Techie IT
१० कात्तिक २०७८, बुधबार

तुहिँदै गएको जनसपना र युद्धका घाउहरू


काठमाडौं ।
त्यो दिन फागु पुर्ने थियो । माओवादीले उनीहरूको सैनिक संगठमा भर्ती गराउन मलार्ई लिन आउने भनेर मेरो बुबालार्ई खबर पठाका रहेछन् । यो कुरा बाबुलाई मन परेको थिएन । त्यही दिनदेखि बाबुको मुखमा उज्यालो थिएन । घरमा पढेलेखेको र अलिक व्यवहार धान्ने छोरी मै थिएँ । दाइ र दिदी सोझा थिए । मलार्ई माओवादीले लैजान्छ कि भन्ने धेरै चिन्ता थियो बुबालार्ई । त्यसैले उनी मलार्ई लुकाएर राख्न चाहन्थे ।

एक दिन बाबुले मलार्ई ठूली फुपूको घरमा लिएर जानूभो । म त्यहीँ बस्न थालेँ । म २१ वर्षकी लक्का जवान खाइलाग्दी थिएँ । पढाइ आफ्नै गतिमा अगाडि बढाइरहेकी थिएँ । उद्देश्य पनि ठूलो राखेकी थिएँ । धेरै केटा माग्न आए पनि बिहे गर्ने इच्छा थिएन किनभने मसँग आफ्नै लक्ष्य थियो । आमाबाबुको काखबाट बिछोडिएर टाढा बस्नुपर्दा खै कस्तो–कस्तो लागिरहेको थियो । तैपनि फुपू मलार्ई धेरै माया गर्नुहुन्थ्यो ।

ठूलीफुपूको नन्दका छोरा त्यो घरमा आउनेजाने गर्दारेछन् । त्यो कुरोमा खासै मैले ध्यान नपुराएकी रेहेछु । हाम्रो हल्का मात्रै चिनजान भएको थियो । एकदिन फुपूले उहाँको अगाडि मेरो परिचय गराउनुभयो । त्यसपछि त्यो घरमा उहाँको आवतजावत बढी नै हुनथाल्यो । म हुर्केकी चेली मेरो सुरक्षाको लागि बुबाले फुपूकोमा ल्याएर राख्नुभएको भन्ने कुरा सायद उहाँले पनि महसुस गर्नुभो । म यता आएको केही दिनमै उहाँले फुपूसँग कुरा गरिसक्नुभएको रहेछ कि उनी मलार्ई मन पराउँछन् भनेर । कुरैकुरामा फुपूले भन्नुभो एकदिन ।

हामी मगरमा फुपूचेला मामाचेलाबीच बिहेवारी पनि चल्ने कारणले नि होला फुपूले मलार्ई उनीसँग बिहे गराउन खोजेको जस्तो पनि लागेको थियो । उनी अर्थात् श्याम थापा घरमा आएपछि फुपूले हामीलार्ई गफ गरून् कुराहरू एकआपसमा बाँडून् भनेर हो कि एकान्त बनाइदिनुहुन्थ्यो । हामीबीच राम्रै चिनजान भइसकेको थियो । उनी सहजरूपमा घरमा आउजाउ गर्ने मसँग बोलचाल र मलार्ई जिस्क्याउने समेत भैसकेका थिए ।

फागुपुर्नेमा मलार्ई अबिर हाल्न भनेर उनी घरमा आए । त्यो दिन फुपू पनि बाहिर जानुभएको थियोे । घरमा मलार्ई साथी एउटी सानी ६ वर्षकी छिमेकी दिदीकी छोरी थिइन् । साइनोमा ती नानी र हामी कुनै आफन्त थिएनौँ । श्याम हातभरि अबिर लिएर आए । अलिकति मलार्ई दिए । हामीले रमाइलो गरेर एकछिन फागु खेल्यौं । आज रमाइलो गर्नी दिन त हो नि भनेर सगुन पनि साथै ल्याएका रहेछन् । मैले पनि उनको लहैलहैमा अलिकति पिएँ । उनले त पहिल्यै मज्जाले पिएर आएका रहेछन् ।

