Techie IT
सोमबार, वैशाख ६,२०७८

भिरालो जग्गाबाट फाइदा लिने केही उपाय


काठमाडौं ।
नेपालका पहाडी जिल्लाका अधिकांश कृषियोग्य जमिनहरू भिराला छन् । यस्ता जग्गामा हालसम्म पनि उपयुक्त किसिमले गह्रा सुधार नगरी खेती गरिन्छ । फलतः प्रत्येक वर्ष यहाँको लाखौँ टन माटो बगेर अन्य दशहरूमा पुग्छ । यसरी वर्षेनी भिरालो जमिनको माटो बगेपछि यहाँको माटो उर्वरा हुन सक्दैन किनभने पानी बग्दा मिसिएर बग्ने धमिलोपनमा हुने माटोको कण सबैभन्दा मलिलो हुन्छ जसमा बोटबिरुवाहरूलाई आवश्यक पर्ने खाद्य तत्वहरू प्राप्त हुन्छन् ।

वस्तुतः एक मिटर क्षेत्रफल जमिनबाट माटो बग्दा १० केजी नाइट्रोजन, छ केजी फस्फोरस र १५ केजी पोटास नाश हुने हुनाले कृषि उत्पादनमा ह्रास आउने कुरा एक अनुसन्धानले पुष्टि गरेको छ । त्यसैले भिरालो जमिनमा खेती गर्दा आशा गरेअनुरूप प्रशस्त उत्पादन गर्न सकिँदैन । तर पनि भिरालो जमिन अधिक मात्रामा हुने ठाउँमा यस्ता जमिनमा पनि जीवन यापनको लागि खेती गर्न बाध्य हुनुपरेको छ

यदि कुनै पनि जमिन ३० डिग्रीभन्दा बढी भिरालो छ भने धेरै गह्रा सुधार गर्नुपर्छ । यस्ता जमिनका छेउछाउमा केही अग्लो आली बनाई सधैँ बाँस वा अन्य बोटबिरुवाले छोपेमा यसले माटो बाँध्ने काम गर्छ र पानीसँगै माटो बग्न पाउँदैन । फलतः कुनै पनि कृषि उत्पादनको धेरै नोक्सान हुन पाउँदैन ।

भिरालो जमिनमा खेती गर्नुपरेमा थोरै मात्र खनजोत गर्ने र बीउबिजन उमार्नका लागि माटो खोस्रनुपर्छ । यस्तो जमिनमा खासगरी रहर, मास, मुसुरो वा अन्य बालीको खेती गर्न सकिन्छ । यदि जग्गा धरै भिरालो भए फलफूल खेती वा कुषि वन बनाउन सकिन्छ । जसबाट प्रत्येक वर्ष मनग्य आम्दानी गर्न सकिन्छ । तर यस सम्बन्धमा धेरैलाई थाहा नभएको हुनाले फाइदा लिन सकेका छैनन् ।

हाम्रो देशमा छापो पनि धरै वर्ष अघिदेखि चलनमा आएको खेती गर्ने तरिका हो । यसमा विशेषतः सुकेको झारपात र पातपतिङ्गरलाई माटोको सतहमा राखिन्छ । यो तरिका अदुवा, पिडालु आदिमा अपनाइने भए पनि अन्य बालीका लागि पनि अपनाउन सकिन्छ । जसबाट कृषि उत्पादन अभिवृद्धि गर्न सकिन्छ ।

यथार्थतः गाईवस्तुले नखाने सुकेका झारपात माटोका सतहमा राख्नाले माटो बग्नबाट रोकिनुका साथै चिस्यान पनि कायम हुन्छ । यो झारपात माटोमा कुहिने हुनाले प्राङ्गारिक मलसहितको माटो संरक्षण गर्न सकिन्छ । जसबाट कृषि उत्पादन वृद्धि गर्न ठूलो सघाउ प्राप्त हुनेछ ।

भिरालो जग्गामा खेतीपाती गर्दा प्राङ्गारिक मल वा नसडेको पातपतिङ्गर वा स्याउलालाई माटोमा मिसाएर खेती गर्दा तत्काल माटो बग्न वा उड्न कम हुन्छ भने माटोको मलिलोपना सञ्चित भई उर्वराशक्ति पनि बढ्छ । यसबाट कुनै पनि कृषि उपज बढ्ने धेरै सम्भावना हुन्छ ।

हाम्रो धेरैजसो गाउँघरमा वनजंगलमा सुकेका पातपतिङ्गरलाई माटोमा मिलाउन सके धेरै फाइदा हुन्छ । योबाहेक केही बाली काट्दा तिनका डाँठ र पराल माटामा मिलाएमा लाभप्रद हुन्छ । यसो गर्दा भिरालो जमिनमा पानी बग्ने ठाँउको तह पानीमा जम्ने खाडलभन्दा माथिबाट बगेको पानी त्यस खाडलमा जम्मा हुन्छ ।

उक्त खाडल भरिएपछि मात्र पानी बाहिर बग्ने हुँदा माथिबाट पानीसँगै आएका माटो थिग्रिएर मलिलो माटो खेरजाँदैन । वर्षाको समयपछि सो माटो बारीमा राख्न सकिने हुँदा जमिनमा पानी रिचार्ज भई तल्लो भागमा चिस्यान बढ्ने र घटेका पानीका स्रोतहरूसमेत बढ्न सक्छन् । यसबाट पानी उपलब्ध भई कृषि उत्पादनमा समेत सकारात्मक असर पर्छ ।

