Techie IT
सोमबार, वैशाख ६,२०७८

यो साइबर युग हो, यहाँ लाजले पनि लाज मान्नथालेको छ


काठमाडौं ।
हे धरा ! तिमीले मलाई आफ्नो कोमल काखमा हुर्कायौ, बढायौ र पालनपोषण ग-यौ । मलाई अकाल मृत्युबाट जोगायौ । मैले फेर्ने श्वासप्रश्वास तिमीले नै दिन्छौ मलाई । मैले बोल्ने आवाज तिमीले नै भरिदिएकी हौ । त्यसैले हे धरा ! मलाई तिमी मन पर्छ । तिम्रो अशेष काख नै मन पर्छ । जहाँ अनन्तका असीमित गुलाफी रहरहरू फक्रिरहेका छन् । रहर त आफैँ सिर्जना हो ।

हरेक मान्छेसँग छ रहर । हरेक मान्छेसँग छ उद्देश्य । हरेकसँग उसको आफ्नै सपनाको आकाश छ । त्यो उसलाई कहिले बोझ लागेन । कहिले भारी लागेन । जिन्दगीको अन्तिम घडीसम्म त्यो सपनाको भारी बोकेरै हिँडिरहनु उसको चरित्र पनि हो । विशद व्याख्या हुन्छ– तिम्रो काखको । एउटा पुराण, एउटा कुरान, एउटा बाइबल र गीतामा नभेटेका कुराहरू छन् तिम्रो कोमल काखमा ।

तिम्रो शरणार्थी हौँ हामी । तिमीले आकाशको ओत दिएकी छौ । तिम्रो सतत छायामा प्रेम छ । बस् ! त्यो नै सबैभन्दा ठूलो सार्वभौम सत्य हो । हरेक बिहान तिमी भएर उदाउँछ मेरो सूर्योदय । अनि हरेक साँझ तिमी छोएर अस्ताउँछ– मेरो न्यानो घाम । तिम्रो अपलक हेराइबाट नै आरम्भ हुन्छ मेरो जिन्दगी ! मलाई स्थान दिएकी छौ । म तिम्रै शान्त कोमल काखमा बाँचिरहेछु । मलाई कहीँकतै पुग्नु छैन, कसैलाई भेट्नु पनि छैन र कसैलाई देख्नु पनि छैन । तिमीबाहेक कोही छ जस्तो पनि लाग्दैन । तिमी देखेपछि पुग्यो मलाई । यो परिव्याप्ति तिमीमै त समाहित भएको छ । तिमी छौ र पो म पनि छु ।

मैले हेर्ने तिम्रो प्रेममय क्षितिजमा अनन्तताको अमृत छ । बस् ! त्यहीँबाट म तृप्त र शान्त हुन्छु, । म तिम्रै गोधूलीमा जिन्दगीको मुरली धुन खोज्छु । मेरो जीवन गीत तिम्रै ओठबाट गुन्जिरहेको छ । मेरा प्राप्तिहरू तिम्रै कारण हुन् र यो सम्पूर्णता अन्ततः तिमीमै गएर विलीन हुन्छ । सबै सबै भौतिक र अभौतिक अस्तित्वको कारण र कार्य तिमी नै हौ । र अन्ततः तिमीमै विलय हुन्छु म र मेरा यावत् प्राप्तिहरु ! उनीहरूले कमाए भन्छन् खुसी हुन्छन् । दम्भ देखाउछन । दगुर्छन्, उफ्रन्छन् र दङ्ग पर्छन् । प्राप्ति हुँदा खुसी हुने र गुमाउनुपर्दा दुःखी हुने यो अबोध चेतना तिमीले नै हालिदियौ । प्रकृति ! तिनले कहिल्यै बुझेनन् यो सबै प्राप्तिको मुहान त तिम्रो कोमल काख त थियो नि ! यी सबै भौतिक प्रपञ्च बिलाएको पनि तिम्रै काखमा नै हो । पाएर पनि पाए कोही भन्दैनौँ हामी ।

असन्तोषको गाग्रीको पिँधमा प्वाल परेको छ । हामी माथिबाट थप्दै जान्छौँ र तलबाट चुहिँदै जान्छौँ । हामी भरिएको भाँडो हेर्न वर्षौँदेखि लालायित छौँ । तर हाम्रो लोभको भाँँडो कहिल्यै भरिएन । त्यो भाँडो नभरिँदै हामीहरू यो दुनियाँबाट विदा भइसकेका हुन्छौँ । प्राप्ति के हो ? संसारमा सुखी को होला ? के मिल्यो भने संसारको सारा सन्तुष्टि हामीलाई मिल्छ ? भनेर जति चिन्तन गरे पनि यसको उत्तर कसैसँग छैन ।
हिमालदेखि समुद्रसम्म बगिरहेको पानीले आफ्नो गति कहिले बिर्सिन्न । ऊ कहिले थाक्तैन । न ऊ कहिले निदायो । ऊ आफ्नो समानान्तर लयमा गीत गाउँदै निरन्तर बगिरहेकै छ । नदी थाकेको कहिल्यै देखेनौँ हामीले । नदीको हरेक पानीको थोपा थोपा एक आपसमा कहिल्यै छुट्दैनन् ।