मैले अलिकति पिएपछि त उनलार्ई साथ दिएजस्तो भो । उनले फेरि पिए । मैले पनि पिएँ । कस्तो माद लागेजस्तो भो । रमाइलो लाग्यो । घरमा त्यो सानी नानी मात्रै ऊ पनि आफ्नै पाराले रमाइलो गर्न थाली । पिएपछि जे पनि गर्न र भन्न छुट दिएको छ हाम्रो समाजले । उनी मलार्ई आईलभयू भन्न थाले । मैलेचाहिँ खासै केही प्रतिक्रिया जनाउन सकिनँ । चुपचापले बसेँ । तर ओठमा खै किन हो अलिकति हाँसो र मादचैँ थियो । उनले मलार्ई अँगालो हाले । यो एक्कासी आएको कसिलो पुरुष अँगालोको मैले प्रतिवाद गर्न सकिनँ । जीवनको यो वयमा आएको पुरुष छुवाइलार्ई खोइ किन पो हो प्रतिवाद गर्न मानेन शरीरले । आज फागु पनि हो र त्यसमाथि हामी दुवैले पिएका पनि थियौँ । अँगालो हाल्दा समेत केही भनिनँ । फेरि अलिकति सगुन पिउने भन्नुभो । फेरि हामीले सँगै पियौँ । हातभरि रातो अबिर थियो उनको र मेरो खाली सिउँदोमा पूरै भर्दिनुभो । मैले तिमीलाई सिन्दुर हालेँ नि आज भनेर हाँस्नु भो । नभन्दै भित्तामा झुन्डिएको ऐनामा आफ्नो मुहार हेरेको सिउँदो त पुरै रातो पो छ ।

आफैँलाई असहज लाग्यो । उनी मलार्ई अब जिस्काउन थाले । बाहिर कसैले देख्ला भनेर हामी कोठामै गयौं । रमाइलो पनि लागिरहेछ र एक्लो छु । पुरुषसँग डर पनि लागिरहेछ । उनले जोडले अँगालोमा बेरे । जताततै माया गर्न थाले । पुरुष स्पर्शको अगाडि म द्रवित भएँ । एक त सगुनको रमरमले मात्तिएकी थिएँ त्यहाँमाथि पुरुष अँगालो । मैले प्रतिवाद त गरे तर बाहिर मात्रै गरे । भित्री अवचेतन मनले चैँ त्यो पुरुष मायालार्ई माया गरे । ढोकामा चुकुल समेत हाल्न भ्याएनछौँ । के–के भयो होस नै भएन । एक्कासी नानी कोठामा छिरेपछि श्याम हत्तपत्त बेडबाट उठे । त्यसपछि मलार्ई बेस्सरी खिन्नता भो । आफैँलाई धिक्कारे । त्यो नानी हामीलार्ई देखेर चिच्याइन । म रोएछु । नानी पनि रोइन् । उनी आफ्नो पौरख र पुरुष अहम् ममा पोखेर खुसी हुँदै निस्किए । एकैछिनको त्यो बेहोसी प्रमाद दुःखमा परिणत भएको प्रतीत भयो ।

अनुहारभरि फागुको रंग पोतिएर बेरंगी भएजस्तो लाग्यो । जीवनको पहिलो शारीरिक अनुभव र रमाइलोले ममा दुःख छोडेर गएजस्तो भो । ती सानी अबोध बालिकाले मलार्ई सर्वांग देखिन् । मैले किन छोप्न सकिनछु आफ्नो अहम अस्मितालार्ई । म त स्त्री पो थिएँ । कठै मलार्ई त्यो पुरुषसँग ओछ्यानमा नांगो देख्दा के सोचिन् होला ती नानीले । यो कुराले मुटु पोल्न थाल्यो । केहीबेर सिथिल भएँ । सारा शरीर नै चिस्सियो ।

अघिको तातो त हिउँमा परिणत भएजस्तो लाग्यो । आँखाबाट अनायास छल्केर बगेको तातो आँसु क्षणभरमै तप्किएर जाँदा गालाको भीर नपुग्दै हिउँजस्तो लाग्यो । ६ वर्षकी नानीको अगाडि म पतित भैसकेकी थिएँ । मेरो त्यो रौद्र रूप देख्दा ऊ बेस्सरी चिच्याउनु स्वाभाविक नै थियो । के मजा यही हो ? के वैँशको उभार यति मात्रै हो त ? यौवनका मानिसहरूले के यसकै लागि मात्रै मरिहत्ते गरेका हुन् ? कन्चटबाट गोली निस्केजस्तै त्यो प्रमोदिताबाट होसमा आएपछि प्रश्नका सुइराहरू उठ्न थाले । आवेग आहाल सारा पोखेर श्याम निस्किए । म थामिएर चुपचापले बस्नुपर्ने नियतिमा फसेँ ।

