Techie IT
शनिबार, फागुन १५,२०७७

लोकतन्त्रको बटुका देखाएर भिख माग्छन् नेताहरू


काठमाडौं ।
लोकतान्त्रिक समाजवादको बखान गर्दागर्दै यो देशलाई अनेकौं समस्या र उल्झनमा बन्दक बनाइरहेका छन् नेता र तिनका अन्धभक्तहरूले । नेपाल राजनीतिका कारण दिनप्रतिदिन यति कमजोर र जीर्ण बन्दै गइरहेको छ कि तपाईं हामीले अनुमान पनि लगाउन सक्तैनौँ । स्थिति झन्झन् नाजुक बन्दै छ । नेपालजस्तो सानो भूपरिवेष्टित देशलाई संघीयता आवश्यकता थियो त ? हिमालदेखि तराईसम्म पुगनपुग चार सय किलोमिटर जतिको दूरी छ । हिमाल नजिक गएर हेर्दा भारत र चीनको सीमा यति नजिकै छ कि यी दुई देशबीचको हामी सुन्तलाबारीजस्तो देखिन्छ ।

संघीयता कसको लागि ल्याइएको हो ? कसको स्वार्थमा लागेर ल्याइएको हो ? यो सब विदेशीको इसारामा बाँदर नाच नाच्ने कुख्यात अपराधी नेताले ल्याएका हुन् । संघीय राज्य र संघीयताकै कारण आज मुलुकले अतिरिक्त आर्थिक व्ययभार खेप्नुपरेको छ । सात प्रदेशका वाहियात नाम मात्रका मन्त्रीहरूलाई दिने तलबभत्ता गाडी अनेकौँ सुविधाले गर्दा राज्यको विकास खर्चको बजेट नै घटाउनुपरेको छ ।

संघीयताकै कारण पार्टी फुटाउने, राजनीतिक गुटबन्दी, सत्ता प्राप्तिका लागि जालझेल भइरहेको छ । नेपाली नेपालीबीचको राष्ट्रिय एकतामा समेत खलल पैदा भइरहेको छ । नेताले संघीयता यो देश र जनताको हितका लागि ल्याएका थिएनन् बरु उनीहरूले यो राज्यलाई चिरेर विभाजन गरेर सबै नेतालाई मुख्य मन्त्री, मन्त्री, समामुख बन्नु थियो ।

आज सात प्रदेशमा कति जना मन्त्री छन् भनेर गन्न सकिने अवस्था छैन । यो आर्थिक बोझ कतिन्जेलसम्म खपिरहने देशले । पचास डिग्रीको भुङ्ग्रोमा तापिएर जलिरहेका गरिब नेपाली युवाले पठाएको रेमिट्यान्सबाट कर असुली, तलबभत्ता, पेट्रोल, घरभाडा खान पल्केका नेताले यो देशका लागि केही पनि गर्दैनन् भन्ने कुरा अहिलेको पार्टी झगडाले प्रमाणित गरिसकेको छ । यो राज्य जेसुकै होस् यो देश बर्बाद होस् यो देशलाई विदेशीले हस्तक्षेप गरून् यहाँका जनता मरुन् कि बाँचुन् तर आफूले राजनीति गरिरहेको पार्टीले जित्नुपर्छ आफूले कुर्सी पाउनुपर्छ भन्ने हठ छ नेपालका सबै नेतामा ।

इतिहासमा कुनै दिन रोम जलिरहँदा त्यो देशको नायक बाँसुरी बजाउँदै बलिरहेको सहर हेरेर रमाइलो मान्ने निरो हुन् हाम्रा देशका नेता । यिनका भाषा र भाषणमा लोकतन्त्र, समावेशीता, गणतन्त्र, प्रजातान्त्रिक समाजवाद, जनता, आदिवासी जनजातिको उत्थान, सीमान्तकृत वर्गको उत्थान गर्ने गफ मात्रै हुन्छ तर यथार्थमा यी सबै देश लुटेरा हुन् । त्यसैले होला असल मान्छेहरू चुनावमा भाग लिँदैन । राजनीति गर्दैन । ग-यो भने पनि चुनाव हार्छ वा उसलाई अगाडि जान दिइँदैन । हामी नेपालीहरूको मस्तिष्कलाई राजनीतिले खिया पारिसकेको छ । अहिले गाउँघरतिर कुनै सामाजिक धार्मिक आर्थिक राजनीतिक भेला जमघटमा पनि पूरै राजनीति छ । एउटा पार्टीले कुनै कार्यक्रम ग-यो भने अर्को इतर पार्टीको नेता वा कार्यकर्तालाई निम्तो जाँदैन ।

