Techie IT
आईतबार, फागुन १६,२०७७

नेपाली कांग्रेस र गणेशमान सिंह


काठमाडौं ।
नेपालको इतिहासमा लौह पुरुष गणेशमान सिंहको योगदान महत्वपूर्ण रूपमा रहेको छ । उनकै नेतृत्वमा देशको मुहार फेरिएको कुरा इतिहासमा छर्लङ्गै छ । नेपाली कांग्रेसको नेतृत्व, सरकारभन्दा पनि सादा जीवन उच्च विचारलाई प्राथमिकता दिने व्यक्तित्वको रूपमा रहेका गणेशमानको त्याग र बलिदानको अहिलेका राजनीतिज्ञहरूले पाठ सिक्नुपर्ने देखिन्छ । देश गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि वर्तमान राजनीतिक अवस्था हेर्ने हो भने मुलुक अस्थिरतातर्फ धकेलिने हो कि भन्ने चौतर्फी शंका, उपशंकाहरू उब्जिरहेका छन् । नेपाली कांग्रेसले बोकेको गन्तव्यभन्दा पनि पदलोलुपताका कारण कहिल्यै उँभो लाग्न सकेन् । नेपाली कांग्रेस आफैँले आफ्नो खुट्टामा बन्चरो प्रहार नगरेको भए अहिले मुलुकले ठूलै काँचुली फेरिसकेको हुन्थ्यो ।

आफ्नै सरकारविरुद्ध अविश्वास, सनककै भरमा संसद् विघटनलगायत पार्टीमा च्याउसरि उम्रिएका गुट, उपगुटका कारण नेपाली कांग्रेस कहिल्यै अगाडि बढ्न सकेको देखिँदैन । चुनावताका एक भएजसो गर्छन् तैपनि आफ्नै नेता, उम्मेदवारहरूमाथि बागी उठ्छन् । निर्वाचनमा हराउने कुचेष्टा गर्नु, पार्टी निर्देशनविपरीत कार्य गर्नु पार्टी र राष्ट्रको लागि नै अभिषाप हो । तैपनि आम नागरिकले विस्वास गरेको पार्टी नेपाली कांग्रेसमा बेला–बेलामा लाग्ने ग्रहण, बेमेल, आपसी टकराव, द्वन्द्व, घमण्ड, परिवारवादका कारण नेपाली कांग्रेस उँभो लाग्न नसकेको पक्कै हो ।

केन्द्रदेखि गाउँ इकाइसम्मै गुट, उपगुटका कारण विकास संगठन विस्तार, जिल्ला अधिवेशनलगायत नेपाली कांग्रेसले तोकेको महाधिवेशन समेत समय सार्दै–सार्दै बल्लतल्ल गर्ने त परम्परा नै रहिसकेको देखिन्छ । तैपनि संस्थापन पक्ष र इतरकाहरू भने एकले अर्कालाई नेपाली कांग्रेसको आउँदो महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने अडान तथा गुटबन्दीका कारण महाधिवेशन पर धकेल्ने प्रपञ्चहरू भएको भनी आरोप लगाउने गर्दछन् ।

नेपाली कांग्रेसले आफूले टेकेको धरातल हेर्नु आवश्यक देखिन्छ । आम नेता, कार्यकर्ताहरूको भावना मात्रै होइन समग्रमा देशमा भएका आम नेपाली नागरिकहरूको समस्याहरू समाधान गर्ने आँट गर्नुपर्दछ । अनि मात्रै सच्चा राजनीति गरेको ठहर्छ । बाह्र महिनामा एघार महिना गुठ, उपगुट र खुट्टा तान्ने अनि बाह्रौँ महिना जाग्ने कुम्भकर्ण प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । महाधिवेशनको बेला नेतृत्वमा पुग्न तँछाडमछाड गर्नेले नेतृत्वमा पुगेपछि आफूले गरेको बाचालाई बिर्सनु, पार्टी र कार्यकर्तालाई काखा र पाखाको प्रवृत्ति हट्न सकेको देखिँदैन ।