तपाईंलार्ई के भएको दिदी ?
म बिरामी भएको उमा ।
ज्वरो आएर नांगो हुनुभाको हो ?
हो ज्वरो आएर ! कामज्वरो । तर फुपूलाई केही नभन ल ?
हस् केही भन्दिनँ
तिम्लाई म कहाँ–कहाँ घुमाउन लान्छु अनि चकलेट ख्वाउँछु नि ।
हस् म भन्दिनँ दिदी ।

फुपू आउनुभो । मेरो अनुहार अघि उनले छोडेर गएको भन्दा फरक पाउनुभो । मुहारभरि श्यामले भरेर गएको वासना तृप्तीको डाम आलै थियो । फुपूको अगाडि बेस्सरी रोएर भनेँ फुपू म बलात्कृत भएँ । फुपू झस्याँस्स हुनुभो । फुपूको नजिक जान पनि डर लाग्यो अघि पिएको सगुनको गन्ध फुपूले थाहा पाउँछिन कि भनेर । फागु पुर्नेको दिन । म पूरै सिन्दुर अबिरले छोपिएकी छु । मुखबाट सगुनको गन्ध मैले फेरेको साससँगै परपर पुगिरहेको छ ।

तिम्रो मुखबाट रक्सीको गन्ध पो आइराको छ त !
हो म सबै कुरा भन्छु नि फुपू ।
को आको थ्यो ?
श्याम दाइ आउनुभएको थ्यो ।
पुरै रक्सी रक्सी गनाउँछ त जिउभरि पनि होइन के गरेको तैँले ?
श्याम दाइले जबर्जस्ती गर्नुभो
त्यो मुर्दार मै नभएको बेलामा आउनुपर्ने ? पख मैले जानेछु ।
फुपू तात्तिएर श्यामको घरमा जानुभो । दुई घन्टापछि फुपू आउँदा म नुहाइधुवाइ सकेर अँगेनामा खाना पकाउँदै थिएँ । मलार्ई सम्झाउन थाल्नुभो ।
‘ल भो अब चुप लाग । बैरी हँसाउने काम भएछ आज । उसले माफी माग्यो । तसँग बिहे गर्छ रे वैशाखमा । म दाइसँग सल्लाह गरुँला । उनीहरू पनि आखिर हाम्रा आफन्तै हुन् क्यारे ।

दुवै फुपूभदैले खाना खायौँ । दुवै फुपूभदै त्यही खाटमा सुत्यौँ, जुन खाटमा दिउँसो मात्रै मैले आफ्नो सर्वोच्च नारी अहमता श्यामलाई सुम्पिदिएकी थिएँ । अब बिहे नै गर्छ भने ठीक छ नि त । मैले चित्त बुझाएँ । तर रातभर निन्द्रा परेन । ऊप्रति माया लागेजस्तो पनि लाग्छ । फेरि घृणा उठेजस्तो पनि लाग्छ । यसलाई बलात्कार पनि कसरी भनूँ ? सबैथोक सहमतिमै त भएको छ । सगुन सहमतिमा पिइयो । अबिर सहमतिमा खेलियो । एकले अर्कोलार्ई सहमतिमै जिस्क्याइयो । एकले अर्कालाई सहमतिमै छोइयो । एकले अर्काको आँखामा सहमतिमै हेरियो । स्वासको सुगन्ध एकले अर्कोको सहमतिमै र स्वेच्छाले स्वीकार गरियो । यसो हो सबै कुरा सहमतिमा । त्यो पनि त आखिर सहमतिमै त भएको थियो । निरन्तर सोचिरहेँ । छर्लंग भो । निन्द्रा परेन । बिचारहरूले भत्काइरह्यो मन । मनसँगै भत्किरहेँ म ।

अलिकति रमाइलो अलिकति नरमाइलो अलिकति अबोधिता अलिकति खिन्नताले बित्न थाले दिनहरू । घर जान मन लाग्यो ।
बुबालाई असाध्य भेट्न् मन लागेको थियो । आमाको अचम्मै नियास्रो लाग्यो । आफैँलाई नियन्त्रण गर्न नसकेकोमा भयंकर खेद र ग्लानी महसुस हुन थाल्यो । एउटी चोखी नबिटोलिएकी कुमारी छोरी छोडेर जानुभएको बुबाले तर मलार्ई आज समयले बिटुल्याइदिएको छ । आफ्नै मुहारबाट आफैँलाई कतै लुकाऊँजस्तो लाग्छ तर नसकिँदोरहेछ ।

