Techie IT
१० कात्तिक २०७८, बुधबार

नेपालमा जनगणनाको सुरुवात र थर लेख्ने प्रचलन


काठमाडौं ।
समयक्रमसँगै विश्वका मानिसहरूमा आएको चेनताले गर्दा म को हुँ ? अथवा हामी को हौँ ? भनी आफूले आफैँलाई खोज्ने, चिन्ने र स्वपहिचान गर्ने क्रम तीव्र गति र व्यापकरूपमा चलिरहेको देखिन्छ । खासगरी सन् १९८०/८१ देखि युरोपबाट जातीय स्वपहिचानको राजनीति सुरु भएको मानिन्छ । यसरी जातजाति, भाषी, समुदाय, वर्ग आदि चिनिने मुख्य आधार भनेको सम्बन्धित देशको सरकारले हरेक १०/१० वर्षमा गर्ने जनगणना नै हो भने, विभिन्न देशले आफ्नो देशको जातजाति, भाषी, समुदाय, लिंग, वर्ग आदिको उत्थानका लागि छुट्टै विकासे ऐन बनाएर विकास समिति, प्रतिष्ठान, आयोग, प्राधिकरण आदि पनि गठन गरेको हुन्छ ।

यसै सन्दर्भमा भन्नुपर्दा केही समयअघि सार्वजनिक अनलाइन न्युज पोर्टलमा एक साचार आएको थियो । सो समाचारअनुसार आगामी १२औँ राष्ट्रिय जनगणना (विसं–२०७८) मा खस जातिले जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्टो÷मस्ट’ लेखाउने भन्ने उल्लेख छ । जुन धेरै राम्रो हो । किनभने, यसले ढिलै भए पनि ‘खस’ जातिमा आएको जातीय स्वपहिचानका लागि आएको उत्कट चाहना र चेतना हो भन्न सकिन्छ भने, जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्टो’ लेखाउने उनीहरूको कदम वा भनौँ निर्णयलाई अत्यन्तै समय सान्दिर्भिक सही कदम अर्थात् ‘सुल्टो बाटो’ हिँडेको मान्न सकिन्छ । तर, जनगणनाकै कुरो गर्दा हाम्रा ‘राई’ जाति भन्ने र भनिने समूहका कामरेडहरू भने खस समुदायभन्दा ठीक उल्टो बाटो हिँड्ने प्रयास गरी रहेका छन् ।

यस्तो काममा लाग्दा उनीहरूलाई अलिकति पनि लाजसरम लागिरहेको छैन, ग्लानी भइरहेको छैन । अझ त्यसमाथि हाम्रा ‘राई’ समूहका विद्वान भनिने र नामको अगाडि डाक्टर, प्राध्यापक, प्राज्ञ, भाषाविज्ञ, मुन्धुमविद/मुन्दुमविद (हामी कुलुङहरू रीदूम भन्छौँ) भन्ने र भनिनेहरू नै नाकको डाँडीमा चेस्मा/चस्मा झुन्डयाउँदै कथित् ‘राई’ जातिबारे ‘अन्टसन्ट’ भाषण दिने, प्रवचन दिने, अन्तर्वार्ता दिने, कथित रार्ई जातिबारे सम्झाउने, बुझाउने भइटोपल्दै छन्, लेखहरू लेख्ने गर्दै छन् । यसै क्रममा एक जना रार्ईले त नयाँ ‘राई’ भाषा नै बनाउनुपर्ने/बनाउने भनी लेख लेखेका छन् ।

हुन त, ‘राई’ कामरेडहरूलाई नेपालको भौगोलिक एकीकरणपछि शासकहरूले सिंंगो किरात भूमिलाई फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाएको थाहा नहोला त ? यी रार्ईवादी कामरेडहरूले आलु वा गोबरको विषयमा डाक्टर गरेर आफ्नो नामको अगाडि डाक्टर लेखेका त पक्कै पनि होइन होला ?