यतिखेर नेपाली कांग्रेसको काँधमा गहिरो जिम्मेवारी आइपरेको छ । दुई तिहाइ बहुमत रहेको नेकपा सरकार आफ्नै सरकार ढाल्ने प्रवृत्तिका विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन गरेसँगै नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ ।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भई बहस समेत सकिसकेको छ । नेपाली कांग्रेसले प्रधानमन्त्रीको असंवैधानिक कदम निरंकुश भएको जनाउँदै सडक आन्दोलन सुरु गरेता पनि सर्वोच्चको फैसलापछि मात्रै के गर्ने भन्नेबारे सोच्ने जनाउनुले कतै नेपाली कांग्रेस नेकपातिर ढल्केको त होइन ? प्रदेश सरकार, राजदूतलगायतका महत्वपूर्ण पदहरूमा नियुक्ति लिनकै लागि नेपाली कांग्रेस मौन भएको त होइन ? कांग्रेसमा यो समयमा एकमत भई आन्दोलनको ज्वारभाटा विसर्जन गर्नुपर्नेमा एकथरीले निर्वाचनमा जाने, अर्को थरीले आन्दोलन गर्ने धारणा सार्वजनिक हुँदा नेपाली कांग्रेसप्रति आम नेता कार्यकर्ताहरूले कसरी मूल्यांकन गर्ने ?

पार्टीको नीति र सिद्धान्तअनुरूप चल्न नसकेको आरोप खेपिरहेका शेरबहादुर देउवा यतिखेर मौन देखिनु, निर्वाचनमा जानु उपयुक्त भन्ने धारणा व्यक्त गर्नुले नेपाली कांग्रेसले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई कतै साथ दिएको त होइन भन्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ । संसद् भएको बेला मात्र होइन अहिले प्रदेशसभामा समेत नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका समेत राम्ररी निर्वाह गर्न सकिरहेको देखिँदैन् ।

के नेपाली कांग्रेसले असंवैधानिक कदमको विरुद्ध कदम उठाउन नचाहेकै हो त ? के नेपाली कांग्रेस सरकार वा प्रधानमन्त्री पदको लागि अग्रसर रहेको हो ? के नेपाली कांग्रेस सधैँ गुटबन्दीमा लागिरहने पार्टी हो ? यसको उत्तर नेतृत्वले दिनुपर्ने आवश्यक रहेको देखिन्छ । अर्कातर्फ मुलुक कोरोना भाइरसले गर्दा थला परिसकेको परिप्रेक्ष्यमा सरकारलाई खबरदारी गर्न समेत नसक्नु प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले किन सकिरहेको छैन ? आफ्नै पार्टीभित्रको झगडालाई साम्य पार्न किन सक्दैन ? युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न किन चाँहदैन नेपाली कांग्रेस ?

वीर गणेशमा सिंहको नेतृत्वमा बसेको बैठक विसं २०४६ चैत्र २६ गतेको दिनलाई अर्थपूर्ण र महत्वका साथ ऐतिहासिकरूपमा लिने गरिएको छ । नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय प्रजातन्त्र स्थापना भएको दिनको सम्झना र ऐतिहासिक जनआन्दोलन २ को सुत्रपात भएको शुभ दिनको रूपमा चैत्र २६ गतेलाई लिइने गरिन्छ । आम नागरिकहरूले स्वतन्त्रता प्राप्त गरेको र निरंकुश पञ्चायती व्यवस्था अन्त्य भएको दिनलाई वर्षेनी जनआन्दोलन दिवसको रूपमा मनाइँदै आइरहेको छ । विक्रम संवत २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर कोइरालालाई अपधस्त गरी पञ्चायती व्यवस्थाको सुरुवात गरेका थिए ।

नेपालमा १०४ वर्ष राणा शासन अन्त्य गरी स्थापना भएको प्रजातन्त्रलाई समेत राजा महेन्द्रले अन्त्य गर्दै निरंकुश पञ्चायती व्यवस्था ल्याएका थिए । तर त्यो व्यवस्था पनि नेपालमा धेरै वर्षसम्म टिक्न सकेन र विसं २०४६ चैतपछि समाप्त नै भयो । त्यस्तैगरी विसं २०४५ सालमा सन् १९५० को व्यापार तथा पारवहन सन्धि नवीकरण नभएको विषयमा नेपालको दुईवटा बाहेक अन्यत्रका सबै नाका बन्द गरिदिएका कारण मुलुकमा खाद्यान्न, पेट्रोलियम पदार्थको अभाव भयो । नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले सो विषयकोे खुलेरै विरोध गरे । नेपाली कांग्रेसले २०४६ माघ ५, ६ र ७ गते काठमाडौँको क्षेत्रपाटीमा गणेशमान सिंहको घरमा नेपाली कांग्रेसको सम्मेलनमार्फत जनआन्दोलनको घोषणा ग-यो ।