त्यहाँ कहिल्यै खाली देखिन्न । धारा एक आपसी नछुट्टिने भएकोले नै धार भनिएको होला । एक लहरसँग अर्को लहर, एक बुँदसँग अर्को बुँद, एक थोपासँग अर्को थोपा नटुटी मिलीजुली सबै सबै सागर पुग्छन् । पुग्न त मनुष्य पनि अन्ततः सागर नै पुग्छन् तर मृतपछि मात्रै । ऊ सागर पुग्दासम्म उसले आफ्नो जीवन गति सक्याइसकेको हुन्छ । यो परिव्याप्तिको सघनतामा मनुष्य त्यस्तो एउटा जीव हो जसले प्रकृतिलाई बदल्छ आफ्नो खुसीको लागि । तर प्रकृति बदलिनु पर्दा दुःखी हुन्छिन् र आफ्नो रौद्ररुप प्रदर्शन गर्छिन् । प्रकृति बदलिँदो छ र सारा मनुष्यका सपनाहरू आकांक्षाहरु बढ्ने क्रममा छन् । हामीभित्रको लोभले अन्ततः एकदिन गम्भीर समस्यामा पु¥याउँछ, त्यस दिन मनुष्यले हारेको महसुस गर्नेछ ।

आजको मनुष्य दुईवटा कुरामा चुकिरहेको छ । उसको पहिलो चुकाइ हो धन । दोस्रो चुकाइ हो यौन । धन र यौनको रागमा आजको मानिस नराम्रोसँग भौँतारिरहेको छ । यी दुई विषयको वरिपरि विश्व मनुष्य घुमिरहेको छ । जीवनलाई सहज बनाउने उपाय सोच्दा सोच्दा यो संसार यस्तो डिजिटल भइसकेको छ कि अब कोही आफन्त साथीहरू बिरामी हुँदा उसलाई भेट्न अस्पतालसम्म जानुपर्दैन फेसबुकबाट नै ‘शीघ्र स्वास्थ्यलाभको कामना’ भने पुग्छ ।

कोही आफन्तको मृत्यु हुँदा घाटसम्म जानुपर्दैन फेसबुकमै ‘रिप’ लेखे पुग्यो । कसैले राम्रो काम गरेबापत प्रत्येक्ष भेटेर हातमा हात मिलाएर बधाई दिनु जरुरत छैन फेसबुकमै ‘कन्ग्र्याच’ भने पुग्यो । केटाकेटीलाई प्रेम गर्न डेटिङ जानुपर्दैन एउटा एन्ड्रोइड मोबाइलबाट नै काम तमाम हुन्छ । ट्विटर फेसबुक टिकटकबाट आजकल यौन र यौनाङ्गका सबै तमासाहरु देखाइन्छ । स्त्रीमा लाज हराइसकेको छ । मति बिग्रेका पुरुषहरु भ्रष्ट भमरा हुन् । उनीहरू स्त्रीलाई सम्पत्तिको रूपमा हेर्छन् । मायाले होइन आजकल डिजिटल संसारले रङ्गिएको छ दुनियाँ ।

हामीले शरीरलाई छोप्ने होइन दुनियाँलाई देखाउने वस्तुका रूपमा परिभाषित गर्न थाल्यौँ । देखाउनुपर्ने चिज छोपिँदै गए । छोपिनुपर्ने चिज खोलिँदै गए । लाजले पनि लाज मान्नथालेको छ आजकल । यो साइबर युग हो । यहाँ कुनै कुरा पनि लुकाउने स्थान छैन । शरीरमा लुकेको आत्मा पनि बडो धर्म संकटमा परिरहेको छ । मनुष्यको वशमा भएको भए त्यो लुकेर रहेको आत्मालाई पनि खोलेर देखाउँथे र भन्थ्यो मनुष्यले यी हेर ! मेरो आत्मा यस्तो छ । त्यो आत्मालाई झिकेर टिकटकमा नचाउँथे र फेसबुकमा प्रदर्शनका लागि राख्थे । आत्मालाई भाइरल बनाउँथे ।

तर अहिलेका हामी बिचरो मनुष्य शरीरलाई मात्रै भाइरल बनाउन सक्छौँ, आत्मालाई सक्तैनौँ । आत्मा बस्ने यो पवित्र मन्दिररुपी घरलाई फेसबुक, टिकटक र ट्विटरमा प्रदर्शनमा हालेको छौँ र भनिरहेका छौँ– मलाई सबैले मन पराए । म भाइरल भएँ । मैले आजसम्म नबुझेको कुरा कि शरीर देखाउँदा भाइरल होइन्छ कि भाइरस होइन्छ ?

