Techie IT
सोमबार, असोज १२,२०७७

ओझेलमा परेका आदिवासी जनजाति


विश्वनाथ खरेल
केही दिनअघि नेपालले पनि कोरोनाको कहरको समयमा भए पनि हल्काफुल्कारूपमा भए पनि विश्व आदिवासी जनजाति दिवस मनायो । यसरी विश्वमा २३ डिसेम्बर १९९४ को संयुक्त राष्ट्र संघको साधारणसभाले ९ अगस्तलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि सारेको थियो । संयुक्त राष्ट्र संघले यसअघि नै सन् १९९४ देखि २००४ सम्म आदिवासी दशक समेत कर्म र मर्यादाका लागि दशक भन्ने नाराका साथ आह्वान गरेको थियो ।

संयुक्त राष्ट्र संघको भनाइअनुसार विश्वका ९० मुलुकहरूमा आदिवासीहरू बसोबास गर्दै आएको अनुमान गरेको छ । अतः संसारमा झण्डै अठ अर्ब जनसंख्यामध्ये तीन करोड ७० लाख आदिवासीको जनसंख्या रहेको अनुमान छ । यो भनेको विश्वको कुल जनसंख्याको ५ प्रतिशत रहेका आदिवासीहरूको संख्या हो । यो विश्वको कुल गरिब जनसंख्याको १५ प्रतिशत भाग ओगटेका छन् । यी ५ प्रतिशत आदिवासीहरूले नै विश्वभरि अस्तित्वमा रहेका झण्डै सात हजार विभिन्न भाषामध्ये ९० प्रतिशतभन्दा बढी भाषाहरू बोल्ने गरेका छन् । पृथ्वीको ध्रुवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरूको पहिचान र उपस्थिति घट्दो क्रममा छ किनकि पछि बसोबास गरेर आएका आप्रवासी समुदायहरू पेसा, पहिचान, बसाइ र अन्य तवरले हावी हुँदै आएका छन् ।

यसरी १३ वर्षअघि १० सेप्टेम्बर २००७ मा आदिवासीहरूको अधिकार, मर्यादा र आत्मसम्मानको रक्षार्थ संयुक्त राष्ट्र संघको घोषणा र त्यसको उपलब्धिहरूका वरिपरि नारा कथिएको छ । यसरी यी समुदायहरूलाई आदि भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोबास गरिरहेका र त्यस भूमिको माटोलाई खनीखोस्री गरेर आफ्नोे पुस्ता धानिरहेका कलाकौशल र हस्तकलालगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनेर भनिन्छ ।

यसरी मानव सभ्यताको विकाससँगै अनि क्रमिक बसाइसराइको क्रम सुरु भएपछि क्रमशः आप्रवासीहरूको घनत्व बढ्न गई उनीहरूको पहिचान, अस्तित्व, फरक गुण अनि रीतिहरूमा कमी आउन थालेको छ । संयुक्त राष्ट्र संघको आदिवासी समुदायको अधिकारसम्बन्धी घोषणपत्रको आर्टिकल १४ मा आदिवासी समुदायले आफ्नोे संस्कृति, भाषा, रीतिरिवाज र चलनअनुरूप सुहाउँदो शैक्षिक प्रणाली र संस्थाहरू स्थापना र नियन्त्रण गर्न पाउने अधिकार दिएको छ ।

विभिन्न अध्यनहरूले स्पष्टसँग आदिवासी र गैरआदिवासी समुदायबीच शैक्षिक अवसर, विकास अनि समष्टिगतरूपमा मानव अधिकारका सुविधाहरूमा भएको ठूलो असमानता देखाउँछ, आफ्नोे पहिचान र थलोका लागि पुस्तौँदेखि एकैठाउँमा खनिखोस्री, प्रकृतिसँग पौँठेजोरी खेल्दै आएका आदिवासी समुदाय विश्वको लागि सम्पत्ति हो र उनीहरूको पहिचानलाई कायम राख्दै विकासको मूलधारमा ल्याउनु विश्व समुदायको प्रमुख चुनौती भएको छ ।

हाम्रो देशको आदिवासी जनताजतिको बारेमा कुरा गर्ने हो भने लेप्चा नेपाल र भारतमा बसोबास गर्ने एउटा आदिवासी जनजाति पनि हो । यसैगरी हेर्ने हो भने नेवारी समुदायमा काठमाडौं उपत्यकाको साझा संस्कृति पनि हो । यहाँ बसोबास गर्ने नेवाःभित्र धेरै मूल जातिहरू अर्थात् आदिवासीहरू छन् । जसमा आदिवासी, राउटे, नेवार, किराँत, मल्ल, कन्याकुब्ज, बंगाली, राजस्थानी, आसामी, तिब्बती, मैथिली, आदि जनजातिहरू रहेको पौराणीक इतिहासहरूमा पनि उल्लेख भएको पाइन्छ ।

त्यसैगरी मगर जाति मुख्यतया नेपालको मध्यपहाडी भेगमा बसोबास गर्ने भोट बर्मेली मूलको भूमिपुत्र प्रकृति पुजक जाति पनि हो । यिनीहरू खासगरी नेपालको मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित रुकुम, प्युठान, रोल्पा, पाल्पा, नवलपरासीको उत्तरी क्षेत्रहरू, स्याङ्जा, तनहुँमा आदिमकालदेखि बस्दै आएका छन् ।