विसं २०४६ फागुन ७ गते प्रारम्भ भएको ऐतिहासिक जनआन्दोलनको नेतृत्वको जिम्मा सर्वोच्च कमान्डरको रूपमा गणेशमान सिंहलाई दिइएको थियो भने नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको समेत साथ थियो । नेपाली कांग्रेसले भारतका पूर्व प्रधानमन्त्री चन्द्रसेखरको उपस्थितिमा नेपाली कांगे्रसको अधिवेशन गणेशमान सिंहकै घरमा सम्पन्न ग¥यो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतको तर्फबाट नैतिक समर्थन प्राप्त भयो । विस्तारै आन्दोलनले विकराल रूप लिँदै गयो । आन्दोलनकै क्रममा गणेशमान सिंहलाई घरमै नजरबन्द गरियो भने वाममोर्चाका नेताहरूलाई समेत धरपकडको कार्य सरकारले ग-यो ।

विसं २०४६ फागुन ७ गतेदेखि शान्तिपूर्ण जनआन्दोलनको सुरु गरियो र काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा संयुक्त वाममोर्चा र नेपाली कांग्रेसले संयुक्तरूपमा पञ्चायती व्यवस्थाको विरोध गर्दै आन्दोलनको सुरुवात गरेको थियो । आन्दोलनले विस्तारै विस्तारै देशैभर सफलता प्राप्त गर्दै गएका कारण तत्कालीन सरकारले नेपाली कांगे्रस र वाममोर्चाका नेता कार्यकर्ताहरूमाथि धरपकड, दमन गर्न थाल्यो र कर्फ्युको समेत घोषणा गरियो तर जनताहरू सरकारको धरपकड, कफर््युको कुनै मतलब नराखी स्वस्फूर्तरूपमा सडकमा ओर्लिएका थिए ।

विसं २०४६ चैत्र २४ गते मरिचमान सिंहको मन्त्रिमण्डल विघटन गरी लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए तर पनि जनतामा कुनै उत्साह देखिएन, आन्दोलनले झन्झन् उग्ररूप लिँदै गयो र अन्त्यमा राजाको पछिल्लो कदमले पनि काम नगरेपछि चैत्र २६ गते राति राजा वीरेन्द्र वीरविक्रम शाहले संविधानबाट निर्दलीय शब्द हटाएर जनतालाई शान्त रहन आग्रहसहित सार्वजनिक सञ्चार माध्यमबाट सम्बोधन गरे र भोलिपल्ट आन्दोलनकारीका तर्फबाट चार जना प्रतिनिधिलाई भेटेर संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्था र मौलिक हकअधिकारको प्रत्याभूतिमा सहमति जनाउँदै आन्दोलन स्थगित गरियो ।

जनआन्दोलनले सफलता पाएको दिन देशैभरि विजयोत्सव निकालियो र एकआपसमा खुशीयाली साटासाट गरियो । जनआन्दोलनको सफलतापछि अन्तरिम सरकारको प्रधानमन्त्री पदमा गणेशमान सिंहलाई प्रस्ताव गरिए पनि उनले त्यो पद लिन मानेनन् । चैत्र २७ गते टुँडीखेलमा भएको विशाल आमसभामा नेपाली कांग्रेसका गणेशमान सिंह, वाममोर्चाका मनमोहन अधिकारीलगायतका नेताहरूले ऐतिहासिक सम्बोधन गरेका थिए । सोही समारोहमा गणेशमान सिंहलाई फादर अफ डेमोक्रेसीको रूपमा सम्मान गरिएको थियो । विसं २०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्था अन्त्यका लागि नेपाली कांग्रेस र वाममोर्चाको अतुलनीय भूमिका निर्वाह गरेको कुरा इतिहासमा साक्षी रहेको छ ।

