Techie IT
बुधबार, कात्तिक ५,२०७७

आजको सामाजिक मनोविज्ञान


काठमाडौं,भदौ ५

यो घरमा जब म नयाँ दुलही भएर भित्रिएँ त्यही दिनदेखि देउरानी र मबीच बोलचाल बन्द भो । त्यो घरमा दुई जना दाजुभाइ । मेरा श्रीमान् जेठा । भाइले पहिला बिहे गरे । बिहे गरेको दुई वर्षसम्म हाम्रा देवरबाबुको सन्तान भएको थिएन । किन सन्तान भएनन् त्यो मेरो चासोको विषय बनेको थियो । यो चासो हाम्रा सासूससुरालाई पनि थियो । खासै भन्ने हो भने हाम्रा देवरलाई बच्चा नभएकोमा कुनै ग्लानी देखेकी थिइनँ मैले । हामी दुवै देउरानीजेठानी एकै गाउँका । एकै स्कुलमा पढेका । बच्चामा सँगै बाख्रा गोठालो गाको । अलिक हुर्कँदै गएपछि मेलापात भारोपर्म सँगै हिँड्ने गरेको । उनी बच्चादेखि अलिक नक्कली थिइन् । १३÷१४ वर्षको उमेरमै लिपिस्टिक लगाउँथिन् । आठ÷नौ कक्षा पढ्दा नै लभलेटरको ओइरो लाग्थ्यो । मलाई देखाउँथिन् । राम्री पनि थिइन् बिछट्टकी । दश वर्षको उमेरमा नछुने भाएकी । अलिक चञ्चले महिलाको छुइ पनि चाँडो हुन्छ कि क्या हो ।

हाम्रा देवर र मेरा श्रीमान् पनि त्यही महेन्द्र माविमा पढेका । मेरा देवर पढ्न अलिक कमजोर । देउरानी बिजुली थिइन् । सेन्टअप परीक्षा सकिनुअघि देवरले पनि प्रेम प्रस्ताव राखेछन् । एक कान दुई कान मैदान भो । हेडसरले पनि थाहा पाए । देउरानी उत्ताउली सबैलाई थाहा छ । देउरानीले मेरा श्रीमान्लाई मन पराउँदिरछिन् । फेरि मेरा श्रीमान्चैँ मलाई मन पराउने रछन् । पुष्पाको प्रेमलाई उहाँले इंकार गर्नुभएको रहेछ ।

एकदिन एकान्तमा भेटेर पुष्पालाई सम्झाउनुभएछ । ‘तिमीलाई मेरो भाइ केशवले मन पराउछ उसैसँग बिहे गर ।’ ‘म त हजुरलाई पो मन पराउँछु कसरी भाइसँग बिहे गरुँ’ परिस्थितिले भाइसँग बिहे हुन पुग्यो । बिहेमा हाम्री देउरानीले मेरा श्रीमान्लाई भनेकी थिइन् अरे, ‘आखिर जुन घरमा तपाईं हुनुहुन्छ म त्यही घरमा भित्रिँदै छु । मैले मन पराको पुरुष मसँगै मेरै आँखावरिपरि नै त हुन्छन् देखुँला म पनि … ।’
दाइको बिहे नगरी भाइको बिहे गर्नुहुन्न भन्ने सामाजिक प्रचलन समेतको बेवास्ता गरी हाम्रा देवरराजाले देउरानीलाई बाजा बजाए । पुष्पाले मेरा श्रीमान्लाई मन पराउँछिन् भन्ने कुरो अरु कसैलाई पनि थाहा छैन । हाम्रा देवरराजाको एकोहोरो पिरती र पुष्पाको उत्ताउलोपनले ती सबै परिस्थिति निम्तिएको थियो ।