एका घरका परिवारमा बाबु कांग्रेस छ छोरा वा छोरी कम्युनिस्ट छ भने बोलचालसम्म पनि हुन्न । राजनीतिको कारण परिवार समाज र देश नै आज विभाजनमा छ । गाउँघरमा मेलापात भारोपर्ममा समेत आफ्नै पार्टीको मान्छेलाई मात्रै बोलाइन्छ । समाजमा पार्टीकै कारण देखभेट बोलचाल नै बन्द छ । मलामी जाँदासम्म पनि सकेसम्म आफ्नै पार्टीका मान्छेले दाउरा बोकून् र लास पोलून् भन्ने भावनाको विकास भइसकेको छ । सहरको भन्दा गाउँको राजनीति ज्यादै कहालीलाग्दो छ । आफ्नो पार्टीभन्दा बाहिरी मान्छे त सबै शत्रु हुन्, भूत हुन्, मुत हुन्, म यिनीहरूसँग किन बोल्नुु वा किन संगत गर्नु भन्ने हुन्छ । ऐँचोपैँचो बिहेवारी दुःखमा समेत बन्देजको अवस्था पुगिसकेको छ ।

नेताहरूका मुखमा मात्रै प्रजातन्त्र फस्टाउन सक्ने भए किन यो मुलुक आज शरणार्थीजस्तो हुन्थ्यो ? राजनीतिक विभेदका कारण सिंगो समाज अपाङ्ग हुँदै गइरहेको छ । इतिहासमा चार जात छत्तीस वर्ण मिलेर बसेको यो देश आज भताभुंगको अवस्थामा छ । लोकतन्त्रका ठेकेदारहरूले लोकतन्त्रको झोलुङ्गे पुलको तार काटिरहेका छन् भित्रभित्र र भजिरहेछन् लोकतन्त्रको भजन र देखाइरहेछन् नेपाली समाजलाई नांगो नाच । जनता विश्वासको खैँजेडी बजाएर नाचिरहेछन् । माथिबाट निरोरुपि नेताहरू मुरली बजाइरहेछन् । अब फेरि बन्द हड्तालको हिजोको जस्तै दिन सुरु भइसकेको छ । सबै राजनीतिक पार्टीले बन्द हड्तालको कार्यतालिका सूची निकालिसके ।

यो सधैँको लुछाचँुडी र रडाको केका लागि र कसका लागि ? नेपाली जनतालाई काम गरेर खान किन दिन्नौ अपराधी नेता हो ? नेताहरू ! तिमीहरूको सधैँ सती कति जाने नेपालीले । तिमीहरूलाई त भ्रष्टाचार गरेर कमाको सम्पत्तिले सात पुस्ता खान पुग्ला विचरो त्यो टोपीको घेरा फाटेको साधारण किसानहरूको गाउँमा किन राजनीतिक दुर्गन्ध फैलाएको ? तिमीहरू हग्ने अनि ती गाउँलेले किन सोहोर्ने ? यो अन्धता, यो अराजकता, यो गरिबी, यो विभाजन, यो भ्रष्टाचार, यो दुर्भाग्य, यो अभाव कतिन्जेलसम्म सहिरहने नेपाली जनताले ?

मेलम्ची खै ? आज फेरि विद्युत् आपूर्तिमा राजनीति हुन थालेको छ । लोडसेडिङ अन्त्य भएको थियो । फेरि सुरु हुन थालेको छ । जनताले फेरि राजा आऊ देश बचाऊ भन्न थालेका छन् । शासन व्यवस्था राम्रो नभएकोले जनता फेरि आफ्नै अतीततिर फर्किन चाहिरहेका छन् । यो अवस्था नआउनुपर्ने थियो । समय कहिले पछाडि फर्किँदैन तर जनता फेरि पनि घोर निराशामा बल्झिरहेका छन् ? उनीहरू दुःखबाट मुक्ति चाहन्थे । तर दुःख जतिसुकै ठूलो क्रान्ति गर्दा पनि र बिसौँ हजार नेपालीले प्राण आहुती गर्दा पनि अन्त्य भएन ।

हिजो ज्ञानेन्द्रले शासन सत्ता कु गरेर लिए भनेर सडक बन्द गर्नेले आज आफैँले सत्ता कु गरिरहेका छन् । यहाँ मौका मिल्यो भने जसले पनि सत्ता कु गर्दोरहेछ त ! अनि हिजो दोष राजालाई मात्रै किन दिएको ? हिजो एक दलको कारण मुलुकको विकासको लागि बाधक बन्यो भनेर हामीले पञ्चायत फाल्यौ बहुदलीय व्यवस्था ल्यायौ । बहुदलीय व्यवस्था आएपछि व्यापक विकास हुन्छ भनेर जनताले विश्वास गरे । फेरि आन्दोलन ग-यौ ।