जनआन्दोलनकै प्रतिफलस्वरूप हामी स्वतन्त्र देश नेपालको सार्वभौम नागरिक हुन पाएका छौँ । ‘खोलो त¥यो लौरो बिस्र्याे’ भन्ने उखानझैँ हामीले हाम्रा गहनाहरूलाई भुल्नु मुर्खतासिवाय अरु केही हुन सक्दैन । वृद्धभत्ता वितरणको सुरुवात गरेर मेरो जीवन राष्ट्रलाई भन्ने मनमोहन अधिकारी र १२ बुँदे सहमतिसहित तत्कालीन माओवादीलाई शान्ति सम्झौतामा हस्ताक्षर गर्न सफल गिरिजाप्रसाद कोइरालालाई हामीले कदापि बिर्सन सक्दैनौँ ।

राष्ट्रकै गहनाका रूपमा रहेका युग परिवर्तनकारी नेताहरू सबैको हामीले समयमै सम्मान गर्न जानेनौँ भने इतिहासले हामीलाई श्राप नदेला भन्न सकिँदैन । राजनीतिक दलहरूको कार्यालयहरू र उनीहरूले गर्ने विभिन्न सभा, सम्मेलन र कार्यक्रममा माल्यार्पणमा मात्रै ती नेताहरूलाई कैद गरेर राख्नु उहाँहरूप्रतिको अपमान नै हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरूबाट जनआन्दोलनका सर्वोच्च कमान्डर, लौह पुरुष, वरिष्ठ प्रजातन्त्रवादी नेता गणेशमान सिंहलाई नेपाल तथा विश्वमै मानव अधिकार र शान्ति स्थापनाका निम्ति महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गरेबापत अमेरिकाबाट पिसरन पुरस्कार, मानव अधिकार पुरस्कार १९९३ र उथान्त शान्ति पुरस्कारबाट समेत सम्मानित गरिएको थियो । विसं १९७२ मा काठमाडौँमा जन्मेका वरिष्ठ राजनीतिज्ञ, जनआन्दोलन २०४६ का कमान्डर गणेशमान सिंह प्रजापरिषद्को सदस्य भई राणा शासन अन्त्य गर्नका लागि महत्वपूर्ण भूमिका थिए । उनले जेलनेल समेत भोगेका थिए ।

विसं २००३ सालमा स्थापना भएको नेपाली कांग्रेसका होनाहार नेता प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि लडाइँ लडेका सिंहको नेतृत्वमा भएको जनआन्दोलन विसं २०४६ ले सफलता प्राप्त गरेपश्चात् नेपाली कांग्रेसलाई शिखरको चुचुरोमा पु-याउन सफल भए पनि आफ्नै पार्टीप्रति असन्तुष्टि जनाउँदै संसारबाट सदाका लागि विसं २०५४ असोज २ गते बिदा भएका थिए ।

सन् १९९७ सालदेखि अनवरतरूपमा राजनीतिमा सक्रियरूपमा लागेका नेता सिंहको कडा स्वभाव र जुझारु व्यक्तित्वका कारण नेवार भए पनि दृढ, कठोर र भनेको कुरा पु-याएरै छाड्ने भएकै कारण उनलाई सर्वमान्य नेताको रूपमा २०४६ सालमा मोर्चाको जिम्मेवारी दिइएको थियो । देश अहिले गणतन्त्रमा प्रवेश गरिसकेको छ । देशकै लागि जीवन बिताउने नेताहरूलाई हामीले सधैँ सम्झनुपर्दछ । जनआन्दोलन दिवसका कमान्डर गणेशमान सिंहलगायतका नेताहरूलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय गराउँदै भाबी पुस्तासम्म जीवन्त राख्नु हामी सबैको साझा कर्तव्य पनि हो ।

चाहे जुनसुकै राजनीतिक दलका नेता किन नहुन् राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको लागि लड्नुहुने वीर सिपाहीलाई हामी सबैले सम्मान गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता हो । विद्यमान अवस्थामा युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवश्यकता राजनीतिक दलहरूले बुझुनुपर्छ । राजनीतिक दलहरू आफैं रोगी बन्ने परम्परा र तेरो र मेरो भन्ने भावना हटाउन सक्नुपर्छ । राजनीतिक दलहरू विशेषतः नेपाली कांग्रेस र नेकपाले युवा पुस्तालाई आगामी महाधिवेशनमा अवसर र नेतृत्व सुम्पन सक्नुपर्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्