सत्य कुरो भन्नुपर्दा मैलेचैँ मेरा देवरराजालाई मन पराउथेँ । मनको कुरा भन्न मात्रै पो नसकेको हो । मैले मेरा देवरराजालाई पाउने जुक्ति गर्दा मेरी देउरानीले भाँजो हालेकी थिइन् । आखिर न मैले चाहेको पुरुषसँग मेरो बिहे भयो न उनले चाहेको पुरुषसँग उन्को बिहे भयो ।
आज बिहे गरेको पनि तीन महिना बित्यो । हामीले माया गरेका दुवै पुरुष एकै घरमा छन् । हामी दुई नारी संयोगवश एकै घरमा परेका छौँ । म मेरी देउरानीको लोग्नेलाई मन पराउँछु । उनी मेरो लोग्नेलाई मन पराउँछिन् । म मेरा देवर देखेर मक्ख छु । देउरानी मेरा श्रीमान् देखेर मक्ख छिन् । हामी सबै एकाघरमै छाँै तर त्यहाँ आत्मीयताको बसन्त फूल्न सकेको छैन ।

प्रेम शरीरसँग हुन्छ कि आत्मा सँग ?
यो प्रश्न सूर्यास्तसँगै अस्ताउँथ्यो र सूर्योदयसँगै झुल्कन्थ्यो । सूर्य मलिन भएर अस्ताए पनि उदाउँदा उसको तेज निर्विकल्प सत्य भएर फूलका बोटहरूलाई तातो किरणले माया गर्छ ।

माया न्यानो स्वेच्छाचारको आमन्त्रण हो । काँढाले घोचेका फूलहरू मात्रै सुरक्षित बाँच्न सक्छन् बोटमा । शरीर भोग्नु एउटा कुरा प्रेममा रहनु अर्को कुरा । तर दुवैको सहमिलन उत्तम हो । हामीमा यो कुराको अभाव बाँचिरह्यो । जिन्दगीमा चाहेका कतिपय कुराहरू पूर्ण हँुदैनन् । तर मान्छे कहिले अपूरो बाँच्दैन ।

देउरानीको व्यवहारमा परिवर्तन आयो । बचपनदेखिको साथी थिई ऊ तर बोल्दिन । मैले उसको प्रेम खोसेँ । कसैको प्रेम खोसिदिनु पनि पाप थियो होला । यसो त उसले पनि मेरो प्रेम खोसेकी थिई । मैले त्यो बेला अभिव्यक्त गर्न सकेकी थिइनँ त्यो चैँ मेरो गल्ती थियो । त्यो कुरा मैले स्वीकार गर्नैपर्छ । ऊ मेरो लोग्नेलाई चाहन्थी । म उसको लोग्नेलाई चाहन्थेँ । चाहँदामा के हुदोरहेछ र आखिर ?प्रेमको मुहान कहाँ थुनिएको छ र बहाव मात्रै त फरक हो नि ?

रातभर हाम्रा देवरराजा र देउरानी सुतेको कोठाबाहिर ढोकामा कान थापेर सुन्थे मेरा श्रीमान् निदाएको बेला । के कुरा गर्छन् होला । बिहे गरेको यतिका वर्ष भयो हाम्रा देवरराजाले के साँच्चै आफूले माया गरेकी केटी पाउँदा आफ्नो प्रेमको सदुपयोग गरेका छन् त ? कस्तो अचम्मको छ यो दुनियाँ ? चाहेको पुग्दैन र पनि मान्छे त्यही चाहना पूर्तिको बाटोमा हिँडिरहन सक्छ । म त्यस्तै भएँ आज । मानिस सपनाको छायावरिपरि घुमिरहन्छन् । सपना आशा हो । मानिस आफैँ त्यागिन्छ तर आशाबाट वञ्चित हुन सक्तैन ।

एकै ओछ्यान एकै अँगालोमा जबर्जस्त बेरिएर सुते पनि मनले बेरिन सकेन भने मायाले बेरिन सकेन भने त्यहाँ प्राप्तिको बाटो अन्त्य हुन्छ र मानिस आफूँ हिँड्ने बाटो मोड्न खोज्छ । म देवरलाई मन पराउने । देउरानी मेरा लोग्नेलाई मन पराउने । मेरा देवर मलाई होइन आफ्नै श्रीमतीलाई मन पराउने ।

