Techie IT
१२ मंसीर २०७८, आईतबार

मोबाइल फोनसँग जोडिएको आर्थिक क्रियाकलाप


काठमाडौं ।
नेपालको अर्थतन्त्रमा यसले पारेको प्रभाव : सन् १९८३ मा मार्टिन कपुरले अमेरिकामा मोबाइल फोनको आविश्कार गरेका थिए । त्यसपछि यो विश्वका विकसित देश हुँदै विश्वभर तीव्ररूपमा फैलियो जुन आज आम मानिसको अति आवश्यक वस्तुको रूपमा विकसित भइरहेको छ । आविश्कारसँगै यसले विश्व बजारलाई छिटै नै प्रभावित बनाउँदै लग्यो र विश्व अर्थतन्त्रमा छोटो समयमा नै आफ्नो अस्तित्व जमाउन सफल भयो ।

आज यसको प्रयोग विश्वव्यापीकरण भइरहेको छ साथै विश्वको हरेक देशको अर्थतन्त्रलाई चलायमान बनाइरहेको छ । यसले विश्व सञ्चारमा क्रान्ति नै सिर्जना गरी सुविधासम्पन्न साधनको रूपमा विकास गरिरहेको छ । मोबाइल आज आम नागरिकको अनिवार्य आवश्यक्ता हुँदै व्यक्तिगत खर्चमा वृद्धि गर्दै गइरहेको छ ।

नेपालमा सर्वप्रथम मोबाइल फोनको सुरुवात विसं २०५६ सालबाट भएको हो त्यसताका नेपालमा उच्चवर्गका भीभीआईपी मानिसहरूले प्रयोग गर्थे, त्यस समय पोस्टपेड फोनको प्रयोग हुन्थ्यो र मानिसहरू गलामा भिरेर वा पाइन्टमा हुक लगाएर बोक्थे । उतिखेर मोबाइल फोन बोक्नेलाई सम्पन्न ठूलाबडा मान्ने प्रचलन थियो । पछि विसं २०६० सालबाट सर्वसाधारणको लागि प्रिपेड फोन आयो ।

सुरुको समयमा प्रिपेड फोनको सिमकार्ड लिन रातभर टेलिकमको अफिसमा लाइन लागेर सिमकार्ड लिनुपर्थ्यो । पहिलो पटक सिमकार्ड लिँदा १७ सय ५० रूपैयाँ तिर्नुपर्थ्यो । केही वर्षपछि ११ सय ५० र छ सय ५० हुँदै एक सयमा वितरण हुनथाल्यो । आजभोलि यसको सिमकार्ड बजारमा जताततै पाउन थालियो मोबाइलका सेटहरू पनि सस्ता र आधुनिक प्रविधिअनुरूप विकास हुँदै गए । मोबाइल फोनले आज रेडियो, टेलिभिजन, टेलिफोन, हुलाक, क्यालकुलेटर, टर्च, घडीलगायत कापी, कलम किताब आदिलाई विस्थापित गर्दै लगेको छ ।

विश्वमा आज मोबाइल फोन आधारभूत आवश्यकताको रूपमा फैलिरहेको छ । यसले मानिसलाई सुविधा, सहजता र सरलता प्रदान गरिरहेकोले यसमाथि मानवीय प्रेम बढ्दै गइरहेको हो । यसैले गर्दा मोबाइल फोनमा ठूलो धनराशि खर्च भइरहेको छ । विशेषतः नेपालको सन्दर्भमा मोबाइलमा धेरै धनराशि बाहिरिरहेको देखिन्छ ।

नेपालको वर्तमान तीन करोड जनसंख्यालाई आधार मान्दा त्यसको औसत ७० प्रतिशत जनसंख्यासँग मोबाइल फोन रहेको, औसतमा एउटा मोबाइल फोन सेटमा १० हजारको दरले दुई खर्ब १० अर्ब खर्च भएको छ । वार्षिक औसत २० अर्बका मोबाइल नेपालमा आयात भइरहेका छन् भने यसको मर्मत संभारमा वार्षिक दुई अर्ब खर्च हुँदै गइरहेको छ ।