त्यस्तै प्राध्यापक, प्राज्ञ, भाषाविज्ञ, मुन्धुमविद आदिको फुर्को झुन्ड्याएका र नाकको डाँडीमा चेस्मा/चस्मा झुन्डयाउँदै भाषण दिने, प्रवचन दिने, लेख लेख्ने, अन्तर्वार्ता दिने विद्वान भनिने रार्ईहरूले पनि किरातका खम्बुका सन्तानहरूलाई दिइएको पद वा पगरी हो, ‘राई’ । सो ‘राई’ पदलाई नै जाति मान्नुपर्ने भनी डंका पिट्दै हिँडिरहेका छन्, आफ्नो बुताले भ्याएसम्म प्रचारप्रसार गरीरहेका छन् । जबकि इतिहास हेर्दा नेपालको भौगोलिक एकीकरणअघिसम्म किरातीहरू एकै रहेका थिए । नेपालको भौगोलिक एकीकरणपछि वल्लो किरातका सुनुवारलाई ‘मुखिया’, माझ किरातका कुलुङ, बान्तावालगायत खम्बुका सन्तानलाई ‘राई’, पल्लो किरात (अरुण पूर्व) का याक्खालाई ‘देवान’ अनि लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी/पगरी दिइयो ।

स्मरणीय के छ भने, हाल आएर सुनुवारहरूले आफ्ना पितापुर्खाले पाएको ‘मुखिया’ पदलाई जाति लेख्न/मान्न छाडेका छन् । त्यस्तै याक्खा समुदायले पनि आफ्ना पितापुर्खाले पाएको ‘देवान’ पदलाई जाति लेख्न/मान्न छाडेका छन् । अनि लिम्बु र लाप्चाले पनि आफ्ना पितापुर्खाले पाएको ‘सुब्बा’ पदलाई जाति लेख्न/मान्न छाडेका छन् । तर, खम्बुका सन्तानहरूले भने अझै पनि ‘राई’ पदलाई जाति लेख्नु/मान्नुपर्ने बाध्यता वा जबरजस्ती गर्ने, किन नि ? बुझी नसक्नु छ । जे भए पनि नेपालमा जनगणनाको इतिहास हेर्दा सर्वप्रथम विसं १९६८ मा पहिलो पटक आधिकारिकरूपमा राष्ट्रिय जनगणना भएको थियो ।

त्यो बेलाको श्री ३ महाराज अर्थात् चन्द्र शमशेर राणा सरकारले तत्कालीन नेपालको जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, क्षेत्र वर्ग आदिको सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक, चेतना विकास आदिको अवस्था कस्तो छ ? त्यो हेरेर उनीहरूका लागि विकास बजेट छुट्याउने र नीति निर्माण गर्ने ढंगले भन्दा पनि आफ्नो ढुकुटीमा कसरी र कति धनसम्पत्ति जम्मा गर्न सकिन्छ ? भन्ने हिसाबले र तत्कालीन भोटसँग युद्ध गर्नुपरेमा कति जवान ठिटोहरूलाई सिपाहीमा भर्ती गर्न सकिन्छ ? भनेर मात्रै जनगणना गरेको जस्तो देखिन्छ ।

यसरी हेर्दा केन्द्रीय तथ्यांक विभागले विसं २०६८ मा गरेको ११औँ राष्ट्रिय जनगणनाअनुसार नेपालमा एक सय २५ जातजाति र एक सय २३ भाषाभाषी रहेका छन् । यसरी हेर्दा सो जनगणनामा आएको विविध जातजाति, भाषाभाषी, धार्मिक सम्प्रदाय आदि भनेको बुझ्नेहरूका लागि वास्तवमै विविधा भएको ‘साझा फूलबारी’ हो । भलै राज्यले अहिलेसम्म पनि त्यहीअनुसार व्यावहारिक ढंगले नीति निर्माण नगर्नु, उनीहरूका लागि बजेट नछुट्याउनु वा छुट्याएको बजेट पनि पहुँच नभएकाहरूले नपाउनु अनेक दुःखका कथाहरू छन् ।

