Techie IT
बुधबार, कात्तिक ५,२०७७

वातावरण र विकास सन्तुलनको प्रश्न


वातावरण र विकास अन्तरसम्बन्धित विषय हुन् । सन्तुलित विकासबिना वातावरण संरक्षण हुँदैन भने वातावरण संरक्षण नभए विकासको आन्तरिक पक्ष नै विशृङ्खलित हुन पुगी विकासको दिगोपनामा चुनौती पुग्नजान्छ । त्यसैले विकास र वातावरण एकको अभावमा अर्को कम मूल्याङ्कित हुन्छन् । नेपालमा वातावरण सन्तुलनको पक्ष उपेक्षित हुँदै आएको छ । जसका कारण एकातिर जनजीवनमा गम्भीर असर देखिन थालेको छ भने अर्कोतर्फ विकासको लागत पनि बढ्दै गएको छ । जनसंख्या बढ्दैछ, अव्यवस्थित बसोवास तीव्ररूपमा बढ्दैछ, औद्योगिक संरचना र विकास पूर्वाधारको विस्तारले वातावरणीय चाप थप्दै लगेको छ भने यसको साइड इफेक्टका रूपमा जैविक विवधता विनास, भू–स्खलन, बाढी तथा पैरो, मौसम परिवर्तनजस्ता प्राकृतिक प्रकोप एवं मौनसङ्कट पनि बढ्दै गएका छन् । त्यसैले विकासले प्रकृतिलाई उछिन्ने यात्रासँगै वातावरण बिग्रँदै गएको छ ।

वातावरण बिग्रनुका पछि मानवीय स्वभाव र नीति व्यवहारका कारणहरू बराबर जिम्मेवार छन् । बढ्दो जनसंख्याको आवश्यकता पूरा गर्नका लागि वन तथा नदीनालामाथि अतिक्रमण भएको छ । त्यति मात्र होइन, बढ्दो जनचापको आवश्यकता पूरा गर्न उन्नत प्रविधि, मलखाद, कीटनाशक विषादीजस्ता अविवेकी पक्षको उपयोगले पनि जैविक विविधता विनास गरी जीवचक्रीय प्रणालीमा असर परेको छ । जनसंख्या बृद्धिका साथ हुने उपभोग प्रवृत्तिको परिवर्तन, सहरीकरण र स्रोत साधनको अन्धाधुन्द दोहनको प्रवृत्ति र सामाजिक अपराधको प्रवृत्तिले गर्दा पनि प्रकृति व्यवस्थित र सन्तुलित छैन ।

पानीका मूलहरू रित्तिने क्रमसँगै भूमिगत जल उपयोग अत्यधिक बढेको छ र यसले भू–जैविक धरातलमा असन्तुलन ल्याएको छ । कलकारखानाको विस्तारले नजिकका नदीनाला मात्र दूषित भएका छैनन्, सँगैको पहाड, नजिकैको बस्ती र जलचक्रीय प्रणाली जस्तो सम्पूर्ण पर्यावरण नै बिग्रँदै गएको छ । वंश अनुवंशको विनास एकातिर भैरहेको छ भने अर्कोतर्फ व्यापकरूपमा उपयोग गरिएको प्राकृतिक साधनले गर्दा भावी दिन, भावी पुस्ता र भावी चाहना पूर्ति झनै कष्टकर हुने संकेत देएिको छ । यसर्थ पर्यावरण (इकोलोजी) को ‘इको’ र अर्थशास्त्र (इकोनोमी)को इकोमध्ये पछिल्लो पक्ष राम्रो र पहिलो बिग्रने क्रम तीव्र छ । यसले सबल विकासको संकेत गरिरहेको छैन ।

विकास भनेको मानवीय आवश्यकता पूरा गर्ने कार्य हो, जसका लागि प्रणालीहरू दिगो हुनुपर्दछ । दिगो विकास भनेको सन्तुलित विकास र प्रकृतिसम्मत विकास हो । जहाँ विकासले प्रकृतिलाई उछिन्दैन न वा प्रकृतिको क्षमतालाई विकासले कदर गर्दछ भने दिगो विकास वा सन्तुलित विकासको आशय पूरा हुन्छ । तर त्यो कसरी ? प्रश्न निकै संवदेदनशील छ । विकास बहुआयामिक पक्ष भएकोले दिगो विकास प्राप्त गर्नका लागि विकास र वातावरण सन्तुलित पार्ने काम पनि कुनै एक पक्षमा मात्र ध्यान दिएर पुग्दैन । यसका लागि केही खास विषयहरूमा रणनीतिक सोचका साथ अघि बढ्नुपर्ने हुन्छ ।

