Techie IT
बुधबार, कात्तिक ५,२०७७

कम्युनिस्टहरूमा व्यावहारिक परिवर्तन कहिले देख्न पाइएला ?


‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा बोकेको कम्युनिस्ट सरकार अहिले पार्टीभित्रको सत्ता संघर्षको उत्कर्षमा छ । कम्युनिस्ट पार्टीमा अन्तरविरोध हुनु, स्वस्थ छलफल हुनु, दुई लाइन संघर्ष हुनुलाई स्वाभाविक मानिन्छ । हिजो अन्तरविरोध हुँदा पार्टीको आफ्नो कमिटीमा मात्र हुन्थ्यो भने अहिले सडकसम्म पुग्नु ज्यादै लज्जाको विषय हो ।

कम्युनिस्ट पार्टी जहिल्यै पनि नीति, सिद्धान्त र विधानमा चल्लुपर्ने हो । पार्टीमा समस्या आए कस्तो विधि प्रक्रियाबाट त्यसलाई हल गर्ने हो त्यहाँ उल्लेख गरिएको हुन्छ । तर यहाँ सबै नेतालाई थाहा हुँदाहुँदै पनि एकले अर्कोलाई कसरी कमजोर बनाउन सकिन्छ, कसरी छिर्के हान्न सकिन्छ र सत्ता प्राप्त गर्न सकिन्छ त्यो मात्र देखिएको छ । पार्टीमा विचार समूह हुनु स्वाभाविक मान्न सकिन्छ । तर नेकपाभित्र गुटहरूको समूह छ । गुटका नाइकेहरूका पछि अन्य नेताहरू आफ्नो स्वार्थ राखेर कुदिराखेका छन् ।

सत्ताको पल्ला कता भारी हुन्छ गुटहरू पनि फेरवदल हुनेगरेको छ । नेकपमा दुई अध्यक्षबीचको जुगाको लडाइले गर्दा स्थायी समितिको बैठक दुई महिनादेखि प्रभावित भइरहेको छ । दुई अध्यक्षबीचको छलफलबाट निष्कर्ष निकाल्न भनी केयौं पटक कोठे बैठकहरू भए, अझै पनि जारी छ । तैपनि अहिलेसम्म कुनै निकासको सम्भावना देखिएको छैन । कम्युनिस्ट पार्टीमा नीतिप्रधान मानिन्छ । नीतिकै आधारमा पार्टी अघि बढ्छ तर अहिले नेताप्रधान भएको छ ।

हिजो संविधान निर्माणको क्रममा पनि राजनीतिक दलहरू विभिन्न विषयका लागि छलफलमा जुट्थे । धेरै जसो छलफल एजेन्डामा प्रवेशै नगरी अर्को दिनको छफलको मिति तोकैर छुटिन्थे । अर्को दिन पनि सोही प्रक्रिया दोहोरिन्थ्यो । यस्तै सिलसिला चल्दाचल्दै संविधान नबनी समय गुज्रियो । यही पक्रिया यतिबेला नेकपा स्थायी कमिटीमा पुनरावृत्ति भएको छ फरक प्रसङ्गसहित । सम्भवत सरकारको पाँचवर्षे कार्यकालको बाँकी आधा समय त्यसरी नै नबित्ला भन्न सकिन्न ।

कम्युनिस्ट पार्टीका दुई अध्यक्षले यति ठूलो पार्टीलाई कब्जा गरेर बसिरहँदा पनि अन्य नेता रमित बन्नुले नेतृत्वका लागि अन्य व्यक्ति छैनन् भन्ने प्रश्न उब्जिएको छ ।कम्युनिस्ट पार्टीलाई संसारभरि गरिखाने वर्गको पार्टीको रूपमा चिनिन्छ । कम्युनिस्ट सिद्धान्त भनेको कम्युनिस्ट क्रान्तिकारी र परिवर्तनकारी शक्ति हुन् भन्ने आम बुझाइ छ ।

त्यति मात्र होइन कम्युनिस्टहरू सामाजिक, सांस्कृतिक कुरीति आफू पनि गर्दैनन् र गर्नेको विरुद्ध पनि लड्छन् भन्ने बुझाइ छ । जनताको अधिकारको पक्षमा जस्तोसुकै क्षति व्यहोरेर पनि संघर्ष गर्छन्, व्यक्तिगत फाइदा नहेरेर सामूहिक जीवनपद्धतिमा विश्वासमा गर्छन्, हरेक क्षेत्रबाट पछिपरेका र पारिएका व्यक्ति तथा समुदायलाई मूलधारमा ल्याइन्छन् र त्यसको परिवर्तन आफैँबाट सुरु, गर्छन् भन्ने अटल विश्वास थियो तर त्यो विश्वासमा अहिले कुठराघात भएको छ । हरेक कम्युनिस्ट पार्टी सुरुमा क्रान्तिकारी हुन्छन् जब पार्टीले राम्रो आकार ग्रहण गर्छ वा सत्तामा पुग्छ त्यसले वर्गाधार बिर्सिन्छन् । हालको सत्तारुढ नेकपाको स्थिति ठ्याक्कै यस्तै छ ।

‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ भनेझैं सिंहदरबारमा विराजमान प्रधानमन्त्री केपी शर्मा ओलीको रामको जन्मभूमि अध्यादेशबारे अभिव्यक्ति बेमौसमको बाजा भएको छ । प्रधानमन्त्रीले एउटा जयन्तीको अवसरमा पारेर दिइएको अभिव्यक्तिले उनको आफ्नो राजनीतिक जीवनलाई नै तरङ्गीत एवं धराप बनाएको छ ।

केही समय पहिले मदनस्मृति जयन्तीमा पनि आफ्नो सहकर्मी नेता तथा भारतलाई जोड्दै आफ्नो सरकार संकटमा परेको अभिव्यक्ति दिएका थिए भने अहिले भानु जयन्तीको अवसरमा ओलीले राम र अयोध्याबारे अप्रमाणित कुरा बोलिदिए । भारतको अयोध्याबारे अस्तित्वमाथि प्रश्न उठाइदिए । अयोध्या नेपालको वीरगञ्जको ठोरीमै पर्छ भन्ने अभिव्यक्ति दिए । जुन अभिव्यक्तिले नेपाल र भारतको सांस्कृतकि, धार्मिक सम्बन्धको पुरानो मान्यतालाई नै विवादित बनाइदिएको छ ।

‘कामकुरो एकातिर कुम्लो बोकी ठीमीतिर’ भनेझैँ मुलुकले थुप्रै विपत्तिको संकट सामना गरिरहेको बेला पर्साको ‘अयोध्यापुर’मा पुरातात्विक तथ्य पत्ता लगाउन आदेश दिएका छन् । आदेश पालकहरू अब अयोध्यापुरी नै सक्कली ‘अयोध्या’ बनाउन कम्मर कसेर लागेका छन् । अब त्यहाँ अध्ययन र पुरातात्विक खोज सुरु गर्ने पुरातत्व विभागको तयारी छ । अब सरकार भोक र रोगले सताइरहेका नेपालीको गाँस काटेर केही रकम त्यता छुट्ट्याउनुपर्ने भएको छ । प्रधानमन्त्री ओलीले भगवान राम भारतीय नभएको र असली अयोध्या विरगञ्जदेखि पश्चिमको गाउँ ठोरीमा पर्ने दाबी गरेका छन् ।

अयोध्या नेपालमै पर्छ भनेर प्रधानमन्त्रीले दाबी गरेपछि आगामी दिनको लागि पनि टिकट सुरक्षित गर्न त्यस क्षेत्रका गाउँपालिका अध्यक्ष समेत भगवान रामको जन्म यहीँ भएको भन्ने तर्क गर्छन् । भोलिका दिनमा प्रधानमन्त्रीका भक्तहरू ‘रामको जन्म नेपाल’ भन्दै सडक तताउन बेरलाउँदैनन् ।

भारतसँग सम्बन्ध सुधार्नेभन्दा विगार्ने तर्फ प्रमको ध्यान गएको देखिन्छ । प्रधानमन्त्री अहिले राष्ट्रवादको नशामा लठ्ठ परेका छन् । उनको राष्ट्रवादको नशा कहिले र कसरी अन्त्य हुने यसै भन्न नसकिने अवस्था छ । भोलि कृष्ण जन्माष्टमीको अवसर पारेर प्रधानमन्त्रीले भगवान कृष्ण पनि नेपालमै जन्मेका हुन् भन्न बेर छैन ।

केपी शर्मा ओली शक्तिशाली कम्युनिस्ट पार्टीका अध्यक्ष हुन् । त्यति मात्र होइन उनी यो देशको कार्यकारिणी सर्वोच्च पदका प्रधानमन्त्री पनि हुन् । किन उनको बोली पटक पटक विवादमा पर्छ ? के उनको बोलीलाई पार्टीको सिद्धान्त, नीति र पद्धतिले लगाम लगाउन सकिँदैन ? के देशको कूटनीतिक मर्यादाको पालना प्रधानमन्त्रीले पालना गर्नु पर्दैन ? किन नेकपाका धरै नेता तथा कार्यकर्ता उनको सम्पूर्ण बोलीलाई हो मा हो गरी भक्तिभाव देखाइरहेका छन् ? के प्रधानमन्त्रीले बोल्दैन इतिहास पल्टिन्छ ? के अहिलेको समय राम र सिता कसका हुन् भनेर खोजी गर्ने समय हो कि गुमेको जमीन फिर्ता गर्ने कूटनीतिक पहल गर्नुपर्ने हो छिमेकीसँग ? यी सबै प्रश्नमा नेकपाका नेताहरू कार्यकर्ताहरू र आम सर्वसाधारणले समेत घोत्लिनुपर्ने आवश्यकता छ ।

