Techie IT
सोमबार, कात्तिक १०,२०७७

सन्दर्भः एसईई परीक्षा


शिक्षा मानव र जीवित प्राणीको जीवनको आधारशीला हो । शिक्षाबिना व्यक्ति, समुदाय तथा देशको कुनै पनि क्षेत्रमा विकास नहुने कुरा ध्रुवसत्य छ । यस परिप्रेक्षमा यहाँ आजको सन्दर्भ २०७७ भाद्र १ गने प्रकाशित एसईई परीक्षाको नतिजामा नै मुख्य केन्द्रित हुन वान्छनीय भएकोले यहाँ विश्लेषण गर्ने प्रयास गरिएको छ । कोरोना संक्रमण बढ्दै जाँदा गत चैत्र ६ गतेबाट सञ्चालन गर्ने भनिएको एसईई ५ गते स्थगन गरिएको थियो । त्यतिबेला संक्रमण साम्य भएपछि परीक्षा गर्ने भनिएको थियो । कोरोना संक्रमण झन्झन् बढ्दै गएपछि जेठ २८ मन्त्रिपरिषद् बैठकले, बोर्डले सञ्चालन गर्ने एसईई रद्द गर्ने निर्णय गरेको थियो । आन्तरिक मूल्याङ्नका अधारमा विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

उक्त निर्णयको आधारमा बोर्डले विद्यालयले अन्तिम पटक सञ्चालन गरेको कक्षा १० को परीक्षाका आधारमा एसईईका विद्यार्थीलाई प्रमाणपत्र दिने कार्यविधि स्वीकृत ग¥यो । कार्यविधिमा विद्यालयमै मूल्याङ्कन समिति बनाएर विद्यार्थीले प्राप्त गरेको अंक संकलन गरेर बोर्डमा पठाउनुपर्ने व्यवस्था गरियो । विद्यालयले विद्यार्थीको अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ हुँदै बोर्डमा पठाएका थिए । मुल्याङ्कन समिति विद्यालयका प्रधानाध्यापक अध्यक्ष रहेने गरी ३ सदस्यीय बनाइएको थियो । समितिमा कक्षा १० का कक्षा शिक्षक र नियुक्तिका आधारमा ज्येष्ठ शिक्षक सदस्य थिए । सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कनका लागि छुट्टाछुट्टै अंक पठाईएको थियो । एसईईमा गणितबाहेक अन्य विषयमा २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा हुनेगर्छ । विगतमा आन्तरिक मूल्याङ्नका आधारमा प्रयोगात्मक परीक्षामा जथाभावी नम्बर दिने गरिएको थियो । निजी विद्यालय समबद्ध प्याब्सन र एनप्याब्सनले अंक पठाउँदा विगत वर्षको नतिजासमेत ख्याल गर्न सचेत गराएको पाइन्छ ।

यस वर्ष एसईई दिन चार लाख ८२ हजार ९८६ जना विद्यार्थीले आवेदन फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा प्रकाशन गरिएको छ । माथिको तालिका अनुसार २०७५ मा एक सय छ जना र २०७६ मा ९३१९ जना छन् जुन २०७५ को भन्दा ८७ दशमलव ९१ गुणा बढी छ । के यो सम्भव छ ? यदि सम्भव छ भने विगतको वर्षको सबै परीक्षाको पुनारावलोकन गर्नुपर्ने हुन्छ । २०७६ को नतिजाले गुणस्तरीय विद्यार्थी, अविभावक र विद्यालयलाई समेत ठूलो नकरात्मक प्रभाव परेको हुन्छ । यो नतिजा बहुसंख्यक विद्यार्थी, अविभावक, विद्यालय, सम्बन्धीत निकायहरू आदिले के स्वीकार्ने अवस्थाको छ ? के रातारात विद्यार्थीले गुणस्तर शिक्षा प्राप्त गरेत ? यो नतिजा ल्याउन सम्बन्धीत विद्यालयको गुणस्तरमा समेत प्रश्न उठ्नु स्वभाविक नै हो । साथै यस्तो परीक्षाको परीक्षाफल प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डमा माथि पनि ठूलो प्रश्न चिह्न खडा भएको छ । जुन कुरा माथिको जीपीएको तालिकाले नै प्रमाणित गर्दछ ।

