Techie IT
आईतबार, वैशाख ५,२०७८

सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, प्रसङ्ग : साक्षरता र सशक्तीकरण


काठमाडौं
अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरका महिलाहरूको मुक्तिका लागि एक व्यापक अभियान हो । सदाझैँ यस वर्ष पनि महिलाहरूका मुद्दालाई सशक्तरूपमा सामना गर्ने प्रतिबद्धतासहित १११औं नारी दिवस मनाइँदै छ । विभिन्न क्षेत्रमा असमानता, अन्याय, अन्धविश्वास, दुर्व्यवहार, लैंगिक हिंसा समाजमा यो वा त्यो कोणबाट भइराखेको जगजाहेर नै छ । नारी अधिकारका सुनिश्चितताको लागि विभिन्न कानुनी प्रावधानको व्यवस्था भए पनि व्यवहारमा खासै रूपान्तरण भएको पाइँदैन ।

सामाजिक रूपान्तरण गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने सपनालाई यथार्थतामा बदल्न आधा आकास ओगटेका नारीहरूको सशक्तीकरणको विकल्प छैन । विज्ञान र प्रविधिको द्रुत गतिमा विकास र विस्तार भइरहेको वर्तमान एक्काइसौं शताब्दीमा पनि विश्वमा ७५ करोड ९० लाख जनता निरक्षर पौढ छन् । जसमा करिब हरेक तीन निरक्षरमध्ये दुईजना महिला पर्छन् । विसं २०६८ को जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत ६५ दशमलव नौ प्रतिशत छ जसमध्ये पुरुष ७५ दशमलव एक र महिला ५७ दशमलव चार प्रतिशत साक्षर छन् । महिला र पुरुषबीचको साक्षरताको खाडल करिब १८ प्रतिशत रहेको देखिन्छ ।

साक्षरता नारी सशक्तीकरणको पहिलो खुड्किलो हो । यसै वास्तविकतालाई आत्मसात गर्दै विगतमा अनौपचारिक शिक्षा केन्द्रले महिलालाई विशेष ध्यान दिएर कार्यक्रम सञ्चालन गर्दै आएको हो । साक्षरता अभियानका स्वयंसेवक, स्थानीय निरीक्षक तथा पढ्न आउने निरक्षर समेतमा महिलालाई प्राथमिकता दिनुपर्ने प्रावधान राखेको छ । जसको फलस्वरूप महिला साक्षरतामा उल्लेख्य वृद्धि भएको छ । मातृ तथा बालमृत्यु दर घटेको छ । राज्यका विभिन्न निकाय र कार्यक्रममा महिलाको पहुँच क्रमिकरूपमा बढेको छ ।

साक्षरत शिक्षित एवं सचेत महिला आमा भएको परिवारको बालबालिकाको पढाइको स्तर स्वभावैले बढ्न जान्छ । उल्लिखित कार्यक्रमहरू निश्चय नै हात्तीको मुखमा जिरा भएको छ । कार्यक्रमको सफलताको लागि पर्याप्त साधन स्रोतको तर्जुमा, प्रभावकारी कार्यान्वयन एवं सेवाग्राहीको अनुगमन निरीक्षण कार्य प्रगतिको आधारमा पुरस्कारको र दण्डको व्यवस्था गर्ने कार्यमा सबैको साथ सहयोग भएमा निश्चय नै हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौ । त्यसकारण महिला साक्षरतालाई प्रत्येक नेपालीले घर–घरबाट सुरु गरेर पारिवारिक साक्षरतालाई प्रोत्साहित गरिनु पर्दछ ।

अशिक्षाका कारणले विपन्नता अन्धविश्वास, बेरोजगार, कमजोर स्वास्थ्य आदि नकारात्मक प्रवृत्तिले महिलालाई बढी गाँजेको हुन्छ । जबसम्म महिला र पुरुषलाई शिक्षामा पहुँच उनीहरूको क्षमताका आधारमा सुनिश्चित गरिन्न तबसम्म विकासको गति तीव्र नहुने यथार्थता हो । त्यसमा पनि यो दूरी पिछडिएको जातजाति, सो दुर्गम तथा निर्धनहरूको बसोबास क्षेत्रमा अधिक छ । नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यस्तो विसम परिस्थितिमा साक्षरतालाई सुगमतापूर्वक निरक्षरको पहुँच भित्र ल्याउन निश्चय नै ठूलै अठोट चाहिन्छ ।

महिला जनसङ्ख्या बढी भएको हाम्रो जस्तो देशलाई नयाँ नेपाल बनाउन महिला साक्षरतालाई विशेष महत्व दिएर सघन कार्यक्रम ल्याउनुपर्ने हुन्छ । आधा आकास ढाकेका महिलाको सशक्तीकरण नगरिकन सम्बृद्ध समाजको अपेक्षा गर्न सकिन्न । युनेस्कोले पनि बेलाबखत महिला र सशक्तीकरणकाा लागि साक्षरतामा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ । सशक्तीकरण भन्नाले प्राप्त सूचनाहरूको सही जानकारी गरी निर्णय गर्ने क्षमताको विकास गर्नु हो । किनकि महिलाले समान अधिकार र अवसरको उपयोग जबसम्म गर्न पाउँदिनन् तबसम्म दिगो विकासको कल्पना पानीको फोकाजस्तै हुन्छ ।

