Techie IT
सोमबार, वैशाख ६,२०७८

इलामको चिया र दार्जेलिङको चर्चा


काठमाडौँ ।
चियाको उदय र चलनचल्ती : हिजोआज चियालाई बढी उपभोगको पेय पदार्थको रूपमा लिने गरिन्छ । सायद सबैले प्रयोग गर्ने पानीपछिको पेय पदार्थ होला यो उपभोगको रूपमा । चियाका पारखीहरूले भन्ने गरेका छन्, यसको उदय चीनबाट भएको हो, इसापूर्व दशौँ शताब्दीदेखि नै ।

चीनमा इपू दशौँ शताब्दीमा सम्राट सुन नुङ भन्ने एक जना शासक थिए । उनी देवदूत सम्झन्थे आफूलाई । देवताको अंश मान्ने उनले दैवी शक्तिका रूपमा आफ्ना नागरिकहरूलाई उपचार पनि गर्थे । स्वास्थ्यको फाइदाका लागि सधैँ उनी तातो पानी पिउँथे । एकदिन तातोपानी राखिएको भाँडामा एउटा सानो रुखबाट हरियो पात खसेछ । केहीबेरमै पानी रंगिएछ, बास्ना पनि मीठो आउन थालेछ, त्यो तातोपानी पिउँदा थप आनन्द भएछ सम्राटलाई । त्यसै दिनदेखि सम्राटले दैवी चमत्कार, स्वर्गबाट पठाइएको पदार्थ चिया भनी भन्न थालेछन् यसपछि चियाको उपभोग बढ्दै जान थालेछ ।

चियालाई एसियाकै आफ्नो उत्पादन भनिन्छ । चीनबाट घरेलु उत्पादनको रूपमा सुरु भएको चिया १६औँ शताब्दीमा चीनमै, कोरियालगायत जापानमा व्यापारिक खेती काम आरम्भ भएछ । पछि पोर्चुगलका व्यापारिहरूले पश्चिमी मुलुकतिर पनि यसको प्रचारप्रसार खेती व्यवसाय सुरु गर्न प्रेरित गर्न थालेछन् । सुरु सुरुमा घरेलु महिलाहरूले चीनमा चियामा चिनी वा अन्य गुलियो पदार्थ मिाएर खान थालेछन् ।

महिलाकै स्वादका लागि प्रसिद्धि पाएको चियाले खासगरी स्त्रीहरूकै आहारको रूपमा लिने गरियो सुरुसुरुमा । प्रायशः अहिले पनि फिक्का चिया बिहानै ‘बेड टी’का रूपमा लिने गरिन्छ । कसैले फिक्का, कसैले दुध हालेर कसैले हरियो चिया, कसैले हर्बल चिया चिनी हालेर वा नहालेर पिउने गर्छन् अचेल धेरै ठाउँका मानिसहरू । जति सानो पातबाट चिया बनाइन्छ त्यति यसको मूल्य बढी पर्ने, हरियो र फिक्का चियाले क्यान्सर रोगबाट टाढा राख्ने भनिन्छ । सबैभन्दा बढी चिया पिउने त आयरलैन्डका मानिसहरू नै हुन् । औसत चार कप दैनिक चिया पिउँछन् यिनीहरू ।

चिया उपभोग गर्ने विश्वकै राष्ट्रहरूमध्ये भारत अग्रस्थानमा छ । अमेरिका र क्यानडामा भने हामीले पिएझैं तातो चिया पिउने गरिन्न । यहाँ ८० प्रतिशत ‘आइस टी’ अर्थात् बरफजस्तै चिसो चिया पिउने गरिन्छ । उत्पादनको दृष्टिले हेर्दा सबैभन्दा बढी चियाको उत्पादन एसिया एवं अफ्रिकी मुलुकहरूमा हुनेगरेको छ । वर्मामा त चियाको अचार खाने चलन छ । सन् १९०३ मा अमेरिकी व्यापारीहरूले निचियाँ सिल्क भागमा चिया राखी बिक्री गर्न सुरु गरे तर व्यावसायिकरूपमा यसले सफलता हासिल गर्न सकेन । पछि अमेरिकी नागरिक विलियम हर्मान्सले आधुनिक चिया व्यागकै सुरुवात गरे र सन् १९३० मा एउटा चिया कम्पनीलाई आफ्नो पेटेन्ट राइटको सम्पत्ति संरक्षण अधिकार बिक्री पनि गरे ।