मगर जातिको मुख्य थरहरू थापा, राना, आले, पुन, रोका, घर्ती, बुढा भए पनि एक हजार पाँच सयभन्दा धेरै उपथरहरू मगर जातिमा पाइन्छ । खस र मगर समुदायमा पहिले पहिले बिहेवारिको चलन थियो । पछि खसहरू बाहुनसँग सम्पर्क बढ्दै गयो र मगरहरू गुरुङहरूसँग सम्पर्क बढ्दै गयो र अलग–अलग जातिको रूपमा चिनियो यद्यपि देशको सबैजसो भागमा खसहरूसँग मगर जातिको उपस्थिति रहेको पाइन्छ ।

मुलुकको जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र आदिवासी जनजातिहरूको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो । नेपालको एकीकरणमा मगरहरूको धेरै ठूलो हात छ । सहयोगी मिलनसार साहसी मगरहरूसम्बन्धी राज्य रजौटाको कालदेखि प्रचलित ‘दुःख परे मगर गाउँतिर पस्नु’ भन्ने उखान आजसम्म पनि जीवन्त रहेको पाइन्छ ।

बहुजाति बहुधर्म र बहुसंस्कृति भएको हाम्रो देश नेपालमा पनि विभिन्न प्रकारका आदिवासी समुदायहरू छन् र तीव्ररूपमा उनीहरूले आफ्नोे पहिचान, रीति अनि मौलिकता भुल्दै गएको, नयाँ पुस्ताले पुराना कुराहरूलाई निरन्तरता दिन नसकेको र आफ्नोे मौलिक थर समेत परिवर्तन गरेर पहिचान हराउँदै गएको पाइन्छ ।

प्रत्येक वर्ष यो दिवस मनाउने क्रममा यो वर्ष छब्बीसौं विश्व आदिवासी दिवस, नेपालमा पनि भव्यताका साथ मनाइने प्रचलन विगत वर्षहरूमा भएको थियो । यो आदिवासी जनजाति दिवस देशभित्र र बाहिर पनि विभिन्न कार्यक्रममा साथ मनाउन सुरु गरिएको थियो । तर, यस वर्ष भने विश्व महामारी कोरोनाको कहरले गर्दा सीमितरूपमा भए पनि नेपाल आदिवासी जनजाति महासंघले २६औं विश्व आदिवासी दिवस घर–घरमा बसेर पनि विविध कार्यक्रम गरी मनाउने तयारी गरेको बुझिन्छ ।

संयुक्त राष्ट्र संघद्वारा ठीक २६ वर्षअघि घोषणा गरिएको विश्व आदिवासी दिवसलाई यो वर्ष २६औं संस्करणका रूपमा मनाउन थालिएको हो । नेपालको आदिवासी जनजाति आन्दोलनको प्रमुख मुद्दा भनेको पहिचान, सामूहिक अधिकारसहितको स्वायत्त शासन र जातीय जनसंख्याका आधारमा राज्यका हरेक अंगमा समानुपातिक प्रतिनिधित्व रहेको सम्बन्धित क्षेत्रले जानकारी दिएका थिए ।

विसं २०४७ मा स्थापना भएको नेपालको आदिवासी जनजाति आन्दोलनको नेतृत्वदायी संगठन महासंघले आदिवासी जनजातिका सवालमा आवाज उठाउँदै आइरहेको छ । महासंघले विकासका नाममा गरिने विभिन्न आयोजना तथा परियोजनाले आदिवासीको मानवअधिकारको हनन हुनुका साथै परम्परागत थाकथलो तथा भूमि अतिक्रमण भएको भन्दै विरोध जनाएको छ ।

हाम्रो देशमा हरेक राजनीतिक, आर्थिक परिवर्तन, देशको विकास र समृद्धिका लागि आदिवासीले रगत र पसिना बगाइरहनुका साथै उल्लेखनीय त्याग र योगदान गरेका थिए । यसरी आएका आदिवासी जनजातिका सवालमा संविधान संशोधन गरेर आदिवासी जनजातिलगायत असन्तुष्ट सामाजिक समूहको मुद्दालाई सम्बोधन गर्न सरकारसँग माग पनि गरेका थिए ।

समग्रमा भन्नुपर्दा संसारभरि नै छरिएर रहेका आदिवासीहरूको अधिकारका लागि संयुक्त राष्ट्र संघको घोषणाले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । यसर्थ विश्वका विभिन्न देशहरूमा रहेका आदिवासीहरूको आ–आफ्नो किसिमको भेषभुषा, रहनसहन, चलनलल्ती आदि रहेको पाइन्छ । उनीहरूको आ–आफ्नै थाक थलोमा बस्न रुचाउँछन् । परापूर्वकालदेखि अर्थात पृथ्वीको सृष्टिको क्रमपछि विभिन्न भू–भागमा बसोबास गर्दै आएका थिए ।

मूलतः आदिवासी समूदायका लागि सहज, सरल र विकसित समाज हामी सबैको दायित्व हो, चाहे हामी गैरआदिवासी हौँ या आदिवासी समुदाय हौँ, आउँदो पुस्तालाई समाजको यथार्थ चित्र र विकासको उद्गम बिन्दुको प्रतिबिम्ब देखाउन जरुरी छ । अतः आदिवासी समुदायको मर्यादा र सम्मान पनि उनीहरूले जोगाउन सकेका परम्परा र संस्कारलगायत तिनको प्रयोग र प्रस्तुतिमा उनीहरूको क्रियाशीलतामा पनि निर्भर गर्दछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्