पिर छोपिन्नरैछ आँखाबाट । वर्तमान किन यतिविघ्न धमिलिँदै छ बुझ्न सकिरहेकी थिइनँ । यो धुमिल प्रतितीले छातीको भित्तोलाई कोपरिरह्यो । मान्छेले आफूलाई मान्छेबाट लुकाउन त सक्ला तर आफूबाट आफैँलाई लुकाउनुचैँ नसकिँदोरहेछ । धिक्कारेँ आफैँलाई र आफ्नो बैंशलाई । अब कुन मुख लिएर घरमा जानू ? माओवादीबाट सुरक्षित हुन भनेर फुपूको घरमा लुक्न आएकी थिएँ म । आखिर सुरक्षा अरुले दिएर दिने चिज होइनरहेछ । सबैभन्दा बलियो र हातहतियारले सुसज्जित भएर बसेको अप्रिय शत्रु त आफ्नै अनियन्त्रित इन्द्रीय, मन र यौवनको आवेग पो रहेछ ।

श्याम सधैँझैँ आउन छोड्यो । त्यो दिनदेखि करिब १५ दिन उसले मुखै देखाएन । उसलार्ई पनि मलार्ई जस्तै कतै हिनताबोध भएर पो हो कि । खोइ किन हो त्यो दिनदेखि अलिकति माया लागेर आइरहेको थियो मलार्ई । सायद रगत मिसिएर पो हो कि । फुपू एक दिन उसैकोमा जानुभएछ । मैले आशा गरेभन्दा केही फरक पाएँ श्यामलाई । आफूबाट आफैँ उक्लिएको महसुस हुनथाल्यो केही दिन । सोच्ने गर्थेँ यो लाचारिताको यो शून्यताको यो नमीठो प्रतितीको यो उजाड उराठताको कतै न कतै अन्त्य त होला नि एकदिन । यहाँ बसूँ झन् शून्यता लाग्न थाल्यो । फुपू आफ्नै पाराले व्यस्त छिन् ।

कहिलेकाहीँ श्याम आउँथ्यो ऊ पनि आउन छोड्यो । म बिरानो बनेँ । यता आएपछि एउटा अर्को नमीठो कथा लेखियो जिन्दगीको पानामा । एउटा दुःखद कथा । बरु माओवादी सेनामै भर्ती भएकी भए पनि एउटा बेग्लै सामाजिक इज्जत त हुन्थ्यो होला । म लुटिएको कथा अझ बुबाले थाहा पाउनुभो भने उहाँको मनमा कति दुःख थपिएला ?

फुपू एकदिन घर जानुभएछ । यता फागुपुर्नेमा घटेको सबै इतिवृतान्त बुबालार्ई सुनाउनुभएछ । बुबाले गहभरि आँसु झार्नुभयो रे । श्यामसँग नै बिहेको चाँजोपाँजो मिलाउनु भन्नुभएछ फुपूलार्ई । महिनावारी रोकियो । ममा झन् अर्को पीडा थपियो । फुपूलाई सुनाइन् । उनले थाहा पाइनँ भने झन् नराम्रो हुन्छ र हल्ला हुन्छ भन्ने सोचेँ । मलार्ई डर लाग्यो । केही सोच्नै सकिनँ । श्यामले मलार्ई बिहे गर्ला कि नगर्ला त्यो पनि कुनै टुंगो थिएन । बिहे गरे त इज्जत रहला नत्र भोलि के हुने होला सोच्नै सकिरहेको छैन । समाजको रीतिलार्ई नै म कसरी च्यालेन्ज दिन सक्थेँ र ? राति रुँदारुँदा बिहान आँखा सुन्निएका हुन्थे । फुपूले बेस्सरी गाली गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो भो चिन्ता नगर तेरो सबै जिम्मा म लिन्छु । धेरै दुखी थिएँ । घरबाट पनि कोही मान्छे भेट्न् समेत आएनन् । अत्यास लाग्न थाल्यो ।

एकदिन फुपू बिहानै निस्किनुभो । म बिरामीजस्तै भैसकेकी थिएँ । पर सर्नुपर्ने सरिनँ । शंका लाग्न थाल्यो । हप्ता–हप्ता नाघ्यो । नसरेको केही दिनदेखि आत्महत्या गर्छु भन्ने सोच पालिरहेकी थिए मनमा । एकान्तको पर्खाइमा थिएँ । कुनै दिन फुपू नहोलान् घरमा अनि त्यसै दिन कि त झुण्डिएर मर्छु वा विष खाएर मर्छु । पुर्नेकै दिनदेखि आफैँलाई घृणा गर्न थालेकी थिएँ मैले जब त्यो अबोध नानीको आँखाबाट म बेस्सरी गिरेकी थिएँ । त्यो दिनदेखि ती नानी पनि यो घरमा आइनन् । श्याम पनि आएन । म मात्रै भए एक्लो यो घरमा ।