दोस्रो विश्वयुद्धपछि सन् १९५३ मा टेटले नामक एक बेलायती कम्पनीले व्यावसायिक टीब्याग बजारमा ल्याए र बेलायती बजारमा यसपछि चियाले फक्रने मौका पायो । स्वीट्जरलैन्डमा सन् १९८३ देखि बोतलमा भरेर चिसो चियाको औद्योगिक उत्पादन सुरु गर्न थालियो । सन् १९८१ देखि जापानमा तयारी चियाको बिक्री अत्यधिक हुन थाल्यो । युरोपमा दुध हालेको चिया खाने चलन भने १६८० देखि प्रारम्भ भएको जानिफकारहरू बताउँछन् । हिमाली भेगमा चौँरीको घिउ र नुन मिलाएर पिउने चलन छ ।

बेलायत, अमेरिकामा अलैंची, दालचिनी, सुकुमेल आदि भारतीय मसला मिसाई चिया पिउने चलन चलेको धेरै भइसकेको छ । अहिले पनि अल्जेरिया, लिविया, मोरक्को उत्तर अफ्रिकी आदि मुलुकहरूमा चियाको गिलासमा फिँज आउने गरी माथिबाट चिया खन्याउने गरिन्छ । हिजोआज नेपालीहरूका घर आँगनमा पनि चियाले निकै प्रश्रय पाएको छ । विहानको सूर्याेदय नै सायद चियाले गराउँछ । साँच्चै पूर्वको इलाम, झापाबाट सूर्याेदय हुँदा नेपाली घर आँगनमा चियाकै स्वादको उदय भैसक्छ हिजोआज । फिक्कल र श्रीअन्तु डाँडाले त्यही भन्छ । दार्जिलिङ पनि त उतै छ, दार्जेलिङमा नेपालीहरू पनि धेरै छन् ।

दार्जेलिङको छोटो चिनारी : झापाको चारआली, बिर्तामोड, उकाली चढ्दै, फिक्कलको चिया बगानको आनन्द लुट्दै, हर्कटेबजार, त्यहाँबाट इलाम जाने बाटो छोड्दै पशुपतिनगर भन्सारबाट, साँघुरो तर पिच, जंगलै जंगलको बाटो भई दार्जेलिङ पुगिन्छ । जोरपोखरी बाक्ला रुखहरू देब्रेतिर नेपाली सिमाना दाहिनेतिर भारतीय सिमाना, घमाइलो र रमाइलो दृश्यबीच दार्जेलिङ केन्द्र पुग्न सकिन्छ ।

दार्जेलिङ पहाडी क्षेत्र हो । सबैतिर बाटो साँघुरो छ, भिरालै भिरालो बस्तीबीच दार्जेलिङले आफ्नो नाम कमाएको छ । तीन ‘टी’ले, ‘टी’ अर्थात् चिया, ‘टी’ अर्थात् टुरिजम र ‘टी’ अर्थात् ट्रान्सपोटेसन । गुम्बाहरू थुप्रै देखिन्छन् त्यहाँ र विद्युतीय बसहरू पनि । सानै आकारको भए पनि रेल चलेको छ त्यहाँ । बृटिश इण्डियाकै पालामा वातानुकलित सहरको रूपमा चिनिएको दार्जेलिङको महत्व अहिले पनि घटेको छैन । मिलेका चिया बगान, अंग्रेज शासनकालका दरबारहरू, राम्रा स्कुल, कलेज, संग्रहालय र घरका देला दैलामा रेल हुनु त्यहाँको विशेषता हो ।

