Techie IT
शनिबार, फागुन १५,२०७७

अर्थतन्त्र सुधारको दिगो संयन्त्र : युथ परिचालन


काठमाडौं ।
अर्थतन्त्र सरकारको मेरुदण्ड हो । यो देशभित्र गरिने विभिन्न आर्थिक क्रियाकलाहरूबाट पोषित हुन्छ । आर्थिक क्रियाकलापको मलजलले नै अर्थतन्त्र मजबुत बन्ने हो । जोस, जाँगर र नयाँ विचारका साथ उदाएका ताजकी उमेर समूहका मानिस युवा हुन् । यिनको सम्मान, इज्जत, निर्देशन र प्रयोगबाट परिचालन गरी उत्पादनमा लगाउन आवश्यक छ । उनीहरू भोलिका कर्णधार मात्र होइनन् आजका सामाजिक परिचालक पनि हुन् ।

ताजा सोच, बढ्दो उमेर र निर्देशित उद्देश्यमा लागिपर्ने युवा समूहमा अवसरहरू लुकिरहेका हुन्छन् । उनीहरूमा रहेको विचार/योजनालाई प्रोत्साहन गरी अगाडि बढाउँदा समाजले गति लिन्छ । यो गति समाज, राष्ट्र र विश्वकै लागि सकरात्मक परिवर्तनको संवाहक बन्दछ । उनीहरूमा अथाह साहस छ, जोस, जाँगर क्षमता छ जुन आजका दिनमा खेर गइरहेको छ । यो स्रोतसाधनलाई उचित सदुपयोग गर्नु आजको आवश्यक्ता हो । नेपालमा १६–४० वर्ष समूहका मानिसहरूलाई युवा भन्ने प्रचलन छ । यस समूहमा लगभग ४० प्रतिशत युवाहरू छन । विश्वमा लगभग ७० लाख युवाहरू आफ्नो ऊर्जा खेर फाल्न बाध्य छन् । उनीहरूमा रहेको ऊर्जा शक्तिलाई सदुपयोग गर्ने नीति अवलम्बन नगरिनुको प्रतिफल हो ।

जुन देशमा युवा परिचालन हुँदैनन् त्यो देशमा आर्थिक विकास सम्भव छैन । आज जति युवाहरूको ऊर्जा शक्ति खेर गइरहेको छ ती सबै विकासोन्मुख र अतिकम विकसित मुलुकहरूमा नै छ । अन्तर्राष्ट्रिय संस्थाले १२ अगस्ट, २०२० मा प्रकाशित गरेको सर्वेक्षेणमा १५–२४ उमेर समूहका विश्व जनसंख्याको १८ प्रतिशत र १५–४० सम्मको ४० प्रतिशत युवाशक्ति रहेको देखाएको छ । यसले विश्वमा तीन सय ६१ लाख युवाहरू रहेको र नेपालको युवा विकास सूचकांकको स्तर ७७औं रहेको उल्लेख गरेको छ । सबैभन्दा बढी युवाहरू पूर्वी दक्षिण एसियामा रहेको जनाएको छ ।

युवाशक्तिहरूलाई परिचालन गरी स्वस्थ र समृद्ध समाज निर्माण गर्ने सरकारसँग योजन हुनुपर्दछ । सर्वप्रथम उनीहरूलाई मानव विकास यसका लागि आवश्यक पूर्वाधार आदिको शिक्षा जरुरी छ । दोस्रोमा आर्थिक उपार्जन, सदुपयोग र व्यवस्थापनको स्पष्ट धारणा । तेस्रोमा सामाजिक, राजनीतिक पहुँच यसको मान्यता कानुन, सक्षमता प्रयोगलाई उजागर गर्नु ।

चौथो सामाजिक–सांस्कृतिक मूल्य मान्यता, चलन, संस्कार र यसको संरक्षण र संवर्द्धनमा युथको भूमिका आदिबाट उनीहरूमा सकरात्मक सोचको विकास गर्न सकिन्छ । यो अवस्था सिर्जना गर्न उनीहरूमा गरिने व्यवहार चुस्त र दुरुस्त हुनुपर्दछ । यसका लागि उनीहरूबीचमा हुने पारदर्शी व्यवहार, आदर, प्रतिभाको सम्मान, सेवाभाव, समाधानको बाटो, मित्रवत व्यवहार र समावेशीकरण हुन् । यी यस्ता व्यवहारमार्फत उनीहरूमा विश्वास, जाँगर, सोच, खोज र साहस सिर्जना हुन्छ ।

सृजित व्यवहारबाट अनुशासन, न्याय, कानुन, कर्तव्य, जिम्मेवारी बोध हुन्छ । उनीहरूलाई ताजगी राख्न समय समयमा तालिम, भ्रमण, सुरक्षा आदिमा ध्यान दिनुपर्छ । युवाशक्तिलाई परिचालन गरी आर्थिक क्रियाकलापमा उपयोग गर्दा अर्थतन्त्र सबल बन्दै जान्छ । यसबाट दिगो आर्थिक विकासतर्फ अर्थतन्त्र लम्किन्छ । आवश्यक्ताअनुरूपको योग्यता, क्षमता र सीपले प्रश्रय पाउँछ ।