माथिको तालिकामा ४ जीपीएलाई हेर्दा यस वर्ष २०७६ मा एसईई परीक्षाको इतिहासमा नै सबैभन्दा बढी ४ जीपीए ल्याएको पाइन्छ । वर्षभरि २२० दिन लाग्ने विद्यालय बन्द, चक्काजाम, हडताल आदि विभिन्न अवरोध भई कति दिन मात्र सञ्चालन भएको थियो । निर्धारित पाठ्यक्रमको अध्यापन नै पूरा हुन नपाई विद्यार्थीहरूले परीक्षामा सहभागी भई ४ जीपीएको संख्या गत वर्षको १०६ बाट एक्कासी वृद्धि भएर ९३१९ हुनु राम्रो परिणाम मान्ने कि नमान्ने ? यसको जवाफ सम्बन्धित निकायले दिनुपर्ने वेला आएको छ ।

यी माथि उल्लेखित आधारमा नेपालको शिक्षाको अवस्था के–कस्तो छ ? एसर्ईई परीक्षा कस्तो समस्यामा गुज्रेको छ । एसर्ईइ परीक्षा उत्तीर्ण जनशक्तिको देश निर्माणमा सरकारले कस्तो कार्यक्रममा समावेश गरी राष्ट्रिय हित कति ग-यो ? यस्तो परीक्षाफल दिन सहयोग गर्ने विद्यालय, अविभावक, उत्पादित जनशक्ति कति नैतिकवान र गुणस्तरीय छन् ? हाल देशको स्थिति अनुसार दक्ष जनशक्ति वर्तमान वा भविष्यमा देशको लागि के–कति योगदान दिन सक्छन् ? एसर्ईई परीक्षा गुणस्तर नाप्ने सही यन्त्रको रूपमा प्रयोग हुन सकेको छ कि छैन ? गुणस्तरीय जनशक्ति उत्पादन नगरी संख्यात्मक वृद्धि मात्र गरेको छ कि ? आदिबारे तपाईं हामी सबैले सोच्ने बेला अवश्य भएको छ । बेलामा नसोच्ने हो भने नयाँ नेपालीको सपना मृगतृष्णा हुनेछ ।

शिक्षित र अशिक्षित दुवै समूहका युवा लक्ष्यहीन देखिन्छन् । नैरास्य छाएको छ । द्वन्द्व बढेको छ । विकृति फैलँदो छ । रोजगारीका लागि अधिकांश युवा विदेश पलायन भएका छन् । अवैध प्रक्रियाबाट विदेश जानेहरूको सङ्ख्या पनि उल्लेख्य छ र तीमध्ये अधिकांश ज्यादै असुरक्षित वातावरणमा अदक्ष श्रमिकको रूपमा निकृष्ट श्रम गर्न विवश छन् । अन्य विकसित मुलुकहरू आफ्नो देशको आवश्यकताको आधारमा जनशक्ति प्रक्षेपण गरिन्छ र त्यसैको पूर्ति हुनेगरी शैक्षिक संस्थाले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने गर्दछन् । फलस्वरूप उत्पादित जनशक्ति तुरुन्तै खपत हुने गर्दछ । जसका कारण ती देशको विकास भएको हो र यसको कार्यन्वयन नेपालमा ठिक उल्टो छ ।

नेपालको शिक्षामा नैतिक गुणस्तरीयता नआउनुमा मुख्य २ वटा कारणहरू देखिन्छ । पहिलो कारण शिक्षा क्षेत्रका नीति नियमहरू कार्यान्वयन नहुँदै परिवर्तन गरिन्छन् । अर्को कुरा शिक्षा क्षेत्रमा लागेका प्रायजसो सबै व्यक्तिहरूले आफ्नो कर्तव्य र जिम्मेवारीबोध पूरा गरिरहेका छैनन् अर्थात् जिम्मेवारीबोध गराउन सकिएको छैन । शिक्षा मन्त्रालयका मन्त्रीदेखि शैक्षिक संस्था, व्यवस्थापन समिति, अविभावक, शिक्षक र परिचरसम्म कर्तव्य, जिम्मेवारी तथा जवाफदेहिता बोध भएको देखिँदैन । यदि यी व्यक्तिहरूमा जवाफदेहिता बोध भए प्रत्येक बालबालिकाहरूले अहिलेको भन्दा नैतिक गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्नेछन् वा पाउनेछन् । यसमा सबै व्यक्ति आजैदेखि लाग्नुपर्दछ । कर्तव्य, जिम्मेवारी र जवाफदेहिता सबैको तोकिनु पर्दछ ।