एउटाले मात्रै एकोहोरो मन पराउनु अन्ततः पराजित हुनु हो । यहाँ अपराजिताहरू ज्यादै कम छन् । एकदिन मैले मेरा श्रीमान लाई भनेँ, ‘हाम्रा केशवबाबु दुःखी देखिनुहुन्छ किन होला ?’उसले मनपराको ले उसलाई मन पराइनन् समस्या यत्ति हो ।समस्या योभन्दा अरु गम्भीर के हुन सक्छ र ?

जिन्दगी बिताउनु त हो बितिहाल्छ नि ।केवल बिताउने नाउँमा आफ्नो आत्मालाई किन बली दिनु ?एउटा कुरा भनी भने म महिला भन्नुहोला ?
भनन, महिलापुरुषभन्दा पनि समस्या पो ठूलो रह्यो हाम्री देउरानीले हजुरलाई मन पराउँछिन् ।कसरी ? यो त पाप हो । म जेठाजु हुँ उसको !
जेठाजु हुनुभन्दा पहिल्यै मन पराउँथिन् उनले हजुरलाई त्यो दिन मैले भेद खोलिदिएँ । मनमा लागेको भनेँ । भन्नु थियो । उहाँले सुन्नुभो । मैले नभने पनि घरकाले थाहा पाउँथे कुनै दिन ।

मलाई पनि हलुको भो । एउटा भारी बिसाएँ । देउरानी नबोल्ने मसँग । तर एकदिन आफैँ बोले । बोलेर आयु घट्दैन । बुहारी जेठाजुभन्दा भुतुक्कै । तिम्ले सानैमा मनपराको मान्छेले मलाई त्यति वास्ता गर्दैनन् आजकल, कुरा सुनेर पुष्पा खुशी भइन् । अरुको दुःखमा मानिस आफू सुखको अनुभुति गर्छ किनकि त्यस्तै दुःख उसले भोग गरिरहँदा मजस्तै दुःखी अरु पनि रेछन् भनेर ऊ खुशी हुन्छ रे ! मानिस दुःखी यो मानेमा छन कि अरु खुशी छन् र मानिस खुशी यो मानेमा छन् कि अरु दुःखी छन् ।

स्त्रीले चाहिन् भने घर सप्रन्छ । चाहिनन् भने घर बिग्रन्छ । कसैको आवाद घर स्त्रीकै कारणले उजाड बन्छ कसैको उजाड घर स्त्रीकै कारणले आवाद बन्छ । देउरानी अब मसँग बोल्ने भइन् । हामी मिल्न थाल्यौँ । म उनको जेठाजुसँग खुशी हुन नसकेको कुरा खुलेर कुरा गर्न थालेँ । सिङ्गो जिन्दगी बिताउनु त छँदैछ तर यसरी यो ढंगले जीवन कसरी अगाडि जाने होलार ! दबिएको त्यो अमित बासना किनार हुन खोज्दै थियो ।

ढोका थुनेर घन्टौँसम्म म देवरराजाको कल्पना गरी बस्थेँ । देख्छु उहाँले खाएको, लाएको, हिँडेको, बोलेको । अति मीठो लाग्थ्यो । घोप्टो परेको जुँघा चौडा छाती बलिष्ठ हात । मैले कल्पेकी एउटा पुरुष हुन मेरा देवर । तर देउरानी उनै देवरलाई मन पराउँदिन । पुरुषमन पग्लिन्छ छिटो । स्त्री हिमालको बरफ हुन् । धेरै तातो किरण चाहिन्छ जमेको हिउँ पग्लिन ।

