदभाव हटाउन प्रयत्नशील हुनु, महिला बेचबिखन घरेलु हिंसाजस्ता सामाजिक अपराध निर्मूल गर्नु ।

लैङ्गिक समानताका लागि महिला र पुरुष सशक्त हुनु आवश्यक छ । महिला सशक्तीकरणविना लैङ्गिक समानताका लागि धर्म, सम्प्रदाय, राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा महिला र पुरुष दुवैको सहभागिता हुनुपर्छ । कानुनले नारी समानता दिए पनि विवेकको प्रयोग भएन भने महिलाहरूले समान अवसर प्राप्त गर्न सक्दैनन् । देशको करिब आधा जनसंख्या रहेको महिलावर्गको प्रगतिका लागि परिवारभित्रबाट नै समानता हुनुपर्छ । यस कार्यका लागि सरकारी संघसंस्थाको महत्वपूर्ण भूमिका छ ।

महिलालाई विकासको मूल प्रवाहमा ल्याउन, महिला र पुरुष दुवैलाई समान अवसर प्रदान गर्नुपर्छ । महिलालाई रोजगारको व्यवस्था गर्न महिला सशक्तीकरण आवश्यक छ । महिलाविरुद्ध हुने घरेलु हिंसा, चेलीबेटी बेचबिखन निर्मूल गर्न गैरसरकारी संघसंस्थाको पनि ठूलो भूमिका छ । हाम्रो देश नेपालबाट वर्षेनी हजारौं चेलीहरू विदेशमा बेचिएका छन् । अध्ययन प्रतिवेदनअनुसार गरीबी र पछौटेपन क्षेत्रका किशोरीहरूलाई रोजगारीको लोभ देखाई विदेशमा बेच्न लाने गरिएको छ ।

वेश्यालयमा अलपत्र परेका महिलाहरूलाई पुनः उद्धार गर्ने कार्यमा परिवर्तनका लागि कार्यरत गैरसरकारी संघसंस्थाहरू लागेका छन् । तिनले महिलाविरुद्ध हुने घरेलु हिंसामा पीडित पक्षबाट युद्ध लड्ने काम गरेका छन् । त्यस्तै अरु पनि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू छन् जो महिलाहरूलाई अनौपचारिक शिक्षा प्रदान गर्ने, तालिम दिने र आयआर्जनका अवसरहरू जुटाउने कार्यमा लागेका छन् ।

नर र नारी समाजरूपी रथका दुई पाङ्ग्रा हुन् । नर वा नारी एक्लैले मात्र समाजलाई अगाडि बढाउन सक्दैनन । त्यसैले समाजको विकास गर्न महिला र पुरुष दुवैलाई समान अवसर प्रदान गर्नुपर्छ भन्ने कुरा माथि पनि प्रस्ट भइसकेको छ । पुरुष र महिला मिलेर काम गरेका सजिलै काम सम्पन्न गर्न सकिन्छ । पुरुष र महिलाबीच समानता भए परिवार सशक्त बन्छ । सशक्त परिवारबाट राष्ट्रको निर्माण हुन्छ ।

लैङ्गिक समानताका लागि निम्नलिखित कदम चाल्नु आवश्यक छः
छोरा र छोरीबीच कुनै भेदभाव नगर्ने, आत्मविकासको लागि आवश्यक सीप, रोजगार, शिक्षामा समान अवसर प्रदान गर्ने, महिला पनि पुरुषसरह नै राजनीतिक, आर्थिक, सामाजिकरूपले सक्षम हुन सक्छन् भन्ने सन्देशको विकास गर्ने, नीति निर्माण र निर्णय प्रक्रियामा पुरुष र महिलालाई बराबर सहभागी गराउने, प्रजनन स्वास्थ्य र प्रजनन अधिकारबारे पुरुष र महिलालाई जानकारी गर्ने, महिलाले गर्ने कार्यमा पुरुषले सहयोग दिने ।