नेपालको शिक्षाक्षेत्र र अन्यौल र दुविधाग्रस्त भएको कुरा माथिको प्रस्तुतिले प्रमाणित गर्नछ । नेपालमा हाल दुई किसिमको औपचारिक शिक्षा देखिन्छ । निजी श्रोतमा सञ्चालित विद्यालयहरू, कलेजहरू र अर्कोतर्फ सरकारी स्रोतमा सञ्चालित सामुदायिक विद्यालय र कलेजहरूबाट प्रदान गरिने शिक्षा, निजीस्तरमा सञ्चालित विद्यालयहरू र कलेजहरूमा अभिभावकहरूको आकर्षण बढिरहेको छ । हुने खाने र सम्पन्न परिवारका बालबच्चाहरू उक्त निजी विद्यालय र कलेजमा नै पढ्ने गर्दछन् वा नहुने अभिभावक पनि जस्तोसुकै वेदना वा ऋणमा डुबी भोको पेट राखेर भए पनि सो विद्यालयमा नै पढाउन बाध्य छन् । त्यस्तै सामुदायिक विद्यालय र कलेजहरूमा निम्न आयस्तर भएका व्यक्तिहरूको बालबच्चाहरू अध्ययन गर्दछन् । यसरी हाम्रो देशमा दुई किसिमको शिक्षा संरचना भएको आभाष भएको छ । तर पनि सामुदायिक विद्यालयमा नेपाल सरकारको वार्षिक करोडौं रुपैयाँ लगानी भएको छ ।

यसरी करोडौँ रुपैयाँ लगानी भएको ठाउँबाट विद्यार्थीहरूले नैतिक गुणस्तरीय शिक्षा नपाउनु वा शिक्षा स्तरीयता छ भनी अभिभावकले विश्वास नगर्नु ठूलो विडम्बनाको कुरा हो । यसको समाधान भनेको प्रत्येक सम्बन्धित व्यक्तिहरूलाई कामप्रति अनिवार्य जवाफदेहिता वहन गर्न कडाइका साथ लगाउन सक्नुपर्छ । त्यसपछि बालबालिकालाई नैतिक गुणस्तरीय शिक्षा वहन गर्न कडाइका साथ लगाउन सक्नुपर्छ, त्यसपछि बालबालिकाले नैतिक गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दछन् । उच्च वर्गका बालबच्चा र निम्न वर्गका बालबच्चाले पनि एकै किसिमको शिक्षा प्राप्त गर्नेछन् । शिक्षा दुई किसिमको हुने छैन, हुनु पनि हुँदैन र प्रत्येक बालबालिकाको भविष्य उज्ज्वल हुनेछ । नैतिक शिक्षाबाट नेपाल द्वन्द्वमुक्त, सुन्दर र विकसित हुनेछ ।

निष्कर्षमा भन्नुपर्दा देशमा प्रत्येक नागरिकले नैतिक गुणस्तरीय व्यावहारिक शिक्षा अपनाउनुपर्दछ । सबै बालबालिकालई एकै किसिमको शिक्षा हासिल गराउनुपर्दछ । शिक्षाको राष्ट्रिय पाठ्यक्रम कागजमा मात्र लागू गरेर हुँदैन । पाठ्यक्रम निर्माता योग्य र दक्ष हुनुपर्दछ । मूल्यांकनको यन्त्रको रूपमा रहेको प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण आदि प्रक्रिया वस्तुनिष्ठ र व्यावहारिक गति लिनसक्ने बनाउनु पर्दछ । नातावाद, कृपावाद, राजनीतिकरण हुनु हुँदैन ।

वास्तविकरूपमा सबै तहमा व्यवहारमा नै लागू गरिनु पर्दछ । लागू भए/नभएको कडाइका साथ अनुगमन गरिनु पर्दछ । उचित दण्ड र पुरस्कार समेत गरी कार्यान्वयन गराउन सक्नुपर्दछ । प्रत्येक जिम्मेवार सम्बन्धित व्यक्तिहरूलाई आफ्नो कामप्रति जिम्मेवार र जवाफदेही बनाउनु पर्दछ । तब सबै किसिमका विद्यालय र कलेजहरूबाट विद्यार्थीले उचित व्यावहारिक र नैतिक गुणस्तरीय शिक्षा समानरूपले प्राप्त गर्न पाउनेछन् । सबै व्यक्ति, समुदाय, राष्ट्रको भविष्यको स्तर नैतिक, गुणस्तरीय र प्रभावकारी भई नयाँ नेपालको खाका कोर्न मदत पुग्नेछ, यो नै समयको माग हो । आगामी दिनमा उसले नेपलाी माटोमा नेपाली जनतालाई कस्तो व्यावहारिक शिक्षा दिई नेपाल र नेपालीको सपनालाई विपनामा परिणत गर्ने हो, त्यसप्रति जिज्ञासा हुनु स्वभाविक हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्