दिदी नभएको बेलामा नाम्लोको बरियो पिँढीमा थियो । झुन्डिने ठाँउ पनि ठीक्क पारिसकेकी थिएँ । बरियोको गाँठो निकै कस्सिएको थियो । हातै दुख्यो । प्रयत्न गर्दै थिएँ । म त झुन्डिएर मरिहाल्छु । सजिलोसँग नमरुँला । घाँटीमा पासोले सास थुन्ला । केहीबेर दुःख होला । तर म दुई जिउकी नै भैसकेकी भए मभित्रको यो हुनेवाला निर्दोष बच्चालार्ई झन् गाह्रो पो होला कि ? एकाएक खै के भएको हो ममा मातृत्वबोध भयो । मनमा चिसो पस्यो । वरिपरि सारा जगत लडखडाएजस्तो लाग्यो । यो रगतको डल्लोको दोष नै के थियो र बरा ! धेरै दोष त मेरो थियोे नि ।

मैले र श्यामले गरेको शारीरिक रमाइलोको परिणति यो अबोध शिशुले किन भोगोस् ? यसले दुनियाँ देखोस् । यसले जगत भोगोस् । यो अन्याय हो एउटा श्वासप्रति । म आमा भइसकेँ । पेटबाट भ्रुण बाहिर निस्किसकेपछि मात्रै एउटी स्त्री आमा हुने होइन नि । एक सकल आमा त रज र विर्यको सकल मिलनपछि भइसक्छे । बनिसक्छे । म उसको आमा बनिसकेकी छु । मेरो कोख यति उर्वरता ओकलिरहेछ कि जसका कारण मैले मृत्युलार्ई नै जित्नु थियोे र जितेँ आज । भो म मर्न चाहन्नँ । हजारौँ दाग लागोस् मेरो चरित्रमा । केही फरक पर्दैन । म आमा हुँ । चरित्र त मनुष्यको कोरा सोचाइ मात्रै त हो । यथार्थ त म आमा हुँ । विषालु बिच्छीको तीव्र डंकबाट पनि म भाग्न हुन्न किनभने अब म फगत उक्ली छैन । म एकबाट दुई भैसकेकी छु ।

म भागेँ भने म मरेपछि मेरो बाबुआमाको इज्जतमा पनि त दाग लाग्छ नि । कि फलानाकी छोरी श्याम थापाको अवैध पेट बोकेर आत्महत्या गरी भन्लान् । मेरो र श्यामको त्यो अवैधानिक क्रियाकलापको पापमा यो बालकलार्ई म किन जिउँदै होमूँ हँ ? डोरीको गाँठो त फुकाल्नु नसक्ने म जावोले आत्महत्याको यत्रो निर्णय कसरी गर्न सक्छु ?

दिउँसोको १२ बजिसकेको थियो, हातमा लिएको बरियो भैँसीको गोठतिर फाल्दिएँ । डोरी फालेसँगै फुपू र बा घरमा आइपुग्नु भो । म बा देखेर बेस्सरी रोएँ । मेरा गहका आँसु देखेर बाका आँखाबाट आँसु अनायास चुहियो । बा देखेपछि बेस्सरी रोएँ । कयौँ दिनदेखि आँखाको पोखरीमा जमेको आँसु फालेँ निर्धक्कले । हिक्क हिक्क आयो । खोइ के पो हो छातिमा गाँठो परेजस्तो भो । आँसु सुके परेली ।

बा र फुपू गफ गर्न थाले । म परैबाट उहाँहरूलाई निर्निमेष निहारिरहेछु । मलार्ई फुपूले त्यतै बा भएतिर बोलाउनुभो । गएँ । बासँगै बसेँ । फेरि रोएँ । थामिएन आँसु । पुछिदिएँ बाले । म सानी छँदा कुनै गल्ती गर्दा बाले जसरी बचाउनुहुन्थ्यो । आज पनि त्यसै गर्नुभो । हिजो सानी छँदा गरेको भुरे गल्ती । तर आज यो घनघोर भुल । बा राम्रोसँग बोल्नै सक्नुभएको थिएन । के हिजो सानी छँदा माफ दिएजस्तै आज पनि मैले बाको मनबाट माफी पाउँछु होला त ? (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्