भनिन्छ एकजना पुरुष शिक्षित भए आफूमा मात्रै सीमित हुन्छ तर एक जना महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन् त्यसकारण महिला शिक्षित हुनु भनेको पारिवारिक सक्षमता आउनु हो, आयआर्जन बढेर आत्म निर्भर बन्नु हो, इलममा बढोत्तरी गरी सम्पन्नता तिर लम्कनु हो । आफ्नो हक, अधिकार र कर्तव्यप्रति सजग र सचेत भई स्वाभिमानिपूर्वक आत्मनिर्भर जीवनयापन गर्न कम्तीमा साक्षरताको विकल्प छैन ।

साक्षरताले मानवको अन्तरनिहित प्रतिभा प्रस्फुटन गरेर सक्षमता ल्याउँछ । सक्षमताले पौरखी हातहरूलाई परिमार्जित र परिस्कृत गरेर हरेक व्यक्तिको जीवनमा आमूल परिवर्तन गर्छ । उसमा सूचना र प्रविधिको जानकारी राख्ने क्षमतामा वृद्धि हुुन्छ । साक्षरताले आत्मवल र आत्मविश्वासमा बढोत्तरी भई एक सफल र सबल नागरिकका रूपमा जीवनयापन गर्न अहम भूमिका खेल्दछ । साथै साक्षरता सहज आधुनिक जीवनको अपरिहार्य कुञ्जी हो ।

आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गरी देश विकास गर्न साक्षरता प्रतिशत उच्च हुनु पहिलो सर्त हो । मानव विकास सूचकांकलाई उच्च राख्न आवश्यक सर्तहरू स्वास्थ्य, शिक्षा, विद्यालय भर्नादर, मातृशिशु मृत्युदर, पोषण आदिको आधारशीला पनि साक्षरता हो । अन्तर्राष्ट्रिय, राष्ट्रियस्तरमा प्रतिबद्ध सबै विकासका लक्ष्य हासिल गर्न साक्षरता आधारभूत र अनिवार्य सर्त नै हो । त्यसकारण राज्यले आफ्ना नागरिकलाई यथाशक्य छिटो साक्षर बनाउन विभिन्न योजना, अभियान र कार्यक्रम ल्याउनुपर्ने हुन्छ । निरक्षरता र गरिबी एकअर्काको परिपूरक हुन् । यस्ता विकृति र विसंगतिलाई छिमल्दै सहज र सफल जीवन जीउन साक्षर हुँदै शिक्षित हुनुको विकल्प छैन ।

नेपालमा महिला साक्षरता र सशक्तीकरणका कार्यक्रम ल्याउने धेरै निकाय र संघसंस्था छन् । विगत वर्षहरूमा अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले अग्रणी भूमिका खेल्दै आएको थियो । तर संघीय संरचनाअनुसार यो सरकारी निकाय खारेजीमा परेसँगै अनौपचारिक शिक्षाका कार्यक्रमहरू बेवारिसे बन्नपुगेका छन् ।

स्थानीय तहको जिम्मामा आएको अनौपचारिक शिक्षाका कार्यक्रमहरू आवशयक जनशक्ति र स्रोत साधानको अभावमा चाँडै सुचारुरूपमा सञ्चालन हुने छाँट देखिँदैन । विगतमा महिला सशक्तीकरणका लागि विविध कार्यक्रमहरू महिला साक्षरता प्रथम द्वितीय, आयआर्जन समूहमार्फत आफूले अँगालेका र सम्भाव्य पेसाहरूलाई परिस्कृत गरेर आत्मनिर्भर बनाई आफ्नो खुट्टामा उभिन सक्ने सक्षमता प्रदान गर्न नीति लिएको पाइन्छ ।

त्यसैगरी आयआर्जनमा वृद्धि गरी महिलाको जीवनस्तर उठाउन, आफ्ना कुराहरू निर्धक्कसँग राख्न अभ्यस्त बनाउन र संगठित भई हक र अधिकार सुनिश्चित गर्ने खालका कार्यक्रमहरू सामुदायिक अध्ययन केन्द्रमार्फत आयआर्जन समूह गठन गरी सञ्चालन गर्दै आएको थियो । स्वास्थ्य र सरसफाइसम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरू पनि सञ्चालनमा थिए । विगत वर्षदेखि राष्ट्रव्यापी साक्षरता अभियानमा महिला सहभागितालाई प्रोत्साहित गर्ने नीतिले नारी सशक्तीकरणमा टेवा पु-याएको जगजाहेर नै छ ।

साक्षरता कक्षा केन्द्र तोक्ने स्वयम् सेवक एवं स्थानीय निरीक्षक नियुक्ति तथा व्यवस्थापनमा समेत महिला सहभागीको सुनिश्चित गरेको छ जसको फलस्वरूप महिला सहभागिता ८० प्रतिशतभन्दा बढी भएको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ । आधारभूत साक्षरता सीप हासिल गरेपछि महिलाको निरन्तर शिक्षाका लागि अनौपचारिक प्रौढ विद्यालयहरू विकास र विस्तार हुने क्रममा छन् ।

जहाँ महिलाले एसईईसम्म पढ्न पाउने अवसर पाउछन् । त्यस्तै सामुदायिक सिकाइ केन्द्रमार्फत पायक पर्ने ठाउँमा आयआर्जन समूह गठन गरी उत्पादन वृद्धि र प्राप्त आर्जनलाई सामूहिकरूपमा बचत गर्ने अभ्यास गराउँदै आएको छ । यही वास्तविकतालाई मध्यनजर राखेर महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्नेखालका कार्यक्रमलाई प्रोत्साहित गर्नु भनेको समृद्ध नेपाल सुखी नेपाली बनाउन होस्टेमा हैसे गर्नु हो भन्दा अन्यथा नहोला । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्