पहिलो कुरा प्राकृतिक साधनको व्यवस्थित उपयोगप्रति संवेदनशीलता चाहिन्छ । भू–धरातल, भू–गर्भ, पानी, वायुमण्डल तथा प्राकृतिक खजिन साधनहरूको उपयोगमा गम्भीरता राख्नु पर्दछ । किनकि यी साधनहरूको उपलब्धता सीमित छ र यी साधनहरू मनिसलाई मात्र उपयोग गर्न प्रकृतिले उपहार दिएको पनि होइन । मानिस र मानिसका सबै सजातीय वंशअनुवंशको साझाहितका लागि दिएको हो । यसर्थ भू–उपयोग नीति र कार्ययोजना ल्याएर प्रकृतिमाथि पर्ने प्रभाव र क्षतिलाई कम गरिनु पर्दछ । यसका लागि व्यवस्थित भू–उपयोग, बस्ती विकास, योजना लागू गरिनुपर्दछ भने पानीको उपयोगका लागि जलाधार संरक्षण नीति, जलउपयोग नीति र कर्ययोजना एवं संरक्षण पक्षमा ध्यान दिनु पर्दछ । साथै प्राकृतिक साधनहरूको उपयोगलाई व्यवस्थि तगर्ने खनिजको विकल्प सोच्ने, जैविक एवं खनिज ऊर्जाको सट्टा सफा ऊर्जा उपयोग गर्ने नीति र कार्यक्रम कार्यान्वयन गरिनु पर्दछ । तर यी चारैवटा नीति तथा कार्यहरूलाई छुट्टाछुट्टै रूपमा नहेरी एकीकृतरूपमा व्यवस्थित गर्नु आवश्यक छ । अन्यथा यसको यसको आशय नै पूरा हुँदैन ।

दोस्रो पक्ष जनसंख्या व्यवस्थापन हो । जनसंख्याको कारण नै प्रकृति, प्राकृतिक साधन र जैविक प्रणालीमाथि चाप परेको हो । जन्मिने प्रत्येक मानिसले प्रकृतिको दोहन गर्ने साझा सामर्थ्य लिएर जन्मेको हुन्छ । मानिस नै विकास र प्रकृतिको एकमात्र उपभोक्ता हो । त्यसैले मानिस व्यवस्थित विवेकशील बनाउनुको विकल्प छैन । यसो भन्नुको मतलव व्यवस्थित जनसंख्या, व्यवस्थित र संयमित उपभोग प्रणाली, रहन सहन एवं सांस्कृतिक रीतिरिवाज व्यवस्थित पार्नु हो, जसले मानिसलाई प्रकृति र जीव चराचरप्रति आदर र संवेदना राख्न सिकाओस् । मानिस विकासको केन्द्रबिन्दुमा रहनुपर्दछ ता कि भावी चाहना र आवश्यकताप्रति उ सहिष्ण हुन सकोस् । यसो भन्नु उसैको भावी दिन र सन्तानप्रति जिम्मेवार बनाऔँ भन्ने हो । साझा भविष्य र चाहनाप्रति सकल्पित बनाऔँ भन्ने हो ।

तेस्रो पक्ष विकास आधारशीलाको व्यवस्थित विकास एवं उपयोग हो । विकासलाई प्रकृतिसम्मत गराउने दृष्टिकोणले एकातिर विकास कम खर्चिलो हुन्छ भने अर्कोतर्फ आफैमा धानिन सक्ने । प्रकृतिले स–साना स्तरका विकास र उद्योग व्यवस्थापनको माग गर्दछ ता कि वातावरणीय क्षतिको शीघ्रपूर्ति हुन सकोस् । ठूला विकास निर्माण परियोजना र बाधहरूमा क्षतिपूर्ति गरिने रणनीतिक सोचका लागि वातावाणीय प्रभाव मूल्याङ्कन र निर्माण समान भएपछि वातावरणीय परीक्षण गरिनु पर्दछ, जसले विकास र वातावरण साथसाथ रहनसक्छन् ।