भिरालो जमिनमा एम बाली मात्र खेती गर्नुभन्दा मिश्रित वा अन्तरबाली लगाउन उपयुक्त हुन्छ । यसो गर्नाले बाली–बालीबीच अन्तरसम्बन्ध स्थापना हुनुका साथै जरा र बिरुवाको माथिल्लो भागले माटो बग्नबाट बचाउँछ । कुन–कुन बालीहरूबीच बढी सम्बन्ध हुन्छ भन्ने कुरा प्रत्येक वर्षको अनुभवबाट थाहा हुन्छ । यही अनुभवको आधारमा किसानहरूले मिश्रित खेतीलाई विशेष जोड दिनसके कृषि उत्पादनमा निकै वृद्धि गर्न सकिने कुरा विकसित देशहरूको अनुभवहरूबाट बोध भएको छ ।

साधारणतयाः माटोमुनि र माटोमाथिको सतहको राम्रो विचार गरी मिश्रित बाली लगाएमा प्रायः माटोले सधैँ नै बोटबिरुवा ढाकेको हुन्छ । फलफूल माटो बग्न वा उड्न पाउँदैन र कम जमिनबाट बढी उत्पादन, एक बालीले लिन सकेको मलजल अर्को बालीले प्राप्त गर्ने, जराले माटो बाँधिराख्ने र कुनै कारण वश एक बालीबाट फाइदा भएन भने अर्को बालीबाट फाइदा लिन सकिन्छ ।

यत्रतत्र पाइने झारपात र वनमा पाइने जैविक चीजहरूलाई बालेर बनाइने अर्गानिक कार्वनयुक्त पदार्थ माटोमा लामो समयसम्म रहन्छ । यसले माटोमा मलिलोपन बढाउनुुको साथै पानी सोस्ने क्षमता पनि बढाँउछ । यसैले यस्तो पदार्थ बनाई आ–आफ्ना जमिनमा प्रयोग गर्न सकेमा कृषिबाट सोचेअनुरूप फाइदा लिन सकिन्छ ।

यथार्थतः राम्रोसँग कुहिएको कम्पोस्ट मल प्रयोग गर्दा माटोमा प्राङ्गारिक पदार्थ वृद्धि भई मलिलोपन बढ्छ । यति मात्र होइन, सूक्ष्म जीवाणुको गतिविधि बढ्ने, माटो बग्न कम हुने, माटोको संरचना खुकुलो हुने र कृषि उत्पादन बढी हुन्छ । मललाई एकदेखि डेढ महिनामा पल्टाउने र बेलाबेलामा माटो मिसाउने गर्नुपर्छ । यसो गर्दा मल छिटो र राम्रोसँग कुहिन्छ र जमिनबाट बढी उत्पादन लिन सकिन्छ ।

भिरालो जग्गामा ढैंचा, तिल, दाल आदि हरियो मलको रूपमा प्रयोग गर्न सकिन्छ । तर हरियो मल बनाउने, बाली रोप्ने, जोत्ने र पल्टाउने समयमा यथोचित ध्यान पु¥याउनुपर्छ । यसो गर्न सकेमा मात्रै कृषि उत्पादन बढाउन सकिन्छ । विशेषतः यस्ता बालीहरू फल फूल्ने समयमा माटोमा मिलाउँदा बढी मलिलोपन प्रप्त हुन्छ र फइदा हुन्छ ।

धेरैजसो भिरालो जमिनमा खेतीपातीको लागि पानीको अभाव हुन्छ । त्यसैले यस्तो जग्गामा सुख्खा मौसममा कम पानीबाट धेरै लाभ दिने थोपा सिँचाइको प्रयोग गर्ने चलन दिन प्रतिदिन बढिरहेको छ । वास्तवमा सादा पानीमा सातदेखि दश भागमा एक भाग पिसाब प्रयोग गर्दा बोटबिरुवामा नाइट्रोजन मलको मात्रा वृद्धि भई बाली राम्ररी सप्रन्छ ।

यो विधि अपनाउँदा धरै पानी बोटबिरुवामा सिंचाइ गर्न सकिने र पिसाबको प्रयोग गर्दा माटोको मलिलोपना वृद्धि भई कृषि उपज बढाउन सकिन्छ । फलफूलका बिरुवा रोप्ने भिरालो जग्गामा निश्चित दूरीमा दुइ–तीन फिट खाडल खनी त्यसलाई अस्थायी रूपमा चर्पी बनाई प्रयोग गर्ने सकिन्छ । उक्त खाडल मलमुत्रले भरिएपछि माटोमा खरानी मिसाई पुर्दा बोटबिरुवालाई आवश्यक पर्ने पोटासको मात्रा थपिन्छ ।

यसैगरी अर्को ठाउँमा पनि खाडल खनी उपयुक्त तरिकाले खाडलमा फलफूलका बोटबिरुवा रोप्न सकिन्छ । तर खाडल मलमूत्रले भरिएको कम्तीमा पनि चार महिनापछि मात्र फलफूलका बोटबिरुवा रोप्न उचित मानिन्छ ।

नेपालका धेरै किसानहरू भिरालो जमिनमा खेती गरी विभिन्न किसिमका कृषि उत्पादन गर्छन् । तर यस्ता जमिनमा एकतिर सिँचाइको अभावछ भने अर्कोतिर भू–क्षयको ठूलो समस्या छ । यी समस्याहरूलाई न्यून गर्न माथि वर्णन गरिएका कुराहरूलाई राम्ररी मनन गरी उपयुक्त किसिमबाट खेती गर्नसके भविष्यमा उक्त जमिनबाट पनि हालको भन्दा धेरै फाइदा लिन सकिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्