हाम्रो समाजमा महिलाप्रति गरिने भेदभावपूर्ण व्यवहारको कारण नै पुरुषको दाँजोमा महिलाहरू पछि पर्नुपरेको छ । चाहे सामाजिक रूपले होस्, चाहे आर्थिक, राजनीतिक, धार्मिक, शैक्षिक, कानुनी एवं सांस्कृतिक हिसाबले होस् महिलाहरू पुरुषभन्दा पछि नै छन् । त्यसैले महिलाहरूको विकास पुरुषसरह हुन सकेको छैन । शिक्षकले आफूले पढाउने विद्यालय र त्यस वरिपरिको समुदायमा महिला तथा बालबालिकाहरूको समविकास, लैङ्गिक समता अभिवृद्धि गर्नका लागि प्रशस्त भूमिका खेल्न सक्छन् ।

अन्त्यमा के भन्न सकिन्छ भने सरकारले अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा व्यक्त गरेका प्रतिबद्धता र घोषणाहरू, विकास आयाममा देखापरेका विश्वव्यापी एवं राष्ट्रिय चिन्ता तथा समता, न्याय र शान्तिमा आधारित विकास प्राप्तिप्रतिको धारणाले कुनै पनि मुलुकविशेषका लागि लैङ्गिक विषमताको खाडल साँघुरो पार्दै लानुपर्ने अनिवार्य आवश्यकता देखापरेको छ । गरिबी निवारणको उद्देश्य प्राप्तिका लागि लैङ्गिक समानता अनिवार्य तत्व बन्न पुगेको छ ।

जर्जर आर्थिक अवस्थाबाट गुज्रिरहेको हाम्रोजस्तो मुलुक यसको अपवाद बन्न सक्दैन । त्यसैले मुलुकको संसद्मा प्रतिविधित्व गरिरहेका प्रमुख राजनीतिक शक्तिहरूले शासन सम्हालेको वा सम्हाल्ने मौका पाउने प्रत्येक केन्द्रीय सरकार तथा स्थानीय निर्वाचित निकायहरूले लैङ्गिक समानता तथा सशक्तिकरणको दिशामा एकीकृत नीति र कार्यक्रमको सफल कार्यान्वयन गर्नु/गराउनुपर्छ । यसको अतिरिक्त लैङ्गिक समानता तथा सशक्तिकरणको सरकारी प्रयासमा साझेदारी गर्न लागिपरेका संयुक्त राष्ट्र संघीय एकाइहरू, अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र मुलुकभित्रका सम्बन्धित गैरसरकारी संस्थाहरूले यस प्रयोजनका लागि हालसम्म खर्च गरिएको रकमबाट अपेक्षित परिणाम प्राप्त हुन नसकेको तीतो सत्य स्वीकारेर आफ्नो नीति, कार्यशैली र संस्कृतिमा सुधार गरी प्रभावकारी कार्यक्रम समन्वयात्मक ढंगमा सञ्चालन गर्ने प्रतिबद्धतालाई कर्मथलोमा प्रमाणित गर्नुपर्छ ।

लैङ्गिक समानताको प्राप्तिलाई क्षणिक राजनीतिक एवं पेसागत फाइदाका लागि राष्ट्रिय बहसको मुद्दा मात्र बनाउनुको साटो राष्ट्रिय विकासबाट छुट्याउनै नमिल्ने, नसकिने प्राथमिकताको विषय बनाएर सरकार नै अघि सर्ने हो भने अन्य सरोकारवालाहरूलाई राष्ट्रिय प्राथमिकताको यस मुद्दाभित्र समेटेर लैजान सके लोकतान्त्रिक मूल्य मान्यताअनुसार लैङ्गिक समानता हुन गई देश विकासको मार्ग अगाडि बढाउनु आजको आवश्यकता हो । अनि मात्र प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको नारी दिवसको सार्थकता पाउनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्