प्रधानमन्त्री ओली कम्युनिस्ट नेता हुन् । कम्युनिस्टहरूले जहिल्यै पनि अन्तर्राष्ट्रियवादी र द्वन्द्वात्मक भौतीकवादी दर्शनमा आधारित सिद्धान्त लिएको हुन्छ । तर उनले पटक पटक नेपालीको मन जित्न राष्ट्रवादको कार्ड अगाडि सारी रहेको छन् । त्यो कार्ड पनि अब मक्काउन थालेपछि नेपालीहरूको धार्मिक मनोविज्ञानमा खेल्ने यो उनको नयाँ कार्ड हो । तर यो कार्डलाई २१औं शताब्दीका नेपालीहरूले सजिलै पचाउने देखिएन । अब प्रधानमन्त्रीका देखाउने कार्डहरू सकिए होलान् भन्ने लाग्छ यो पङ्क्तिकारलाई ।

हाम्रा शासकहरू कम्युनिस्ट पृष्ठभूमिबाट आएका हुन । माक्सवाद, लेनिनवाद र माओवाद यिनीहरूको पथ प्रदर्शक सिद्धान्त हो । यीनीहरूले अवलम्बन गरेको बाटो जनवाद, समाजवाद हुँदै साम्यवाद पुग्ने हो । कम्युनिस्ट जहिल्यै पनि अन्तर्राष्ट्रियवादी हुन्छन् । कम्युनिस्टहरूको अन्तिम उद्देश्य वर्गविहीन र राज्यविहीन समाजको स्थापना गर्नु हो । तर यिनीहरू अन्तर्राष्ट्रियवादी होइनन् । यीनीहरूको अन्तर्राष्ट्रियवादको नारा खोक्रो भएको छ ।

कम्युनिस्टहरू राष्ट्रवादी होइनन देशभक्ति भावना भएको हुनुपर्छ । तर यीनीहरू नक्कली राष्ट्रवादको खोल ओढी जनतालाई भोकै सडकमा सुताई आफू महलको चुचुरोमा थुप्रै सुरक्षाकर्मीलाई पहरा दिनलगाई सुत्ने वेलामा केही नशालु पदार्थको प्याक लगाई निदाउने गरेका छन् । आफ्ना कार्यकर्तालाई मीठा–मीठा ललीपप देखाई सडक तताउने सामाजिक सञ्जालमा छुद्र राष्ट्रवादको कुरा चर्काउने गर्छन् । न यो प्रजातान्त्रिक राष्ट्रवाद हो न मार्क्सवादी राष्ट्रवाद हो । मार्क्सवादी राष्ट्रवादमा उत्पादनका साधनहरूमा श्रमिकहरूको प्रभुत्व कायम रहन्छ । प्रत्येक राष्ट्रिय जातिको विकासका लागि पूर्ण अवसर प्रदान गर्छ । यो साम्राज्यवादको विरोध हो । यसले अन्तर्राष्ट्रिय क्रान्तिलाई समर्थन गर्छ ।

अन्त्यमा प्रधानमन्त्री ओली कहिले अध्यादेश र कहिले अयोध्या देखाएर पार्टी भित्रको दन्किरहेको आगोलाई निस्तेज पार्न भरमग्दुर प्रयास गरिरहेका छन् । कम्युनिस्ट पार्टीमा समस्या आएमा सिद्धान्त नीति र पद्धतिले त्यसलाई हल गर्नुपर्नेमा आज सडकमा युवाहरूलाई उरालिरहेका छन् ।

हाम्रा प्रधानमन्त्री गएको जीवन र बगेको पानी फर्केर आउँदैन भनेझैं गरी कुनै पनि हालतमा सत्ता छोड्ने तयारीमा छैनन् । सत्ता छाड्ने अवस्थामा आइपरेमा पार्टी फुटाएर भए पनि प्रतिपक्षी दलसँग सहकार्य गरी प्रधानमन्त्री पद कुनै पनि हालतमा नछोड्ने क्रुर योजनामा छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्