Techie IT
सोमबार, वैशाख ६,२०७८

समृद्धिका लागि युवाशक्तिको सही परिचालन


काठमाडौं ।
कुनै पनि देशको युवाशक्तिलाई एक आधारस्तम्भको रूपमा अंगीकार गरिन्छ । यस्तो शक्तिको सही परिचालनबाट जुनसुकै राष्ट्रमा पनि आर्थिक विकास गर्न सकिन्छ भन्ने कुरा विकसित राष्ट्रहरूको इतिहासबाट प्रस्ट हुन्छ । आर्थिक विकासमा युवाशक्तिको महत्वपूर्ण भूमिका भए पनि विगतका वर्षहरूमा नेपाली युवाहरू यहाँको आर्थिक विकासमा सन्तोषजनकरूपमा सहयोगी हुन सकेनन् । वास्तवमा यहाँको असहज परिस्थितिले उनीहरू धेरै प्रभावित हुन स्वभाविक नै हो ।

वस्तुतः चाहना गरेर मात्र आर्थिक विकास गर्ने अभीष्ट पूरा हुन सक्दैन । यसका लागि स्वयम् युवाहरू सक्रिय एवं सचेत रहन आवश्यक छ । यो सत्यबारे युवाहरू सदैव होसियार रहनुपर्छ । आगामी दिनहरूमा पनि युवाहरूले आफ्नो कर्तव्यबाट विमुख भएर यस देशको आर्थिक विकास गर्ने सम्पूर्ण जिम्मा शासक वर्गलाई नै हस्तान्तरण गरे भने सबै नेपालीहरूको हँसिलो अनुहार हेर्ने इच्छा दिवास्वप्न मात्र हुनेछ ।

हुन त कुनै पनि राष्ट्रको आर्थिक विकास एक वर्गले मात्र गर्न सक्दैन । तर पनि युवावर्गले समाजका अन्य वर्गहरूलाई हौसला प्रदान गरी विभिन्न कार्यहरूमा एकजुट गराउन सक्छ । विगतमा यहाँको असामान्य अवस्थाले आफ्नो मातृभूमिको माटोमा सुन फलाउनुपर्ने उर्वर युवा मस्तिष्क र पारखी हातहरू विदेश पलायनका लागि विवश भए । फलतः आर्थिक विकास हुनु त कता हो कता राष्ट्रिय क्षतिमाथि थप क्षति बेहोर्नुपर्ने परिस्थितिको सिर्जना भयो ।

वस्तुतः आफ्नो देशको आर्थिक विकास गर्ने इच्छा भए युवाहरूले ठूलो योगदान पु¥याउन सक्छन् । यसै सन्दर्भमा यहाँ केही युवाहरूले विभिन्न किसिमका संगठनहरू स्थापना गरी केही काम गर्ने प्रयास गर्नु सराहनीय कुरा हो र यसलाई निरन्तरता दिनुपर्छ । नेपाल सरकारले भविष्यका कर्णधार भन्दै युवा विद्यार्थीहरूका लागि प्रत्येक वर्ष अर्बाैँ रुपैयाँ परम्परागत शिक्षामा लगानी गरेको छ । परन्तु सरकारले युवाहरूको चाहनाअनुरूप युगानुकूल प्राविधिक शिक्षाका लागि प्रयत्न गर्न ढिलो भएको छ । यसतर्फ यथाशीघ्र सम्बन्धित पक्षको ध्यान जान नितान्त आवश्यक छ ।

आज सूचना र सञ्चार प्रविधिले विश्वका धेरै परम्परागत प्रणाली र मान्यतामा आमूल सकारात्मक परिवर्तन ल्याएको छ । त्यसैले उक्त क्षेत्रका दक्ष व्यक्तिको निम्ति विश्वमा धेरै रोजगारीका अवसरहरू छन् । यति मात्र होइन, विश्वका धेरै देशहरूमा आर्थिक विकासका लागि सूचना तथा सञ्चार प्रविधि बरदान साबित भएको छ । नेपाल सरकारले केही दशकअघि प्रकाशमा ल्याएका नीति नियमहरूमा यहाँका सूचना तथा सञ्चार प्रविधिलाई विश्व मानचित्रमा अंकित गर्ने निर्णय लिएको थियो । यसका कार्यनीतिहरूमा यहाँका युवाहरूलाई उक्त क्षेत्रमा आकर्षित गर्न ‘बिजनेस इन्कुबेटर’को समेत रेखांकन गरिएको थियो । तर यसलाई व्यवहारमा उतार्न सकिएन ।