मनपरेको पुरुषअगाडि उभिदिए मात्रै पनि कस्तो खुशीको मादकता चढ्छ स्त्रीमनमा । एकदिन एकान्तमा मैले देवरको हात समातिदिएँ
मैतिर नजर विस्फारित गर्दै मुसुक्क हाँसेर उनी कलेज गए । पहिलोचोटि देखेँ देवरराजाले यति मीठो मायालु हाँसोले मलाई तृप्त पारेका । नत्र उनी ज्यादै कम हाँस्ने पुरुष हुन् ।

म भाउजू हँु । तर पुरानी प्रेमीका पनि त हुँ नि । उनले पो मेरी देउरानीलाई मन पराएका थिए तर मैले त उहाँलाई मन पराएकी थिएँ नि । भन्न पो सकिनँ त । भनेकी भए पनि के गर्नु र मेरा देवर एकोहोरो भाका थिए पुष्पाको प्रेममा । तर पुष्पाको मनमा अर्कै पुरुष थियो मेरा लोग्ने ।
हरेक पुरुष अहममा बाँचिरहन्छ र स्त्रीलाई आफूअनुरूपको बाँच्न र हाँस्न सिकाउँछ । सबै स्त्री सबै पुरुषको इच्छा र इशारामा बाँच्न सक्तैनन् र चाहँदैनन् पनि । सम्झौता नै गरेर बाँचेको जिन्दगी त्यो आधा जिन्दगी मात्रै हो । स्त्रीको आधा खुसीमा पुरुषको आधा खुशी थपिए मात्रै पो त्यो पूर्ण हुन्थ्यो होला ।

एकदिन देउरानीले मलाई प्रस्ताव गरिन्
दिदी मलाई मेरो प्रेम फिर्ता गर्न सक्नुहुन्छ ?
बुझिनँ पुष्पा के भन्न खोजेकी ?
तपाईंको लोग्ने मलाई दिनुस् म तपाईंलाई मेरो लोग्ने
के यो सहज होला र ?
सहज बनाउने अरुले होइन हामीले त हो नि दिदी
लोकलाज सासुससुरा समाज नि ?
मलाई थाहा छ तपाईं केशवलाई कति धेरै माया गर्नुहुन्छ ।

हामीसँगै स्कुल पढदा तपाईंले लुकाएर केशवलाई चकलेट दिनुहुन्थ्यो । तपाईंको मात्रै एकोहोरो चकलेटी माया थियो त्यो । केशव तपाईंलाई होइन मलाई मात्रै माया गथ्र्यो । म किरण हजुरको लोग्नेलाई माया गर्थेँ । यी दुई दाजुभाइले हामी दुवैको प्रेमलाई बुझेनन् है दिदी । अब गर्नुहोस् दिदी केशवलाई धित पु¥याएर माया गर्नुस् तर मलाई मेरो किरण दिनुस् । बिन्ती म किरणसँग मात्रै खुसी रहन सक्छु ।

पुष्पा चकलेटी माया के माया जो खाउन्जेल मात्रै मीठो निलेपछि स्वादले भुलेर जान्छ तर स्वाद लिनेले चैँ भुल्दैन । चिन्ता नगर्नुस् केशवलाई मैले वृतान्त सुनाइसकेकी छु । उनी त मेरा देवर हुन् । अब सामाजिक बन्धन पनि त छ नि ।देवर त हो नि छोरा त होइन नि । पुष्पा आफ्नो प्रेम प्राप्तिका लागि जे गर्न पनि तयार छे । मभित्र दमित त्यो माया फेरि फक्रन खोज्यो । किरणको प्रतिबिम्बित हो केशव जसलाई मैले मेरो आत्माले चाहेको थिए । जब म यहाँ किरणसँग बिहे गरेर आए त्यो केवल केशव प्राप्तिको एउटा महवपूर्ण बाटो थियो । प्रेममा बहस हुँदैन । प्रेममा वक्तृत्व पनि हुँदैन । प्रेममा केवल मौनता हुन्छ ।