राजा नै विकासको विरोधी हो यो नहटेसम्म मुलुक बन्दैन भनेर फेरि आन्दोलन ग¥यौ । दशवर्षे जनयुद्ध ग-यौ । मुलुक पचास वर्ष पछाडि धकेलियो यही कारणले । धेरै मरे मारिए । राजसंस्था फालियो । गणतन्त्र स्थापित भयो । नयाँ संविधान लेखियो । खेतमा श्रम गरिरहेका नेपाली गरिब किसानलाई पटक–पटक सडकमा तानेर नेताहरू आफैँ मात्र सत्तामा उक्लने धनी हुने दाउपेच चलिरह्यो यो देशमा ।

लोकतन्त्रको, प्रजातन्त्रको नाउँ जप्ने अनि जनतालाई सधैँ लडाइरहने खेल भैरहेको छ । यो खेलको अन्त कहिले हुने ? नेपालको जति जनसंख्या छ त्यसको सत्तरी प्रतिशत नेता छन् । भाषणको भरमा छलको भरमा राजनीतिक गफका भरमा कुर्सी हानाहान र तानातानको भरमा के यो देश बन्ला त ? हामी पछाडी आउने पुस्तालाई हामीले के भन्ने के दिने के देखाउने ? राजनीति विकासको सहायक हुनुपर्नेमा विकासको विरोधी बनिरहेको आजको यो कालो पृष्ठभूमिमा माओवादीले भनेजस्तै अग्रगामी छलाङ हामीले कहिले मार्ने त ? के भयो भने अग्रगामी छलाङ मार्न सकिएला ? केपि ओली र प्रचण्डको अनि देउवा र रामचन्द्रको आपसी बेमानीपनले यो देशले आर्थिक छलाङ मार्ला त ?

प्रतिनिधिसभा भंग भयो । अब प्रदेश र संघ पनि खारेज गर । स्थानीय सरकार जीवित रहनुपर्छ । प्रजातन्त्र जीवित रहनुपर्छ । यो गरिब मुलुकले धान्नै नसक्ने वाहियात हजारौँ सांसद र मन्त्री यो देशका लागि बेकार छ भन्ने कुरा प्रमाणित भइसकेको छ । आरक्षणले होइन योग्यताले र सक्षमशीलताले व्यक्ति उपल्लो तहमा पुग्नुपर्छ ।

नेपाललाई विश्व मानचित्रमा अगाडि लैजाने हो भने यी कुराहरू आउनु जरुरी छः
१. राष्ट्रपति पद जनअनुमोदनबाट प्रत्यक्ष निर्वाचित गराउने
२. यसरी प्रत्यक्ष निर्वाचित भएर आएको राष्ट्रपति नै यो देशको कार्यकारी भूमिकामा रहने व्यवस्था गर्ने ।
३. प्रधानमन्त्री सेरेमोनियल हुने तर व्यवस्थापिका प्रमुख रहने
४. संघ र प्रदेश तह खारेज गर्ने
५. हिमाल पहाड र तराई तीनै भूगोलबाट समान प्रतिनिधित्व हुनेगरी पहिलेकै ७५ जिल्ला व्यवस्था कायम गर्ने
६. प्रत्येक जिल्लाबाट सक्षम योग्यता पुगेका कम्तीमा ब्याचलर उतीर्ण गरेका व्यक्ति मात्रै प्रतिनिधिसभाको चुनावमा भाग लिन पाउने संवैधानिक व्यवस्था गर्ने
७. दुई सदन होइन एक सदन प्रतिनिधिसभा मात्रै कायम गर्ने
८. हरेक जिल्लाबाट बढीमा ४ जना मात्र प्रतिनिधिसभामा प्रत्यक्षरूपमा चुनिएर जाने व्यवस्था गर्ने
९. प्रत्येक जिल्लाबाट कम्तीमा एक जना मन्त्री हुने व्यवस्था गर्ने
१०. ७५ जनाको मन्त्रीमण्डलले सिंगै नेपाल र नेपालीको हितमा काम गर्नका लागि संवैधानिक व्यवस्था गर्ने ।
११. प्रजातान्त्रिक अभ्यासका नाउँमा सयौँ पार्टीको भाँडभैलो आवश्यक छैन । यसमा लगाम जरुरी छ ।
१२. प्रतिनिधिसभालाई भंग गर्ने अधिकार कसैलाई नहोस्
१३. राष्ट्रपतिले, प्रधानमन्त्रीले, मन्त्रीले सांसदले गल्ती गरे उसको पद निलम्बनमा जाने र त्यसको वैकल्पिक व्यवस्था गर्ने
१४. चुनिएर गएका जनप्रतिनिधिले भ्रष्टाचार गरे वा खराब आचार गरे अर्को चुनावमा भाग लिन नपाउने नियम राख्नु जरुरी छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्