Techie IT
१८ माघ २०७९, बुधबार

खुसी : नेपालीका सुन्दर सपना


काठमाडौं ।
यसै साता सार्वजनिक एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखाएको छ । संयुक्त राष्ट्र संघ दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको ‘वल्ड ह्यापिनेस रिपोर्ट–२०२१’ मा नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको हो । विश्वका एक सय ४९ मुलुकमा गरिएको सर्वेक्षणमा नेपाल पाँच दशमलव २६ अंकसहित ८७औँ स्थानमा पुग्न सफल भएको हो । सन् २०१७ मा नेपाल १०१ स्थानमा थियो । त्यसपछि लगातार नेपालले आफ्नो स्तरलाई माथि उठाउँदै आएको छ । कोरोनाको त्रास र राजनीतिक अस्थिरताले उत्पन्न निराशाबीच पनि गत वर्षको तुलनामा पाँच स्थान माथि उक्लेर सुधारको अवस्थामा आएको हो ।

सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा ९२औँ स्थानमा थियो । यसपटक पाँच स्थान माथि उक्लिएर नेपाल दक्षिण एसियाकै खुसी देश बनेको हो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुसी हुने देश बनेको थियो । यसपटक दक्षिण एसियामा नेपालपछि माल्दिभ्स ८९, बंगलादेश एक सय एक, पाकिस्तान एक सय पाँच, श्रीलंका एक सय २९ स्थानमा छन् । यसपटक छिमेकी मुलुकहरू चीन ८४ र भारत एक सय ३९औँ स्थानमा छन् ।

सबैभन्दा खराब अवस्था अफगानिस्तानको छ, जो जिम्बावे र रुवान्डाभन्दा पनि तल रहेको छ । हिंसात्मक द्वन्द्वको सामना गरिरहेको अफगानिस्तान सूचीमा सबैभन्दा तल अर्थात् एक सय ४९औँ स्थानमा छ । त्यसैगरी, लेसोथो एक सय ४८, बोत्स्वाना एक सय ४७, रुवान्डा एक सय ४६ र जिम्बाबे एक सय ४५औँ स्थानमा परेका छन् । विश्वको सर्वशक्तिमान मुलुक अमेरिका सूचीमा १९औँ स्थानमा रहेको छ ।

सन् २०१२ जुलाइमा मार्च २० लाई अन्तर्राष्ट्रिय खुसी दिवस मनाउने घोषणा भएको थियो । राष्ट्र संघले कोरोनाभाइरस महामारीपछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर एक सय ४९ देशमा अध्ययन गरिएको थियो । कूल ग्रार्हस्थ्य उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको थियो । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुसीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरूले जनाएका छन् ।

संयुक्त राष्ट्र संघले गरिबी र असमानता हटाउँदै हाम्रो पृथ्वीको संरक्षण गर्न दिगो विकास लक्ष्यका १७ उद्देश्यले सघाउने र विश्वमा खुसी ल्याउने अवधारणाअनुसार खुसी दिवस मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय खुसी दिवसका अवसरमा मार्च २१ मा सार्वजनिक दुई सय १२ पृष्ठको रिपोर्टका अनुसार जनतालाई सुखी र खुसी बनाइराख्न र कोभिडको सामना गर्न आत्मविश्वासको मुख्य भूमिका रहेको जनाइएको छ ।

कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राख्दै यसपटक वल्र्ड ह्याप्पीनेस २०२१ को दुई प्रकारको रिपोर्ट तयार गरेको छ । पहिलो रिपोर्टमा सन् २०१८ देखि तीन वर्षका लागि तयार गरिएको सर्वेक्षणको औसत नतिजा समेटिएको छ भने दोस्रो रिपोर्टमा सन् २०२० को वर्षलाई मात्रै केन्द्रमा राखेर कोभिडले जनजीवनमा पारेको असरको मूल्याङ्कनका आधारमा स्तर निर्धारण गरिएको छ ।

दुवै प्रतिवेदनका फिनल्याण्ड, डेनमार्क, आइसल्याण्ड, स्वीटजरल्याण्ड, हल्याण्ड, नर्वे, स्वीडेन, न्युजिल्याण्ड र अष्ट्रिया उत्कृष्ट १० को सूचीमा परेका छन् । फिनल्याण्ड लगातार चौथोपटक पहिलो नम्बरमा छ भने अन्य मुलुकहरूमा केही फेरबदल हुँदै आएको छ । फिनल्याण्डले कोभिड–१९ नियन्त्रण गर्न लकडाउन गर्नु नपरेका कारण त्यहाँको अर्थतन्त्रमा खासै असर परेन भने जनतामा पनि भय रहेन । खोप विकास भएर प्रयोगमा आएपछि त्यहाँको जनजीवन अझ सहज बन्यो ।

एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुसीयाली देखिएको रिपोर्टमामा उल्लेख गरिएको छ । यसपटकको स्तर निर्धारण कोभिड नियन्त्रणका लागि लकडाउन गरिएका मुलुकमा जनताको खुसीको मात्रामा देखिएको भिन्नता मुख्य कारक बन्न पुग्यो । फिनल्याण्डमा कोभिडले मृत्यु हुनेको संख्या निकै कम रहेको थियो । यहाँ अस्पताल भर्ना हुने प्रति १० लाखमध्ये मृत्यु एक सय ५० भन्दा कम भयो । जब कि विश्वस्तरमा १० लाख बिरामी बराबर मृत्यु हुनेको संख्या करिब नौ सय ८० रहेको देखिएको छ ।