वर्तमान समयमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वमा देखिएका सकारात्मक लहरबाट प्रभावित भएर नेपालमा वर्षेनी सरदर चार हजारभन्दा बढी सूचना तथा सञ्चार प्रविधिका विज्ञहरू रोजगारीको खोजीमा भौतारिन्छन् । तर सरकारको कमजोर व्यवस्थापनका कारणले उनीहरूमध्ये धेरैले स्वदेशमा रोजगारी पाउन सक्दैनन् र विदेश पलायन हुन बाध्य हुन्छन् ।

वस्तुतः सूचना तथा सञ्चार प्रविधिको विकास जुन गतिमा हुँदै छ त्यसलाई व्यापक अभियानको रूपमा सञ्चालन गर्न नेपाल सरकार केही पछि परेको छ । त्यसैले यस क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने उपयुक्त देखिन्छ । तर यस क्षेत्रमा मात्र प्रचुर लगानी गरी स्वदेशमा ठूलो मात्रामा रोजगारी सिर्जना हुने कार्यलाई खास सहयोग हुने अवसर देखिँदैन ।

वर्तमान अवस्थामा नेपालमा भएको प्रत्यक्ष लगानीमा बैंकिङ क्षेत्र, होटल, रेष्टुराँ, स्वास्थ्य तालिम केन्द्र र सूचना तथा सञ्चार प्रविधि क्षेत्र हो । परन्तु यिनीहरूबाट अपेक्षित मात्रामा रोजगारी सिर्जना गर्न सकिएको छैन र यहाँको आर्थिक क्षेत्रमा पनि ठोस फाइदा हुन सकेको छैन । त्यसैले स्वदेशमा नै पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न सरकारले अधिकतम बेरोजगारहरूलाई रोजगारी प्रदान गर्नसक्ने खालका क्षेत्रहरूको पहिचान गरी यस्ता क्षेत्रहरूमा विशेष आकर्षणसहित लगानीआकर्षित गर्नुपर्ने अपरिहार्य आवश्यकता छ । यसबाट यहाँको आर्थिक विकासमा ठूलो योगदान पुग्नसक्ने आशा तथा विश्वास लिन सकिन्छ ।

नेपाल एक कृषिप्रधान देश भए पनि यहाँ प्रत्येक वर्ष अर्बाैँ रूपैयाँको खाद्यान्न आयात गरिन्छ । जबसम्म यहाँका युवाहरू कृषिमा संलग्न हुँदैनन्, तबसम्म आयात घट्ने सम्भावना देखिँदैन । यहाँका युवाहरूलाई कृषिमा आकृष्ट गर्न एकतर्फ कृषिको व्यवसायीकरण गर्न आवश्यक छ भने अर्काेतर्फ मल, जल, उन्नत बीजबिजन र आधुनिक खेती गर्ने तरिकालाई विशेष जोड दिन आवश्यक छ । यति मात्र होइन, कृषिमा आधारित उद्योगहरूको प्रवर्द्धन तथा संवर्द्धनमा ध्यान दिनुपर्छ । यसो गर्नसकेमा आयात घटी निर्यात बढ्नेछ । फलतः यहाँको आर्थिक विकास हुन्छ ।

आज नेपाल ऊर्जाको सफ्टले ग्रसित छ । यस्तो अवस्थामा जलविद्युत्, सौर्य, वायु र गोबरग्यासजस्ता ऊर्जाका स्रोतहरू अधिकतम मात्रामा प्रयोग गर्नसके ऊर्जाको सफ्ट मात्र न्यून नभई यहाँको आर्थिक विकासमा समेत ठूलो सघाउ पुग्नेछ । तर यसका लागि यहाँका युवाहरूलाई उपयुक्त प्राविधिक शिक्षा तथा विभिन्न किसिमका तालिम दिई सक्षम पार्न जरुरी छ ।

झण्डै कुल जनसंख्याको आधा भाग ओगटेका महिलाहरूको विकास नभएसम्म नेपालको आर्थिक विकासले गति लिन सक्दैन । अतः यहाँका महिलाहरूको सर्वतोमुखी विकासका लागि यहाँका युवाहरू विभिन्न क्रियाकलापहरूमा सक्रिय भई आफ्ना जोश र जाँगर देखाउन कटिबद्ध हुनुपरेको छ । कुनै पनि राष्ट्रको अर्थिक विकासका लागि युवाहरू प्रभावशाली हुन्छन् । त्यसैले युवाहरूको आकर्षणलाई सरकारी तथा निजी क्षेत्रले व्यवसायीकरण गर्नु आर्थिक लाभ हो ।