दुई करोड १० लाख जनसंख्यासँग रहेको मोबाइलको दैनिक न्यूनतम औसत खर्च ३० रूपैयाँ गर्दा दिनमा ६३ करोड र मासिक १८ अर्ब ९० करोड तथा वार्षिक दुई खर्ब २६ अर्ब ८० करोड मोबाइलअन्तर्गतको सञ्चारमा खर्च हुँदै आइरहेको छ । वार्षिक कुल खर्चको ६० प्रतिशत एक खर्ब ३६ अर्ब आठ करोड औपचारिक सञ्चारमा र ४० प्रतिशत ९० अर्ब ७२ करोड अनौपचारिक सञ्चारको क्षेत्रमा खर्च भइरहेको छ । यहाँ अनौपचारिक सञ्चारको क्षेत्रमा भएको खर्चले थप सामाजिक विचलन, आर्थिक संकट र व्यक्तिगत आचरणमा प्रभाव पारिरहेको अनुमान गरिएको छ ।

कोभिड–१९ का कारण स्कुल कलेजमा उपस्थिति भई पढ्ने समय नबनेकाले अनलाइन शिक्षा प्रणाली अवलम्बन गरियो यसका लागि कम्युटर, ल्यापटप वा मोबाइलको आवश्यक्ता सिर्जना भयो । यसमध्ये सबैभन्दा सस्तो तथा सहज साधन मोबाइल नै बन्नपुग्यो, जसका कारण बजारमा मोबाइल फोनको माग बढ्न गयो । चालू आर्थिक वर्षको पहिलो पाँच महिना मंसिर मसान्तसम्म नेपालमा १७ अर्ब ६४ करोड रूपैयाँबराबरको मोबाइल फोन आयात भएको भन्सार विभागले जनाएको छ ।

जुन अघिल्लो यही अवधिको तुलनामा साढे सात अर्बले बढी हो । गएको वर्ष मंसिर मसान्तसम्ममा १० अर्ब ६७ करोड रूपैयाँको मोबाइल फोन आयात भएको थियो । विश्व बन्दाबन्दीले गर्दा भर्चुअल छलफलका लागि पनि यसको माग बढेको अनुमान लगाउन सकिन्छ साथै अवैध आयातमा पूर्णतः प्रतिबन्द लागेकाले पनि बजारमा मोबाइल फोनको माग बढेको व्यवसायी बताउँछन् । पहिले सरकारको नीतिगत असहजताको कारण घटेको मोबाइलको आयात यसै वर्षबाट सहजता भएसँगै बढेको देखिन्छ ।

सधैँ चाडपर्वमा उत्साहजनक रूपमा बढ्ने माग यो वर्ष साउनबाटै उत्साहजनक रूपमा बढ्यो । विशेषतः दशैं तिहारमा बढ्ने बजार यसवर्ष अहिलेसम्म बजार उस्तै रहेको पाइन्छ । कोभिडले बजारलाई शिथिल बनायो, अर्थतन्त्रमा नकरात्मक प्रभाव सिर्जना ग-यो तर मोबाइलको बजार भने उकासिँदै आइरहेको छ ।

आजका दिनमा मोबाइलको बजार आकासिँदै जानु मोबाइल व्यापार गरेर जिउनेकै लागि लाभदायक हुनसक्छ तर देशको अर्थतन्त्रको गतिविधिलाई यसले प्रभावित बनाइरहेको छ । यसको खपत नेपालमा जति बढ्छ त्यति नै नेपाली रूपैयाँ विदेशिन्छ जुन आयात गरेर देशको उत्पादन बढ्दैन भएको ढुकुटी रित्तिँदै जान्छ । यसले अप्रत्यक्षरूपमा नेपालको ढुकुटीलाई क्षय गराइरहेको छ ।

यसमा विश्व नै अटाएको छ तर विश्वका विकृति र विसंगतिको मात्र हिमायती बनियो भने यसले हामीलाई कुसंगततर्फ लैजाने निश्चित छ यसबाट सचेत र होसियार बन्दै आवश्यक विषयवस्तुलाई ग्रहण गर्दा यसको महत्व बढ्दै जाने देखिन्छ । तसर्थ यो आवश्यक साधन हो । देशको आर्थिक क्रियाकलाप विभिन्न स्रोतसाधनबाट चलायमान रहँदै आएको हुन्छ ।

मोबाइल पनि एक उत्कृष्ट सञ्चारको साधन हो यसलाई आवश्यक व्यवस्थापन गर्दा प्रयोग कर्ताको हित हुने देखिन्छ । यसका लागि सरकार कर असुलीमा मात्रै नभएर यसको आयातमा उचित व्यवस्थापन, नियन्त्रण र नियमन गर्न तत्पर रहनुपर्दछ । आज यसको विश्वव्यापीकरण भैसकेको अवस्थामा यसबाट उचित फाइदा लिन हामी चुक्नुहुन्न । यसबाट हुनसक्ने आर्थिक सिर्जनामा ध्यान दिनुपर्ने देखिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्