मौनता प्रेमको नदी हो । चुपचापमा नै फक्र्यौं हामी र मैले कहिले व्यक्त गर्न सकिन केशवप्रतिको मेरो आत्मिक प्रेम किनकि ऊ पुष्पालाई माया गथ्र्याे । मैले खोसिन उसको खुशी मुटुलाई । कहिले पनि । दैहिक प्रेम थियो भने शरीर भोगपछि तिर्खा मेटिन्थ्यो र आफैँ किनार लाग्थ्यो प्रेम । तर यो आत्मिक प्रेम थियो जो मुटुको छायाँमा टुसा उम्रेको छ ।

केशव पुष्पालाई आफ्नै श्रीमतीलाई एकोहोरो माया गर्छ । तर पुष्पा किरणलाई (जेठाजु)लाई एकोहोरो माया गर्छे । म केशव अर्थात् मेरो देवरलाई माया गर्छु । यो कथाका हामी तीन पात्र मनोद्वन्द्वमा फसेका छौँ । यसको समाधान के हुन सक्ला खोइ के हो म बहुलाउन थालेजस्तो लाग्यो । किरण निदाएपछि म देवर देउरानी सुतेको कोठाबाहिर ढोकामा कान थापेर बसिरहन्छु आजकल ।

निद्रा नलागेर आखाको भृकुटी नै कालो कालो भएको छ । उनीहरूले स्वास फेरेको सुनिरहन्छु । कल्पना गर्छु मेरो देवर मेरो प्रेमीले कसरी भोग्छन् होला पुष्पालाई । मेरो दमित यौनभाव त्यो ढोकामा पुगेपछि उभारिन्छ । र त्यहाँ उभिएर कान थापेपछि तिनीहरूको मन्द श्वास सुन्छु । म एकाएक उत्तेजित हुन्छु । अनि शिथिल हुन्छु ।

एउटा अचम्मको रोग लागेको छ मलाई । महिलालाई लाग्ने हिस्टेरिया भएको छ मलाई । निद्रा नआएको धेरै रात भो । एक प्रकारको बिमारी भए म । निद्रा लाग्ने गोलीले पनि काम गर्न छोडेछ अब त । एक दिन त डबल डोज परेछ । किरणले हात जोडी बिन्ती गरे डबल डोज स्लिपिङ टयाबलेट नखाऊँ भनेर । मभित्र उकुसमुकुस छ । बेचैनी छ । पुरुषभन्दा महिला शान्त र शीतल हुनुपर्ने हो तर म हुन सकिन । मभित्र एउटा अभाव बाँचिरहेको छ अतितदेखि । मैले केशवलाई चाहे तर पाइन । नपाएको कुरा नै किन महत्वपूर्ण हुन्छ यो संसारमा हँ ? हरेक रात देवर देउरानी सुतेको ढोकाको कापबाट तिनलाई चिहाएर हेरेपछि मात्रै म मानसिक र शारीरिक तृप्ती पाउँथे । यो क्रम धेरै दिन रह्यो ।
असन्तुष्ट देउरानीले एकदिन साँचो कुरा खोलिन्, दिदी मरिजाम हामीसँगै सुत्दैनौँ । एकै ओछ्यान अनि त्यसो भन्ने बच्चाजस्तो कुरा नगरन ।
ओछ्यान एक भएर के भो मन दुई भएपछि ?
पुष्पाको कुरा सही लाग्यो ।