वस्तुतः युवा अवस्था खोज एवं प्रयोगको अवस्था हो । तर उपयुक्त ज्ञान, अनुभव र परिपक्वताको कमीको कारण यहाँका धेरैजसो युवाहरू आफूमा आइपर्ने जोखिमप्रति पनि सतर्क हुन सकेका छैनन् । त्यसैले सम्बन्धित अभिभावक, शिक्षक र जेष्ठ नागरिकहरूले उनीहरूलाई उचित निर्देशन दिएर समयमै उनीहरूको मानसिकता तथा मनोविज्ञानको क्षितिज फराकिलो बनाइदिन जरुरी छ ।

मानव जीवनको सबैभन्दा सिर्जनशील, ऊर्जाशील र गतिशील समय भनेको युवा अवस्था हो । वास्तवमा आजका युवा भोलिका कर्णधार हुन् । त्यसैले उनीहरूलाई उपयुक्त शिक्षा दिई सक्षम बनाउनु सरकारको दायित्व हो । यति मात्र होइन, शिक्षा र विकासको घनिष्ठ सम्बन्ध भएकोले युवाहरू शिक्षित भई देशका कुनाकाप्चामा गई शिक्षाको ज्योति फैलाउनुपरेको छ । उनीहरूले एकातिर अन्धविश्वास र सामाजिक विकृतिहरूको विरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपरेको छ भने अर्काेतिर श्रम तथा सीपका उत्कृष्ठ उदाहरण प्रस्तुत गरी आत्मनिर्भर हुनुपरेको छ ।

यो ध्रुवसत्य हो कि युवा हाँसे मानव समुदाय हाँस्छ र युवा बरालिए मानव समुदाय नै बरालिन्छ । यथार्थमा भन्ने हो भने देश विकास गर्न युवाहरूले व्यक्तिगत स्वार्थलाई त्यागी सबल तथा सक्रिय नेतृत्व प्रदान गर्न प्रतिबद्ध हुनुपर्छ । यस प्रतिबद्धतालाई व्यवहारमा उतार्न यहाँका युवा तथा युवतीहरूबीच समन्वयका आवश्यकता छ ।

विगतमा हाम्रा नेताहरूले यहाँका युवाहरूलाई उपयुक्त जिम्मेवारी दिन नसकी केबल आन्दोलन, बन्द–हडताल, गुण्डागर्दी र ध्वंसात्मक कार्यहरूमा संलग्न गराएर आफूले मात्र फाइदा लिए । परन्तु उनीहरूले युवाहरूको हितको लागि खास केही गरेनन् ।
वर्तमान समयमा यहाँ बेरोजगारीका समस्या दिन प्रतिदिन बढिरहेकाले कतिपय क्षमतावान् युवाहरू अष्ट्रेलिया, अमेरिका र युरोपका केही देशहरूमा रोजगारीको खोजीमा गएका छन् भने कतिपय कतार र दुबईमा अदक्ष कामदारहरूको रूपमा बाहिरिएका छन् । यहाँका युवाहरूको विदेशिने क्रम प्रतिदिन अन्दाजी १५ सय छ ।

यसरी प्रत्येक दिन यति ठूलो संख्यामा विदेशिने युवाहरूलाई आ–आफ्ना क्षमताअनुसारको रोजगारी दिन सकेको भए यहाँको सर्र्वाङ्गीण विकासमा केही योगदान पुग्न सक्थ्यो । परन्तु यस सम्बन्धमा कुनै पनि राजनीतिक दलका नेताहरूले खासै चासो देखाएनन् र आज यहाँका धेरैजसो युवाहरू उदासीन देखिन्छन् । हुन त विगतमा यहाँ युवा स्वरोजगार कार्यक्रम लागू नगरिएको होइन । परन्तु विभिन्न कमीकमजोरीका उक्त कार्यक्रम सफल हुन सकेन ।

आज नेपाली जनताको छ दशक अघिदेखिको चाहनाको रूपमा रहेको नयाँ संविधान जारी भएको छ । अब यहाँ दिगो पूर्वाधार विकास गरी आर्थिक विकास गर्न युवाहरूको अधिकतम सहभागिताको आवश्यकता छ ।