एकातिर नेपाल खुशी मुलुकको स्तरमा माथि उक्लिएको छ भने अर्कोतिर राजनीतिक अस्थिरता र कोरोना सङ्क्रमणको भयकाट त्रसित छ । सरकारले कोरोनाविरुद्धको खोपको केही परिणाम ल्याएपछि जनतामा एक किसिमको विश्वास बढेको थियो । मानिसहरू खोप लगाउन आतुर देखिन्थे । तर मागअनुसार खोप आपूर्ति गर्न नसक्दा पुनः जनतामा निराशा र भय बढेको छ । केही दिन अगाडिको अवस्थाका आधारमा गरिएको स्तर निर्धारण पछिल्लो राजनीतिक घटनाक्रम र कोरोना खोपको अभावसँगै छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेपछि सम्भावित भयको अवस्थालाई हेर्दा खस्किने अवस्थामा रहेको हुनसक्नु अनुमान गर्न सकिन्छ ।

विश्वका अधिकांश मुलुकहरूले आफ्ना नागरिकको खुसी बढाउन विभिन्न नीतिहरूको तर्जुमा गरेका छन् । भुटानले केही वर्षअघि नै विशवमा आफ्नो देश पहिलो ‘ह्यापिनेस कन्ट्री’ रहेको दाबी गरिसकेको छ । भुटानले सन् २००८ मा आर्थिक विकासको सट्टा घरेलु खुसीमा वृद्धि गर्ने नीति र राष्ट्रियस्तरमा सन्तुष्टिको मापन गर्ने एक मापदण्ड बनाएको थियो । भुटानका नागरिक प्रकृतिलाई भगवानको रूपमा विश्वास गर्ने भएकाले प्रकृतिसँग प्रेम गर्दै जीवनको मूल्य बुझ्ने हुँदा यहाँ खुशीको अवस्था विद्यमान रहेको छ ।

दक्षिण कोरिया, बेलायतलगायतका देशहरूले यस्ता विभिन्न नीतिहरू बनाएका छन् । संयुक्त अरब इमिरेट्सले पनि सन् २०२१ सम्म विश्वकै सबैभन्दा खुसी राष्ट्र बन्ने लक्ष्य लिएको छ । खुशीको मापदण्ड पनि देशअनुसार फरकपरक हुन सक्दछ । यसमा त्यहाँँको जीवनशैली, संस्कृति, भौगोलिक अवस्था, आर्थिक–सामाजिक जीवनस्तर, वातावरणीय परिवेशलगायत विभिन्न कुराले फरक पार्ने गर्दछ । विश्वको धनी देश हुँदैमा त्यहाँका जनता खुशी हुन्छन् भन्ने हुँदैन । अर्थात खुसीको स्रोत धन मात्रै होइन । मानिसभित्रका सकारात्मक र नकारात्मक भावनाहरूले पनि प्रभाव पार्दछ । सकारात्मक भावनाले प्रेम, आदर, आनन्दमय र सन्तुष्टी बनाउँछ भने नकारात्मक भावनाले घृणा, रिस, इश्र्या, असन्तुष्टि ल्याउँछ ।

नेपालीको पहिचान नै उनीहरू हँसमुख हुनु हो । वास्तवमा जस्तोसुकै परिस्थितिमा पनि नेपालीहरू हाँसेर बोलिरहेको हुन्छ । नेपाली दुःखपीडामा पनि हाँस्न सक्ने भएकाले विश्वका मानिसहरू नेपालीप्रति आकर्षित भएका हुन् । नेपालको आर्थिक अवस्था अहिले पनि सन्तोषजनक छैन । नेपाल अहिले पनि अल्पविकसित मुलुककै छ ।

आगामी पाँच वर्षभित्र बल्ल विकासशील मुलुकको खुड्किलोमा चढ्न तयारी गर्दैछ । खुशीको मापनका विभिन्न सूचकांकमध्ये नेपालले गएको पाँच वर्षमा बाल मृत्युदर, प्रजनन तथा मातृत्व स्वास्थ्य, बाल स्वास्थ्य, पोषण तथा विकास, जीवन सन्तुष्टि, शिक्षा, खानेपानी, बिमा, विद्युतलगायतका सूचकांकमा उल्लेखनीय प्रगति गरिसकेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले गत वर्ष बहुसूचक सर्वेक्षण गरी सामाजिक विकासका क्षेत्रमा नेपालमा सुधार आएको देखाएको छ ।

कोरोना सङ्क्रमणपछि लाखौँ युवा विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका छन् भने यहीँ पनि धेरैको रोजगारी गुमेको छ । उद्योग, कलकारखाना बन्द भएका छन् भने आधारभूत स्वास्थ्य सुविधा समेत पाउन नसक्दा अकालमै ज्यान गुमाउनु पर्ने अवस्था छ ।

कृषि आयआर्जनको मुख्य स्रोत रहेपनि आफ्नै उत्पादनले आधा समय पनि पु-याउन नसक्ने जनसङ्ख्या ठूलो छ । वर्तमान सरकारले सुखी नेपाली र समृद्ध नेपालको नारा घोषणा गरे पनि जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् । अनेक दुःखकष्ट सहेर जीवनयापन गरिरहेका छन् । संविधान र कानुनहरूमा विभिन्न हक अधिकारको व्यवस्था गरिए पनि नागरिक गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाको अवसरबाट वञ्चित छन् । तैपनि नेपाली खुसी छन् र भविष्यमा सुखी बन्ने सपना देख्दै छन् । पुस्तौँदेखि देख्दै आएको यही सपना नै आम नेपालीको पहिचान बनेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्