इलामकै चर्चा, चियाको पनि आधुनिक चिया कुनै स्थानविशेषको मात्रै छैन, यसले विश्व बजार ढाकेको छ । पूर्वमा चीन, जापान होस् वा मध्यपूर्व या बेलायत, अमेरिका, अफ्रिका जताततै चिया संस्कृति हुर्किसकेको छ । नेपालमा चिया संस्कृति हुर्केको धेरै भएको छैन । विसं २००७ पछि यसले नेपाली संस्कृतिको रूपमा प्रश्रय पाएको हो । त्यसो त करिब डेढ सय वर्षपहिले गजराज सिंह थापाले उही चीनबाट उपहार स्वरूप चियाको बीउ ल्याई इलाममा रोप्न लगाए ।

सन् १८६२ मा यसरी नेपालमा चिया खेती आरम्भ भए पनि व्यावसायिक खेती भने सन् १९६० बाट मात्र भएको देखिन्छ । पछि झापा, पाँचथरतिर पनि यसको खेती सुरु भएको र हाल यसले अन्य क्षेत्रमा पनि प्रश्रय पाइसकेको छ । इलामको फिक्कल चियाको प्रसिद्ध क्षेत्र हो । नेपालमा चिया खेतीको सम्भावना धेरै छ । नगदेबालीका रूपमा लिइएको चियाले डलरको खेती पनि हुने सम्भावना देखेर राजा वीरेन्द्रले इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई सन् १९८० मा चिया क्षेत्र घोषणा गरे । हाम्रो मुलुकमा एक सय २४ भन्दा बढी चिया बगान र ५० बढी प्रशोधन काराखाना छन् । प्रशोधन गर्ने कारखानामध्ये सीटीसी र अर्थाेडक्सका बढी छन् ।

विश्वका अन्य मुलुकको तुलनामा हाम्रो मुलुकमा चिया उत्पादन नगन्य नै छ । १० वर्षअघिसम्म नेपालमा एक करोड ७४ लाख केजी चिया उत्पादन भएको थियो । पछिल्लो आँकडाअनुसार हाल १७ हजार चार सय ५१ हेक्टर बढी क्षेत्रफलमा चिया खेती गरिन्छ । यसमा अर्थाेडक्स चिया आठ हजार एक सय २० हेक्टर र सीटीसी चिया नौ हजार तीन सय ३१ हेक्टरभन्दा बढीमा उब्जनी हुन्छ । आव ०५७/०५८ देखि मुलुकभर चिया निकासी हुन थालेको हो ।

विगतमा १० वर्षको अवधिमा झण्डै दुई अर्ब बढीको चिया निर्यात भइसकेको छ । आव ०५७/५८ तिर त देशमा नौ करोड ८० लाखभन्दा बढीको चिया आयात नै हुन्थ्यो, अहिले त्यो आँकडा घटेको छ । लगानी ठूलै छ, लाखौँ किसानहरू चिया खेतीमा संलग्न छन्, चिया पनि गुणस्तरीय छ तैपनि विश्व बजारमा नेपाली चियाले उचित बजार पाइसकेको छैन ।

इलामको पूर्वी पहाड कन्याम, सोक्तिम, चिलिमकोट, जसवीरे, पानीटार, पाँचथरको कन्चनजंघा, पाथीभरा अनि झापाको बुधबारे, बर्ने, टोकलालगायत धेरै ठाउँमा पुग्दा जोकोहीलाई पनि चियाले नै मन लोभ्याउने गर्छ । यहाँका चिया बगानका फाँट हेर्दा जो कोहीको मन कल्पिन पुग्छ । सामान्यतया मीठो चिया उत्पादनका लागि उचित भूवनोट, पहाडी क्षेत्र ७२ सय फिटसम्मको उचाइ राम्रो मानिन्छ । चिनियाँ र आसाम गरी चियाका दुई प्रकार छन् । स्वाद फरक–फरक हुने यस्ता चिया चिसो पहाडी क्षेत्रमा रोपिन्छ । चियाले अहिले व्यावसायिक रूप लिएकाले मूल जाति चियाबाट वर्णशंकर पैदा भइसकेको पनि जानफकारहरूको भनाइ छ ।