नीति निर्माण तहमा आवश्यक जनशक्ति पु-याउँछ । देशका स्रोतसाधनमा अधिकार जमाउन हैन अवसर सिर्जना गर्न राजनीति गर्ने हो भन्ने चेतना विकास हुन्छ । आज गरिब मुलुकमा १३ प्रतिशत महिला र २२ प्रतिशत पुरुषको मात्र माध्यामिक शिक्षामा पहुँच छ । पुरुषको तुलनामा महिलाको ज्यालादरमा विभेद छ । जातिपातिको नाममा छुवाछुत छ यी सबैको कारण गरिबी हो । यो गरिबी हटाउन सक्षम युवाशक्तिलाई नीतिगत ढंगबाटै परिचालन गर्न आवश्यक छ । युवाशक्तिको बेवास्ताले ऊर्जाशील जीवन खेर गइरहेको छ ।

युवाशक्तिलाई आर्थिक क्षेत्रमा सक्रिय राख्न, आर्थिक उत्पादन सिर्जना गर्न युवा ऊर्जा निर्धारक सूचकांक तय गर्नुपर्दछ । यसले युवाहरूमा उत्साह, कर्तव्य र जिम्मेवारी बढाउँछ । सेवाभाव सिर्जना गर्दछ । संस्कार, संस्कृति, आदर सम्मानको बोध गराई सामाजिक परिपक्कता प्रदान गर्दछ ।

युवाशक्तिलाई परिचालन गर्न तथा उनीहरूलाई सक्रिय ऊर्जाशील बनाउन सर्वप्रथम राज्यले उनीहरूको शिक्षामा ध्यान दिनुपर्छ । समयसापेक्ष जीवनोपयोगी व्यावहारिक शिक्षा युवा केन्द्रित हुनुपर्छ । त्यसैगरि स्वस्थ, खुशि, स्फुर्ति ग्रहणलाई मध्येनजर गर्दै जोखिम मुक्त जीवन तर्फ प्रेरित गर्नुपर्छ । उनीहरूमा रोजगारी र आवश्यक अवसर प्रदान गरी योग्यता र क्षमताको कदर गर्ने प्रणाली विकास गर्नुपर्छ ।

राजनीतिक वृतमा पहुँचको आधारभन्दा पनि सक्षमता, लक्ष्य, उद्देश्यको मापनमार्फत राजनीतिक सहभागिता प्रदान गर्नुपर्दछ । समाजमा विद्यमान रीतिरिवाज, संस्कार, समाजिक मूल्य मान्यता आदिको बारेमा प्रेरित गर्दै यसको संरक्षण र विकासमा युवाहरूलाई अग्रसर गराउनु पर्छ । लक्ष्यहीन भएर भौतारिने र युवाहरूको प्रयोग गरी व्यक्तिगत उद्देश्य पूरा गर्ने राजनीतिक दल, संघसंस्थालाई बहिस्कार गर्नुपर्छ । यी सबै चरण पूरा भइसकेपछि मात्र युवाहरूमा विश्वासको वातावरण सिर्जना गर्न सकिन्छ । निर्देशित लक्ष्य प्राप्त गर्नतर्फ अग्रसर बनाउन सकिन्छ ।

देशमा आर्थिक क्रियाकलाप गर्नसक्ने स्तरको शक्ति उत्पादनहीनको अवस्थामा छ । यसलाई परिचालन नगरी आर्थिक क्षेत्रको बाटो खुलाउन सकिन्न । अर्थतन्त्र मजबुत बनाउन आर्थिक क्रियाकलापको अवरुद्ध बाटो तोड्न जरुरी भइसकेको छ । अवका दिनमा विदेशिएका युवाहरू फर्किदाको भयावह सरकारका लागि समस्यागत चुनौती बन्न सक्छ । यसका लागि युथहरूको परिचाल नै एक अचुक उपाय हो ।

युथ निर्देशित कार्यक्रम व्यवस्थापन नभएकै कारण आज युथहरूमा विविध प्रकारको समस्याबाट ग्रस्त हुन पुगेका छन् । गैरकानुनी कामबाट फौजदारी मुद्दा खेप्ने ठूलो जमात युथकै छ, कतिपयले आफ्नो ऊर्जाशील जीवन जेलमा कोचिरहेका छन् । हालका दिनमा नेपालमा सरदर दैनिक १७ जनाको हाराहारीमा हुनेगरेको आत्महत्यामा युथ नै धेरै रहेको बताइएको छ ।

गैरसामाजिक कार्य शरिर बेच्ने, बेचाउने, विभिन्न प्रकारका दुव्र्यसनमा लाग्नेहरूको समूह युथकै हो । यी समाजका परिचालकहरूको दुर्दशा सरकारी नीति र राजनीतिक अपरिपक्वताको परिणाम हो, राजनीतिले यिनलाई राजनीतिक अभीष्ट पूरा गर्न मात्र प्रयोग ग-यो, संरक्षण र परिचालनमा ध्यान दिएन ।

देशमा विद्यमान दक्ष, अदक्ष, अर्धदक्ष सबै खालका युथहरूलाई एकीकृत गर्दै उत्पादनमा परिचालन गर्न आवश्यक छ । उनीहरूलाई परिचालन गर्दा निर्देशित कामको साथै आम्दानीको सिर्जना पनि हुन्छ । यसले सरकार युवा दुवैलाई उत्तम प्रतिफल प्रदान गर्दछ । भोलिका दिनमा आर्थिक क्रियाकलापको दायरा, उत्पादन, निर्यात आदिमा बढोत्तरी हुन्छ । यसबाट अर्थतन्त्र सबल बन्दै जान्छ, आम्दानीका अवसरहरूमा बढोत्तरी हुन्छ, मानिसहरूको जीवनस्तरमा सुधार ल्याउँछ । विकासको गन्तव्य नागरिकको जीवनस्तरमा हुने सुधार हो । तब मात्र विकासको अनुभूति हुन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्