जे होस्, विसं २०६८ को ११औँ राष्ट्रिय जनगणनामा उल्लेख भएका एक सय २५ जातजाति र एक सय २३ भाषाभाषीमध्ये एक हो ‘कुलुङ’ तर, नेपाल सरकारको मातहतमा रहेको र विकासे ऐनअन्तर्गत गठित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा भने सरकारले कुलुङ जातिलाई छुट्टै जातिका रूपमा सूचीकृत गरेको छैन । फलतः अझै पनि कुलुङहरूले म कुलुङ भनेर परिचय दिँदा ए कुलुङ भनेको त ‘राई’ होइन र ? भनी जवाफ दिनेहरू धेरैै भेटिन्छन् ।

हामीले पनि ‘कुलुङ नभएर राई भए त कुलुङको सट्टा राई नै भनी हाल्थ्यौँ नि’ भनी जवाफ दिने गरेका छौँ । यस्तो भ्रम पर्नेहरूमा अरु त अरु नै भइगए, भाषाविद्, समाजशास्त्री, मानवशास्त्री, संस्कृतिविद, मुन्धुमविद् मानव अधिकारवादी, आदिवासी जनजातिमूलका नेता हौँ भन्नेहरू नै धेरै छन् । खासमा ‘कुलुङ’ भनेको नेपालका अन्य जात वा जाति जस्तै एक स्वतन्त्र जातीय अस्तित्व भएको जाति हो । किनभने, कुलुङभित्र नै विभिन्न थर/उपथरहरू रहेको छ ।

जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोंग्रो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्होलगायत तीन सय ८० वटाभन्दा बढी थर/उपथरहरू छन् । त्यसैले त कुलुङ–कुलुङबीचमै विवाहवारी चल्ने गर्छ । फेरि हामी कुलुङहरू रगतको नाता नबार्ने, दूधको नाता मात्रै बार्ने जाति पनि होइनौँ ।

यहाँ जनगणनाको सन्दर्भमा लेख्नै पर्दा विसं १९७६ को इस्तिहारमा पुग्नुपर्ने हुन्छ । जुन इस्तिहारमा गणकले जात जाति छुटाउन गाह्रो भयो भने तालुकदारका चित्तले जुन लेख्ने ठहर हुन्छ सो लेखे हुन्छ, मानिस गन्तीमा फरक परेमा बात लाग्छ भनिएको छ । त्यस्तै त्यो बेला जारी गरेको सो इस्तिहार (हालको राजपत्रजस्तै होला)मा गणक वा सुपरभाइजरलाई ‘ब्राम्हणजातको कुनै पनि थरअनुरूपको जनसंख्या नछुटाई ल्याउने आदेश/उर्दी’ जारी गरिएको थियो । (सन्दर्भ स्रोतः ‘जनजाति’ वर्ष १, अंक १–२ मा प्रकाशित बालकृष्ण माबुहाङको लेख ।) तर, हामी ‘राई’ भन्नेहरू भने अहिलेसम्म पनि नेपालको भौगोलिक एकीकरणपछि सिंगो किरात भूमिलाई फुटाएर माझ किरातका खम्बुका सन्तानहरूलाई दिइएको ‘राई’ पदलाई नै जात वा जाति लेख्नुपर्ने/मान्नुपर्ने बाध्यतात्मक स्थितिमा छौँ ! भर्खर (विसं २०६८ देखि) कुलुङलगायत १२ वटा किरातीहरूले आफ्नो असली जात लेख्ने क्रम सुरु भएको छ । तर, त्यसमा पनि रार्ई यायोक्खा नामक एनजीआले भाँजो हाल्ने गरेको सबैमा विधितै छ ।

अब कहिले बाहुन क्षेत्रीहरूले जस्तो आफ्नो थर पोखरेल, घिमिरे, थापा, बस्नेत, कार्की आदि लेखेजस्तो कुलङलगायत किरातीहरूले आफ्नो थर अर्थात् थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोर्ङो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्हो आदि लेख्ने ? (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्