पातलाई नरम बनाई रोलिङ गरी ड्राइङपछि ग्रेडिङ गरिन्छ । यसपछि सीटीसी चिया तयार हुन्छ । कट टियर कर्ल पद्धतिद्वारा उत्पादित चिया सीटीसी चिया हो । अर्थाेडक्सबाट बचेको डाँठलाई समेत प्रयोग गरी सीटीसी चिया बनाइन्छ । चियाको दुई पत्ता सुइरोबाट पहिले ड्राइ वा स्टीम गरिन्छ । यसरी तयारी भएको चियालाई ग्रीन टी भनिन्छ । अरु टीभन्दा ग्रीन टी महँगो हुन्छ । ग्रीन टीले मोटोपना रोक्ने, बुढेसकालका फुर्ति दिने भनी अमेरिकन जर्नल अफ क्लिनिकल जर्नल अफ न्यूट्रिसनमा प्रकाशित भएको छ ।

एउटा अनुसन्धानले के बताएको छ भने ग्रीन टी उपभोग गर्ने व्यक्ति शारीरिक तन्दुरुस्त रहेको सक्रिय र स्वस्थ रहेको पाइएको कुरा सो अमेरिकी जर्नलले पुष्टि गरेको छ । विश्वमा अचेल दैनिक तीन अर्ब कपभन्दा बढी चियाको खपत हुनेगरेको छ । हाल त ब्ल्याक टी, ग्रीन टी खानेको संख्या ह्वात्तै बढेको छ । नेपालमा चियाको व्यावसायिक खेती गरिनु अघि भारतको दार्जेलिङमा चियाको व्यावसायिक खेती गरिएको थियो । चियाको सरदर आयु एक सय वर्षको भए पनि नौ देखि ४० वर्षको उमेरको चिया बढी गुणस्तरीय हुन्छ ।

अलैँची, ओलन, अदुवा, आलु, अम्रिसो, अकबरे, छ ‘अ’ले प्रसिद्धि पाएको छ इलामले । ‘इलम गर बेरोजगार नबस्’ भन्छ इलामले सबैलाई । जताततै टिनको छाना हुने घर हुनु इलामको अर्को विशेषता हो । दार्जिलिङको मिरिकस्थल आदि उभिएको एक हजार छ सय ७७ मिटर अग्लो नेपालकै पूर्वी सीमान्त डाँडो श्रीअन्तु सूर्योदयको दृश्यावलोकन सुन्दर थलो हो । यहाँवाट कञ्चनजङ्घा र कुम्भकर्ण हिमालका साथै नेपालको पूर्वी सबैजसो सिमाना देख्न सकिन्छ । यहाँ लाप्चा जातिको संस्कृति र संग्रहालय पनि देख्न सकिन्छ । इलाममा धेरै घुमाउरा बाटाहरू छन् । लिम्बु भाषामा ‘इ’ भन्नाले घुमाउरो र लाम भन्नाले बाटो भन्ने बुझिन्छ ।

इलामको उत्तरतिर महाभारत पवर्त शृङ्खला र सिंहलीला पर्वतका विभिन्न स्थानहरूबाट इलामका चार माई र सहायक नदीहरू उदय भएका छन् । यहाँका नदीहरूका कारण पनि डाँडापाखाहरू त्यस्तै गुमुक्क परेका एक बस्तीबाट अर्को बस्ती पुग्न घुमाउरो बाटो हिँड्नुपर्ने हुन्छ । त्यस अर्थमा लिम्बुहरूको भाषामा घुमाउरो बस्ती, बाटो ठाउँको नामको कारण इलाम नामकरण भएको हुनुपर्दछ । इलाम शब्दको उल्लेख किरात इतिहासअनुसार इपु १३०० वर्ष देखि मानिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्