शरीर प्रदर्शनीमा राखिएको एउटा सप्रिएको मुलाजस्तो भएको छ जसले पनि हेर्न पाइने जे पनि भन्न र जे पनि लेख्न पाइने । मानिसहरू सबै डिजिटल भइसकेका छन् । यस्तो लाग्छ अब मनुष्यले मनुष्यको प्रत्यक्ष स्पर्श नै पाउँदैन । आफू रमाउने चाहनामा आफूपछि आउने पीडितलाई हामीले कागजको फूल दिँदै छौँ र मनुष्य कृत्रिम बाँच्न विवश हुनेछ एक दिन । आजको प्रेममा कलकल कोमल मायाको मृत्यु भइसकेको छ । सौन्दर्यलाई शौचालयजस्तै बनाइरहेका छौँ हामीले । मानिसको कारण पृथ्वी माताले लाज मान्नुपर्ने अवस्था भयो ।

आफ्नो अंगलाई हरियाली रुख बिरुवाले ढाकेकी छिन् धराले । कतै निर्मल गंगाले छोपेकी छिन् आफ्नो चपल अस्तित्व त कतै महासमुद्रले लुकाएर बाँचेकी छिन् आफ्नो अतल लाज । हामीले धरतीबाट सिक्नुपर्ने हो तर ठीक उल्टो भयौँ । सारा लुगा खोल्दै गयौँ । नांगिँदै गयौँ । सशरीर नांगिनु भनेको विचार पनि नांगिनु हो । नांगिएको विचारमा विवेकशून्य हुन्छ । विवेकशून्य हुनु भनेको संवेदनशीलताले हार्नु र पशुत्वले जित्नु हो । पशुहरु विवेक नभए पनि मायालु छन् । अञ्जान छन । अबोध छन् । ती हाम्रै चारुचरणमा समर्पित छन् ।

हे धरा ! म तिम्रो काखको सुन्दरतामा जीवन खोजिरहेको छु । म तिम्रो चपल चाँदनीमा गीत गाइरहेको छु । म तिम्रो अस्तित्वमा उन्माद खोज्दिनँ । बरु एउटा शान्त जिन्दगी खोज्छु, एउटा निर्मल माया पाइरहेको छु मैले, म एउटा भर खोज्दै छु तिम्रो व्याप्तिमा । एउटा वैशाख मात्र होइन नि जीवन ! यहाँ शिशिरले उप्काएका छन्, पीडाका पाप्राहरूलाई, रक्ताम्य मनहरूलाई आँखाका औँलाहरूले छोएका छन् ।

म प्रेमको खोजीमा भौतिक भौँतारिइरहेछु तर आफ्नै निनाद अनन्त आकाश बोकेर म थाकेकै छैन । मैले मेरो आकाशको भारी बोकेर हिँडिरहेको हजारौँ वर्ष भयो । रामयुग हुँदै कृष्णका लीलामृत बोक्दै योमाथिको आकाश खोइ कहिल्यै बोझ बनेन हामीलाई तर आकाश बोक्ने कलकल कला हामीमा कहिल्यै भएन । राम र कृष्ण युगको सुल्झिन नसकेको झगडा बुद्धयुगमा आएर शान्त हुनुपर्ने हो तर यो युगका मानिसहरूले बुद्धलाई बुद्धु भने । बुद्धलाई सोझो भने र उनको सोझोलाई भजाएर हामीले खाइरह्यौँ ।

बुद्धयुगमा शान्ति होइन क्रान्तिले स्याब्बासी पायो । म पुरुष भएर जन्मिएकोमा कुनै गर्व गर्दिन किनकि मैले फेरि बुद्धलाई तिम्रो गर्भमा गर्भधारण गराउन सकिन । बुद्ध किन एकफेर मात्रै जन्मिए ? कृष्ण किन बारम्बार जन्मिएनन् ? हामी बुद्धलाई माया गर्छौँ, हामीले पुज्नुपर्ने त प्रेमलाई हो, शान्तिलाई हो तर हामीले शरीरलाई पुज्यौँ । हामीले कवितालाई होइन कविको कायालाई सुन्यौँ । हामीले नारीका निर्मलतालाई होइन उनको बैँसलाई पुज्यौँ ।

स्त्रीले पुरुषका शान्त स्वभावलाई होइन उसको अहम् र अहंकारलाई पुजे । उसको बैँसलाइ पुजे । परिणामतः दुनियाँमा प्रेम मर्दै गयो । विश्वास मर्दै गयो । कसैले पनि आफूमाथिको शान्त आकाशलाई बोकेर हिँड्न चाहेनन् । सबै सबै उन्मुक्त हुन चाहिरहे आकाश फालेर । यस्तो लाग्दै छ कि हामी आफ्नो अस्तित्वको आबरु फालेर फेरि नाङ्गै जंगली हुँदै छौँ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्