विकास निर्माणमा स्थानीय श्रम, सीप र सम्भावनाको उपयोग, हरित निर्माण, उपभोक्ता समितिजस्ता अवधारणाले विकास र वातावरण साथसाथ जानसक्छन् । वर्तमान जीवन प्रणालीका लागि कति विकास संरचना र पूर्वाधार चाहिन्छ भन्ने आंकलन र विश्लेषण नगरी सडक, भवन, पुलहरू निर्माण गरिनु हुँदैन । प्रत्येक निर्माण संरचनाले प्रकृतिमाथि गरेको क्षतिको शीघ्रपूर्ति गरिनु नै पर्दछ ।

चौथो पक्ष निकै महत्वपूर्ण छ । त्यो हो वातावरणीय शिक्षा र जनचेतना वृद्धि । वातावरण र विकासको आबद्धताका लागि शिक्षालाई माध्यमका रूपमा प्रयोग गरेर मानिस, प्रकति र प्राकृतिक साधनबीच सन्तुलन ल्याउन सकिन्छ । जनस्तरमा सरल प्रविधि, वातावरणीय प्रविधिको फाइदा, विकास र वातावरणको अन्तरसम्बन्धका विाषयमा जानकारी, शिक्षा, सीप र चेतना नभएसम्म पटकेरूपमा वातावरण संरक्षणका नाममा जति कार्य गरेमा पनि नागरिक समाजले समर्थन नगर्नसक्छ । त्यसैले चेतना र शिक्षालाई व्यापकरूपमा परिचालित गरिनु पर्दछ ।

सहकारी, सामुदायिक मञ्च, विद्यालय, आम सञ्चार, सामाजिक सञ्जाल जस्ता पक्ष स्वयम् परिचालित भई वातावरण अभियान्तका रूपमा रहनुपर्दछ र सरकारका तहहरू यसको सहजकर्त एवं नियामक बन्नु पर्दछ । यसले वातावरण सूचना प्रणालीलाई बहुपक्षीय रूपमा प्रचारप्रसार गरी दिगो जीवन र दिगो विकास व्यवस्थापनको अवधारणालाई आत्मसात गर्दछ ।

यी रणनीतिलाई कार्यरूपमा उतार्ने कामका लागि व्यवस्थित रूपमा कानुनी संयन्त्र, वातावरणीय मापदण्ड र बजार उपकरणको प्रयोग गरी मानवीय विकास प्रयासलाई पोत्साहन, नियन्ण र व्यवस्थापन गर्न सकिन्छ । यसले विकासमा अहिले देखिएको हाइड्रो असरलाई हटाई सुरक्षित भविष्यको समेत प्रत्याभूत दिन्छ । जसका लागि दह्रो संस्थात्मक विकासका साथ वातावरण कार्ययोजना (जसअन्तर्गत नियम, कानुन, प्रोत्सान, नीति व्यवहार र समन्वयजस्ता पक्षहरू पर्दछन्)लाई एकीकृतरूपमा अघि बढाउनु पर्दछ । हाम्रा वातावरण कार्ययोजनाले यसलाई थोरै भए पनि उल्लेख भने गरेको छ ।

प्रकृति संरक्षण रणनीतिक खाका, राष्ट्रिय अनुकूलन योजना र दिगो विकासको लक्ष्यले विभिन्न तहका कार्यक्रम, योजना र क्रियाकलापलाई वातावरणीय रूपमा संवेदनशील बनाउने आशय राखेको छ । तर वातावरणीय संवेदनशीलताको पक्षलाई घरपरिवार तहमा संस्थागत गरी जीवनशैली बनाइनु पर्दछ । मानिस प्रकृतिको सर्वश्रेष्ठ सिर्जना हो । सर्वश्रेष्ठ हुनु भनेको विवेकशील हुनु हो । विवेकका कारण नै प्रकृतिका अन्य सिर्जनाभन्दा ऊ श्रेष्ठ छ । त्यसैलै यो श्रेष्ठताको पुष्टिका लागि पनि स्वयं मानव सहायता प्रणालीका रूपमा रहेको वातावरणको संरक्षण, सन्तुलन र हेरचाह उसको कर्तव्य हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्