ओछ्यान एकै भएर के काम ? सिरानी पनि एक भएर के काम ? जब सपना फरक–फरक छन् भने, उद्देश्य फरक छ भने, मन भिन्न छ भने । अनि मैले केशवलाई माया गर्नु पनि त्यही त होला नि ।एकै ओछ्यानमा जब फरक मन निदाउँछ त्यहाँ अपनत्वको अभावमा न्यानोपन पनि रहँदैन । सिरक एकै ओढ्नु प्रेमको न्यानो ताप्नु पनि होइन नि । माया ओछ्यानुपर्छ माया नै सिरानी हुनुपर्छ र माया नै सिरक हुनुपर्छ अनि सपना पनि एकै देखिन्छ । त्योबिनाको माया माया होइन त्यो त केवल बासना हो । लोग्नेको स्वाद के सहवास मात्रै हो त ? लोग्ने हुनु आइमाई सुरक्षित हुन मात्रै हो त ? स्वास्नी हुनुलाई ऊ पुरुषको अकोपाइड मात्रै हो त ? यो त महिला कोटामा परी लोकसेवा परीक्षा पास गरेजस्तो भएन र ? म किन यतिबिघ्न केशवभन्दा भुतुक्क भाको ? ऊ पुष्पालाई पो माया गर्छ मलाई त गर्दैन नि । अनि ? अनि किन म ऊभन्दा भुतुक्क हुनु ? के छ त त्यस्तो उसमा जुन चिज किरणसँग छैन ?

देउरानी खुशी छैन । म पनि किरणसँग खुशी छैन । हामी दुवै जोइपोइभित्र एउटा असन्तुष्टिले बास गरेको धेरै भो । उहाँहरू दाजुभाइ हुन् । तर त्यति खुलेर पनि बोल्दैनन् । किरणको व्यापार छ उसलाई प्रेम स्रेम स्वास्नी यौवन यौन चासो छैन । ऊ केवल मेरो ओछ्यानमा साथी बनिदिन्छ बस । सुतिदिन्छ । निदाउँछ मस्तले । घुर्छ । मलाई घुर्ने बानी भाको मान्छे बिल्कुल मन पर्दैन । किरण चुरोट पिउँछ । पिउन त केशव अर्थात् मेरो देवरराजा पनि पिउँछन तर खोइ स्वास गनाएजस्तो लाग्दैन ।

मन परेको मान्छेले जे गरे पनि सुहाउने है । हिजो भात पस्किँदा देवर राजाले भन्नुभो, ‘भाउजू कति मीठो तरकारी ।’ कस्तो पुलकित भएँ म । बोली नै मीठो मेरा देवरको । ओठ नै स्वादिलो । महिलालाई यदि जे गर्न पनि छुट भाको भए म देवर राजाको गालामा म्वाइ खाइदिन्थे । आइमाईलाई किन बलात्कार गर्ने छुट छैन हँ ? नत्र मैले जानेथेँ मेरा राजाबाबुलाई !

आज स्लिपिङ ट्याबलेटको डोज कम भएछ । बिचरी म । किरण निदाएछ । फेरि उही देवर सुतेको ढोकाबाट कान थाप्न थालेँ । आज देवर देवरानी झगडा गरेको सुने । देवराजले एक थप्पड हाने देउरानीको गालामा । ऊ रुन थाली । त्यो क्षण मलाई आनन्द लाग्यो । म चाहन्छु यी दुईको झगडा होस् । केशव मतिर फर्कियोस् । केशव र पुष्पाबीच यौन सम्बन्ध पनि नहोस् । केसव चोखो रहोस् । कुनै दिन आउला उसको सबै कुमार बैँस मभित्र पोखोस् । म भिजूँ निथ्रुक्क । मलाई हलहली पसिना आओस् । म आनन्दले मुर्छा परुँ । मभित्रको दमित वासना केशवको शरीरलाई भोग चढाऊँ ।

कति आनन्द होला त्यो बेला । उसको छायाले मलाई निलोस् । खप्पै खाओस् मलाई त्यो अँगालोले । म हलुका हुन्थेँहँुला । किन केशव सोच्दैमा मलाई उत्तेजना हुन्छ । केशव आगोको अगुल्टो हो जसलाई म आफ्नो शरीरमा झोस्न चाहन्छु । के हिस्टेरिया यही हो ? दमित वासना ? मा अलिकति पागलपनको सिम्टम आइसकेको छ ।