वस्तुतः यहाँका प्रत्येक दलका नेताहरू आर्थिक समृद्धिका कुरा गरेर थाकेका छैनन् । तर उनीहरूले न त कुनै ठोस कार्य गर्न सकेका छन् न त यहाँका युवाहरूको परिचालनका लागि खासै तदारुकता देखाएका छन् । वास्तवमा यहाँ पर्याप्त रोजगारीको अवसर नहुँदा यसको असर नजसंख्यामा परेको छ किनभने रोजगारीको लागि विदेशिनेहरूमा अन्दाजी ४४ दशमलव ८१ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका युवाहरू छन् ।

वर्तमान समयमा वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्या निकै बढेकोले यहाँको गाउँघरमा श्रमको निकै अभाव छ । फलतः यहाँको कृषि उत्पादनमा ह्रास आई अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ । त्यसैले यहाँका युवाहरूको लागि उपयुक्त सीपयुक्त तालिमहरू सञ्चालन गरी विभिन्न क्षेत्रमा रोजगारीको अवसरहरू सिर्जना गरी आफ्नै देशमा काम गर्न आकृष्ट गर्न नितान्त आवश्यक छ । यसो गर्न सकेमा भविष्यमा यहाँको आर्थिक विकासमा निकै टेवा पुग्नेछ ।

वर्तमान समयमा कायम रहेको बेरोजगार युवाशक्ति यस्तो ऊर्जावान् शक्ति हो जसले धरे हदसम्म क्रान्तिगत मनोभवनाको कारण राज्यसत्तामा असहज परिस्थित सिर्जना गर्नसक्ने क्षमता राख्दछ । उक्त शक्तिको दुरूपयोग भयो भने बाह्य वा आन्तरिक राजनीतिक दुरासययुक्त समूहबाट खतरा हुनसक्ने सम्भावना भएकोले समयमै सतर्क हुनुपर्छ । चेतनशील युवा समूहमा रहेको आत्मविश्वाससहितको ऊर्जा दुरूपयोग भएमा त्यसले हिंसात्मक रूप धारण गर्ने सम्भावना हुन्छ । त्यसैले विद्यमान् युवाशक्तिलाई सकारात्मक एवं रचनात्मक कार्यका लागि प्रोत्साहन गर्नुपर्छ ।

युवाशक्ति चेतनशील हुनुका साथै अन्य समुदायका लागि प्ररणको स्रोत पनि हो । यस्तो शक्तिले देशको शक्ति सन्तुलन गर्न एक महत्वपूर्ण भूमिका खेल्न सक्छ । उक्त शक्ति उत्पादनशीलसमेत हुँदा सहज नजरअन्दाज गर्न मिल्दैन । हाल राष्ट्रिय स्तरको नौलो द्वन्द्व न्यूनीकरणका लागि युवा वयवस्थापन कार्य निकै आवश्यक छ । यसलाई चुनौतीबीचको अवसर पनि भन्न सकिन्छ ।

वस्तुतः राजनीतिक वितृष्णाका कारण युवाहरूमा निम्तिने द्वन्द्वगत मनोभावना न्यूनीकरणका लागि देशभित्रै उत्पादनशील रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । यसका साथै केही हदसम्म वैदेशिक रोजगारीले पनि यस क्षेत्रमा रहेको नकारात्मक ऊर्जालाई न्यूनीकरण गर्न सहयोग गर्छ । त्यसैले चेतनशील युवावर्गलाई यथोचित व्यवस्थापन एवं उपयोग गर्दै यहाँको प्रशासनयन्त्रलगायतका सरकारी तथा राजनीतिको क्षेत्रमा सम्बद्ध समूहको पहुँच अभिवृद्धि गर्न सक्ने वातावरण निर्माण गर्नु समयको माग हो । यस्तो गर्नसकेमा यहाँको सामाजिक उत्तरदायित्वलगायत हरेक क्षेत्रमा चेतनशील युवा समूहको सकारात्मक सोचसहितको आर्थिक, सामाजिक र राजनीतिक अधिकार स्थापित हुनेछ ।

फलतः हाल यहाँ हरेक क्षेत्रमा कायम रहँदै आएको अवस्था प्रतिस्पर्धात्मक अवस्थाको अन्त्य भई नयाँ अवस्था सुरु हुनेछ । वास्तवमा उक्त कुराहरूलाई आधारबिन्दु बनाई राज्यसत्ता सञ्चालनलगायतका उत्तम प्रशासनिक निकाय निर्माण गर्ने कार्यमा सक्षम युवाहरूलई जिम्मेवारी हस्तान्तरण गर्ने हो भने नेपालीहरूले नयाँ अनुभव गर्नेछन् । त्यसैले यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान आकृष्ट हुनुपरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्