झगडा सुनेपछि ढोकाबाट फर्किएँ । आनन्द आयो । किरण घुरिरहेकै थियोे । म नहुँदा चुरोट पिएछ । मुखबाट एउटा नमीठो दुर्घन्ध फैलिरहेको थियोे । एउटा भिन्दै सिरक लिएर त्यो रात म भइँमा सुते । त्यो घर कति उदार छ म अचम्मित हुन्छु । त्यहाँको स्वन्त्रता साच्चिकै अनमोल छ । ससुराले कहिले गाली गर्दैनन् ।

सासू यो उमेरमा पनि हाँसखेल रमाइलो गर्छिन् । एकदिन सासुले मलाई एक्लै बोलाएर भनिन् ‘ठूली दुलै तिमी मेरो कान्छो केसुलाई मन पराउँछ्यौ हो ?’हो, तर हजुरलाई कसरी ? म उहाँलाई सानैदेखि मन पराउथेँ । मैले तिमी राति–राति केसुको ढोकाबाट फर्केको देख्थेँ । तर त्यस्तो केही होइन आमा म उनीहरू झगडा गरेकी भनेर बेलुकी चिहाउथेँ । केसुले गल्ती ग¥यो ठूलदुलै पुष्पाले किरणलाई पो मन पराउँदिरैछन् । हामी सोच्दै र्छौँ के गर्नी भनेर । तिम्रा ससुरालाई यो सबै घटना थाहा छ । हाम्रो घरको समस्या हामी नै मिलाउनुपर्छ ठूलदुलै ।
सासुबुहारीको गन्थन लामो भो । त्यो रात मलाई खोइ किन पो हो स्लिपिङ ट्याबलेट नखाई निद्रा प¥यो । ओखतीले निद्रा ल्याउने होइन रहेछ । निद्रा ल्याउने चिज त मनको खुशी पो रहेछ ।

मन नै हो रहेछ सबैभन्दा ठूलो शत्रु पनि सबैभन्दा ठूलो मित्र पनि । कसरी देवरसँग बिहे गर्नु के भनेकी होलिन् हाम्री सासूआमोइले । किरण मस्त निद्रामा थियो । पहिलेजस्तो म पुनः देवरराजाको ढोकाबाट चिहाउन गइनँ । मन सम्हालिन थाल्यो । किरण जसले मलाई बिहे गरेर ल्यायो उसलाई म किन यतिविघ्न घृणा गरुँ ? उसको गल्ती के छ र ? मेरो, पुष्पाको र केशवको गल्तीले किन किरणलाई पल पल मारुँ ? ऊ पनि त पुरुष हो । पुष्पाको असन्तुष्टि उस्तै थियो ।

एकदिन ससुराले हामी चरैजनालाई आफ्नो कोठामै बोलाउनुभो । थालमा माला र अबिर थिए । कुनै मन्दिरबाट आएका होलान् प्रसाद दिन बोलाका होलान् भन्ठानेँ । सासू, ससुरा, म, देवरराजा र किरण सँगै थियौँ । ससुराले देवरराजाको मुखमा हेर्दै भने, ‘केसु पुष्पालाई तिमीले मन परायौ बिहे ग¥यौ तर पुष्पा तिम्रो कहिले पनि हुन सकिनन् । पुष्पा किरणलाई मन पराउँछिन् ।’ यो कुरो तलाई पनि था थ्यो । अनि तेरी भाउजू किरणलाई होइन केशवलाई मन पराउँछे । यहाँ पुरुषले मन पराउनुको कुनै अर्थ रहन्न । नारीले मन पराइदिइन् भने मात्रै पुरुषको घर पक्काको हुनेरहेछ ।

त्यसैले मैले यी बुहारीहरूको प्रेमलाई सम्मान गर्दै पुष्पालाई किरण र केशवलाई ठूलदुलहीसँग बिहे गराउँदै छाँै । ल माला पहिराऊ बुहारी हो आफूले मन पराको पुरुषलाई ।’सासूससुराको साक्षत मन्जुरीमा हाम्रो दोस्रो बिहे भो । मैले सोचेँ दमित वासना होइनरहेछ दमित प्रेम पो रहेछ जिन्दगी त ।(आर्थिक दैनिक बाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्